आज १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२१ को एउटा प्रमुख नारा ‘नेतृत्वमा महिलाहरू: कोभिड-१९ को विश्वमा बराबरी भविष्यको प्राप्ति (Women in leadership: Achieving an equal future in a COVID-19 world)’ छ ।
यो नाराको सार्थकता समीक्षा गर्न वर्तमान विश्वमा महिलाहरूको नेतृत्वदायी अवस्था हेर्नुपर्ने हुन्छ । संयुक्त राष्ट्रसंघ महासचिवको हालै प्रकाशित प्रतिवेदनअनुसार विश्वका २२ देशहरूमा महिलाहरू राष्ट्र तथा सरकार प्रमुख रहेका छन् । विश्वभरि संसदीय व्यवस्था रहेका देशहरूमा २४.९ प्रतिशत मात्र महिलाहरू सांसद रहेका छन् । यही दरमा प्रगति हुने हो भने सांसद लैङ्गिक समानताका लागि १३० वर्ष लाग्ने छ । विश्वमा ३० वर्ष मुनिका महिला सांसदहरू १ प्रतिशत मात्र छन् ।
कोभिड-१९ विरुद्धको लडाइँमा महिलाहरूलाई पुरुषहरूको तुलनामा ११ प्रतिशत कम सुविधा उपलब्ध गराइएको छ । ८७ राष्ट्रहरूको एउटा अध्ययनले ३.५ प्रतिशत मात्र महिला-पुरुष समानता देखिएको छ । पोहोरसाल २०२० मेक्सिकोमा महिला दिवस (८ मार्च) को भोलिपल्ट ९ मार्चका दिन मेक्सिकोका महिलाहरूले घरायसी कामसमेत बन्द गरेका थिए । सन् २०१९ को एउटा अनुसन्धानले मेक्सिकोमा हप्ताको पुरुषले २५ र महिलाले ६० घण्टा काम गरेको देखाएको थियो । यो विभेदका विरुद्ध नै महिलाहरूको विद्रोह थियो ।
शेली लुन्डवर्गको सम्पादनमा सन् २०२० मा एउटा पुस्तक प्रकाशित भएको छ – वीमेन इन इकोनोमिक्स, जसले महिला-पुरुष असमानताका अनेक उदाहरण उजागर गरेको छ । अमेरिकामा १३.९ प्रतिशत र युरोपमा २२.५ प्रतिशत मात्र विश्वविद्यालयहरूमा महिला प्राध्यापकहरू छन् । विगत २० वर्षदेखि विश्वमा अर्थशास्त्र पढ्ने महिलाहरूको प्रतिशत ३०-३५ रहेको छ । सन् १९७०-२०१७ मा १,६२७ जर्नलमा महिलाहरूका लेखहरू ८-२९ प्रतिशत मात्र प्रकाशित भएका छन् ।
सन् २०११ को जनगणनाअनुसार नेपालमा महिलाको नाममा घरजग्गा स्वामित्व २० प्रतिशत मात्र रहेको छ । छिमेकी देश भारतमा महिलाको नाममा घरजग्गा स्वामित्व सबैभन्दा बढी मेघालयमा २६ प्रतिशत र सबैभन्दा कम समृद्ध मानिएको राज्य पञ्जाबमा ०.८ प्रतिशत रहेको छ । समृद्धिमा समानता भएन भने त्यसले कुनै अर्थ राख्दैन ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराभित्र महिला-पुरुष आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, कानुनी अध्ययन गर्ने हो भने धेरै अवरोधहरू अनावरण हुनेछन् । महिलाहरूले यी सबै तगाराहरू हटाउन लामो लडाइँ लड्न बाँकी नै छ ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)