मजदुर किसान raise your fist in Nepal peoples United Front
 

वास्तवमा मजदुर-किसान देशका मेरूदण्ड हुन् भनेर ठोकुवा गर्नु नै वास्तविक समाजवादीहरूको एक कर्तव्य हो । मजदुर र किसानहरू नै देशको सच्चा प्रतिनिधि पात्र हुन् । यिनै मजदुर र किसान सयौँ वर्षदेखि निरन्तर सामन्ती शासक, साम्राज्यवादी, सरदारहरू, भ्रष्ट अधिकारीहरू, स्थानीय निरङ्कुश, जमिन्दार र मजदुर किसानको नाम भजाएर आफूलाई मजदुर-किसानको प्रतिनिधि (नक्कली) भन्नेहरूबाट नै चेपुवामा पर्दै आइरहेका छन् । जबसम्म मजदुर र किसानहरूका प्रतिनिधिको अगुवाइमा केन्द्रीय सत्ताको निर्माण हुँदैन तबसम्म मजदुर र किसानहरूका समस्या कुनै पनि हालतमा समाधान हुने छैन ।

२०६२/६३ को जनआन्दोलनपछि तत्कालीन माओवादीहरूले एकपटक मजदुरहरुको पक्षमा काम गरेको देखिन्छ । मजदुरहरुलाई हड्ताल गर्न लगाइयो, कैयौँ कलकारखानाहरुलाई शक्तिशाली मजदुरहरूले आफ्नो कब्जामा लिए । दलाल पुँजीपतिहरु तिल्मिलाए । मजदुर-किसानका कतिपय प्रतिनिधिहरू रातारात ढनाढ्यमा परिणत भए । नेतृत्वले पनि देखेन वा आँखा चिम्ल्यो । ती गद्दार मजदुर किसान प्रतिनिधि उपर कुनै कारवाही भएन र एउटा आशातित मजदुर आन्दोलन तुहियो । यसको हिसाब किताब मजदुर-किसानको सत्ता आएपछि गरिनेछ ।

चीनमा माओत्सेतुङको नेतृत्वमा किसान आन्दोलन हुँदा, जब त्यहाँका जमिन्दार, पुँजीपति, दलालहरूले प्रोपोगाण्डा फैलाउँदै भने ‘भयङ्कर डरलाग्दो काम । ती फटाहाहरूको हकमा पक्का डरलाग्दो काम हो, किनकि यिनीहरू पानीका फोकाझैँ बिलाउने अवस्थामा पुगेका थिए, तर वास्तवमा तथ्य यो हो कि साना र ठूला किसानहरू आफ्नो ऐतिहासिक लक्ष्य पूरा गर्न उदाएका थिए र ग्रामीण प्रजातन्त्रको शक्तिले ग्रामीण सामन्तवादको शक्तिलाई उखाल्दै आएको थियो । स्थानीय तानाशाह, कुटिल भलादमी र कानूनविहीन जमिन्दारहरुको पितृसत्तात्मक-सामन्ती वर्गले सयौँ वर्षदेखि निरङ्कुश सरकारको आधार बनाएको त्यो साम्राज्यवाद, लडाकूवाद र भ्रष्ट आधिकारिक शासनको आधारशीला हो । यी सामन्ती शक्तिहरूलाई उखेल्नु भनेको नै राष्ट्रिय क्रान्तिको वास्तविक उद्देश्य हो ।

कार्लविक्रम थापा, karl bikram thapa
लेखक

जमिनदारहरूको हितमा किसानहरूको उदयलाई रोक्नका लागि एउटा सिद्धान्त के हो भनेः १. सामन्तवादको पुरानो व्यवस्थाको जगेर्ना २. प्रजातन्त्रको नयाँ व्यवस्थाको स्थापनामा बाधा पुर्‍याउने, जग्गा मालिक वर्गको यो सिद्धान्त स्पष्टतः एक प्रतिक्रियात्मक सिद्धान्त हो । कुनै क्रान्तिकारी किसानले यो बकबक र बकवास प्रतिध्वनित वा प्रतिनिधित्व गर्नु हुँदैन र बिना हिच्किचाहट जमिन्दार वा व्यक्तिगत अंशको आधारमा चल्दै आएको रितिरिवाज तोडेर सामूहिक स्वामित्वमा ल्याइनु पर्दछ, जबसम्म कृषि क्रान्ति सफल हुँदैन तबसम्म देशले काँचुली फेर्न सक्दैन ।

करोडौँ किसानहरू शक्तिशाली आँधीबेहरीजस्तै उफ्रिनेछन् । एउटा आँधीबेहरी जस्तो शक्ति, यति चाँडो र हिंस्रक शक्तिले कि कुनै ठूलो शक्ति भए पनि त्यसलाई पछाडि राख्न सक्नेछैन । उनीहरूले ती सबै सामन्ती खम्बा टुक्रा-टुक्रा पार्नेछन्, जसले उनीहरूलाई बाँध्छन् र मुक्तिका लागि अगाडि बढ्नेछन् । तिनीहरूले सबै साम्राज्यवादी, सरदारहरू, भ्रष्ट अधिकारीहरू, स्थानीय निरङ्कुशहरू र उनीहरूको चिहानमा नराम्रो सम्झना गराउँने छन् । प्रत्येक क्रान्तिकारी पार्टी र हरेक क्रान्तिकारी कामरेडलाई परीक्षणमा लिनुपर्दछ, अनि उनीहरूले निर्णय गरे अनुसार स्वीकार वा अस्वीकार गर्न सकिन्छ ।

क्रान्तिकारी अधिकारीहरूले किसान आन्दोलन सम्बन्धी गरेका सबै गलत कदम चाँडै बदल्नु पर्छ । यसरी मात्र क्रान्तिको भविष्यले फाइदा लिन सक्छ । किसान आन्दोलनले वर्तमान र भविष्यमा ठूलो उथलपुथल ल्याउनेमा म विश्वस्त छु । किसानसँगै मजदुरलाई पनि ऐक्यबद्ध गर्दै गोलबन्द हुन आह्वान गर्दै, संगठित हुनुपर्दछ ।

क्रान्ति भनेको विद्रोह हो, जसद्वारा एक वर्गले अर्कोलाई उखेल्छ । ग्रामीण क्रान्ति भनेको एक क्रान्ति हो, जसद्वारा किसानहरूले सामन्ती जमिन्दार वर्गको शक्तिलाई उखेल्छन् । सबैभन्दा ठूलो शक्ति प्रयोग नगरी, किसानहरूले सम्भवतः जमिन्दारहरूको गहिरो जराधिकारलाई हटाउन सक्दैनन्, जुन सयौँ वर्षदेखि चलेको छ ।

मुलुक अहिलेसम्म एकसमान भएको छैन र केवल एउटा झिनो काम मात्र सम्पन्न हुन सकेको छः सामन्ती राजा र राजतन्त्रलाई विस्थापित गरेर नागार्जुनको जंगलमा स्थानान्तरण गरिएको छ र गणतन्त्र घोषणा गरिएको छ । बाँकी सबै उही पुरानै व्यवस्था कायम गरिएको छ । संसदीय व्यवस्था अन्तर्गत केही राम्रा, नराम्रा नेताहरु चुनिएर संसदीय प्रतिनिधित्व गरेका छन्, तर ती सबै संयन्त्रले मजदुर र किसानका भलाई गर्ने खालको कुनै पनि योजना सरकारले ल्याएको छैन र अब मजदुर र किसानहरूका लागि यस्ता मजदुर किसानको प्रतिनिधिविहिन सरकारले कुनै पनि ठोस योजना ल्याउने छैन भन्नेमा म ढुक्क छु । र ल्याइहाले पनि त्यो आँखामा छारो हालेर केवल आफ्ना गुण्डा, तथा कार्यकर्तालाई पोस्ने काम मात्र हुनेछ ।

हामीले साम्राज्यवादी र युद्धबाहकहरूको अधिकारलाई उखेल्न सकेको छैनौँ । किसानमाथि सरकारी करको भारी बोझ हटाउने वा अझ स्पष्ट रूपमा बोझ हटाउने कुनै उपाय छैन । सेना, प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीका लागि खर्च, त्यस्तै चुनिएका हजारौँ जनप्रतिनिधिको खर्च समेत किसान, मजदुर र विदेशमा गएर काम गर्ने नेपाली मजदुरहरूले बुझाएको करबाट पोषित छ । अन्य आय भनेको भ्रष्ट कर्मचारी र दलाल व्यापारी मिलेमतोमा गरिने आयात कर नै हो – यद्यपि स्थानीय तानाशाह र दुष्टले ग्रामीण प्रशासनको प्रभुत्व जमाएको छ । जब अत्यधिक कर लगाइन्छ, उदाहरणका लागि, किसानको आन्दोलनको उदय र स्थानीय जनताको पतनसँगै कमसेकम कर कमसम्म पनि गरिएन । किसानका हरेक उत्पादनमा अत्यधिक कर ? जमिन्दारको जग्गाको विशेष संरक्षण गर्न केही सुकुम्बासी नागरिकलाई थोरै जमिन बाँडेर थुमथुम्याउने प्रयास गरिएको छ र मजदुर तथा किसानहरूले त्यसमा पहुँच पुर्‍याउन सकेका छैनन् । तर जमिन्दारहरूको संस्कृति किसानहरूले सिर्जना गरेको हुनाले यसको एकमात्र स्रोत किसानहरूको पसिना र रगत हो भन्ने कुरासम्म पनि कम्युनिस्ट पार्टीको नामबाट चुनिएका नेतृत्वले महशुस गर्न सकेको देखिँदैन ।

मजदुर र किसानहरूको संगठन बलियोसँग पुनर्गठन गरेर जानुपर्ने अवस्था टड्कारो भइसकेको छ । उनीहरुलाई सत्तामा साझेदार बनाउनुअघि नै गाउँमा रहेको सामन्ती जमिन्दार व्यवस्था उन्मूलन भएपछि उनीहरूले सर्वप्रथम जमिन्दार वर्गको राजनैतिक प्रतिष्ठा र शक्तिलाई बिगार्न, विशेष गरी स्थानीय शासक र कुकर्म गर्ने, अर्थात्, जमिन्दारी अख्तियारलाई तान्न र ग्रामीण इलाकामा किसान अधिकारको स्थापना गर्नु पर्दछ । जुन गणतन्त्र स्थापना भएको यत्रो वर्षमा पनि हुन सकेको छैन । अबको लडाइँ त्यसतर्फ केन्द्रित हुनुपर्दछ ।

किसानहरूलाई वास्तवमै सहकारी र विशेष गरी उपभोक्ताहरूको बजार र वचत तथा ऋण सहकारीको खाँचो छ । अहिले चलिरहेको सहकारीहरूले त कानूनको आँखामा छारो हाल्दै दलाल, पुँजीपति र भ्रष्टहरुको कालो धनलाई संरक्षण र परिचालन गर्ने काम गरिरहेको छ । यिनीहरूले मजदुर र किसानहरूका योजनामा लगानी गर्दैनन्, बरू तिनै मजदुर र किसानहरूका विरूद्ध अव्यवस्थित जग्गा प्लटिङ, खेतीयोग्य जमिनको खण्डीकरण गर्ने काम गरिरहेका छन् । महंगो ब्याजदरमा अनुत्पादनशील क्षेत्रमा लगानी गरिरहेका छन् । मजदुरहरुको शोषण व्यापक रुपमा गरिरहेका छन् । देशभरिका लाखौँको संख्यामा रहेका यस्ता नवसामन्ती सहकारी संस्थाहरूलाई मजदुर र किसानहरूले कब्जा तथा नियन्त्रणमा लिएर मजदुर र किसानहरूका कार्यक्रममा परिचालन गरिनुपर्दछ ।

मजदुर र किसानहरू सामानहरू खरिद गर्छन् । दलाल र व्यापारीहरूले उनीहरूको शोषण गर्छन् । जब तिनीहरुका फार्म उत्पादनहरु बेच्छन्, दलाल र व्यापारीहरु उनीहरुलाई धोका दिन्छन् । यसको प्रमुख समस्या संगठनको विस्तृत, मान्यता प्राप्त नियमहरूको अभावले हो । यी सहज किसान संगठनहरु सहकारीका सिद्धान्तहरूको अनुरूप असफल हुने भएकाले किसानहरू माझ काम गरिरहेका कमरेडहरू उत्सुकतासाथ कडा ‘नियम र विनियम’को बारे खोजीमा लाग्नुपर्दछ । उचित मार्गदर्शन दिएमा सहकारी आन्दोलन र किसान संगठनहरुको बृद्धि साथै जताततै फैलिन सक्छ ।

किसान आन्दोलनको उदयसँग, धेरै ठाउँका महिलाले ग्रामीण महिला संघहरू आरम्भ गर्न थाल्नुपर्दछ । जुन उनीहरूको लागि टाउको उठाउने अवसर आउनेछ, र महिलाको अधिकार दिन प्रतिदिन झन झन बलियो हुँदै जानेछ। एक शब्दमा भनौँ सारा सामन्ती-पितृसत्तात्मक व्यवस्था र विचारधारा किसानी शक्तिको बृद्धिसँग जोडिएको छ । यद्यपि वर्तमान समयमा किसानहरू जमिन्दारहरू, भ्रष्ट, दलालहरूको राजनैतिक अधिकारलाई नष्ट गर्नमा केन्द्रित हुनुपर्छ । हाम्रो वर्तमान कार्य भनेको किसानहरूलाई उनीहरूको सबैभन्दा ठूलो प्रयास राजनीतिक संघर्षमा डोर्‍याउन नेतृत्व गर्नु हो ताकि जग्गा मालिकहरूको अधिकार पूर्ण रूपमा खसालियोस् । र त्यो अधिकार सामूहिक रूपमा मजदुर र किसानहरूमा आओस् ।

हाम्रा शत्रुहरू को हुन्? हाम्रा साथीहरू को हुन् ? यो क्रान्तिको पहिलो र महत्त्वपूर्ण प्रश्न हो । १. आन्तरिक शत्रु, २. बाह्य शत्रु । यी शत्रुहरूलाई परास्त गर्न कम्युनिस्ट पार्टीको नेतृत्वमा किसान संघहरूले ग्रामीण इलाकामा आफ्नो अधिकार स्थापित गर्नु पर्दछ, तब किसानहरूले उनीहरूलाई मन नपर्ने चीजहरू तथा आफूभित्रको शत्रुलाई प्रतिबन्ध गर्न थाल्नु पर्दछ । जुवा, लागु पदार्थ, धूम्रपान तीन चीजहरू हुन्, जुन सबैभन्दा कडाइका साथ निषेधित गरिनुपर्दछ । बाह्य शत्रु भ्रष्टाचार, कुरीति, धर्मको आडमा गरिने भेदभाव, जसलाई स्थानीय जमिन्दार, धर्मभिरू, सामन्ती दलालहरूले प्रोपोगाण्डा नै चलाएर किसानका संगठनहरुमाथि अत्याधिक प्रहार गर्ने जुन प्रयास गर्नेछन्, तिनलाई पनि कडाइका साथ नियन्त्रण गर्नु पर्दछ ।

मुख्यतया किसानका संगठनहरुले संगठित रूपमा गरेको उत्पादनलाई सही तरिकाले बजारीकरण गर्दै उचित मूल्य किसान समक्ष पुर्‍याउने कार्य गर्नुपर्दछ । बिचमा बसेर खाने दलाल व्यापारीहरुलाई त कडा सजाय हुने कानून बनाएर विस्थापित नै गर्नु पर्दछ । किसानको उत्पादनलाई लामो समयसम्म नबिग्रने गरी भण्डारणको व्यवस्था, प्याकिङ गरेर विदेशमा निर्यातक योजना, माछा मासु अण्डा जन्य उत्पादनलाई पूर्ण स्वस्थ अनुगमनको व्यवस्थासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर त्यसको अधिकभन्दा अधिक प्रतिफल वास्तविक किसान समक्ष पुर्‍याउनु पर्छ ।

किसानी गर्नका लागि चाहिने जमिन, पानी, मल, आधुनिक कृषि प्रणाली, आधुनिक कृषि औजार तथा यन्त्र, बिउबिजन आदि स्थानीय किसान संगठनहरूले केन्द्रीय सरकारको समन्वयमा व्यवस्था गर्नुपर्दछ र सोही अनुसार बजारीकरण गरेर किसानलाई प्रतक्ष्य लाभ प्रदान गर्नु पर्दछ । ठूलाठूला नदीहरु हाम्रो देशको मेरूदण्ड हुन् । नदीहरुबाट बिजुली उत्पादन गर्ने काममा पनि किसानकै शेयरलाई कडाइका साथ प्रयोगमा ल्याउनु पर्दछ र पानीलाई जमिन सिचाइँ गर्न नहरको व्यवस्था गर्नुपर्दछ ।

नेपालको तीनतिरको सिमाना भारतले घेरेको छ, भारतीय नागरिक र नेपाली नागरिकमा धर्म, संस्कृति रीतिरिवाज, लगाएतका धेरै कुरामा समानता पाइन्छ, भारतमा गरिबी, अशिक्षा, पछौटेपन तथा बेरोजगारीको समस्या चरम स्तरमा छ ।उनीहरु रोजगार खोज्न खुल्ला बोर्डरको फाइदा उठाउँदै प्रशस्त मात्रामा नेपाल छिर्छन् र कानूनविहीन व्यवस्थाको फाइदा उठाउँदै सस्तो मजदुरी गरेर नेपालको अर्थ व्यवस्था असर पुर्‍याउँछन् । यस कुराको दीर्घकालीन व्यवस्था व्यवस्था गर्नुपर्दछ, बोर्डर नियन्त्रित हुनुपर्दछ, पासपोर्ट र भिसाको माध्यमबाट आवतजावत हुनुपर्दछ । श्रम पनि स्विकृतिको आधारमा मात्र गर्न पाउने हुनुपर्छ र यसलाई कडाइका साथ प्रयोगमा ल्याउनु पर्दछ । अनि मात्र हाम्रो आन्तरिक मजदुर र किसानका समस्या समाधान हुनेछ ।

समग्रमा मजदुर र किसानहरूका हक, अधिकार अनि तिनीहरुलाई साँच्चिकै न्याय दिलाउन बलियो मजदुर किसानको संगठनहरु गाउँगाउँमा गठन गरेर, दलाल पुँजीपति, सामन्तहरूको सर्वनाश गर्दै, मजदुर र किसानको सरकार जबसम्म गठन हुँदैन, तबसम्म देशले काँचुली फेर्ने सम्भावना छैन ।

(लेखक बामपन्थी कार्यकर्ता हुनुहुन्छ र प्रस्तुत विचार लेखकका निजी हुन् ।)