काठमाडौँ । नेपालमै पहिलो पटक थ्रीडी भर्चुअल सर्जिकल प्लानिङ (3D Virtual Surgical Planning) प्रविधिको प्रयोग गरेर अनुहारको हड्डीको सर्जरी देशको सबैभन्दा पुरानो सरकारी अस्पतालमा गरिएको छ । गत शुक्रबार वीर अस्पतालको डेन्टल विभागले सो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।
कम्प्युटर सफ्टवेयरबाट गरिने अनुहारको यस्तो किसिमको शल्यक्रिया (Digitally Planned Orthognathic Surgery) वीर अस्पतालमा पहिलो पटक काठमाडौंका एक २७ वर्षीय युवकको दाँतमा गरिएको हो । उनको अनुहारको तल्लो भागको हड्डी लामो र बाहिर निस्केका कारण शल्यक्रिया गरिएको चिकित्सकले जनाएका छन् । हड्डी बढी भएको कारण उनको च्यापु लामो देखिएको र अघिल्लो दाँतले खाना चपाउन नसक्ने समस्या थियो । शल्यक्रिया सम्पन्न गर्न चिकित्सकहरुको संयुक्त टोलीलाई ६ घण्टाको समयमा लागेको लागेको थियो ।
शल्यक्रियाको क्रममा युवकको चार ठाउँका हड्डी काटेर जोडिएको छ । अर्थोडोन्टिक्स युनिट (तार बान्ने विभाग)को नेतृत्व डा. मनिष बज्राचार्यले गर्नुभएको थियो भने ओरल तथा म्याक्सोफेसियल सर्जरीको नेतृत्व सर्जन डा. किशोर भण्डारीले गर्नुभएको थियो । शल्यक्रियाको कम्प्युटर प्लानिङ ( Computer Assisted Surgical Simulation, CASS) ओरल तथा म्याक्सोफेसिअल सर्जन डा. कृष्ण रेग्मीले गर्नुभएको थियो । डा. रेग्मी सर्जरीको कंप्युटर प्लानिङ तथा थ्री डी टेक्नोलोजी (3D Virtual Surgical Planning and Surgical Navigation) मा विशेष दख्खल राख्नुहुन्छ । शल्यक्रियामा एनेस्थेसियातर्फ डा. अभय पोख्रेल, अर्थोडोन्टिकतर्फ डा. अभिलाषा, डा. निशा सहभागी थिए । शल्यक्रियामा अन्य ओरल तथा म्याक्सोफेसिअल सर्जन डा. बन्दना खनाल, डा. इस्फा हक, डा. सन्ध्या जोशी, डा.कृष्ण रेग्मी संलग्न थिए ।

नयाँ प्रविधि हेर्न-सिक्न पाउनु ओरल तथा म्याक्सोफेसिअल रेजिडेन्टका लागि खुसीको कुरा भएको तथा शल्यक्रियापछिको सुरुको अवस्था सफल भइरहेको र थप परिणाम तीन-चार सातापछि मात्र भन्न सकिने डा. गौरव कर्ण र डा .जितेन्द्र खत्री बताउँछन् । तर ‘कुनै पनि शल्यक्रिया केही सातापछिसम्म सामान्य रह्यो भने मात्र पूर्ण सफल मान्न सकिन्छ’ उनीहरुले बताए । यद्यपि प्रविधिको दृष्टिले भने शल्यक्रिया सफल भएको क़ुरा वहाँहरुको भनाइ छ ।
यो प्रविधि नेपालमा पहिलो पटक भएको शल्यक्रियामा सहभागी चिकित्सक डा. भण्डारीको दावी छ ।
डिजिटल प्लानमा गरिएको सो शल्यक्रिया बिरामी र चिकित्सक दुवैका लागि फलदायी हुनेगर्छ । यो प्रविधिमा हड्डीको कुन भागको कति शल्यक्रिया गर्ने भन्ने यकिन कम्पुटर सफ्टवेयरमै गरिन्छ । पहिला कम्प्युटरमा शल्यक्रिया गरेर सर्जरी पछि बिरामीको अनुहार कस्तो हुन्छ भन्ने हेरिसकेपछि मात्रा बिरामीको अनुहारको सर्जरी गरिन्छ । यो शल्यक्रियाका लागि दाँतलाई विशेष प्रविधिबाट बाँधेर तयारी अवस्थामा राख्ने काम अर्थोडोन्टिक्स विभागका चिकित्सक डा. मनिष बज्राचार्यले गरेका थिए भने अनुहारकको हड्डी के कति काट्ने भन्ने योजना डा. किशोर र डा. कृष्णले गरेका थिए । शल्यक्रियापछिको दाँत बाँध्ने काम पनि डा. मनिषले नै गर्नेछन् । सामान्यतया यस्तो प्रक्रियाको उपयोगबाट ६ महिनादेखि दुई वर्षसम्ममा अनुहारको आकार प्रकार परिवर्तन गर्ने सकिन्छ ।
कोरिया, जापान, चीन, अमेरिका, बेलायत लगायतका मुलुकमा विकसित भइसकेको यो सर्जरी नेपालमा भने भर्खरै मात्र भित्रिएको हो । यस अघि सन् २०१६ देखि अस्पतालमा मुख तथा अनुहारको हड्डीको शल्यक्रिया सुरु गरिएको थियो । डिजिटल प्लानमा आधारित भने यो पहिलो शल्यक्रिया हो । म्यानुअल अर्थात् पुरानो प्रविधिबाट अस्पतालमा यसअघि नै ४ वटा सफल शल्यक्रिया भइसकेका छन् । १५ जना यस्तै शल्यक्रियाको पर्खाइमा छन् । यो प्रविधिबाट दाँतको हड्डीको शल्यक्रिया गर्दा शल्यक्रियापछि जटिलता नआउने, बिरामीको माग अनुसारको स्वरुपमा शल्यक्रिया गर्न सकिने, शल्यक्रियामा कम समय लाग्ने, शल्यक्रिया गर्दा ठिक्क मात्र काटिने सुविधा हुन्छ ।
हाल शल्यक्रियाका लागि डा. कृष्णको ब्यक्तिगत कम्प्युटर तथा सफ्टवेयर प्रयोग गरिएको र आगामी शल्यक्रियाका लागि भने अस्पताल आफैले व्यवस्था गर्ने बताइएको छ । हड्डी बढ्दा हुने गडबडी, जिनमा आएको गडबडी, चोटपटक, वंशाणुगत कारण, दाँत तथा कानमा आउने ट्युमरको कारणले अनुहारको हड्डी लामो हुने, बिग्रिने, बाङ्गो हुने लगायतका समस्या उत्पन्न हुन्छन् । वीर अस्पतालमा यो शल्यक्रियाका लागि हालको शुल्क तीनदेखि पाँच हजार तोकिएको छ । शल्यक्रियामा आवश्यक सामाग्री भने बिरामी आफैंले व्यवस्था गर्नु पर्नेछ । नीजिको तुलनामा वीर अस्पतालमा यो सेवा कम खर्चिलो भएकाेले बिरामीलाई लाभदायी हुने चिकित्सकहरु बताउँछन् ।