Cotton seed sprouted in Chinese Spaceship in Moon
 

चीनले चन्द्रमामा पहिलो पटक कपासको बिउ उमार्‍योः

मानव जातिको इतिहासमा पहिलोपटक जनवादी गणतन्त्र चीनले चन्द्रमामा कपासको बिउ उमार्न सफल भएको छ । चीनले चन्द्रमामा पठाएको रोभर चाङ्गी–४ अन्तरिक्ष यानभित्र कपासको बिउ टुसाएको हो । यो विश्वको इतिहासमा पहिलो पटक भएको हो भने विज्ञान र प्रविधिको क्षेत्रमा एक अनुपम उपलब्धि हो ।

चिनियाँ वैज्ञानिकहरूले मंगलबार यसबारे जानकारी दिएका हुन् । उनीहरुले चाँडै नै आफूहरूले अन्य बिउ पनि उमार्ने आशा राखेका छन् ।

पुँजीवादीहरूले एकपछि अर्को धक्का खाइरहेको र पछिल्लो केही दशकदेखि विज्ञान, प्रविधि र उनीहरूकै पेवा ठानिएको आर्थिक क्षेत्रमा समेत कुनै चमत्कारिक उपलब्धि हासिल गर्न नसकेको अवस्थामा समाजवादीहरूले भने शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कृषि र अर्थतन्त्रका सबै क्षेत्रमा नौला-नौला उपलब्धिहरू हासिल गरिरहेका छन् ।

विगत आधा शताव्दीदेखि निरन्तर अन्यायपूर्ण नाकाबन्दीको चपेटामा परेको समाजवादी गणतन्त्र क्युवाले शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा गरेको प्रगति कुनै पनि पुँजीवादी (साम्राज्यवादी समेत) मुलुकहरूले हासिल गर्न सकेका छैनन् । त्यसरी नै झण्डै आधा शताव्दीदेखि नै कठोर नाकाबन्दी व्यहोरिरहेको अर्को सानो देश प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) ले परमाणु विज्ञान र निर्माणको क्षेत्रमा गरेको चमत्कार अरू कुनै मुलुकमा कल्पना समेत गर्न सकिँदैन । यदि उत्तर कोरियामाथि लगाइएको अन्यायपूर्ण साम्राज्यवादी नाकाबन्दी हटाइदिने हो भने उसको आर्थिक बृद्धिदर लामो समयदेखि झण्डै शून्य बराबरको आर्थिक बृद्धिदर भएका अमेरिका, बेलायत र अन्य साम्राज्यवादी मुलुकको त कुरै छोडौँ, दक्षिण कोरियालाई सजिलै उछिन्न सक्ने विश्लेषण गरिएको छ ।

आर्थिक र सामाजिक विकासको सन्दर्भमा विभिन्न चमत्कारहरू गर्न सफल जनवादी गणतन्त्र चीनले योसँगै अन्तरीक्ष विज्ञानमा एकैपटक दुईवटा ऐतिहासिक महत्त्वका उपलब्धिहरू हासिल गरेको छ ।

कपासको बिउ डिब्बा भित्र उम्रिएको होः

चोङकिङ विश्वविद्यालयका उच्च प्रविधि विकास अनुसन्धान प्रतिष्ठान (एडभान्स्ड टेक्नोलोजी रिसर्च इन्स्टिच्युट) बाट जारी गरिएको श्रृङ्खलाबद्ध तस्वीरहरूमा देखाइएअनुसार यो कपासको बोट एउटा डिब्बाभित्र भएको जालीदार ढाँचामा उम्रिएको हो ।

यो प्रयोगको डिजाइनको अगुवाई गर्ने शाइ गेङशिनले भन्नुभयो, “मानव इतिहासमा पहिलो पटकः चिनियाँ चाङ्गी-४ (अन्तरिक्ष यान)ले चन्द्रमामा ल्याएको कपासको बिउ टुसाएको छ र फोटोमा देखिएजस्तै चन्द्रमाको सतहमा मानवजातिले गरेको पहिलो जीववैज्ञानिक परीक्षण सफलतामा पुर्‍याएको छ ।” चाङ्गी–४ जनवरी ३ तारिखमा चन्द्रमाको सबैभन्दा टाढाको भागमा उत्रिएको थियो ।

आलु र तोरीको बिउ पनि पठाइयोः

चोङकिङ विश्वविद्यालयका सोही अनुसन्धानमा संलग्न एक वैज्ञानिकले भन्नुभयो, “हामीले पानी र माटोले भरिएको एउटा डब्बा पठाएका थियौँ, जुन १८ सेन्टिमिटरको थियो । त्यसभित्र कपास, आलु र तोरीको बिउ पठाइएको थियो । विश्वविद्यालयले अन्तरिक्ष यानबाट पठाइएको तस्वीरमा कपासको बिउ राम्रोसँग विकसित भइरहेको देखेपनि अहिलेसम्म अन्य बोट उम्रिएकोबारे खबर प्राप्त भएको छैन ।

चीनले चन्द्रमाको पछिल्लो भागमा उतार्‍यो अन्तरिक्ष यानः

जनवादी गणतन्त्र चीनले जनवरी ३ मा चन्द्रमाको पृथ्वीबाट नदेखिने पछिल्लो पहाडी भागमा आफ्नो अन्तरिक्ष यान चाङ्गी–४ उतारेको हो । चन्द्रमाको यो भागमा पहिलो पटक कुनै अन्तरिक्ष यान उत्रिएको हो । पृथ्वीबाट चन्द्रमाको एउटै भाग मात्र देखिन्छ ।

यसअघि अमेरिका, रुस र चीनले चन्द्रमाको पृथ्वीबाट देखिने भागमा मात्रै अन्तरिक्ष यानमा उतार्न सफल भएका छन् । यसरी मित्र राष्ट्र चीनले एकै पटक अन्तरिक्ष विज्ञानमा दुई वटा किर्तिमानहरू कायम गर्न सफल भएको छ ।