डिसेम्बर १, २०१९ वुहानको खुवानान सी फुड मार्केटमा पहिलो पटक चमेरो र सर्पको आनुवंशिक क्रमबद्धता (जीन सिक्वेन्स) र आणविक संरचना (मोलिक्युलर स्ट्रक्चर) सँग नब्बे प्रतिशत मिल्ने र शालकमा ९५ प्रतिशत मिल्ने मानवजातिमा देखा परेका ६ प्रकारका कोरोना भाइरसमध्ये बिटा कोरोना वर्गमा पर्ने सार्स प्रजातिको नयाँ भाइरस देखियो । यसलाई चिनियाँ वैज्ञानिकहरुले ‘नोवेल कोरोना भाइरस – २०१९’ र विश्व स्वास्थ्य संगठनले ‘कोभिड-१९’ भनेर नामाकरण गरे ।
यस भाइरसबाट हालसम्म विश्वका १ लाख ८७ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने २८ लाख भन्दा बढी संक्रमित भएका छन् । यो १ सय ८५ भन्दा बढी देश र २ सय १० भन्दा बढी टेरिटोरिजमा संक्रमण फैलिसकेको छ ।
अमेरिकाको जोन हपकिन्स्, संयुक्त अधिराज्य (युके) को अक्सफोर्ड र चीनका विभिन्न वैज्ञानिकहरुको अनुसन्धानलाई आधार मान्ने हो भने यस भाइरसबाट संसारभरी चारदेखि पाँच लाख मानिसको ज्यान जानेछ भने ४० देखि ५० लाख मानिसमा संक्रमण पुष्टि हुनेछ ।
यस भाइरसको खोप चीन, संयुक्त अधिराज्य (युके) र अमेरिकाले छिटोमा सेप्टेम्बर २०२० भित्र प्रयोगमा ल्याई सक्नेछन् भने ढिलोमा मार्च २०२१ भित्र प्रयोगमा आइसक्नेछ । खोपको प्रयोग विश्व बजारमा नपुगुञ्जेल विश्वभरका मानिसहरुले न्यूनतम सुरक्षा सर्तकता अपनाउनु पर्नेछ ।
यस भाइरसको लक्षण विभिन्न देशमा फरक-फरक किसिमले देखिएको, देश अनुसार र व्यक्ति अनुसार लक्षण विनाका कोभिड पोजिटिभ विरामीदेखि सामान्य लक्षणदेखि गम्भीर प्रकृतिका लक्षणहरु व्यक्ति अनुसार उसको उमेर समूह, व्यक्तिको रोग, विभिन्न मुटु, दम, मधुमेह तथा क्यान्सरका रोगीहरुमा गम्भीर प्रकृतिका लक्षणहरु देखिएका छन् । यसको मृत्युदर पनि यिनै रोगले ग्रसित तथा उमेर बढी भएका विरामीहरुको मृत्युदर बढी छ र त्यसमा पनि मृत्युदर पुरुषहरुको मृत्युदर बढी छ भने महिलाहरुको मृत्युदर कम छ । त्यसैगरी बालबालिकाको मृत्युदर नगण्य छ ।
नेपालमा हालसम्म ४७ जनामा सामान्य लक्षण देखिएको र त्यसमध्ये ९ जना निको भएर घर गएका र बाँकी ३८ जना उपचारका क्रममा रहेका र प्रायजसो भारत, चीन, संयुक्त अधिराज्य (युके), युरोप र फ्रान्सबाट आएका र उनीहरुको सम्पर्कमा गएका छन् ।
हालसम्म नेपालमा तेश्रो चरणको सामुदायिक संक्रमण फैलिसकेको पुष्टि छैन । तर, उच्च जोखिमका बाबजुद नेपाल सरकारले चालेको रोकथामको उपायहरु प्रभावकारी भएकै कारण समुदायमा थप संक्रमण फैलिएको छैन ।
यसै परिप्रेक्ष्यमा नेपालमा कोभिड-१९ को प्रभावसँगै सम्पूर्ण नेपालीहरुको जनजीवन प्रभावित रहेको अवस्थामा कसरी लकडाउनलाई खुकुलो र बिस्तारै हटाउन सकिन्छ भन्ने विषय गम्भीर रुपमा उच्च सतर्कताका साथ हामी सबैले आत्मसात गरी यस त्रासपूर्ण वातावरणलाई मुक्त गर्नुपर्ने हामी सबैको आवश्यकता छ ।
यसै सन्दर्भमा निम्न बुँदाहरुलाई ध्यान दिँदा लकडाउनलाई विस्तारै खुकुलो र हटाउन सकिन्छ ।
१. पछिल्लो पाँच हप्तामा विदेशबाट नेपाल आउनु भएका स्वदेशी तथा विदेशी नागरिकहरु त्था उहाँहरुले सम्पर्क तथा भेटघाट गर्नु भएका सबै व्यक्तिहरु, अग्रपंक्तिमा काम गर्ने सम्पूर्ण चिकित्सक, नर्स, मेडिकल स्टाफ, स्वास्थ्यकर्मी तथा सवारी चालकहरू, सुरक्षाकर्मीहरु, तरकारी व्यापारीहरु, चिडियाखानाका कर्मचारी, देशै मालबाहक समान बोक्ने चालकहरू, स्वयम् सेवकहरू, पत्रकारहरु, नेपाल सरकारका अग्रपंक्तिमा काम गर्ने मन्त्री तथा सरकारका सबै कर्मचारी, सडकमा काम गर्ने कामदारहरु, भारतीयबाट नेपाल आएका सबै नेपाली तथा भारतीय नागरिकहरु, मठ-मन्दिर तथा मस्जिदमा बस्ने हिन्दु र मुस्लिमहरु लगायत सबै सम्पर्कमा पुगेका लक्षण देखिएका र नदेखिएकाहरु, हाल क्वारेन्टाइन र आइसोलेसनमा बस्नुभएका लगायत, स्वास्थ्य अनुसन्धानकर्मीले शंका गरी रातो (रेड) जोनमा राखेका अन्य सबैको अनिवार्य आरडीटी र पिसिआर मार्फत परिक्षण गरी संक्रमित देखिएकालाई यथाशीघ्र आइसोलेसनमा राख्ने र बाँकी शंकास्पद व्यक्तिलाई कम्तिमा सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने ।
२. कोरोना लक्षण देखिएकाहरु भन्दा नदेखिएकाहरुबाट उच्च जोखिम र संक्रमण फैलिनसक्ने भएकाले लक्षण देखिएको समूह र नदेखिएको समूहको एप्स तयार गर्ने र नयाँ एप्स मार्फत उनीहरुको मनिटर गर्ने ।
३. कोभिड-१९ को देशैभरीका अस्थायी अस्पतालहरुको समुदायबाट कम्तिमा ५ किलोमिटरको दुरिमा छुट्टै अस्थायी अस्पतालको विकास गर्ने देशैभरीका सरकारी तथा निजी अस्पतालहरु अन्य विरामीहरुका लागि खोल्ने । कोभिड-१९ मा काम गर्ने अग्रपंक्तिका चिकित्सक तथा मेडिकल स्टाफहरुलाई अस्पतालको नजिक खाने, बस्ने तथा आइसोलेसन, क्वारेन्टाइनको व्यवस्था गर्ने कसैलाई शंकास्पद लक्षण देखिएमा २१ दिन राख्ने ।
४. नेपाल र भारतको सिमानामा जोडिएका सम्पूर्ण जिल्लाहरु र जिल्लाभित्रका गाउँपालिकाहरु कम्तिमा ३ देखि ५ महिनाका लागि बन्द गर्ने र भारतमा शून्य केस नतिजा आएको कम्तिमा ४० दिनपछि मात्र सिमाना खुलाउने साथै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमान स्थाललाई अरु देशहरुमा शून्य केस भएको ३० दिनपछि मात्रै खुलाउने र चीन र नेपालको हवाई सेवा कम्तिमा यथाशीघ्र एक हप्तामा एउटा उडान गर्ने र चीनबाट नेपाल आउने कोभिड-१९ का विरामीको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्रीहरु नेपालीहरुले प्रयोग गर्ने दैनिक उपभोग्य वस्तुहरु, ल्याउन सहज हुने, ग्याङ चो, खुन्मिङ जहाँ विगत ४ महिनादेखि सुरुको केही हप्ता नगण्य मात्रामा कोभिड पोजिटिभ केस देखिएर हाल कुनैपनि केसहरु देखिएका छैनन् । तसर्थ यी दुई सहर बाहेक अन्य स्थानको हवाई उडान न्यूनतम ४० दिनसम्मका लागि बन्द गर्ने ।
५. काठमाडौँ बाहेक सबै जिल्लाहरुका विद्यालय, विश्वविद्यालयहरु, पार्क, होटल, सिनेमा घर, मठ, मन्दिर, मस्जिद, गुम्बा, सार्वजनिक स्थान, सपिङ मल, सुपरमार्केट हाट बजार, कपाल काट्ने सैलुन, स्पा, मसाज सेन्टर तथा ब्युटिपार्लर, डिस्को बार तथा क्लब न्यूनतम् ४५ दिनका लागि पूर्ण रुपमा बन्द गर्ने ।
विद्यार्थीहरुलाई यथाशीघ्र सबै जिल्लाहरुमा सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्ने, सम्भव नभएका जिल्लाहरुमा एफ.एम. सामुदायिक रेडियो र मोबाइल कक्षाको व्यवस्था गर्ने ।
६. देशभरीका जिल्लाहरुलाई रेड, ग्रीन र एल्लो जोन गरी तीन किसिममा विभाजन गर्ने । रातो (रेड) जोनमा परेका जिल्लाहरुलाई पूर्ण रुपमा आवतजावत बन्द (सिल) गर्ने । पहेँलो जोनमा परेका जिल्लाहरुमा यातायात, होटल, विद्यालय , सार्वजनिक स्थान, सपिङ मल, हाट बजार, कपाल काट्ने सलुन, स्पा, मसाज सेन्टर तथा ब्युटिपार्लर बन्द गरी सामान्य सामाजिक दुरी कायम गरी हिँडडुल गर्न दिने । हरित (ग्रीन) जोनमा परेका जिल्लाहरुमा विद्यालय, सैलुन, ब्युटिपार्लर , डिस्को बार, पार्क, सिनेमा हल बन्द गरी मझौला होटल, कलकारखाना, तरकारी मालवाहक सवारी साधनहरु तथा यात्रु ओसारपसारका निम्ति प्रयोग गरिने छोटा दुरीका सार्वजनिक यातायातका साधनहरु खुल्ला गर्ने ।
तर, बस, माइक्रो र टेम्पोमा यात्रा गर्ने यात्रुहरुले अनिवार्य मास्क र पञ्जा लगाउनुपर्ने र कसैले खोकेको खण्डमा अन्य यात्रुहरू तथा चालकले अनिवार्य रुपमा बाहिर निकाल्न सहयोग गर्ने र चिकित्सककोमा पुर्याउन सहयोग गर्ने र साथै सम्पूर्ण यातायाताका सम्पूर्ण यातायातका साधनहरुमा अनिवार्य दिनमा एक पटक डिस-इन्फेक्सन गर्नुपर्ने र डिस-इन्फेक्सन नगरिएका सवारी साधानहरु नचलाउने नियम लागु गर्नुपर्ने ।
७. ६० वर्ष उमेर समूह भन्दा माथिका उच्च रक्तचाप (प्रेसर), दम (आस्थ्मा), मधुमेह (सुगर) र अन्य दीर्घ रोगीहरुको सबै जिल्लाहरुमा पहिचान गरी विशेष उपचार र औषधीको सेवन गर्न र भीडभाडमा नगई घरमै बस्न अनुरोध गर्ने र दीर्घ रोगीहरुको निगरानीका लागि छुट्टै चिकित्सकको टिम गठन गरी स्वास्थ्य सहायता केन्द्र (हेल्थ डेक्स) खोल्ने र स्वास्थ्यकर्मीहरुले अनिवार्य फोन गर्ने र फोन गर्ने विरामीको अवस्थाको बारेमा दैनिक जानकारी लिने ।
८. नेपाल प्रहरी र नेपाली सेनाका स्वास्थ्यकर्मीहरुलाई ७७ वटै जिल्ला अन्तर्गतका नगरपालिका गाउँपालिका, वडा र गाउँ-गाउँसम्म स्वास्थ्य स्वयम् सेविकालाई तालिम दिने, ज्वरो, श्वासप्रश्वास र खोकीका विरामीहरुलाई अनिवार्य टेष्ट गर्ने र न्यूनतम सुरक्षाका उपायहरु गाउँ गाउँ सम्म अनिवार्य गर्ने ।
९. अस्थायी ज्वरो (फिभर) क्लिनिक टोल-टोलमा सञ्चालन गर्ने बस, बसपार्क, तरकारी बजार भीडभाड हुने ठुलाठुलो स्थान तथा सपिङ सेन्टरहरुमा स्वास्थ्यकर्मीहरु मार्फत थर्मल गन प्रयोग तापक्रम मापन गर्ने, तापक्रम निलाइकन कुनै पनि सरकारी कर्मचारीहरु, सर्वसाधारणहरु, अस्पताल भित्र, नेपाल सरकारका कार्यालयभित्र, संघ-संस्थाभित्र जान नपाउने व्यवस्था गर्नुपर्दछ ।
१०. प्रत्येक दिन परिवारका सदस्यहरुहले परिवारको प्रत्येक दिनको रिपोर्ट अनलाइन इमेल मार्फत सामुदायिक रकेर्ड सेन्टरमा पठाउने व्यवस्था गर्ने ।
कसरी सम्भव छ ठूला सहरहरु खुलाउन ?
♦ एउटा नयाँ मोवाइल एप्सको विकास गर्ने र उक्त एप्सभित्र रेड, एल्लो र ग्रीन जोन गरी तीन किसिमको तय गर्ने । सहरमा बस्ने प्रत्येक व्यक्तिलाई उक्त व्यक्तिको नाम, नागरिकता नम्बर र अस्थायी, स्थायी ठेगाना अनिवार्य गर्ने ।
♦निजी सूचना (प्राइभेट इन्फरमेसन) राखी सम्बन्धित व्यक्तिलाई हेल्थ कोर्ड उपलब्ध गराउने गराउने, प्रत्येक व्यक्तिको कम्तिमा ३ हप्ताको विगतको रेकर्ड राख्न मिल्ने गरी बनाउने ।
♦ त्यस एप्स भित्र शंकास्पद विरामी, संक्रमित विरामी र रोग नदेखिएका विरामी गरी तीन वटामा वर्गीकरण गर्ने ।
♦ प्रत्येक नागरिक घरबाहिर जाँदा र घरभित्र आउँदा प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्य कोड मार्फत प्रत्येक दिन ज्वरो र आफूमा देखिएका लक्षणहरु अपडेट गर्ने ।
♦ यदि २१ दिनसम्म कुनै लक्षण र ज्वरो नदेखिएमा उक्त व्यक्तिको अपडेट अटोमेटिक ग्रीन बक्समा परिणत हुने बनाउने ।
♦ संक्रमित देखिएमा रातो बक्स र शंकास्पद केस भएमा पहेँलो बक्समा परिणत हुन्छ ।
♦ यसरी कुनै कारणले यातायातका साधनहरुभित्र, सुपरमार्केटमा तथा पार्कमा कुनै शंकास्पद व्यक्ति रहेछन् भने ग्रीन कोड इन्भ्यालिड हुन्छ ।
♦ सहरमा बस्ने प्रायः जसो मानिसहरुमा जिपिएस कहाँ कति समय गइयो भन्ने कुरा सिस्टमले देखाउँछ ।
♦ यो नयाँ एप्सको विकास गरी सहरमा बस्ने सबै व्यक्तिहरुलाई अनिवार्य हेल्थ कोड उपलब्ध गराएमा प्रत्येक व्यक्तिले आफ्ना मोवाइल मार्फत स्क्यान गर्छ र स्क्यानमार्फत आफू स्वस्थ भएको नभएको, शंकास्पद व्यक्ति नजिक पुगे नपुगेको र संक्रमित व्यक्तिसँग नजिक भए नभएको थाहा हुन्छ ।
♦त्यसैले सरकारले यस्तो एप्सको विकास गरी हरेक सार्वजनिक स्थानमा स्टिकरहरु ठाँउ-ठाँउमा टाँस्ने र व्यक्तिले स्क्यान गरेर स्वस्थ्यको जाँच गरी कहीँ पनि जान नसक्ने हुन्छ ।
यो नै २१औँ शताब्दीको भाइरस विरुद्धको सवै भन्दा ठूलो रोकथामको उपाय हुन सक्छ ।
♦ त्यसैगरी हालसम्म नेपालमा नेपालीहरुले अनिवार्य तापक्रम लिनुपर्दछ भन्ने बुझाइ भएपनि सर्वसाधारण नागरिकहरुले घरमा थर्मोमिटर किनेर राखेका छैनन् । रेड जोन र एल्लो जोनमा पर्ने सबै जिल्लाहरुका नागरिकहरुलाई समूहमा विभाजन गरी प्रत्येक टोलमा कम्तिमा एउटा थर्मल गन उपलब्ध गराउने र त्यस टोलमा काम गर्ने स्वास्थ्य स्वयंसेविका मार्फत तापक्रम लिनका लागि नागरिकहरुलाई प्रोत्साहन गर्ने एवं सामाजिक दुरी कायम गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।
♦ देशैभरीका ठूला सहरहरुमा पूर्ण रोकथाम नभएसम्मका लागि ठूला साना बाटोहरुमा कम्तिमा दिनमा एकचोटी सडक, सुपरमार्कट, फोहरहरु थुपारिने ठाउँ, सार्वजनिक यातायात स-साना गल्ली एवं चौतारीहरुमा डिस-इन्फेक्सन गर्ने र सबै नागरिकहरुलाई मास्कको प्रयोग गर्न, अनिवार्य २ मिटरको दूरी कायम गर्न दिनमा चार चोटिभन्दा बढी साबुन-पानीले मिचिमिची हात धुन, स्यानिटाइजर प्रयोग गर्न प्रोत्साहन गर्ने ।
♦ पिसिआर र आरडिटीको लाखौँ परिक्षण बेगर नेपालमा संक्रमित कति छन् भन्ने कुरा थाहा नहुने भएकाले सकभर सबै जिल्लाहरुमा पिसिआर र आरडिटी परिक्षण सञ्चालन गर्ने र कम्तिमा ५ लाखदेखि १० लाख व्यक्तिहरुको परिक्षण गर्ने लक्ष्य राख्ने ।
(लेखक जनवादी गणतन्त्र चीनको वुहानस्थित खुवाङ्जो युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत थोङ्जी अस्पतालमा भिजिटिङ स्टेम सेल रिसर्चरको रूपमा कार्यरत अनुसन्धानकर्ता हुनुहुन्छ ।)