मानिसहरु मलाई सँधैजसो सोध्छन् – यदि अमेरिका र चीनका बिचमा सैन्य युद्ध भड्क्यो भने कुन पक्षले जीत हात पार्ला?
समग्र सैन्य शक्तिको दृष्टिमा कुन ज्यादा शक्तिशाली छः चीन वा अमेरिका? पक्कै पनि अमेरिका छ । परन्तु, जब चीनको तटीय क्षेत्रको कुरा आउँछ, चीनको नौसेना र स्थल सेनाको एकीकृत शक्तिलाई अमेरिकी नौसेनाको शक्तिसँग तुलना गरेर कुन ज्यादा शक्तिशाली छ भन्न कठिन छ । त्यहाँ अहिलेसम्म प्रयोग भएको छैन, त्यसैले निश्चित छैन ।
यदि चीनका महत्त्वपूर्ण आन्तरिक चासोका क्षेत्रहरुमा, उदाहरणका लागि ताइवानले अमेरिकी उक्साहटमा सीमा नाघेको र सैन्य शक्ति प्रदर्शन गर्न खोजेको खण्डमा त्यहाँ इच्छाशक्तिको प्रतिस्पर्धासँगै शक्तिको प्रतिस्पर्धा पनि हुनेछ । त्यस्तो बेलामा कसको हात माथि पर्ला? यहाँ सैन्य शक्ति र नैतिक शक्तिका साथै युद्धको इच्छाशक्तिको संयोजन हुन पुग्छ । तपाईँलाई विचारमा चीनको तटीय क्षेत्रको युद्धमा को बढी शक्तिशाली होला?
तसर्थ अमेरिकालाई स्मरण रहोस् कि ऊ चीनका आन्तरिक चासोका विषयहरुबाट ठाढै रहोस्? चीनको तटीय क्षेत्रमा आगोसँग नखेलोस्, ताइवानको प्रश्नमा बिल्कुल बखेडा नझिकोस्, र दक्षिण चीन समुद्रमा धेरै चकचक नगरोस् । यदि ट्रम्प प्रशासनले पुनःनिर्वाचित हुनका लागि मात्रै चीन-अमेरिका सम्बन्धमा तनाव सिर्जना गर्न खोजेको भए र साँच्चिकै सैन्य शक्ति प्रदर्शन गर्न तयार भए, अबका केही महिना होसियार हुनोस्, धेरै पर्खनु पर्दैन ।
चीनले निश्चितरुपमा युद्ध चाहँदैन । मेरो विचारमा कुनै पनि परिस्थितिमा चिनियाँ सेनाले पहिलो प्रहार गर्नु हुँदैन । तर म के कुरामा ढुक्क छु भने चीन पहिलो प्रहारको जवाफमा दोस्रो प्रहार गर्न सँधै पूर्णरुपले तयार रहनुपर्छ । आन्तरिक चासोको विषयमा चीन पछि हट्न सक्दैन । चीनको अडान सबैका सामु प्रष्ट छ । चीन र सरोकारवाला पक्षहरुका लागि सबैभन्दा राम्रो भनेको एक अर्काका आन्तरिक चासोहरुको सम्मान गर्नु हो । यदि दुवैका प्रमुख चासोहरु बाझिएको खण्डमा अन्तरविरोधलाई होसियारीपूर्वक व्यवस्थापन गरिनुपर्छ, विष्फोटक हुन र नियन्त्रण बाहिर जान दिनु हुँदैन ।
अनेकौँ युद्धहरु तथा आरोह अवरोहबाट अनुभवका आधारमा मलाई थाहा छ कि शान्ति साँच्चिकै सुन्दर कुरा हो तर शान्तिको रक्षा गर्ने कुरा सहज छैन । अमेरिका र चीन बिचको सम्बन्ध तीव्र रुपमा बिग्रिरहेको र केही तत्त्वहरुले यो ठुलो दृश्यमा भएका परिवर्तनहरुको फाइदा उठाउन खोजेको समयमा चीनको इच्छाशक्ति, विवेक र समयसँगै परिस्थितिलाई काबुमा लिनसक्ने क्षमताको परीक्षा हुनेछ ।
(लेखक ग्लोबल टाइम्सका प्रधान सम्पादक हुनुहुन्छ । अनुवादः नहेन्द्र खड्का ।)