वि.सं. २०५२ सालतिर एउटा लाेक गीत सुनिन्थ्यो ।
“बित्न लाग्यो हे साइँला, जिन्दगी मेरो रोएर,
डाँडा र काँडा काटेर, भागेर जाऊँ न मुग्लान ।”
कसैले साँइली भाउजुलाई भनिदिएछ – मुग्लानमा चियाको बोटमा रुपैयाँ फल्छ, त्यो टिप्नका लागि साइँला दाजुलाई विदेश जान आग्रह गर्दै थिइन उनी ।
साँइला दाइ भन्थे, “अाफ्नै देशमा रगत पसिना बगाउनु पर्छ । तिमीलाई कसले भन्यो विदेशमा रुपैयाँ फल्छ ? हामी नेपालीहरु अब अरु धेरै विदेशीको दास बन्नु हुँदैन । नेपालमै सर्वहारावर्गको शासन-सत्ता स्थापना गर्नुपर्छ । त्यसका लागि वर्तमान सामन्ती सत्ता ढाल्नु जरुरी छ । सर्वहाराको शासन ल्याउन बन्दुक उठाउन जरुरी छ । सामन्तहरुले मागेर अधिकार दिनेवाला छैनन्, हामीले जनयुद्ध गरेर खोस्नु पर्दछ । अनि मात्र गरिबको झुपडीमा रातो घाम लाग्ने छ । देशले एकपटक रक्तिम क्रान्ति मागेको छ । सर्वहारावर्गको उत्थानका निमित्त मुक्ति या मृत्यूको लँडाइ लड्नु पर्छ । मुक्तियुद्धमा गए यहि एक मुठी प्राण जाला, जिते सिङ्गो संसार आउने छ । आफ्नो वर्गको उत्थान र संसारभरी सर्वहारा वर्गकाे शासन-सत्ता स्थापना गर्न सहादत हुन परेछ भने पनि कुनै पछुतो छैन । तर यो महान् मुक्तियात्रा कुनै पनि मूल्यमा अगाडि बढाउनै पर्दछ ।”
यही उद्घोषकासाथ २०५२ साल फाल्गुन १ गते महान् जनयुद्धको शङ्खघोष भयो । अनि लालझुपडीका हजाराैँ साँइला दाइहरु दुनियाँ बदल्ने अभियानमा लामबद्ध भए ।
२०७२ सालमा अर्काे एउटा गीत सुनियो, “सुन साँइली, परदेशबाट म आउँला, ४० कटेसी रमाउँला ।”
साँइला विदेश जाने तयारी गर्दै थिए । साँइली बलिन्द्रधारा आँशु बगाएर रुँदै थिइन् । साँइला दाइ साँइली भाउजुलाई आफू विदेश गएर धेरै पैसा कमाएर फर्किने र बुढेसकालमा साथमै रमाएर बाँच्ने आश्वासन दिँदै थिए । भावीको खेलमा परेर विदेशिनु परेको भन्दै भाग्यलाई दोष दिँदै थिए । क्रान्तिकारी साँइला दाइहरुले मुक्ति युद्ध सुरु गरेको २० बर्षपछि पनि अर्को पुस्ताका साँइला छोराहरु पापी पेट पाल्न विदेशीको दास बन्न बाध्य छन् ।
दस नंग्रा खियाएर, आफ्नाे श्रम र पसिना अाफ्नै मुलुकमा बगाएर आफ्ना जहान-परिवारसँग दु:ख सुखको मानो खाने दिन के हाम्रो जिन्दगीमा कहिल्यै आउँदैन ? के हामीले दुई छाक हात-मुख जोर्न, अनि आफ्ना लालाबालालाई शिक्षा-दीक्षा दिन, लालनपालन गर्न, बूढा बाबुआमाको औषधि उपचार गर्नकै निम्ति पाखुरीमा भएको बल र आफ्नो युवावस्था पुस्ताैँ पुस्तासम्म विदेशीको गुलाम बनेर बुढेसकालमा मात्रै स्वदेश फिर्नु पर्ने हो त ? एकपटक पाएको मानव चोला सधैं गधाजस्तै जोतिनका लागि मात्र हो त ? हामी जन्मिएको केका लागि ? हामीले आफ्नै घरमा जे छ, सुख दु:ख सपरिवार बसेर खाने अनि साथैमा रमाउन पाउने व्यवस्था कहिले आउने हो ?
खोक्रा नारा र बकम्फुसे भाषण सुन्न नपर्ने, तँ फलानो पार्टी, अनि म फलानो पार्टी भनेर झगडा बन्द हुने दिन कहिले आउला ? ‘म सकेजति श्रम स्वदेस मै गर्छु, आफ्नो मेहनत पसिना देशकै निम्ति खर्च गर्छु, मलाई केवल आफ्नो तरिकाले बाँच्न देऊ’ भन्न समेत नपाउने दिनको अन्त्य कहिले हुने ? विदेशीका लागि अग्ला अग्ला महलहरू, फराकिला बाटा-घाटा, लामा-लामा पुलहरू, भूमिगत पाइप लाइनहरू र मेट्रो कुदाउन प्रयोग भएका हाम्रा पाखुरा अाफ्नै देश विकासमा कहिले खर्च हुने ?आफ्नै बुद्धि, विवेक र साहसले स्वदेशमै सुन फलाउने दिन कहिले अाउने ?
२०५२ सालमा साँइला दाइले साँइली भाउजुलाई भनेका थिए – “आफ्नै माटोमा रगत पसिना बगाउनु पर्छ, आफ्नै देशकाे बालुवामा सुन उमार्नु पर्छ । त्यसका लागि गरिबको शासन चाहिन्छ । सुनौलो दिन आएपछि विदेश जानुपर्ने छैन । सबैले यहिँ बाँच्नसक्ने नयाँ नेपाल बन्नेछ ।”
यहि सोचेर साँइला दाइ क्रान्तिमा होमिए । हजाराैँ मानिसले रगत बगाए । देशमा भीषण युद्ध भयो । देख्न र सुन्नका लागि व्यवस्था पनि फेरियो । तर आज २०७४ सालमा अाइपुग्दा साँइला दाइका सन्तति न त क्रान्तिको सपना देख्न सक्छन्, न त देश विकास हुन्छ भन्ने आशा नै राख्न सक्छन् । न स्वदेशमै सुन फलाउने महत्त्वकाङ्क्षा राख्छन् । बस ! उनीहरू साँइलीलाई यति मात्र भन्न सक्छन्, “म उमेर छँदै विदेश जान्छु, धेरै कमाउँछु, अनि बुढेसकालमा रमाउँला ।”
२०५२ सालमा साँइला दाइले क्रान्तिमार्फत सत्ता परिवर्तन गर्ने र समुन्नत नेपाल बनाउने सपना देखे । त्यसकै निमित्त लडे । साँइला दाइको छोराको पुस्ताले क्रान्ति, जनआन्दोलन, राजतन्त्र, गणतन्त्र इत्यादि सबै देख्यो, भोग्यो, अनि सोच्यो अब देशमा काम गरेर बाँच्न गाह्रो छ र जवानीमै पैसा कमाउन मुग्लान भासियो । यो पुस्तासम्म त जेनतेन चलेकै थियो तर पछिल्लो पुस्ता प्रविधिमैत्री भएको छ, दुनियाँमा कहाँ के हुँदैछ भन्ने जानकारी राख्छ । कहाँ गयो भने सुखपूर्वक एेश आरामको जिन्दगी बाँच्न पाइन्छ ? त्यसकाे खोजिमा छ । न यो पुस्ता क्रान्ति गर्छ, न त साँइलीलाई घरमै कुराएर राख्छ । बरु साँइलीसहित पलायन हुन खोज्दैछ । सँधै सँधैका लागि, पुनः नफर्किने गरी ।
देशमा ठूला ठूला क्रान्तिहरू र परिवर्तनहरू भए । कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र, अनि कहिले गणतन्त्र भन्दै व्यवस्थाका नामहरू फेरिँदै गए । प्रधानमन्त्रीहरू फेरिए । मन्त्री, सांसद र नेताहरू सारा फेरिए । तर जनताका दुख फेरिएनन् । गरिब जनताको झुपडीमा कहिल्यै उषाका किरणहरू उदाएनन् । न त रातो घाम नै लाग्यो ।
के हामी जन्मिएकै विदेश पलायन हुन, विदेशीको विकास गरिदिने साधन हुनलाई मात्र हो त ? देश परिवर्तन गर्न सक्ने, देश विकासको गतिमा हाँक्न सक्ने नेतृत्व नजन्मिएकै हो त ? अबको नयाँ पिँढीलाई देश साँच्चिकै बन्छ र बन्दैछ भनेर अनुभूति हुनेगरी व्यवहारमा नै देखिने गरी परिवर्तन ल्याउन सकिएन भने युवाहरू मात्र होइन, सपरिवार पलायनको डरलाग्दो स्थिति सिर्जना हुन सक्नेतर्फ सबै सचेत हुन जरूरी छ ।
याे पनि पढ्नुहाेस्ः अयोग्यताकाे प्रमाणपत्र
याे पनि पढ्नुहाेस्ः नयाँ संविधान र महान् जनयुद्धको उपलब्धि – क. प्रचण्ड
याे पनि पढ्नुहाेस्ः कृषिमा आत्मनिर्भरता र भैंसीपालन
याे पनि पढ्नुहाेस्ः माओवादी श्रम र उत्पादन – क. टीका बास्ताेला ‘रेखा’
(हाल युराेपकाे पाेर्तुगलमा बस्ने लेखक बराल माअाेवादी केन्द्रका समर्थक हुन् र लेखमा प्रस्तुत विचार लेखकका नीजि हुन् – सम्पादक ।)