Karl Marx, प्रिय मार्क्स, कार्ल मार्क्स
 

“विज्ञानकाे उज्यालाे नपुगेका धर्तीका चिराहरुमा अध्यात्मवादीकाे ईश्वर लुकेकाे हुन्छ !”
– अल्बर्ट आइन्स्टाइन

पूर्वपाषाण युगदेखि उत्तरपाषाण युगसम्म प्रकृतिका हरेक घटनाहरूलाई बुझ्न अलमल परेकाे प्राचीन मानव जातिले अन्ततः अदृश्य शक्तिकाे कल्पना गर्‍यो । त्यसैकाे जगमा “ईश्वर”को जन्म भयाे । त्यहि ईश्वरको कल्पनाकाे आधार धर्मकाे जन्म भयाे र यसले १९ औँ शताब्दीसम्म एकछत्र शासन गर्‍यो ।

समयकाे गतिसँगै सृष्टि सम्बन्धमा थुप्रै अनुसन्धान भए पनि ठाेस निष्कर्षमा दार्शनिकहरु पुग्न सकेन । घुमाई फिराई ईश्वरको शरणमा परे । यहि लामाे खाेजि, अनुसन्धान, वर्गसंघर्ष र उत्पादनका लागि संघर्षकाे परिणम स्वरुप मार्क्सवादी वैज्ञानिक दर्शन अगाडि आयाे । अहिलेसम्मकै उत्कृष्ट विचारकाे रुपमा प्रादुर्भाव भएकाे मार्क्सवादी दर्शनले अहिलेसम्मका विचारकाे क्षेत्रमा परेका गाँठा फुकायाे ।

दर्शनमा द्वन्द्वात्मक तथा ऐतिहासिक भाैतिकवाद,राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद नै मार्क्सवादका गुदी हुन् । अर्काे शव्दमा भन्नुपर्दा निरन्तर परिवर्तनकाे सिद्धान्त मार्क्सवाद हाे । शाश्वत पदार्थकाे अस्तित्त्व भएकाे जगतमा काल्पनिक ईश्वर वा अदृश्य शक्तिको कुनै अस्तित्व नभएकाे पुष्टि गरेर मार्क्सवाद विज्ञानकाे रुपमा देखा पर्याे ।

Kali Bahadur Malla, Memer of the parliament, upper house
लेखक

पदार्थकाे अस्तित्त्व स्विकार गरे पनि चेतनालाई आदित्त्व मान्ने अध्यात्मवादी दर्शनकाे ठाउँमा भूत (पदार्थ) लाई आदित्त्व र चेतनालाई पदार्थकाे सुसंगठित रुप मान्ने दर्शनले लियाे । त्यसैलाई माओले जीवन र जगतलाई हेर्ने दुई विश्व दृष्टिकाे सुन्दर व्याख्या गरे ।

यी दुई विपरित विचारमा द्वन्द्वात्मक र ऐतिहासिक भाैतिकवाद लाई आफ्नाे दृष्टिकोण र मार्गदर्शक सिद्धान्त मान्ने साम्यवादी (कम्युनिस्ट) र आध्यात्मवाद अर्थात ईश्वर मान्ने, रुढिवाद,अन्धविश्वास र कल्पनामा विश्वास गर्नेहरु सामन्तवादी र त्यहि अगाडि बढेर पुँजीवादी बाटाेमा छन् ।

सन्दर्भ यहाँ आजका नेपालका कम्युनिस्ट र उनीहरुकाे विचार र व्यवहारकाे हाे । मार्क्सवादले ईश्वर, ईश्वरमा आधारित धर्म, धर्ममा आधारित संस्कार-संस्कृति, स्वर्ग, नर्क, पुनर्जन्म र भाग्यवादलाई खारेज गरिसक्याे । तर हामी नेपाली कम्युनिस्टहरु आ-आफ्नाे समुदायकाे धर्म संस्कृति अनुसार जन्मकार्य, मृत्युकार्य र चाडपर्व मान्दछाैँ । यतिसम्म कि हिजाे जनयुद्धकालमा “रुढीबादी संस्कार बहिस्कार” भनेर जनतालाई जनवादी संस्कृतिकाे प्रशिक्षण दिएर मृत्यु कार्य (क्रिया) गर्न, परम्परागत चाड-पर्व बहिस्कार गर्न लगाउने पूर्वमाओवादीहरू पनि सांस्कृतिक प्रतिक्रान्तितर्फ धकेलिएर मृत्युकार्यमा कपाल खाैरिने, १३ दिने कृया गर्ने, नून छाेड्ने, तिहार दशै चाड-पर्व मान्ने, फादर डे, मदर डे र बर्थ डे मनाउन थाल्नु र आफ्नाे विचारबाट विचलन हुनु दुर्भाग्य हाे ।

एउटा कम्युनिस्टले मृत्युकार्य कतिदिन गर्ने भन्ने बहस नै गलत हाे । १ दिन माने पनि ब्राह्मणले मन्त्र पाठ गराउनै पर्याे, गरुड पुराण पढ्नै पर्‍यो । अन्ततः स्वर्ग र नर्ककाे सिद्धान्त मान्नै पर्याे । अनि त्यहा मार्क्सवाद बाँकि कहाँ रहन्छ ? भाैतिकवाद कहाँ जान्छ ?

मार्क्सवादकाे एउटा हिस्सा सिंगाे समाजले मात्रै लागू गर्छ भने अर्काे पक्ष प्रत्येक व्यक्ति आफैले लागू गर्न सकिन्छ । व्यक्तिले आफूले बुझेकाे र विश्वास गरेकाे कुरा आफै लागू गर्नुपर्छ, “पल्लाे घरकाेले गरेन वा नेताले गरेन, म किन गरूँ?” भन्ने कुरा गलत हाे ।

आफ्नाे घरमा समानता लागू गर्न पार्टीले निर्णय गरिरहनु पर्दैन । यहाँ त समाजकाे हवाला दिएर साँस्कृतिक आत्मसमर्पण गर्ने खतरा देखियाे । कम्युनिस्ट भनेकै अग्रगामी सोच भएकाे व्यक्ति र पार्टी  हो र उसले जनसमुदायलाई गलत र राम्राेकाे परिचय गराएर नेतृत्त्व गर्नुपर्छ, जहिलेसुकै जनताभन्दा केही अगाडि हुनुपर्छ । तर हामी नेपालका कम्युनिस्ट जनताभन्दा एककदम पछि फर्किएकाे भान हुन्छ ।

अन्तमा, कम्युनिस्टले विचार अनुसारकाे व्यवहार गर्नुपर्छ । जस्ताे लेनिन भन्छन्, “Marxism is not a lifeless dogma, not completete, readymade immutable doctrine, but a living guide to action” । अर्थात मार्क्सवाद निर्जिव, बनिबनाऊ, जड वस्तु नभएर जिवित, कार्यमा पथप्रदर्शक सिद्धान्त हाे !” भनाई स्पष्ट छ कि कम्युनिस्टहरु निरन्तर परिवर्तनका हिमायती हुन्छन र हुनु पर्छ । हामीले जनतालाई नयाँ कुराे दिनुपर्छ। तर अल्बर्ट आइन्स्टाइन समेत अध्यात्मवादलाई इन्कार गरेका छन् भने कम्युनिस्टहरु अध्यात्मवादसँग सती जाने हाेइन । “यथा नामाे तथा गुणाे” अर्थात नामअनुसार गुण हुनुपर्छ भन्दा के फरक पर्ला र ?

(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका सांसद हुनुहुन्छ ।)