narayan sharma kamal prasad, नारायण शर्मा 'कमलप्रसाद'
 

प्राचीन समाजमा मानव जीवनका लागि आवश्यक, उपयोगी, सहयोगी, आशालाग्दा र भरपर्दा केही प्राकृतिक वस्तु वा व्यक्तिहरूलाई माया गर्ने, संरक्षण गर्ने र सम्बर्द्धन गर्ने क्रमसँगै विभिन्न कालखण्डमा विभिन्न वस्तु, जीवजन्तु र मानिसहरू माया, मान सम्मान गर्ने क्रममा पूजा-आराधना गर्ने प्रचलन नै चलेको पाइन्छ । यस सन्दर्भमा हाम्रो पूर्वीय समाजमा काग, कुकुर, गाई, गोरु र भाइलाई पनि पूजा नै गर्ने परम्पराको थालनी भयो । यिनलाई पूजा गर्ने पर्वलाई नेपालमा तिहार नामकरण गरियो ।

कागले फोहोर खाएर वातावरण स्वच्छ राख्ने र एक चतुर प्राणी हो । उड्ने पन्छी भएकोले छिटोछरितो एक ठाउँबाट अर्को ठाउँमा सजिलै जान-आउन सक्ने गर्छ । प्राचीन अविकसित समाजमा सञ्चारका साधनहरू नभएको बेलामा मानिसहरूले सन्देश पुराउन कागलाई प्रयोग गर्थे होला । त्यसैले कागको बोलीलाई अर्थ्याउने गरी एउटा श्लोक र विधि नै तयार भएको पाइन्छ । त्यो श्लोक यस्तो छ:

लाभ, हानी तथा सौख्यं, भोजनं, पृय दर्शनम् !
कलहौ मरणं चैव काकस्य वचन यथा: !!

काग फोहोर खाएर वातावरण सफा राख्ने वातावरणमैत्री प्राणी पनि हो । कोइलीजस्तो सुमधुर स्वर भएको चराको अण्डालाई आफ्नो गुँडमा कोरल्ने र बचराहरूलाई उड्ने हुँदासम्म हुर्काउनेजस्ता परोपकारी काम पनि कागले गर्दछ । त्यसो हुनाले यसलाई माया गर्ने र पूजा गर्ने संस्कार बस्नु संवेदना, ज्ञान र गुन भएको सचेत र विवेकवान प्राणी मानवजातिका लागि स्वाभाविक, उचित र वान्छ्नीय नै देखिन्छ ।

यसैगरी कुकुर सिकार खेल्नसक्ने शक्ति र सिप भएको र सुँघेर पत्ता लगाउने घ्राणशक्ति सम्पन्न जनावर भएकाले प्राचीन जङ्गली युगमा सिकार खेलेर जीविकोपार्जन गर्ने समय र क्रममा शिकारीहरूले सिकार खेल्ने काममा कुकुरलाई प्रयोग गर्दै आए, जो अद्यापि कायमै छ । कुकुर एक अत्यन्त विश्वसनीय प्राणी पनि हो । यो धेरै सचेतता र जागरुकतासहितको निद्रा भएको जनावर पनि हो । पछिसम्म पनि यसले चोरीचकारी र बन्यजन्तुबाट वस्तु र बालीनाली संरक्षण गर्न सक्नेभएकोले कृषि कार्यमा अनि फोहोर खाई वातावरण सफा राख्न मानिसलाई मद्दत गर्ने हुनाले पनि सदाकालमाजस्तै कुकुरको बहुउपादेयता र उपयोगिताका कारण यसलाई पनि आदिकालदेखि हालसम्म पनि विश्वसनीय साथीको रूपमा नै माया, संरक्षण र सम्बर्द्धन गर्दै जाँदा वर्षमा कम्तीमा एकदिन त विशेष किसिमले माया गर्ने सन्दर्भमा पूजा गर्ने र मिठोमिठो खान दिने संस्कृति नै बस्यो ।

यस्तै गरेर, मान्छे बाँच्नका लागि नभै नहुने अन्न उत्पादन कार्यमा सघाउने जस्तो कि खेतीपाती गर्दा मलजल दिने, बाँझो जमिन जोत्ने र अन्न उत्पादन गर्ने आदि कामको साथै गाडा तानेर कृषि सामग्री लगायतका सामानहरू ओसारपसार गर्ने कार्यका लागि सोझो र बलियो प्राणी गोरु पनि मान्छेलाई कृषियुगमा नभई नहुने जन्तु भएकाले गोरुलाई पनि माया गर्ने, पालनपोषण गर्ने र पूजा नै गर्ने संस्कार बस्यो । यसलाई पनि एक कृतज्ञी कर्मको रूपमा स्वाभाविक मान्न सकिन्छ ।

यसैक्रममा बालकदेखि बृद्ध मानिससम्मका लागि पोषिलो खानाको रूपमा आमाले जस्तै दुध उपलब्ध गराउने, बालीनालीका लागि मलमूत्र दिने, मृत्युपछि पनि जुत्ता आदिको लागि छाला दिने र औषधीय गुण भएको गहुँत दिने हुनाले गाईलाई गौमाता, लक्ष्मी, कामधेनु आदि भन्दै मानवजीवनको अभिन्न मित्रको रूपमा लिएर यसलाई माया गर्ने, पालनपोषण गर्ने र पूजाआराधना नै गर्ने जबर्जस्त संस्कृति बन्न गयो ।

यसैगरी सम्पूर्ण प्राणीहरूमध्येमा मानिस नै सचेत र सबल प्राणी भएकाले पशुपन्छीहरूलाईजस्तै मानिसलाई पनि माया मात्र होइन, मानसम्मान र पूजा-प्रशंसा गर्नुपर्छ भन्ने सोच पलाउनु र यस्तो संस्कार बस्नजानु पनि स्वाभाविक नै देखिन्छ । फलस्वरूप भाइलाई पुज्ने अर्थात् टीका-माला लगाइदिने, मिठो-मिठो खानदिने जस्तो संस्कार-संस्कृति बस्न गयो र भाइ टीका पर्वको रूपमा भाइलाई पुज्ने परम्परा बस्यो । भाइलाई अर्थात् पुरुषलाई नै यसरी माया र पूजा गर्नुको अर्थ र कारण यो पनि हो कि मातृसत्तात्मक युगमा सम्भवत: पुरुष कम र पुरुषको शक्ति, मूल्य र महत्त्व पनि कम भएकाले र तिनको मूल्य र महत्त्व बढाउनका लागि पनि पुरुषलाई माया, सम्मान, संरक्षण र सम्बर्द्धन गर्ने क्रममा पूजाको रुपमा भाइको पूजा गर्ने चलन चलेको हुनुपर्छ । यो चलनलाई पछि पितृसत्तात्मक युगमा त झन् चालु मात्र होइन, अझ बढी जोड दिने प्रचलन बढेर गएको हुनसक्छ किनकि मातृसत्ताबाट मुक्त भएको अनुभूति गरेका पुरुषहरूले आफ्नो सत्ताको बेलामा आफ्नो जातिको पूजा गरी-गराई आफ्नो जातिको औचित्य, आवश्यकता र महत्ता बोध गराउनेतिर ध्यान गएको कुरा स्वाभाविक नै हो जस्तो देखिन्छ ।

यसै बिच पैसा, धनधान्य र श्रीसम्पत्तिको उपादेयता, आवश्यकता र महत्ता बढ्दै जाँदा शोषण-शासनद्वारा थुपारिँदै गरिएको धनसम्पत्तिलाई लक्ष्मीको वरदानस्वरूप प्राप्त भएको भनी त्यसलाई चोखाउने र जोगाउने सोच र अभिष्टसँगै तिहारकै क्रममा लक्ष्मी पूजा गर्ने चलन चल्यो । यो चलन चल्दै गर्दा संस्कृति नै बन्यो, जो आज एक प्रकारको विकृति नै हुन पुगेको अनुभव भइरहेछ ।

जे होस्, मूलतः कागदेखि कुकुर हुँदै गाई, गोरु र भाइको पूजा गर्ने यो तिहार पर्व अर्थात् पञ्चक ( पाँच प्राणीको पूजाको अवधि) प्रकृतिका विभिन्न प्राणीहरूको पूजा गर्ने संस्कृति प्रकृतिपूजक संस्कृतिको रूपमा हाम्रो समाजको पहिचान दिने संस्कृति नै बन्न गयो, जो स्वाभाविक र वैज्ञानिक नै देखिन्छ ।

यसैक्रममा गोबरमलको पर्वत बनाएर त्यस गोबरको थुप्रोलाई धनको थुप्रो सम्झेर धन पूजा गर्ने प्रचलन पनि चल्यो । सारमा हेर्दा कृषि युगमा गोबर बालीनालीको मलखादको रूपमा प्रयोग हुने अत्यन्तै आवश्यक चीज भएकाले त्यसलाई पनि संरक्षण र सम्बर्द्धन गर्ने अर्थमा होस् अथवा गो बर्द्धन अर्थात् गाईरूपी धनलाई वृद्धि गर्ने अर्थमा गोबरको पर्वत बनाई त्यसैलाई धनको पहाड सम्झेर गोबर्धन पूजा गर्ने कुरा पनि सान्दर्भिक र स्वाभाविक नै देखिन्छ ।

यसरी ऐतिहासिक र भौतिकवादी दृष्टिले हेर्दा जङ्गली युगदेखि पशुपालन र कृषि युगसम्मको अवधिमा तिहार पर्व प्रायः सम्पूर्ण मानवजातिकै पर्वको रूपमा सिर्जना र अवलम्बन भए-गरेको देखिन्छ । यसमा पूजा गरिने मुख्यत: पशुपन्छी र मानिस, अनि धन-लक्ष्मी पनि मानव जीवन र पूरै प्रकृति सञ्चालनका लागि अनिवार्य र अपरिहार्य अवयवहरू भएकाले यिनको पूजा गर्ने कुरा अर्थात् संरक्षण र सम्बर्द्धन गर्ने कार्य कुनै खास जाति वा धर्म-सम्प्रदायका लागि मात्र आवश्यक र उचित नभएर सम्पूर्ण मानवजातिकै लागि स्वाभाविक भएको देखिन्छ ।

तर विडम्बना यो भएको छ कि अहिले पछिल्लो सामन्ती युगपछि पनि यस्ता चाडपर्व र संस्कार-संस्कृतिलाई धर्मको स्वरूप दिइयो र यिनलाई कुनै एक निश्चित जाति र सम्प्रदायको पेवा बनाई यिनलाई ईश्वरीकरण, रुढीकरण, धार्मीकरण, जातीयकरण र संस्कृतिकरण अर्थात् विकृतिकरण गरी मानव-मानव बिचमा अनेकता, वैमनस्य, प्रतिस्पर्धा र प्रतिशोध सिर्जना गर्दै आपसमा धर्म, जाति, संस्कृति वा सम्प्रदायका नाममा वारपार र मारकाटको अवस्था पैदा गरियो ।

त्यसैले हामी स्पष्ट हुनुपर्छ किः

प्रथमतः संस्कृति र धर्मको बिचमा भिन्नता भएकोले यिनलाई एउटै बुझ्ने वा जोडेर हेर्ने गल्ती गर्नु हुँदैन ।

दोस्रो, संसारका सबै चाडपर्व, रीतिरिवाज र संस्कार संस्कृतिहरू मानवसमाजको विकासक्रमसँगै देखिएका आवश्यकताहरू पूर्ती गर्ने सन्दर्भमा जन्मे-हुर्केका हुनाले तिनको यथोचित रुपमा संरक्षण, सम्बर्द्धन र परिमाजन गर्दै जानुपर्ने हुन्छ ।

तेस्रो, ती संस्कार-संस्कृतिहरू सुरुमा वस्तुवादी, वैज्ञानिक र स्वाभाविक थिए, प्रकृतिका उपासक र पूजक पनि थिए भने पछिल्तिर सबैतिर सबैमा जात, धर्म र ईश्वर जोडिएर आएपछि तिनमा अवैज्ञानिक, अवस्तुवादी, काल्पनिक र अलगाववादी कामकुराहरूसँगै अन्धविश्वास, रुढीवाद र पारलौकिकताजस्ता विकृति र विसंगतिमूलक कामकुराहरू भित्रिए, जो दुःखद पक्ष भएको छ ।

चौथो, कुनै निश्चित जात, धर्म वा संस्कृति राम्रो र ठुलो वा स्तुत्य अथवा कुनै अर्को नराम्रो र सानो वा निन्दनीय भन्ने रुढ सोच नित्तान्त गलत हो । यस्तो सोच बनाउनु हुँदैन किनकि सबैमा केही राम्रा र केही नराम्रा पक्षहरू रहेका छन् । सबैका राम्रा पक्ष स्मरणीय, संरक्षणीय र सम्बर्द्धनीय हुनुपर्छ भने नराम्रा पक्षहरू भुलनीय, निन्दनीय र त्याज्य हुनुपर्छ ।

पाँचौँ, यसरी सबैतिर रहेका राम्रा पक्षहरूलाई अवलम्बन गर्न र नराम्रा पक्षहरूलाई छोड्नु-छुटाउनु नै सही, वस्तुवादी, वैज्ञानिक, उदाहरणीय र अनुकरणीय कुरा हो । यो नै सचेत र शिक्षित नागरिक र सामाजिक-राजनीतिक व्यक्तित्व-नेतृत्वहरूको दायित्व हो र हुनुपर्छ ।

छैठौँ, यसो गर्न सके मात्र एकातिर समाजमा रहेका विभिन्न जातीय, धार्मिक र सांस्कृतिक आदि स्वरूपमा संकीर्ण र संकुचित बन्न पुगेका विकृत संस्कृति (विकृति)हरूलाई हटाउन र अर्कातिर यिनबाट प्रदूषित मानिसहरूमा आपसी सद्भाव, विश्वास र सम्मान बढाउन सकिन्छ । यसरी समाजमा मेलमिलाप, मानवता र समताको भावना अभिबृद्धि हुनजान्छ र समाज अपेक्षाकृत शान्त, सुन्दर र सभ्य बन्न पुग्छ ।

सातौँ, यसै आलोकमा हाम्रो समाजमा हाल मनाइरहिएको तिहारलाई पनि बुझ्नु, वरण गर्नु र व्यवहारमा लागु गर्नु नै वैज्ञानिक र वस्तुवादी ठहर्छ ।

तसर्थ, तिहार पर्व आजको भाइटीकालाई पनि यसै अर्थमा बुझौँ, वरण गरौँ र व्यवहारमा लागु गरौँ । सबैलाई तिहारको हार्दिक शुभकामना ।

[लेखक नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य हुनुहुन्छ ।]