Padam Bhandari, prachanda's brother in law
 

(हाम्रो जस्तो मुलुकमा परिवारका सदस्यहरु राज्यको निर्णायक तह एवं शक्तिशाली पदमा गएपछि नेताहरुको रुप फेरिन्छ, ठाउँ फेरिन्छ, अन्नपानी फेरिन्छ, सुख सुविधा फेरिन्छ । नेताहरु मात्र हैन उनीहरुका परिवार र नातागोता आफन्तहरुको जीवनशैली समेत फेरिन्छ । विरोधीहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डमाथि पनि परिवारमोहको ठूलो आरोप लगाउने गरेका छन् । तर अध्यक्ष प्रचण्डका बहिनी-ज्वाइँ श्री पदम भण्डारीको कुरा सुन्ने हो भने ती सबै कुराको खण्डन हुन्छ । श्री पदम भण्डारीसँग लेफ्ट रिभ्यु अनलाइनका संवाददाताले गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरेका छौँ । – सम्पादक ।)

आजभोलि के गर्दै हुनुहुन्छ ?

म आफ्नो काममा व्यस्त छु । आफ्नै श्रममा दुःख कष्ट सहेर मुलुकको कृषि क्षेत्रको विकासमा सकेको योगदान गर्न लागिपरेको छु । समाजमा चौतर्फी निराशा छाएको छ । सबै नियालेर हर्दै आफ्नो काममा जुटिरहेको छु ।

समाजमा चौतर्फी निराशा छाएको कुरा गर्नुभयो, अहिलेको नेपाली समाजको स्थितिलाई कसरी हेर्नुहुन्छ ?

आजकल खास गरी अनाधिकृत रूपमा चलाइएका अनलाइन समाचारहरू, फेसबुकमा छाएका समाचार र त्यसमा आउने कमेन्ट हेर्ने हो भने यस्तो लाग्छ, हाम्रो समाजमा सकारात्मक कुरा भनेको केही पनि बाँकी छैन । प्रत्येक कुरामा हामी यति उत्तेजक, नकारात्मक, निराशावादी र हतास मनस्थितिमा पुगेको देखिन्छ कि यस्तो लाग्छ अब कुनै कुराको भद्र र तार्किक छलफल नै हुन सक्दैन । हामी सामाजिक रुपमा नै निराशावादी र नकारात्मक सोचका धनी भइसकेका छौँ ।

तपाईंले सामाजिक सञ्जालहरूले सामाजिक निराशा बढाए भन्न खोज्नुभएको हो ?

अधिकांश नेपालीहरु जो सामाजिक सञ्जालको पहुँचमा छन्, तिनीहरु नकारात्मक कुरालाई मात्र जोड दिएको देखिन्छ । तिनीहरुमा यो एउटा गम्भीर मनोवैज्ञानिक समस्या हो। नेपाली समाजमा र विशेष गरी सामाजिक सञ्जालमा पहुँच भएका वर्गलाई यो मानसिक समस्या छ किनकि तिनीहरु यो मानसिक पीडामा रमाउने हुन्छन् । यो नकारात्मक सोचको चरम विन्दु हो । मनोविज्ञानको भाषामा भन्ने हो भने यो एउटा गम्भीर मानसिक समस्या हो । हुन पनि सामाजिक सञ्जालमा आउने कतिपय प्रतिक्रिया आम नेपालीले आफ्नो परिवार र छोराछोरीसँग बसेर हेर्न मिल्ने खालको हुँदैनन् । हामी यति धेरै आत्मरतिमा रमाएका छौँ कि आफ्नो फाइदाका लागि सेतोलाई कालो, कालोलाई सेतो भनेर प्रमाणित गर्न ज्यान फालेर लाग्छौँ । त्यही संस्कार हामीले हाम्रा आउने युवा पिँढीलाई दिँदैछौँ ।

कुन सही र कुन गलत भन्ने कुरामा हामी राजनीतिक दलजस्तै विभाजित छौँ । अधिकांश परिस्थिति यस्तो देखिन्छ कि कुराको गहिराइमा नपुगी हामीबाट प्रतिक्रिया आउँछ। यी सबै कुराले यस्तो लाग्छ हामी सामाजिक रुपमा नै निराशावादी र नकारात्मक सोचका धनी भै सकेका छौँ ।

त्यही भएरै तपाईं सञ्चार माध्यम र सामाजिक सञ्जालमा त्यति नआउनु भएको हो र ?

हो, मेरो होहल्ला र कोलाहल भन्दा पर रहेर खुरूखरू आफ्नो काम गर्ने र नतिजा निकाल्ने बानी भएकोले म  हल्लाखल्लामा सामेल छैन । सायद त्यसैले धेरै चर्चा परिचर्चा नभएको र नसुनिएको होला ।

तपाईं अध्यक्ष प्रचण्डको बैनी ज्वाइँ । झण्डै दुई दशक यताको नेपाली राजनीति उहाँकै वरिपरि घुमिरहेको छ । तपाईं कसरी ओझेलमा पर्नु भयो त ?

आजभोलि सानोतिनो कुरालाई लिएर पनि नेताहरूको खेदो गर्ने र गालीगलौज गर्ने गरिन्छ । त्यसमा पनि सबैभन्दा बढी प्रचण्डमाथि गालीगलौज र प्रहार हुने गरेको छ । विरोधीहरूले प्रचण्डलाई पारिवारिक मोहमा चुर्लुम्म डुबेको भनेर धेरै नै गाली गर्ने गरेका छन् र त्यस्ताको एउटा जमात छ ।

पटक पटक प्रचण्डलाई पारिवारिक मोहमा चुर्लुम्म डुबेको भनेर छोरा प्रकाश दाहाल, छोरी रेणु दाहाल र बुहारी बीना मगरको क्षमता र राजनीतिमा गरेको योगदानको अवमूल्यन गर्न खोजिएको छ । प्रकाश बाबुको देहान्तपछि धेरैले अध्यक्षलाई जनता र कार्यकर्तासँग जोड्न र ग्रासरुटका समस्याहरूलाई अध्यक्ष प्रचण्डसम्म पुराउन उनले कति महत्त्वपूर्ण भूमिका खेलेका रहेछन् भन्ने कुराको अनुभूति गरेका छन् जस्तो लाग्छ । रेनु र बीना माथिको प्रहार गर्नेहरूको पनि पूर्वाग्रह देखिन्छ ।

प्रचण्ड साँच्चिकै पारिवारिक मोहमा डुबेका छैनन् भन्ने कुराको उदाहरण त म नै हुँ नि । म जुन क्षेत्रमा काम गरिरहेको छु, मेरो विज्ञता भनेको त्यसैमा हो । अल्पज्ञान भएका विषय वस्तुमा टिकाटिप्पणी गर्ने कुरा मलाई मन पर्दैन । त्यसैले पनि सञ्चार माध्यममा, सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छैन ।

कसरी ? अलि खुलेर बताइदिनुस् त ।

हेर्नुस्, अध्यक्ष प्रचण्डको नजिकको नातेदार हुनुमा मलाई गर्व छ । तपाईंले पनि भनिसक्नु भयो उहाँ, झण्डै दुई दशकदेखि देशको राजनीति जसको वरिपरि घुमिरहेको छ, जो देशको राजनीतिको शीर्ष नेतृत्वमा छ, उसलाई परिवारमोहको आरोप पनि लाग्ने गरेको छ ।

प्रचण्डमा परिवारमोह छैन भन्ने कुराको उदाहरण खोज्न अन्त जानु पर्दैन भन्न खोजेको मैले । मेरो परिवार  नै काफी छ । दुई दुई पटक प्रधानमन्त्री बनिसकेका प्रचण्डकी ठूलीकान्छी बहिनी विष्णुमाया विगत १४ वर्षदेखि कुपण्डोलस्थित एउटा निजी विद्यालय (बोर्डिङ स्कुल) मा नर्सरी कक्षाका बालबालिकालाई पढाइरहेकी छिन् । निजी विद्यालयले शिक्षकहरुलाई कति पारिश्रमिक दिन्छ भन्ने कुरा सर्वविदितै छ । त्यस्तै म पनि एउटा नेपाली गैरसरकारी संस्थामा सामान्य जागिरे छु।

Prachanda, Padam Bhandari, Bishnu Bhandari
अध्यक्ष प्रचण्ड, बहिनी विष्णुमाया भण्डारी र ज्वाइँ पदम भण्डारीसँग

प्रचण्ड दुई-दुई पटक प्रधानमन्त्री हुँदा पनि म विकट एवं दुर्गम कर्णालीमा संघर्षरत थिएँ । यो कुरामा म नेताको अर्थात् आफ्ना नजिकका नातेदारको शक्तिको दुरुपयोग नगरी आफ्नै श्रममा रमाएको छु । त्यसलाई कति बुद्धि नभएको पनि भन्लान्, नातेदारको शक्तिको सदुपयोग गर्न नजानेको पनि भन्लान् । त् मैले त्यसको आवश्यकता ठानिन । मैले जे गरिरहेको छु, त्यसैमा म गौरवान्वित छु ।

कमरेड प्रचण्ड दुई-दुई पटक प्रधानमन्त्री हुँदा तपाईंले कहिल्यै कुनै राम्रो पदमा राजनीतिक नियुक्ति लिएर पद र पैसामा रमाउने सोच्नु भएन ?

कमरेड प्रचण्ड प्रधानमन्त्री हुनुभन्दा अघिदेखिनै म कर्णालीमा संघर्षरत थिएँ । मेरो रहर वा बाध्यता जे भने पनि मेरा कारणले कर्णालीमा काम गरेँ । कर्णालीमा काम गर्न पाउनुलाई त सौभाग्य मान्नुपर्छ । जो कोहीले त्यो अवसर पाउँदैनन् । मैले कहिल्यै कुनै राम्रो पदमा राजनीतिक नियुक्ति लिएर पद र पैसाको प्रलोभनमा नपर्नु क्षमता हो कि पद र पैसाको लोभमा नेताहरुको पदको दुरुपयोग गर्न खोज्नु क्षमता हो? तपाईं कामको पछि लाग्नुस, पैसा तपाईंको पछि लाग्छ । अनि, तपाईं नेताहरुको पछि लाग्नु पर्दैन ।

तर श्रीमतीले अति दुर्गम, भौगोलिक विषमता, विकट भूबनोट, अत्यन्त चिसो हावापानी, कमजोर विकास पूर्वाधार, मानवीय संशाधन र आर्थिक, सामाजिक एवं सांस्कृतिक रुपमा पछौटेको परिचय बोकेर बाँच्न विवश कर्णालीमा लामो समयसम्म संघर्षपूर्ण जीवन बिताइरहेको आफ्नो श्रीमानलाई काठमाण्डौँतिर काम मिलाउन एकपटक दाइलाई भन्नुपर्यो भनेर क. प्रचण्डलाई भनिछन् – “दाजु ! कर्णालीले डुबायो ज्वाइँलाई, लौ न काठमाण्डौँतिर तान्नु पर्‍यो ।”

प्रचण्डले हाँस्दै भन्नुभएछ – “कर्णालीले कहाँ डुबाउँथ्यो, उकासेको उकासै छ नि ज्वाइँलाई। उहाँलाई त्यहीँ काम गर्न लगाउनुपर्छ किनकि कर्णाली प्रदेशको समृद्धि र विकासमा सबैले विशेष ध्यान दिनुपर्छ । कर्णालीको भौगोलिक विकटताका कारण अहिले पनि त्यहाँका नागरिकको जीवनशैलीमा उल्लेख्य परिवर्तन हुन सकेको छैन । बरु ज्वाइँलाई कर्णाली प्रदेशका नागरिकको जीवनस्तर उकास्ने गरी कार्यक्रम ल्याउन भन । दाजु बहिनीको भेटघाटमा प्रचण्डले ज्वाइँलाई कर्णालीबाट काठमाण्डौँ ल्याउने कुरा मानेनन् । प्रचण्डलाई धेरैले नातावाद भयो, आफ्ना परिवारका लागि मात्र प्रचण्डले काम गर्छन् भन्ने कुराको राम्रो झापड हो यो ।

तपाईंले मौकाको फाइदा लिन नसकेको वा नजानेको भन्नेहरू पनि होलान् नि? तिनलाई के भन्नुहुन्छ  नि?

दाजु दुई-दुई पटक प्रधानमन्त्री हुँदा समेत मैले न त कुनै पदको, न त पदवीको, न पुरस्कार न सम्मानको, यहाँ सम्मकि न त मञ्चकै, न भाषण, न त वाचनकै लोभ र मोह नै राखेँ । मैले न त चापलुसी न त चाकडी नै गरेँ, न त कुनै राजनीतिक छाता नै ओढेर राजनीतिक पदको नियुक्तिका लागि प्रचण्डको ढोका ढक्ढक्याएँ । मैले साहित्यमा पनि अलिअलि रुची राख्छु तर मैले न त कुनै साहित्यिक गुटबन्दीमै सामेल भएँ, न त कसैको खुट्टा तानेँ, न त कसैको बुई नै चढेँ ।

मसहित मेरो परिवारले न त कसैप्रति इर्ष्या वा द्वेषको भाव राख्छौँ, न त कसैलाई सामाजिक सञ्जालमा गालीगलौज नै गर्छौं । बरु उल्टै सबैप्रति समभाव राख्छौँ र सद्भाव बाँड्छौँ । राजनीति गर्ने जोसुकै होस्, उच्च तहका नेताहरु जो जुनसुकै राजनीतिक दलका होऊन्, आदर र सम्मानको दृष्टिले हेर्छौं, नेताहरुको योगदानको उच्च मूल्याङ्कन गर्छौं । हामीहरु अग्रजप्रति आदरभाव राख्छौँ । समकालीनप्रति सद्भाव र अनुजहरूप्रति स्नेह राख्छौँ ।

धन कमाउने लोभले कहिल्यै पनि प्रचण्ड नामको दुरुपयोग गरेनौँ । आफ्नै बलबुता र क्षमताले जेजति गर्न सकिन्छ त्यतिमै संघर्षरत छौँ । तर यसको अर्थ यो पनि होइन कि मैले पढेलेखेको छैन, मेरो काम गरेको अनुभव छैन, म कसैलाई चिन्दिन र मेरो क्षमता पनि छैन ।

म जुन ठाउँमा कार्यरत छु, त्यहाँ म मेहनती, ईमान्दार र परिश्रमीको रुपमा चिनिन्छु । मैले मुलुकका लागि धेरै कुरा सपार्न त सकेको छैन होला तर प्रचण्डको नामको दुरुपयोग गरेर बिगार्ने काम एक रत्ति पनि गरेको छैन । सबैको भलो चिताउन सकिएन भने कसैको कुभलो पनि कहिल्यै चिताएको छैन । सकारात्मक सोच राख्छु, अनि सकारात्मक उर्जा बाँड्छु पनि । यसलाई क्षमता नभएको भन्नेहरु कि लोभी-पापीहरु हुन् कि अर्काको बुई चढेर केही गर्न खोज्नेहरु हुन् । तिनीहरुलाई मेरो भन्नु केही छैन ।

मेरो क्षमतामा जुन प्रश्न उठाउनु भयो नि, अरुले के भन्छन् भन्दा पनि आफूले आफूलाई चिन्ने हो, अरूभन्दा आफू सच्चिँदै जाने हो ।आफू सच्चिए परिवार, समाज र देश स्वतः सच्चिँदै जान्छ भन्ने कुरामा विश्वास राख्छु म । अरुको रीस, डाह र इर्ष्या गर्ने, कुरा काट्ने, कुरा लगाउने,आफै ठूलो ठान्ने, अरुलाई तल झारेर वा खुट्टा तानेर आफू माथि उक्लने, सामाजिक सञ्जालमा नकारात्मक कुराहरु मात्र ओकल्ने छिचमिराहरु पनि छन् यो समाजमा । तिनीहरुप्रति मेरो खासै गुनासो छैन किनकि मलाई राम्ररी थाहा छ समाजमा सबै असल मान्छेहरुमात्र हुँदैनन् ।

भनेपछि तपाईंहरू आफ्नो जीवनमा सन्तुष्ट हुनुहुन्छ ?

हामी जीवनको गोरेटोमा संघर्षरत छौँ । तर हामी खुसी र सन्तुष्ट छौँ । हाम्रो जोडीसँग भएको खुसी र आत्मसन्तुष्टी संसारको कुनै पैसाले किन्न सक्दैन । हाम्रो कुनै अनुचित महत्वाकांक्षा पनि छैन । हाम्रो जोडीलाई कतिपयले क्षमता नभएका र अवसरको उपयोग गर्न नजान्ने भुइँमा रमाउन चाहने भुइँ मान्छे भन्ने र आरोप लगाउने पनि छन् । तर त्यसले हाम्रो जोडी र हाम्रो आत्मीयतालाई कुनै प्रभाव परेको छैन । हामीलाई आफू र आफूले गरिरहेको कामप्रति गौरव छ । मलाई लाग्छ अध्यक्ष प्रचण्ड पनि खुसी नै हुनुहुन्छ ।

कमरेड प्रचण्डप्रति तपाईंको केहि गुनासो छैन?

देश निर्माणको महान अभियानमा लागेका प्रचण्डप्रति मेरो कहिल्यै पनि कुनै गुनासो छैन । प्रचण्डको देश निर्माणको अभियानमा हाम्रो समर्थन छ । हामीले उहाँलाई सके सघाउने, नसके हाम्रो कारणले कुनै अफ्ठ्यारो नपरोस् भन्ने कुरामा सचेत छौँ । झिनामसिना कुराहरूमा प्रचण्डलाई यो गरिदिनु पर्‍यो, त्यो गरिदिनुपर्‍यो भनेर बेकारमा दुःख दिने विचार नै छैन । उहाँको कार्यव्यस्तता, देश र जनताप्रतिको समर्पण हेर्दा गौरवबोध हुन्छ ।

कहिल्यै पनि प्रचण्डको नामको दुरुपयोग नगरेर इमान्दारीपूर्वक आफ्नै श्रममा रमाएको छु । गलत तरिकाले  कमाउने, पजेरो र ल्याण्डक्रुजर चढेर हिँड्ने सोच कहिल्यै दिमागमा आएन । आफ्नै मेहनतले मोटरसाइकल चढेर हिँडेको छु । मलाई त्यसैमा गर्व छ । अहिलेपनि म एउटा बा ३१ प लटको १२५ सीसीको पुरानो मोटरसाइकलमा काममा आउने जाने गर्छु । बिना कुनै स्वार्थ आफ्नै श्रममा रमाएको छु ।

कमरेड प्रचण्डलाई परिवारको मोहमा फसेको भन्दै सँधैभरि खुइल्याउन खोज्नेलाई के भन्न चाहनु हुन्छ?

अरुलाई दोषी ठहर्‍याएर, खुइल्याएर, घुर्क्याएर, धम्क्याएर भन्दा असल काम गरेर सबैभन्दा पहिला आफू आफै सच्चिँदै गए मात्र दुनियाँ आफै सच्चिन्छ भन्ने लाग्छ । बिना श्रम, बिना उद्योग, बिना पुण्यकार्य मनोरथ पूरा गर्न खोज्नेहरुले नै यो समाजलाई विकृत पारेका छन् । समाजमा मुर्खहरुले कलहको बीज रोप्छन्, सज्जनले निभाउँछन् । अल्छिले समय रहेसम्म बाली भित्र्याउँदैन, पछि खान खोज्छ । छल र चोरी मिठो भए पनि प्रतिफल नराम्रो हुन्छ । आमाबुवासँग द्रोह गर्नेको जीवन अन्धकारमा धकेलिन्छ । छलकपट र लुटपाट गरेर कमाएको सम्पति दिर्घकालीन हुँदैन । खराबी नै नरकको बाटो हो भन्ने कुरा मलाई राम्ररी थाहा छ ।

प्रचण्डलाई परिवारवादको मोह भनेर आरोप लगाउनेहरुप्रति, प्रचण्डलाई खुइल्याउन पाए आफ्नो स्वार्थसिद्ध हुन्थ्यो भन्नेप्रति भने मेरो दुःखेसो छ ।

जर्मनीको हिटलरको सल्लाहकार तथा प्रचारमन्त्री गोयबल्सले झुटा कुरा सयौँ चोटि भनेर जनताको बिचमा सत्य जस्तो बनाएर आफ्नो तानशाहीलाई निरन्तरता दिने काम गर्दथे । तर अन्त्यमा त्यसको कुनै अर्थ रहेन । तिनैबाट सिकेर यहाँ पनि देशको निम्ति सिन्कोसम्म भाँच्न नसक्नेले आकाश पातालको कुरा गर्ने र हुँदै नभएको कुरालाई बङ्ग्याएर अथवा काम गर्दा भएको सानोतिनो गल्तिलाई उछालेर तीललाई पहाड बनाउने र आफ्नो स्वार्थ पूरा गर्नेहरुलाई सच्चिन अनुरोध गर्छु ।