सन् १९१७ को अक्टाेबर समाजवादी क्रान्तिले चीन र संसारको इतिहासमा मौलिक परिवर्तन आयो । चिनियाँ क्रान्तिमा यसको दूरगामी र गहिरो प्रभाव पर्यो ।
एक, अक्टोबर क्रान्तिले चिनियाँ जनताहरूको मुक्तिसङ्घर्षमा अत्यधिक आत्मविश्वास भरिदियो । रुसी सर्वहारावर्गको अगुवाइमा जनताद्वारा प्राप्त जित र सर्वहारा अधिनायकत्त्व अन्तर्गत राज्यसत्ता स्थापना, पहिले दबाइएका, किचिएका राष्ट्रियताहरूले सोभियत रूपमा हासिल गरेको मुक्ति र स्वावलम्बन, जर्मन–अस्ट्रियन साम्राज्यवादको पतन तथा यी दुवै देशमा क्रान्ति फैलिनु र फ्रान्सेली साम्राज्यवाद कमजोर हुनुले चिनियाँ जनतामा आफ्नो राष्ट्रको मुक्तिको लागि नयाँ आशाको किरण पलायो । रुसी सर्वहारावर्गले सामाजिक प्रगतिका सबै बाधाहरू जार, कुलिन, नोकरशाह, सैनिकवाद र पुँजीवादलाई मिल्काएका थिए । उनीहरूले साम्राज्यवादी विश्वव्यवस्थाको अवश्यम्भावी विनासको पनि घोषणा गरे । उनीहरूको जितले चिनियाँ जनताको लड्ने इच्छाशक्तिमा उत्प्रेरकको काम गर्यो ।
दुई, अक्टोबर क्रान्तिले पश्चिमका सर्वहारा र पूर्वका थिचोमिचोमा परेका जनताको बिचमा पुलको काम गर्यो । अक्टोबर क्रान्तिपछि विश्वक्रान्तिको रूपरेखा तयार भयो, जसले लेनिनवादको झण्डामुनि राष्ट्रिय मुक्ति आन्दोलनलाई भरपूर सहयोग गर्यो । समाजवादी सोभियत सङ्घको सहायता प्राप्त हुनुले उपनिवेशहरूमा चलिरहेको क्रान्ति विश्व सर्वहारा क्रान्तिको हिस्सा बन्यो ।
लेनिन तथा रुसी जनता चिनियाँ जनतालाई ज्यादै प्रेम गर्थे, उनीहरू चिनियाँ क्रान्तिमा असीम शक्ति छ भन्नेमा विश्वस्त थिए । चिनियाँ जनताको क्रान्तिकारी सङ्घर्षप्रति गहिरो सहानुभूति राख्दै सर्वहारा अन्तर्राष्ट्रियवादको सिद्धान्तअनुरूप उनीहरूले चिनियाँ जनताको मुक्तिआन्दोलनलाई निरन्तर सहयोग गरे । सन् १९१९ र १९२० मा सोभियत सरकारले चीनबारे दुईवटा वक्तव्य जारी गर्यो, जसमा जारशाही रुसद्वारा चीनमाथि जबरजस्त रूपमा थोपरिएका रुसी विशेषाधिकारहरू रद्द तथा जारका पालामा नियुक्त सबै अधिकारीहरूलाई निष्काशन गरिएको जनाइएको थियो । यसरी सोभियत सङ्घ मात्र यस्तो पहिलो देश थियो, जसले चीनबाट जबरजस्त बपौतीका रूपमा प्राप्त विशेषाधिकारहरू परित्याग गर्यो ।
सोभियत सरकारद्वारा अन्तर्राष्ट्रियवादको जो शानदार भावना प्रदर्शन गरियो, चिनियाँ जनताले त्यसको विशाल उत्साहसहित स्वागत गरे । युवा, विद्यार्थी तथा पत्रपत्रिकाहरूले अक्टोबर क्रान्तिको स्वतस्फूर्त रूपमा प्रचार गर्न थाले । चिनियाँ जनताले सोभियत विदेशनीति विश्वकुटनीतिक इतिहासमा एउटा नयाँ थालनी हो भन्ने आत्मसात गरेका थिए ।
चिनियाँ जनताले नवोदित सोभियत राष्ट्रलाई ‘न्याय तथा मानवाताको प्रिय शिशु’ तथा रुसी श्रमिक, किसान र सैनिकहरूलाई ‘संसारको सर्वप्रिय मित्र’को रूपमा स्वागत गरे । चिनियाँ जनताहरूमा यसप्रकारको जागृति पैदा भएको थियो, उनीहरूले युद्धसरदार तथा नोकरशाहहरूको प्रतिक्रियावादी सरकारविरुद्ध जुझारु सङ्घर्ष छेड्न तयारी गरे ।
तीन, अक्टोबर क्रान्तिले माक्र्सवाद–लेनिनवादलाई चिनियाँ जनतासम्म पुर्याएर उनीहरूलाई मुक्तिको मार्ग देखायो । ‘अक्टोबर क्रान्तिको ज्वारभाटाले हामीलाई मार्क्सवाद–लेनिनवादप्रति जागृत गरायो ।’ यो विश्वव्यापी सत्यले प्रगतिशील चिनियाँ बुद्धिजीवीहरूलाई आफ्नो देशको भविष्यप्रति आशावादी बनाउन सहयोग गर्यो । त्यति मात्र होइन, सर्वहारा विश्वदृष्टिकोणको प्रकाशमा आफ्ना समस्याहरू पर्गेल्न पनि सहयोग गर्यो । उनीहरूले मार्क्सवाद–लेनिनवादलाई अङ्गीकार गर्न सुरु गरे र श्रमिक वर्गको आन्दोलनको आधारमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना गरे । ‘चिनियाँ क्रान्तिको ठोस परिस्थितिसँग एकतावद्ध भएर मार्क्सवाद–लेनिनवादको सार्वभौमिक सत्यले चिनियाँ क्रान्तिलाई नयाँ स्वरूप प्रदान गर्यो ।’
अक्टोबर क्रान्तिद्वारा प्रसारित मार्क्सवाद–लेनिनवादले चिनियाँ जनताको मुक्ति अभियानको मार्गप्रशस्त गर्यो । त्यसैले त उनीहरू लेनिन र रुसी बोल्सेविक पार्टीलाई आफ्नो महानतम् शिक्षक र मित्रका रूपमा लिन्छन् । उनीहरूले प्रदान गरेको शिक्षाबाट नै चिनियाँ जनताले सैद्धान्तिक शक्ति प्राप्त गरेका हुन् ।
याे पनि पढ्नुहाेस्ः महान् अक्टाेबर समाजवादी क्रान्तिबारे केही कुरा
याे पनि पढ्नुहाेस्ः सर्वहारा, किसान र ट्राटस्कीवाद – क. जाेसेफ स्टालिन
(साभारः चीनमा नयाँ जनवादी क्रान्ति नामक पुस्तकबाट)