Kanhaiya Kuma
 

(कन्हैया कुमार धेरै नेपालीहरुका लागि एक अपरिचित नाम हो, तर यो एउटा चिन्नै पर्ने र जान्नै पर्ने नाम हो । सिंगो भारतीय राजनीतिको केन्द्रमा उभ्याउन सफल यी विद्यार्थी नेता दक्षिण एसियाको बामपन्थी राजनीतिका एक उदाउँदा र आशालाग्दा अनुहार हुन् ।

आफूलाई संसारको सबैभन्दा ठुलो लोकतन्त्र भएको र भारतीयहरूको जीवनमा ‘अच्छे दिन’ ल्याउने दाबी गर्ने मोदी सरकारले १२ फेब्रुअरी २०१६ मा भारतको जबाहरलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनियनका सभापति कन्हैया कुमारलाई विश्वविद्यालयमा देशको विरुद्धमा भाषण गरेको र नारा लगाएको आरोपमा गिरफ्तार गरी १३ फेब्रुअरी २०१६ मा राजद्रोह (देशद्रोह) को मुद्दा लगाएको थियो ।

त्यति मात्रै होइन, उनीमाथि भारतका गृहमन्त्री राजनाथ सिंहले समेत देशद्रोहको आरोप लगाएका थिए भने भारतीय जनता पार्टी र पार्टी निकट विभिन्न मोर्चाहरूले उनको हत्या गर्ने वा हत्या गर्नेलाई पुरस्कृत गर्ने घोषणा गरेका थिए । अदालत परिसरमा प्रहरीकै अगाडि उनलाई अत्यन्तै पाशविक तरिकाले वकिलहरूले कुटपिट गरेका थिए । अदालतबाट प्रमाणको अभावमा उनलाई ३ मार्च २०१६ मा भारत विरोधी कुनै क्रियाकलाप नगर्ने सर्तमा ६ महिनाका लागि भारु १० हजार धरौटीमा रिहा गरिएको थियो । उनको गिरफ्तारी पश्चात उनको समर्थनमा भारतभर लाखौं विद्यार्थीहरू, शिक्षकहरू, प्राध्यापकहरू, कलाकर्मीहरू र अधिकारकर्मीहरू सडकमा उत्रिएका थिए भने संसदमा समेत ठुलो बहस भएको थियो । त्यति मात्रै नभई उनको गिरफ्तारी र रिहाई पश्चातका उनका अभिव्यक्तिहरूले मोदी सरकार डगमगाएको थियो ।

भारतीय कम्युनिस्ट पार्टी निकट अखिल भारतीय विद्यार्थी फेडरेसनका नेता कन्हैया कुमारले ११ फेब्रुअरी २०१६ मा (गिरफ्तार हुनुभन्दा एक दिन अगाडि) विश्वविद्यालयमा दिएको चर्चित भाषणलाई अनुवाद गरी सम्पादनसहित प्रस्तुत गरिएको छ । प्रस्तुत मन्तव्यमा आरएसएस भन्नाले राष्ट्रिय स्वयम् सेवक सङ्घ, सङ्घी भन्नाले राष्ट्रिय स्वयम् सेवक सङ्घ र त्यसका समर्थकहरू, जेएनयु भन्नाले जबाहरलाल नेहरू युनिभर्सिटी र एबिभिपी भन्नाले अखिल भारतीय विद्यार्थी परिषद् (भारतीय जनता पार्टीको विद्यार्थी सङ्गठन) भन्ने बुझिन्छ । – सम्पादक)

……………………… ………………………………………..

हामी यो देश र यसको माटोलाई माया गर्छौं । यो देशमा जुन ८० प्रतिशत गरिब जनता छन्, हामी तिनीहरूका लागि लड्छौँ । हाम्रा लागि यही देशहित हो । हामीलाई पुरै भरोसा छ, बाबासाहब (अम्बेडकर) माथि । हामीलाई पुरै भरोसा छ आफ्नो देशको संविधानमाथि । हामी यो कुरालाई दह्रोसँग भन्न चाहन्छौँ कि यस देशको संविधानमाथि यदि कसैले औँलो ठड्याउँछ भने, चाहे त्यो औँलो सङ्घीहरूको होस्, चाहे त्यो औँलो कसैको पनि होस्, हामी त्यो औँलालाई सहन गर्ने छैनौँ ।

हामी संविधानमा भरोसा गर्छौं । तर त्यो संविधान, जुन झन्डेवालान र नागपुर (राष्ट्रिय स्वयम् सेवक सङ्घका कार्यालयहरू) मा पढाइन्छ, त्यो संविधानमाथि हाम्रो कुनै भरोसा छैन । हामीलाई मनुस्मृतिमाथि कुनै भरोसा छैन । हामीलाई यो देशभित्र जुन जातिवाद छ, त्यसमाथि कुनै विश्वास छैन । त्यही संविधान, जुन बाबासाहब डा. भीमराव अम्बेडकरले संविधानमा संवैधानिक उपचारको कुरा गर्छन्, उनै बाबासाहब डा. भीमराव अम्बेडकर मृत्युदण्डलाई अन्त्य गर्ने कुरा गर्दछन्, उनै बाबासाहब डा. भीमराव अम्बेडकर … स्पेसल डिपार्टमेन्टको कुरा गर्दछन् । हामी त्यही संविधानलाई समर्थन गर्दै हाम्रा आधारभूत अधिकारहरूलाई प्राप्त गर्न चाहन्छौँ ।

तर यो अत्यन्तै लज्जास्पद कुरा हो, यो अत्यन्तै दुःख को कुरा हो कि आज एबिभिपी (अखिल भारतीय विद्यार्थी परिषद्) आफ्ना मिडियाका सहयागीहरूद्वारा पुरै विषयलाई बङ्ग्याइरहेको छ, पुरै विषयलाई फिक्का बनाइरहेको छ ।

हिजो एबिभिपीका सहसचिबले भने कि हामी फेलोसिपका लागि लड्छौँ । यो सुन्नुपर्दा कति घृणास्पद लाग्छ । यिनीहरूको सरकार, म्याडम ‘मनु’ स्मृति इरानीले फेलोसिपलाई ध्वस्त गर्छिन् । र, (यिनीहरू) भन्छन् कि हामी फेलोसिपका लागि लड्छौँ । यिनीहरूको सरकारले उच्च शिक्षाको बजेटमा १७ प्रतिशत कटौती गरेको छ । जसले गर्दा गएको ४ वर्षमा हाम्रो छात्रावास बनेन, जसले गर्दा हामीले आजसम्म वाइफाइ पाइएको छैन …. र केवल एउटा बस भेल (बिएचइएल)ले दिएको छ, जसमा तेल हाल्नका लागि प्रशासनसँग पैसा छैन ।

एबिभिपीका मानिसहरू रोलरको अगाडि उभिएर देवानन्दले झैँ तस्बिर खिचाउँछन् र भन्छन् कि ‘हामी होस्टल बनाउँदै छौँ, हामी वाईफाई बनाउँदै छौँ, हामी फेलोसिप बढाउँदै छौँ ।’ यिनीहरूको पर्दाफाँस् हुनेछ साथीहरू हो, यदि देशमा आधारभूत विषयहरूमाथि छलफल हुने हो भने । र, मलाई गौरव छ कि जेएनयु (जबाहरलाल नेहरू युनिभर्सिर्टी)को छात्र भएकोमा किनकि हामी आधारभूत विषयमा छलफल गछौँ । हामी आधारभूत विषयहरू उठाउँछौँ । क्रान्ति, जनता, किसानहरू, गरिबहरू, आदिवासीहरू ….।

… (सुब्रमण्ड्यम) स्वामीले भन्छ कि जेएनयुमा जिहादीहरू बस्छन् । भन्छ कि जेएनयुका मानिसहरू हिंसा फैलाउँछन् । को हो ? म जेएनयुबाट चुनौती दिन चाहन्छु आरआरएसका विचारकहरूलाई, बोलाओ र हामीसँग बहस गर । हामी गर्न चाहन्छौँ हिंसाको अवधारणामा बहस । हामी प्रश्न उठाउन चाहन्छौँ । एबिभिपीको त्यो दावामाथि । .. एबिभिपीको मञ्चबाट भन्छन् कि सरमहीनहरूको रगतले टीका लगाउने छौँ, गोलिहरूले आरती । तिमीहरू यो देशमा कसको रगत बगाउन चाहन्छौ ? के चाहन्छौ यो मुलुकमा तिमीहरू ?

तिमीहरूले गोली चलाएका छौ । यो देशमा यो देशको स्वतन्त्रताका लागि लड्नेहरूमाथि तिमीहरूले अङ्ग्रेजहरूसँग मिलेर गोली चलाएका छौ । मुलुकभित्र गरिबहरूले जब रोटीको कुरा गर्छन्, जब भोकमरीले मरिरहेका मानिसहरूले आफ्नो हकको कुरा गर्छन्, तब तिमीहरूले ती मानिसहरूमाथि गोली चलाउँछौ । तिमीहरूले यो मुलुकमा गोली चलाएका छौ मुसलमानहरूमाथि । तिमीहरूले यो देशमा गोली चलाएका छौ, जब महिलाहरू आफ्नो अधिकारको कुरा गर्छन् । तिमीहरू भन्छौ कि पाँच ओटै औँलाहरू बराबर हुन सक्दैनन् । महिलाहरूले सीता जस्तै बनेर बस्नु पर्छ र सीताले झैँ अग्निपरीक्षा दिनुपर्छ ।

यस देशमा लोकतन्त्र छ र यो लोकतन्त्र सबैलाई बराबरीको हक दिन्छ – चाहे ऊ उद्यार्थी होस्, चाहे ऊ कर्मचारी होस्, चाहे ऊ मजदुर होस्, गरिब होस्, या किसान होस्, या अम्बानी होस्, अदानी होस् – सबैको हकको कुरा गर्छ । जब हामी महिलाहरूको कुरा गर्छौं त तिनीहरू भन्छन् कि भारतीय संस्कृतिलाई ध्वस्त गर्न चाहन्छन् । हामी ध्वस्त गर्न चाहन्छौँ शोषणको संस्कृतिलाई, जातिवादको संस्कृतिलाई, मनुवादको संस्कृतिलाई । यसमा समस्या कहाँ आउँछ ? यिनीहरूलाई समस्या आउँछ कि जब जनताले लोकतन्त्रको कुरा गर्छन्, जब मानिसहरू लाल सलामसँग निलो सलाम लगाउँछन्, जब माक्र्सको साथमा बाबासाहब डा. भीमराव अम्बेडकरको नाम लिन्छन्, जब अश्फाक उल्लाहको नाम लिन्छन् । यिनीहरूको षड्यन्त्र छ, यी अङ्ग्रेजहरूका चम्चा हुन् । लगाऊ मेरो विरुद्ध मानहानीको मुद्दा । म भन्छु आरएसएसको इतिहास अङ्ग्रेजहरूको साथमा खडा हुने इतिहास हो ।

देशका गद्दारहरू आज देशभक्तिको प्रमाणपत्र बाँडिरहेका छन् । मेरो मोबाइल जाँच गर्नुस् साथीहरू, मेरी आमा–दिदी (बहिनी) लाई भद्दा भद्दा गाली दिइएको छ । तिमी कुन भारत माताको कुरा गर्दै छौ ? यदि तिम्री भारत मातामा मेरी आमा समावेश छैनन् भने त्यो भारत माताको कन्सेप्ट मलाई मन्जुर छैन । देशका महिलाहरू त असल छन्, मजदुर हुन् मेरी आमा । आँगनबडीकी सेविका हुन् । तिन हजारले मेरो परिवार चल्छ । यिनीहरू उनलाई गाली दिइरहेका छन् । मलाई सरम छ यो देशबाट । यो देशभित्र जो गरिब, मजदुर र दलित किसान छन्, तिनीहरूकी आमा भारत माता होइनन् ? म भन्छु जय, भारत मातालाई जय, पिताहरूलाई जय, आमा दिदीहरूलाई जय, किसानहरू, मजदुरहरू, आदिवासीहरूलाई जय । म भन्छु कि कसैमा हिम्मत छ भने बोल – इन्कलाब जिन्दााबाद, भगतसिंह जिन्दावाद । भन – सुखदेवसिंह जिन्दावाद । भन – अश्फाक उल्लाह खान जिन्दावाद । भन – बाबासाहब अम्बेडकर जिन्दावाद ।

तिमीहरू बाबासाहबको १२५ औँ जन्मजयन्ती मनाउने नाटक गर्दै छौ । यदि तिमीहरूमा हिम्मत छ भने ती विषयहरू उठाऊ, जुन विषयहरू बाबासाहब डा. भीमराव अम्बेडकरले उठाएका थिए – यो देशभित्र जातिवाद सबैभन्दा ठुलो समस्या हो । बोल जातिवादको विरुद्धमा । आरक्षण ल्याऊ । निजी क्षेत्रमा पनि आरक्षण ल्याऊ । …. कुनै देश बन्छ भने मानिसहरूले बन्दछ । तर देशको अवधारणामा यिनको लागि कुनै स्थान नै छैन, गरिब मजदुरहरूका लागि कुनै स्थान छैन ।

हिजो मैले ‘टिभी डिबेट’मा यो कुरा भनिरहेको थिएँ, दीपक चौरसियाजीलाई । चौरसियाजी, यो गम्भीर समय हो । यो कुरालाई सम्झिराख्नु होला । यदि देशमा फासीवाद जुन तरिकाले आइरहेको छ, मिडिया पनि सुरक्षित रहने छैन । त्यसका लागि सङ्घको कार्यालयबाट स्क्रिप्ट लेखेर आउनेछ, त्यसरी नै जसरी सङ्कटकालमा इन्दिरा गान्धीको समयमा काङ्ग्रेसको कार्यालयबाट आउँथ्यो । ठाउँ तयार राख्नु होला । यदि तपाईं साँच्चिकै देशभक्ति देखाउन चाहनु हुन्छ भने ।

केही मिडियाका साथीहरू भनिरहेका थिए कि हाम्रो करको पैसाले, अनुदानको पैसाले जुेएनयु चल्दछ । हो, सत्य हो । सत्य हो कि करको पैसाले चल्छ । सत्य हो कि अनुदानको पैसाले चल्छ । तर एउटा प्रश्न उठाउन चाहन्छौँ कि विश्वविद्यालय हुन्छ केका लागि ? विश्वविद्यालय हुन्छ, समाजभित्र जुन आमधारणा हुन्छ, त्यसको आलोचनात्मक विश्लेषणको उपयोग गरियोस् । त्यो आलोचनात्मक विश्लेषण तयार गरियोस् । यदि युनिभर्सिटी यो काममा असफल हुन्छ भने कुनै देश बन्दैन । .. त्यो देश हुन्छ, केवल .. केवल पुँजीपतिहरूको चरनका लागि हुनेछ, केवल र केवल लुट र शोषणका लागि हुनेछ ।

यदि देशभित्र मानिसहरूको जुन संस्कृति छ, मानिसहरूका जुन मान्यताहरू छन्, मानिसहरूका जुन अधिकार छन्, तिनको यदि हामीले समावेश गर्दैनौँ भने यो देश बन्ने छैन । हामी देशको साथमा पूर्ण तरिकाले उभिएका छौँ । र हामी ती सपनाहरूसँग उभिएका छौँ, जुन भगत सिंह र बाबासाहब भीमराव अम्बेडकरले देखेका थिए । त्यो सपनासँगै उभिएका छौँ, जसमा सबैलाई बराबरीको हक होस् । त्यो सपनासँगै उभिएका छौँ, जसमा सबैलाई जिउने हक होस्, सबैलाई खाने, पिउने र उठ्ने हक होस् । हामी यही सपनाको साथमा उभिएका छौँ ।

यही सपनाको साथमा उभिनका लागि साथी रोहितले आफ्नो जीवन गुमाएका छन् । तर म यी सङ्घीहरूलाई भन्न चाहन्छु – तिम्रो सरकारलाई धिक्कार छ र मेरो चुनौती छ केन्द्र सरकारलाई कि आज रोहितको विषयमा जे भएको छ, त्यो जेएनयुमा हामी हुन दिने छैनौँ । कुनै रोहितले अब जीवन गुमाउने छैन । रोहितले जुन आफ्नो बलिदान दिएका छन्, त्यो बलिदानलाई हामीले सम्झिरहने छौँ । हामी बोल्ने स्वतन्त्रताको पक्षमा उभिने छौँ ।

र, ….. छोडिदेऊ पाकिस्तानको कुरा र बङ्गलादेशको कुरा । हामी भन्छौँ कि संसारका गरिबहरू एक हौँ । संसारका मजुदरहरू एक हौँ । संसारको मानवता जिन्दावाद । भारतको मानवता जिन्दावाद ।

जो यस मानवताको विरुद्धमा उभिएको छ, हामीले त्यसलाई चिनिसकेका छौँ । यही हाम्रो अगाडि उभिएको सबैभन्दा गम्भीर विषय हो कि त्यसको परिचयलाई हामीले बुझिराख्नु छ । त्यो जुन अनुहार हो जातिवादको, जुन अनुहार हो मनुवादको, जुन अनुहार हो ब्राह्मणवाद र पुँजीवादको गठजोडको । त्यो अनुहारलाई हामीले पर्दाफास गर्नु छ र साँच्चैको लोकतन्त्रलाई, साँच्चैको स्वतन्त्रता, सबैको स्वतन्त्रतालाई देशमा हामीले स्थापित गर्नुछ ।

हामी भन्न चाहन्छौँ कि सबैको जुन स्वतन्त्रता आउनेछ, संविधानबाट आउनेछ, संसदवाट आउनेछ, लोकतन्त्रबाट आउनेछ र संसदबाट आउनेछ । त्यसैले सबै साथीहरूलाई अपिल छ कि सबै प्रकारका मतभेदहरू राख्दै जुन हाम्रो अभिव्यक्तिको स्वतन्त्रता छ, जुन हाम्रो संविधान छ, जुन हाम्रो देश छ, यसको एकताका लागि हामी एकजुट रहने छौँ, एकमुष्ठ रहने छौँ । र, ती (सङ्घीहरू) देश फुटाउने शक्ति हुन्, आतङ्ककारीहरूलाई संरक्षण दिने शक्ति हुन् ।

एउटा प्रश्न, अन्तिम प्रश्न सोधेर म आफ्नो भनाइ अन्त गर्ने छु । को हो कसाब ? को हो अफजल गुरु ? को हुन् यी मानिसहरू, जो आज यो स्थितिमा छन् कि आफ्नो शरीरमा बम बाँधेर हत्या गर्नका लागि तयार छन् ? यदि विश्वविद्यालयमा यो प्रश्न उठ्दैन भने मलाई लाग्दैन कि विश्वविद्यालय हुनुको कुनै अर्थ छ ।

यदि हामी न्यायलाई परिभाषित गर्दैनौँ, यदि हामी हिंसालाई परिभाषित गर्दैनौँ भने हामीले अहिंसा कसरी प्राप्त गर्ने छौँ ? हिंसा केवल यो हुँदैन कि जब बन्दुक लिएर कसैलाई मारियोस् । हिंसा यो पनि हुन्छ कि जुन संविधानमा दलितहरूलाई अधिकारहरू दिइएका छन्, ती अधिकारहरू जेएनयु प्रशासनले दिन मान्दैन । यो संस्थागत हिंसा हो । … यिनैले न्यायको कुरा गर्छन् ।

कसले तय गर्नेछ कि न्याय के हो ? जब ब्राह्मणवाद थियो, दलितहरूलाई मन्दिरमा पस्न दिँदैनथे । यही न्याय थियो । जब अङ्ग्रेजहरू थिए त कुकुर र भारतीयहरूलाई रेस्टुरेन्टहरूमा जान दिँइदैन्थ्यो । यही न्याय थियो । यो न्यायलाई हामीले चुनौती दियौँ । आज हामी एबिभिपी र आरएसएसको न्यायलाई चुनौती दिन्छौँ कि यदि तिम्रो न्यायले हाम्रो न्यायलाई समावेश गर्दैन भने हामी तिम्रो न्याय मान्ने छैनौँ । हामीले तिम्रो स्वतन्त्रतालाई मान्ने छैनौँ । हामी त्यो दिन तिम्रो स्वतन्त्रतालाई मान्ने छौँ जुन दिन हरेक मानिसलाई उसको संवैधानिक अधिकार मिल्नेछ, जुन दिन हरेक मानिसलाई संवैधानिक अधिकार दिँदै यो देशभित्र बराबरीको दर्जा दिइनेछ । त्यो दिन हामीले स्वतन्त्रता स्वीकार गर्नेछौँ ।

साथीहरू, परिस्थिति धेरै गम्भीर छ । यस कुरामा जेएनयु विद्यार्थी युनियन कुनै हिंसालाई, कुनै आतङ्कवादीलाई, कुनै पनि आतङ्कवादी घटनालाई, कुनै पनि देशविरोधी गतिविधिलाई समर्थन गर्दैन । कडा शव्दमा पुनः एक पटक । जुन कुनै मानिस, अज्ञात मानिसहरूले ‘पाकिस्तान–जिन्दावाद’को नारा लगाएका छन्, जेएनयु विद्यार्थी युनियन त्यसको कडा शब्दमा भर्तसना गर्दछ ।

हामी प्रश्न गर्न चाहन्छौँ, जेएनयु प्रशासन र एबिभिपीसँग । क्याम्पसमा हजार किसिमका कुराहरू हुन्छन् । तपाईं ध्यानसँग एबिभिपीको नारा सुन्नोस् – तिनले भन्छन् कि कम्युनिस्ट कुकुरहरू । ती भन्छन् कि अफजल गुरुका छाउराहरू । ती भन्छन् कि जिहादीहरूका बच्चाहरू ।

यदि याे संविधानले हामीलार्इ नागरिक हुने अधिकार दिएकाे छ भने मेराे पितालार्इ कुकुर भन्नु मेराे नागरिक अधिकारकाे हनन् हाे  कि हाेइन ? याे प्रश्न हाे जेएनयु प्रशासनसँग । हामी जेएनयु प्रशासनसँग याे प्रश्न साेध्न चाहन्छाैँ कि तपार्इं कसका लागि काम गर्नुहुन्छ ? काेसँग काम गर्नुहुन्छ र कसकाे अाधारमाथि काम गर्नुहुन्छ ?

यो कुरा आज बिलकुल स्पष्ट भइसकेको छ कि जेएनयु प्रशासन पहिले अनुमति दिन्छ, फेरि नागपुरबाट फोन आएपछि अनुमति फिर्ता लिन्छ । यो अनुमति दिने र लिने जुन प्रक्रिया छ, यो त्यसरी नै यस देशमा तीव्र भएको छ, जसरी फेलोसिप लिने र दिने प्रक्रिया छ । पहिला तपाईंलाई फेलोसिप बढाउने घोषणा गरिन्छ फेरि भनिन्छ कि फेलोसिप बन्द भयो । यो सङ्घी तरिका हो । यो आरआरएस र एबिभिपी तरिका हो । यही तरिकाले उनीहरू देश चलाउन चाहन्छन् । यही तरिकाले उनीहरू जेएनयु प्रशासन चलाउन चाहन्छन् । हाम्रो जेएनयुका उपकूलपतिलाई प्रश्न छ कि पोस्टर लगाइएको थियो जेएनयुमा पर्चा आएको थियो प्रेसबाट । यदि समस्या थियो त जेएनयु प्रशासनले पहिले अनुमति दिने थिएन । यदि अनुमति दियो त कसले भनेर अनुमति रद्द गरियो ? यो प्रश्नलाई जेएनयु प्रशासनले स्पष्ट गरोस् । यो प्रश्न आज हामी यिनीहरूसँग सोध्न चाहन्छौँ ।

साथसाथै, यी जो मानिसहरू छन्, यिनको सत्यता जानिराख्नोस् । यिनीहरूलाई घृणा नगर्नुहोला किनकि हामी घृणा गर्न सक्दैनौँ । यिनले….. मलाई धेरै दयाभाव छ यिनीहरूप्रति ।
यिनीहरू किन यति धेरै मात्तिइरहेका छन् ? यिनलाई लागेको छ कि जसरी गजेन्द्र चौहानलाई राखेका छन्, त्यसरी नै हरेक ठाउँमा चौहान, दिवान र फरमानलाई जारी राख्नेछन् । चौहान, दिवान र फरमानको माध्यमले यिनले हरेक ठाउँमा जागिर पाइरहने छन् ।

यसर्थ जब यिनीहरू जोडले ‘भारत माताकी जय’ भनेर चिच्याए भने तपाईं सम्झिनुस् कि पर्सि यिनको अन्तर्वार्ता डियु (दिल्ली विश्वविद्यालय)मा हुँदै छ । जागिर लाग्नेछ, देशभक्ति पछाडि छुट्नेछ । जागिर लाग्नेछ, त्यसपछि भारत माताको कुनै ख्याल आउँदैन । जागिर लागेपछि त तिरङ्गा (भारतको राष्ट्रिय झन्डा) लाई त यिनले कहिल्यै मानेका छैनन्, पहेँलो (आरएसएसको) झन्डा पनि मान्दैनन् ।

म प्रश्न सोध्न चाहन्छु कि यो कस्तो देशभक्ति हो ? यदि एउटा मालिकले आफ्नो नोकरसँग राम्रो व्यवहार गर्दैन, यदि किसान आफ्नो मजदुरसँग राम्रो व्यवहार गर्दैन, यदि पुँजीपति आफ्ना कर्मचारीहरूसँग राम्रो व्यवहार गर्दैन र यी जुन अलगअलग च्यानल (टिभी च्यानल) का मानिसहरू छन्, जो पत्रकारहरू छन् १५–१५ हजार रूपैयाँमा काम गर्छन्, यिनका जुन सिइओ (प्रमुख कार्यकारी अधिकृत) छन्, तिनले ठिक व्यवहार गर्दैनन् । तिनले कसरी देशभक्ति गर्छन् ? कसरी ?

तिनीहरूले सम्पूर्ण देशभक्तिलाई भारत–पाकिस्तानको खेलमा समाप्त गरिदिन्छन् । त्यसैले जब सडकमा निस्कन्छन् त केरा बेच्नेहरूसँग अपमानजनक ढङ्गले कुरा गर्छन् । केरावालाले भन्छ – साहब, ४० रूपैयाँ दर्जन् । भन्छन् – चल् हट्, तिमीहरूले लुटिरहेका छौ, ३० मा देऊ । जुन दिन केरावालाले पछाडि फर्केर ‘तिमी सबैभन्दा ठुला लुटेरा हौ, करोडौँ लुटिरहेका छौ’ भन्नेछ, (यिनीहरूले) भनिदिनेछन् कि यो देशद्रोही हो ।

म थुप्रै एबिभिपीका साथीहरूलाई चिन्दछु र उनीहरूसँग सोध्छु कि साँच्चै तिमीहरूभित्र देशभक्तिको भावना फैलन्छ ? उनीहरू भन्छन् कि दाइ, के गर्ने ? पाँच वर्षको सरकार छ, २ वर्ष मात्रै कम भएको छ, ३ वर्षको टकटाइम बचेको छ, जे गर्नु छ, यसैमा गरिहाल्नु छ । म भन्छु कि ठिक छ गर तर के तिमी जेएनयुको बारेमा झुठ झुठ बोल्यौ भने भोलि कसैले तिम्रो कल्लर पक्डिने छ, तिम्रै कुनै साथीले पक्डिने छ, जसले आजभोलि रेलमा बिस (टिकट) चेक गर्दछ । समातेर तिमीलाई लिन्चिङ गर्नेछ र भन्नेछ कि तिमी देशभक्त होइनौ किनकि तिमी जेएनयुका छात्र हौ । के तिमीले यसको खतरा बुझेका छौ ? उनीहरू भन्छन् – यो कुरा बुझेका छौँ, भाइसाहब । त्यसैले त हामीले जेएनयु सट डाउनको ह्यास ट्याग छ, त्यसको विरोध गरेका छौँ । म भन्छु – एकदम बडिया, अब जेएनयुको ह्यास ट्याग बनाऊ र त्यसको विरोध गर किनभने आखिर बस्नु त जेएनयुमा नै पर्छ ।

म तपाईंहरू सबै जेएनयुका मानिसहरूसँग भन्न चाहन्छु कि अब मार्चमा चुनाब हुनेछ । त्यतिबेला एबिभिपीका मानिसहरू ओमको झन्डा लगाएर तपाईंसँग आउनेछन् । उनीहरूलाई भन्नुहोला कि हामी देशद्रोही हौँ, जिदाही–आतङ्कवादी हौँ । हाम्रो भोट लिएर तिमी पनि देशद्रोही हुनेछौ । यो उनीहरूसँग पक्कै सोध्नुहोला । उनीहरू त्यतिबेला भन्नेछन् – होइन होइन । तपाईंहरू होइन । ती केही मानिसहरू हुन् ।

हामी भन्नेछौँ कि ती केही मानिसहरू थिए, यो त तिमीले मिडियामा भनेका थिएनौ । तिम्रो उपकूलपतिले त भनेन र तिम्रो रजिस्ट्रारले पनि भनिरहेको छैन । ती केही मानिसहरूले पनि त भनिरहेका छन् कि हामीले ‘पाकिस्तान जिन्दावाद’को नारा लगाएका छैनौँ । ती केही मानिसहरूले पनि भनिरहेका छन् कि हामी आतङ्कवादको पक्षमा छैनौँ । ती केही मानिसहरू पनि भनिरहेका छन् कि हामीलाई अनुमति दिएर अनुमति रद्द गरियो । यो हाम्रो प्रजातान्त्रिक अधिकार माथिको हमला हो । ती केही मानिसहरू छन्, जसले भनिरहेका छन् कि यदि देशभित्र कहिँ लडाइँ लडिइरहेको छ भने हामी त्यसको समर्थनमा उभिने हुनेछौँ ।

यति कुरा तिनको दिमागमा घुस्दैन । तर मलाई पुरा बिश्वास छ कि यहाँ यति धेरै मानिसहरू जो यति छोटो सूचनामा आएका छन्, उनीहरूको दिमागमा घुसिरहेको छ । र, ती मानिसहरू अब यो क्याम्पसमा एक–एक छात्रसँग जानेछन् र बताउनेछन् कि एबिभिपी यो देशलाई फुटाइरहेको छ । जेएनयुलाई फुटाइरहेको छ । हामी जेएनयुलाई फुट्न दिँदैनौँ ।

जेएनयु जिन्दावाद थियो । जेएनयु जिन्दावाद रहनेछ । यो देशभित्र जति पनि सङ्घर्ष भइरहेका छन्, ती सङ्घर्षहरूमा अघि बढेर सहभागी हुनेछ र यो देशभित्र लोकतन्त्रको आवाजलाई शक्तिशाली बनाउँदै, स्वतन्त्रताको आवाजलाई शक्तिशाली बनाउँदै, अभिव्यक्तिको आवाजलाई शक्तिशाली बनाउँदै यो सङ्घर्षलाई अगाडि बढाउनेछ । सङ्घर्ष गर्नेछौँ र जित्नेछौँ र देशका गद्दारहरूलाई परास्त गर्नेछौँ । यिनै शब्दहरूसँगै तपाईं सबैलाई धन्यवाद ।

इन्कलाब जिन्दावाद । जय भीम । लालसलाम ।

भिडियो हेर्नुहोस्ः