२. भगौडा त्रिभुवन र दिल्ली सम्झौता
नेपालको पुरातनपन्थी इतिहासमा तत्कालीन राजा त्रिभुवन शाहलाई ‘२००७ सालको क्रान्तिका नायक’, ‘प्रजातन्त्रका पिता’ भनेर गुणगान गाइने गरेको छ । नेपाली सेनाको सैन्य मुख्यालयको सामुन्ने रहेको सहिद गेटमा ४ जना महान् सहिदहरूको शिरमाथि उनको मूर्ति बनाएर खडा गरिएको छ । नेपालको सबैभन्दा पुरानो तथा ठुलो विश्वविद्यालयको नाम उनैको नामबाट नामाकरण गरिएको छ ।
परन्तु तत्कालीन राजा शाह वास्तवमा प्रजातन्त्रका सिपाही वा कमाण्डर नभएर एउटा कायर र भगौडा व्यक्ति थिए । उनी प्रजातन्त्रका पिता नभएर २००७ सालको संयुक्त जनआन्दोलन उत्कर्षमा पुग्दा भागेर दिल्ली पुगेका एक आत्मसमर्पणवादी शासक थिए । नेपालमा भारतीय हस्तक्षेपलाई खुलै रुपमा आमन्त्रण गर्ने एक भारतपरस्त शासक थिए ।
२००७ सालको लोकतन्त्र प्राप्तिको आन्दोलन नेपाली काङ्ग्रेसले राणाशाहीका विरुद्ध मात्रै साँघुरो दायरामा प्रयोग गर्ने गरी राजा त्रिभुवनको सहमति र भारतको दबाबमा सुरु गरेको सशस्त्र सङ्घर्ष त्यसमा मात्रै सीमित रहेन । बरु नेपाली काङ्ग्रेसभित्रका वामपन्थीहरू, नेपाल कम्युनिस्ट पार्टी र आम जनसमुदायको पहलकदमीमा बृहत् सशस्त्र सङ्घर्ष र किसान आन्दोलन हुँदै विशाल जनआन्दोलनका रूपमा उत्कर्षमा पुग्यो र त्यसले रााणशाही मात्रै नभएर सामन्तवादलाई नै ध्वस्त गर्ने दिशामा भीषण ढङ्गले अगाडि बढ्यो । त्यतिबेला तत्कालीन राष्ट्रप्रमुख त्रिभुवन डराएर वि.सं. २००७ कार्तिक २१ गते सोमबार (सन् १९५० नोभेम्बर ६ तारिख) पहिले राजदरबार छोडी काठमाडौँ स्थित भारतीय राजदूतावासमा शरण लिन पुगेका थिए । त्यसको ५ दिनपछि आफ्ना दुईबर्से नाति ज्ञानेन्द्र शाहलाई दरबारमै छोडेर सपरिवार उनको अनुनय विनयमा भारत सरकारले पठाएको विशेष विमान चढेर भारतको राजधानी दिल्लीतिर भागेका थिए ।
नाबालक ज्ञानेन्द्र दरबारमै छुट्नुका पछाडि दुई ओटा कारण हुन सक्दथे । पहिलो, राजा त्रिभुवन र उनको सिङ्गो परिवार जनआन्दोलनको समयमा जनताको गणतन्त्र र सामन्वाद विरोधी किसान आन्दोलनबाट धेरै त्रसित भएको हुनाले नाति छुटेको समेत चाल चपाएर हुन सक्छ । अथवा, राजा त्रिभुवन र उनको परिवार आफू मारिने डरले भागे पनि राजगद्दी जोगाउनका लागि नाबालक ज्ञानेन्द्र शाहलाई मृत्युको मुखमा धकेल्दै सचेततापूर्वक नेपालमै छोड्ने तल्लोस्तरको सत्तालोलुप र अमानवीय कायरता प्रदर्शन गरेका पनि हुन सक्छन् । ज्ञानेन्द्र छुट्नुको कारण जेसुकै भए पनि त्यसले राणाहरूलाई क्षणिक फाइदा नै गर्यो । तिनले ‘भगौडा’ त्रिभुवनलाई राजगद्दीच्युत गरेर तिनै दुई बर्से नाबालक ज्ञानेन्द्र शाहलाई नयाँ राजा घोषित गरिदिए ।
२००७ सालको जनआन्दोलनको समग्र घटनाक्रमलाई राजनीतिक रूपले विश्लेषण गर्दा के देखिन्छ भने यदि नेपाली काङ्ग्रेसले सत्तास्वार्थका लागि राजा, राणा र भारत परस्त नबनेको भए नेपाली धर्तीबाट २००७ सालमा नै राणातन्त्रको साथसाथै राजतन्त्र पनि ढल्ने थियो र त्यतिबेलै नेपाल गणतन्त्रको नयाँ युगमा प्रवेश गर्ने थियो ।
त्यसैलाई समाजशास्त्रीय ढङ्गले हेर्दा के देखिन्छ भने बी.पी. कोइरालाको ब्राह्मणवादी सोचका कारणले उनले राजतन्त्र ढलाएर त्यसको ठाउँमा गणतन्त्र नेपालको राष्ट्रपति भएर आफैँले प्रत्यक्ष शासन गर्ने बारेमा आँट्न सकेनन् । बरु आफू राजालाई अगाडि सारेर आफूले पछाडिबाट शासन गर्ने उनको चाहना र पदच्यूत भइसकेका तत्कालीन राजा त्रिभुवन स्वयम् आफ्नो पहलकदमीमा मात्रै प्रत्यक्ष शासनमा आउन असम्भव भएकाले ‘शिखण्डी’का रूपमा कुनै एउटा ‘पात्र’को आवश्यकता ठानेर बी.पी. कोइरालालाई अघि सारेको देखिन्छ ।
जब जनआन्दोलन ऐतिहासिक र निर्णायक अवस्थामा पुग्यो, तब आन्तरिक रूपमा यी दुई स्वघोषित ‘प्रजातन्त्रवादी’हरूको निजी समस्या तथा तत्कालीन शक्ति सन्तुलन र भारतीय विस्तारवादको बाह्य हस्तक्षेपको परिणामस्वरूप राणाशाही, राजाशाही र नेपाली काङ्ग्रेसका बिचमा जनविरोधी त्रिपक्षीय ‘दिल्ली सम्झौता’ भयो जसमा भारतको भूमिकालाई गणना गर्दा त्यो चौपक्षीय हुन पुग्यो । देशको राष्ट्र प्रमुखका रूपमा रहेका राजा आफैँ भागेर भारतमा शरणार्थी बन्न पुग्नुले भारतीय हस्तक्षेप निर्णायक रूपले निम्त्याउन थप बल पुग्यो ।
त्यति बेलाको अर्को दुःखद कुरा के छ भने भारतीय हस्तक्षेपका कारणले बी.पी. कोइराला र त्रिभुवन शाहको चाहना विपरीत बी.पी.लाई नभएर राणाकालीन प्रधानमन्त्री मोहन शमशेरलाई नै प्रधानमन्त्रीका रूपमा निरन्तरता दिइएको थियो । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी र आम जनताले त्यो तथाकथित ‘दिल्ली सम्झौता’को खुलेर विरोध गरे । नेकपाको नेतृत्वमा दिल्ली सम्झौता विरुद्ध ठुलो आन्दोलनहरु भए र सोही आन्दोलनका क्रममा विद्यार्थी नेता चिनियाँकाजी श्रेष्ठ सहित कयौँ योद्धाहरूले सहादत प्राप्त गरे ।
(क्रमश: …………………..)
याे पनि पढ्नुहाेस् ः