communist party and parliament, कम्युनिस्ट पार्टी र संसद
 

कम्युनिस्ट पार्टी र संसद

(१)

नयाँ युग र नयाँ संसदवाद

सुरुदेखि, प्रथम अन्तर्राष्ट्रियको समयदेखि, नै संसदवादप्रतिको समाजवादी पार्टीहरूको धारणा बुर्जुवा संसदलाई प्रचारात्मक (Agitational) उद्देश्यका लागि उपयोग गर्नुपर्दछ भन्ने रहेको थियो । संसदमा भाग लिनुलाई वर्ग सचेतनालाई अर्थात् शासक वर्गप्रति सर्वहारा वर्गको घृणालाई विकास गराउने माध्यमका रूपमा लिइएको थियो । यो धारणा सैद्धान्तिक प्रभावका कारणले होइन, राजनीतिक घटनाक्रमका दौरानमा बदलिएको छ । उत्पादक शक्तिको विकास र पुँजीवादी शोषणको क्षेत्रको फैलावका परिणामस्वरूप पुँजीवाद र संसदीय राज्यले दीर्घकालीन स्थिरता हासिल गर्‍यो ।

परिणामस्वरूप समाजवादी पार्टीहरूको संसदीय कार्यनीति स्वयम्‌ले बुर्जुवा संसदको ‘आङ्गिक’ व्यवस्थापकीय कार्य अङ्गीकार गर्‍यो र ती पार्टीहरूका लागि पुँजीवादी संरचना अन्तर्गत सुधारको संघर्ष एकदमै टाढाको ‘अन्तिम उद्देश्य’को मञ्च बन्यो । यस परिस्थितिमा संसदीय अवसरवाद (Cardevism) र भ्रष्टाचार मौलायो र कामदार वर्गका महत्त्वपूर्ण स्वार्थ (चाहाना) ले गुप्त र कहिलेकाँही खुल्लैरूपले धोका पायो ।

तेस्रो अन्तर्राष्ट्रियको संसदप्रतिको धारणा नयाँ सैद्धान्तिक सोचाइद्वारा होइन, बरु संसदको स्वयम्‌को भूमिकामा भएको परिवर्तनद्वारा निर्धारित भएको हो । पहिलेको ऐतिहासिक समयमा संसद विकासोन्मुख पुँजीवादको एक साधन थियो र त्यसले खेलेको भूमिका खास अर्थमा प्रगतिशील थियो । अहिलेको अनियन्त्रित साम्राज्यवादी अवस्थामा संसद ढाँट, छल र हिंसा, फोस्रा गफ गर्ने स्थानको हतियार बनेको छ । साम्राज्यवादद्वारा गरिएको विध्वंश, प्रलोभन, लुट र विनाशले गर्दा संसदीय सुधारहरूले पूर्णरूपले असक्षम, स्थायित्व र नियम गुमाएको छ र कामदार वर्गका जनसमुदायका लागि सम्पूर्ण व्यावहारिक महत्त्व गुमाएको छ ।

संसदवादले, सम्पूर्ण बुर्जुवा समाजजस्तै, यसको स्थिरता गुमाइरहेको छ । संसदवादको क्षेत्रमा सर्वहारा वर्गद्वारा ग्रहण गरिएका नयाँ कार्यनीतिहरूले गर्दा एक युगको स्थिरताबाट अर्को युगको संकटको संक्रमणलाई अत्यावश्यक बनाएको छ । विगतको अवधिमा पनि रुसी मजदुर पार्टी (बोल्सेभिक)ले, उदाहरणार्थ अनिवार्यरूपले क्रान्तिकारी संसदवादलाई विकसित गर्‍यो, त्यसको कारण के थियो भने रुसको राजनीतिक र सामाजिक सन्तुलन सन्‌ १९०५ को क्रान्तिद्वारा ध्वस्त भएको थियो र त्यो देश आँधीबेहरीपूर्ण स्थितिमा प्रवेश गरेको थियो ।

ती समाजवादीहरू जसले साम्यवादप्रति सहानुभूति राखिरहेका छन्, उनीहरूको देश क्रान्तिका लागि परिपक्व नभएको कुरा ‌औल्याउँछन् र संसदीय अवसरवादीहरूले अगाडिको युगलाई साम्राज्यवादी समाजको एक सापेक्षित स्थिरताको रूपमा सचेत वा अर्ध-सचेत मूल्याङ्कनको प्रस्थान विन्दुका रूपमा लिन्छन् भनी छुट्टिन मान्दैनन् । त्यसकारण, सुधारका लागि संघर्ष गर्दा तुराती२ र लङगेट३ सँगको समीकरणले व्यावहारिक परिणाम ल्याउन सक्छ भन्ने विश्वास गर्छन् ।

जे होस, साम्राज्यवादका लागि हुने संघर्ष वर्तमान युग (पुँजीवादको उच्चतम विन्दु, यसको साम्राज्यवादी स्वःनिषेध र स्वःध्वंश गृहयुद्धको निर्बाध फैलाब आदि) को चरित्रको सैद्धान्तिक विश्लेषणमा आधारित हुनैपर्छ । राजनीतिक सम्बन्ध र गुटबन्दीका रूपहरू देशैपिच्छे फरक हुन सक्छन्‌ तर तिनका आधारभूत चरित्र सबै ठाउँमा उस्तै रहन्छन् । हाम्रो उद्देश्य भनेको बुर्जुवा सत्तालाई ध्वस्त गरी सर्वाहारा वर्गको नयाँ सत्ता स्थापनार्थ सर्वहारा वर्गको आन्दोलनको उत्थानका लागि सिधै राजनीतिक र प्राविधिक तयारी गर्नु हो ।

वर्तमान समयमा कम्युनिस्टहरूद्वारा गरिने संसदको उपयोग विगतका खास-खास समयमा जस्तै कामदार वर्गको जीवनस्तरमा सुधार र प्रगतिका लागि हुने संघर्षका रूपमा हुन सक्दैन । राजनीतिक जीवनको केन्द्रविन्दु पूर्ण र अन्तिमरूपले नै संसदको सीमाभन्दा टाढा पुगिसकेको छ । त्यसो भए तापनि, बुर्जुवाहरू कामदार वर्गसँगको सम्बन्धद्वारा र बुर्जुवा वर्गभित्रैका जटिल सम्बन्धहरूद्वारा पनि कहिलेकाहीँ र जसरी पनि संसदको माध्ययमबाट उपायहरू अगाडि बढाउन अझै बाध्य भएका छन् । संसदमा विभिन्न गुटहरूले सत्ताका लागि उनीहरूको शक्ति प्रदर्शन गर्दै, उनीहरूका कमजोरीहरूबाट फाइदा उठाउँदै र स्वयम्‌मा सम्झौता आदि गर्दै मोलतोल गर्छन् ।

त्यसकारण कामदार वर्गको ऐतिहासिक कार्य भनेको त्यसलाई तोड्दै, भत्काउँदै र सर्वहारा सत्ताका नयाँ अङ्गहरूद्वारा विस्थापित गर्दै शासक वर्गहरूका हातबाट संसदीय साधनहरू कब्जा गर्नु हो । त्यतिखेर संसदको विनाशलाई द्रुत बनाउन कामदार वर्गका आम क्रान्तिकारी दस्ताहरूले बुर्जुवाहरूको संसदीय संस्थाहरूमा आफ्नो निरीक्षण इकाइहरू राख्नु एकदमै उनीहरूको स्वार्थमा हुन्छ । यहाँनेर संसदमा जाने एक क्रान्तिकारी कम्युनिस्ट र समाजवादी-जनवादी सांसद बिचको आधारभूत भिन्नता स्पष्टरूपले अगाडि आउँछ । सामाजिक-जनवादी प्रतिनिधिहरूले अहिले कायम रहेको शासण व्यवस्थाको सापेक्षित स्थायित्व र अनिश्चित समयावधिको अनुमानका आधारमा काम गर्छन् । तिनीहरू स्वयंले कुनै पनि मूल्यमा सुधार हासिल गर्ने कार्य तय गर्दछन् र जनसमुदायले हरेक उपलब्धिलाई समाजवादी संसदवाद (तुराति, लङगेट र कम्पनी) को फलका रूपमा उचित ढङ्गले मूल्याङ्कन गर्नुपर्दछ भन्ने चिन्ता गर्दछन् ।

पुरानो र सम्झौतापरस्त संसदवादलाई विस्थापित गर्न एक नयाँ कार्यनीति उत्पन्न भइरहेको छ । यो एक त्यस्तो हतियार हो, जसले गर्दा संसदवाद आमरूपमा नै ध्वंश हुनेछ । तथापि पुरानो संसदीय कार्यनीतिका रिस उठ्ने खालका परम्पराहरूले केही क्रान्तिकारी तत्त्वहरूलाई I.W.W. (क्रान्तिकारी ट्रेड युनियनवाद४ KAPD५)लाई सैद्धान्तिक आधारमा संसदवादलाई प्रतिवाद गर्नेतर्फ डोर्‍याएको छ । यी सबै परिस्थितिहरूमाथि ध्यान दिँदै तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको दोस्रो महाधिवेशनले निम्न लिखित प्रस्थापनाहरूलाई अगाडि सार्दछः

(२)

साम्यवाद, सर्वहारा अधिनायकत्वका लागि संघर्ष र बुर्जुवा संसदको उपयोग

(क)

१. संसदवाद राज्य व्यवस्थाका रूपमा बुर्जुवा शासनको ‘प्रजातान्त्रिक’ स्वरूप बन्यो, जसलाई उसको विकासको खास चरणमा लोकप्रिय प्रतिनिधित्वको स्वरूप आवश्यक भयो । यद्यपि पछिल्लो चाहिँ (लोकप्रिय प्रतिनिधित्व – अनु.) वास्तवमा शासक वर्गको हातमा दमन र उत्पीडन गर्ने हतियार बन्यो, यो वर्गहरू भन्दामाथि रहेर लोकप्रिय मतको सङ्गठनका रूपमा खुल्लारूपले देखापर्‍यो ।

२. संसदवाद भनेको राज्यको एक निश्चित स्वरूप हो । त्यसकारण यो साम्यवादी समाज, जसमा न त वर्गहरू, न त वर्ग संघर्ष, न त कुनै किसिमको राज्यसत्ता नै हुन्छ, त्यसको एक रूप हुन सम्भव नै छैन ।

३. संसदले बुर्जुवाहरूको अधिनायकवादबाट सर्वहाराको अधिनायकवादमा हुने संक्रमणकालमा सर्वहारा राज्य प्रशासनका रूपमा काम गर्न सक्दैन । तिखो वर्ग संघर्षको विभिन्न समयमा अन्ततः गृहयुद्धमा विकास गर्दै सर्वहारा वर्गले एउटा लडाकु सङ्गठनका रूपमा उसको आफ्नै राज्य सङ्गठन अवश्यम्भावीरूपले निर्माण गर्नैपर्छ, जसले पहिलेका शासक वर्गहरूको प्रतिनिधिहरूलाई बाहेक गर्दछ । यस चरणमा सम्पूर्ण जनसंख्याको चाहनालाई प्रदर्शित गर्ने ‘लोकप्रिय मत’ को अस्तित्वका बारेमा गरिने कुनै पनि बहना सर्वहाराका लागि हानीकारक हुन्छ । संसदीय शक्ति पृथकीकरण आवश्यक छैन, वास्तवमा यो सर्वहाराको स्वार्थ विपरीत हुन्छ । सर्वहारा अधिनायकत्वको राज्यस्वरूप भनेको सोभियत गणतन्त्र हो ।

४. बुर्जुवा संसद भनेको बुर्जुवा राज्ययन्त्रका एकदमै महत्त्वपूर्ण साधन हुन्‌ र आम बुर्जुवा राज्य जस्तै सर्वहारा वर्गको पक्षमा बनाउन सकिँदैन । गणतन्त्रात्मक होस् या संवैधानिक राजतन्त्रात्मक, सर्वहारा वर्गको काम भनेको त्यसलाई र त्यसका संसदीय संस्थाहरूलाई ध्वङ्स गर्दै बुर्जुवा राज्यन्त्रलाई भत्काउनु हो ।

५. ठिक त्यस्तै धारणा बुर्जुवाहरूका स्थानीय सरकारी संस्थाहरूप्रति अपनाउनु पर्दछ, जसलाई राज्य अङ्गहरूबाट फरक गराउनु सैद्धान्तिकरूपमा नै गलत हुन्छ । स्थानीय सरकारी निकायहरू पनि बुर्जुवा राज्ययन्त्रका साधनहरू हुन् र तिनलाई क्रान्तिकारी सर्वहारा वर्गले ध्वस्त गर्नै पर्दछ र मजदुर वर्गका प्रतिनिधिहरूका स्थानीय सोभियतद्वारा प्रतिस्थापित गरिनु पर्छ ।

६. परिणामतः साम्यवादले संसदवादलाई भविष्यको समाजको राज्यको रूपमा वा सर्वहारा वर्गको वर्गीय अधिनायकत्वका रूपमा मान्दैन । यसले (साम्यवादले) दीर्घकालीन आधारमा संसदलाई सर्वहारा उद्देश्यका पक्षमा बनाइरहने सम्भावनालाई अस्वीकार गर्दछ । यसले (साम्यवादले) स्वयम् संसदवादलाई ध्वस्त गर्ने कार्य तय गर्दछ । यसबाट यो कुरा आउँछ कि बुर्जुवा राज्य संस्थाहरूलाई केवल तिनलाई ध्वस्त गर्ने उद्देश्यले मात्र प्रयोग गर्न सकिनेछ । यो नै एउटा मात्र उपाय हो कि तिनको (बुर्जुवा संस्थाहरू) उपयोगसम्बन्धी प्रश्नलाई प्रस्तुत गर्न सकिनेछ ।

(ख)

७. हरेक राजनीतिक संघर्ष वर्गसंघर्ष हो किनभने अन्तिम विश्लेषणमा यो सत्ताका लागि संघर्ष हो । कुनै पनि हड्ताल जब देशभरि फैलिन्छ तब बुर्जुवा राज्यलाई थर्काउन थाल्दछ । यसरी एउटा राजनीतिक चरित्र ग्रहण गर्दछ । बुर्जुवाहरूलाई फ्याँक्न र त्यसको राज्यलाई झापड हान्न उद्दत हुनु भनेको राजनीतिक संघर्षमा सहभागी हुनु हो । प्रशासन चलाउनका लागि सर्वहारा वर्गको राज्य साधन-त्यो साधनको स्वरूप जस्तोसुकै किन नहोस्‌ को रचना, र बुर्जुवा प्रतिरोधको दमनमा राजनीतिक सत्ताको विजय निहित हुन्छ ।

८. यसको तात्पर्य राजनैतिक संघर्षको प्रश्नलाई कुनै पनि तरिकाले संसदवादप्रति अपनाइने धारणाको प्रश्नमा झार्न सकिने छैन भन्ने हो किनभने सर्वहारा वर्ग संघर्षले सानो र आंशिक मुठभेडबाट सम्पूर्ण पुँजीवादी व्यवस्थालाई फ्याँक्ने निर्णयमा विकास गर्दछ । यो एक आम प्रश्न हो ।

९. बुर्जुवाहरू र तिनका राज्यसत्ता विरुद्ध सर्वहारा वर्गीय संघर्षको एकदमै महत्त्वपूर्ण स्वरूप भनेको पहिलो र सबैभन्दा पहिलो जनकारबाही हो, जुन एकीकृत, अनुशासित, केन्द्रीकृत कम्युनिस्ट पार्टीको आम नेतृत्व अर्न्तगत सर्वहारा वर्गको क्रान्तिकारी जनवर्गीय सङ्गठनहरू (युनियन, पार्टी, सोभियत) द्वारा संगठित र निर्देशित भएको हुन्छ । गृहयुद्धको तात्पर्य युद्ध नै हो र त्यो युद्ध चलाउन सर्वहारा वर्गलाई संघर्षका ती सबै क्षेत्रहरूमा सबै खालका कारबाही चलाउन नेतृत्व गर्न सक्षम उसको आफ्नै अनुभवी राजनीतिक अधिकारीहरूको सैनिक इकाइ र उसको आफ्नै सशक्त राजनीतिक सैनिक अधिकारीहरू आवश्यक पर्दछ ।

१०. जनसंघर्ष भनेको क्रियाकलापहरूको सम्पूर्ण जालो हो, जसले पुँजीवादी राज्य विरुद्ध हुने उभारलाई बढ्दो रूपले सघन गराउँछ र तार्किकरूपले उच्चतामा पुन्याउँछ । जब जनसंघर्षले गृहयुद्धमा विकास गर्दछ, सर्वहारा वर्गको नेतृत्वदायी पार्टीले, आम नियमका रूपमा हरेक वैधानिक स्थितिलाई हासिल गर्नैपर्छ, जनसंघर्षको सम्पूर्ण अभियानसम्बन्धी योजनाको अधिनस्थ राख्दै ती सबैलाई उसको क्रान्तिकारी कार्यको सहायक केन्द्रहरूका रूपमा प्रयोग गर्नैपर्छ ।

११. बुर्जुवा संसदको मञ्च भनेको त्यस्तै एउटा सहायक केन्द्र हो । तथ्य यो हो कि संसद भनेको बुर्जुवा राज्यसंस्था हो भनी संसदीय संघर्षमा सहभागी हुने कुराका विरुद्ध तर्क गर्नु कुनै तर्क नै होइन । कम्युनिस्ट पार्टीले यस्तो संस्थामा संसदीय व्यवस्थाभित्रै त्यसको समग्र अंशका रूपमा काम गर्नका लागि प्रवेश गर्दैन, तर संसदभित्रै कारबाही चलाउनु हो, जसले बुर्जुवा राज्ययन्त्र र संसद स्वयम्‌लाई धराशायी पार्न सहयोग गर्दछ । (उदाहरणका रूपमा जर्मनीमा लिब्नेख्त६ र जारको दुमामा बोल्शेभिकहरू, ७ “ प्रजातान्त्रिक सम्मेलन” ८, केरेन्स्कीको पूर्व संसद९, ‘संविधान सभा’ १०, र नगर दुमाहरू र अन्ततः बुल्गेरियाई कम्युनिस्टहरूका गतिविधिहरू रहेका छन् ।

१२. संसदीय गतिविधि, जसमा मुख्यरूपले क्रान्तिकारी विचारहरूको व्यापक प्रचार गर्ने, वर्ग दुश्मनहरूको संसदीय मञ्चबाट मुकुण्डो उघारिदिने र जनसमुदाय, जसले विशेषरूपले पिछडिएका क्षेत्रहरूमा अझै संसदलाई आदर गर्दछन्‌ र प्रजातान्त्रिक भ्रम पाल्छन्‌, तिनीहरूको विचारधारात्मक लगावलाई अगाडि बढाउने कुराहरू रहन्छन् । यो गतिविधि निरपेक्षरूपले नै संसदबाहिर हुने जनसंघर्षका लक्ष्य र कार्यहरूका अधिनस्थ हुनैपर्छ ।

चुनावी अभियानमा सहभागिता र क्रान्तिकारी विचारहरूका लागि मञ्चका रूपमा संसदको उपयोग भनेको अहिलेसम्म राजनीतिक जीवन र क्रान्तिकारी आन्दोलनबाट अलग-अलग रहेका कामदार वर्गका ग्रामीण मजदुर जनसमुदायका तप्काहरूको राजनीतिक जितबाजीका लागि विशेष महत्त्वको छ ।

१३. कम्युनिस्टहरूले स्थानीय सरकारी निकायहरूमा बहुमत प्राप्त गर्नुपर्छ, उनीहरूले निम्न लिखित उपायहरूलाई अवलम्बन गर्नुपर्छ :

(अ) बुर्जुवाहरूको केन्द्रीय प्राधिकारसँग लड्नका लागि क्रान्तिकारी विपक्ष निर्माण गर,

(आ) दरिद्रतम्‌ वर्गका जनसंख्यालाई हरसम्भव तरिकाले सहयोग (आर्थिक उपायहरू, सङ्गठन, वा सशस्त्र मजदुरहरूका लडाकुहरूका प्रयत्नरत सङ्गठन आदि) गर,

(इ) आधारभूत सामाजिक परिवर्तनको बाटोमा बुर्जुवा राज्यसत्ताले सिर्जना गर्ने अवरोधहरूको हर मौकामा भण्डाफोर गर,

(ई) राज्यसत्तासँग द्वन्द्व उत्पन्न गराउने खालको भए तापनि क्रान्तिकारी प्रचारलाई फैलाउन दृढ निश्चयी अभियान चलाऊ,

(उ) निश्चित परिस्थितिअर्न्तगत स्थानीय सरकारी अङ्गहरूलाई कामदार वर्गका प्रतिनिधिहरूको सोभियतद्वारा विस्थापित गर ।

स्थानीय सरकारी संस्थाहरूमा गरिने कम्युनिस्ट गतिविधि पुँजीवादी समाजलाई तोड्ने संघर्षको अंशका रूपमा देखिनु नै पर्छ ।

१४. चुनावी अभियान स्वय्‌ अधिकतम्‌ संसदीय स्थानहरू प्राप्त गर्नका लागि होइन, बरू सर्वहारा क्रान्तिको नाराका वरिपरि जनसमुदायको परिचालन गर्ने रूपमा संचालन गर्नैपर्छ । चुनावी संघर्षमा पार्टी नेतृत्व मात्र होइन, पार्टी सदस्य र कार्यकर्ताहरू संलग्न हुनैपर्छ, त्यसै समयमा उत्पन्न हुने सबै जनकारबाहीहरू (हड्ताल, प्रदर्शन, सशस्त्र सेना बिचका गतिविधिहरू आदि) अभियानका दौरानमा अङ्गीकार गर्नु अत्यावश्यक हुन्छ र तिनीहरूसँग निकट सम्बन्ध कायम गरिनुपर्छ । सर्वहारा जनसङ्गठनहरूलाई पनि चुनावको सेरोफेरोमा सक्रिय काममा तानिनु पर्दछ ।

१५. यी प्रस्थापनाहरूका आधारमा र विशेष निर्देशनमा राखिएका सर्तहरूका साथ संचालित हुन्छन्‌ भने संसदीय कार्यले विभिन्न सामाजिक जनवादी पार्टीहरू जसले संसदमा त्यो ‘प्रजातान्त्रिक’ संस्थालाई समर्थन गर्न वा ‘त्यसमा विजय हासिल गर्ने’ उद्देश्यले प्रवेश गर्दछन्‌, तिनीहरूद्वारा अपनाइने फोहोरी राजनीतिक खेलहरूप्रति सिधा प्रतिवादको प्रतिनिधित्व गर्दछ ।

(ग)

१६. त्यसकारण संसदवाद विरोधी सिद्धान्त भनेको चुनावमा सहभागिताको निरपेक्ष र वर्गीय अस्वीकारका वा क्रान्तिकारी संसदीय कार्यका रूपमा अपरिपक्व र केटाकेटी स्थिति हो, जो आलोचना सहनका लागि तयार हुँदैन । कहिलेकाहीँ यस्तो धारणाले सांसदहरूको फोहोरी खेलप्रति स्वस्थ असन्तुष्टि व्यक्त गर्दछ तर त्यति हुँदाहुँदै त्यो क्रान्तिकारी संसदवादको सम्भावनाहरूलाई पहिचान गर्नमा असक्षमता हो । यो स्थिति पार्टीको भूमिकाप्रतिको पूरै गलत दृष्टिकोणसँग बारम्बार जोडिएको छ – कम्युनिस्ट पार्टीलाई कामदार वर्गको लडाकु केन्द्रीकृत अग्रदस्ताका रूपमा होइन, बरू ढिलाढालारूपले जोडिएका समूहहरूका विकेन्द्रित परिपाटीकारूपमा हेरिन्छ ।

१७. त्यतिखेर जस्तोसुकै परिस्थिति भए पनि संसदीय कार्यलाई मान्यता प्रदान गर्नुले सबै निर्वाचनहरू र संसदीय अधिवेशनहरूमा सहभागी हुने आवश्यकताको निरपेक्ष स्वीकारोक्तिलाई इङ्गित गर्दैन । कुनै खास चुनाव वा अधिवेशनमा सहभागी हुने कुरो विशेष अवस्थाको सम्पूर्ण प्रक्रियाहरूमा भर पर्दछ । कुनै निश्चित परिस्थितिको संयोजनले संसदबाट फिर्ता हुन आवश्यक बनाउन सक्दछ । बोल्शेभिकहरूले पूर्व-संसदलाई कमजोर पार्न, अवमूल्यन गर्न र त्यसको तिखो प्रतिरोधमा सेन्टपिटर्सवर्ग सोभियत, जसले अक्टोवर क्रान्तिको नेतृत्व लिनेवाला थियो, लाई प्रस्तुत गर्नका लागि त्यसको परित्याग गरेका थिए । उनीहरूले राजनीतिक घटनाक्रमको केन्द्रविन्दुलाई सोभियतहरूको तेस्रो महाधिवेशनतर्फ रूपान्तरण गर्नका लागि संविधान सभाको विघटन हुँदाको दिन त्यसको परित्याग गरे । अन्य परिस्थितिमा निर्वाचनको बहिष्कार गर्नु र सम्पूर्ण बुर्जुवा राज्ययन्त्र र शासक गुटलाई हटाउनका लागि सिधा काबाही गर्नु आवश्यक हुन सक्छ । विकल्पमा संसदको बहिष्कारपश्चात चुनावमा भाग लिन आवश्यक हुन सक्छ आदि ।

१८. तसर्थ कम्युनिस्ट पार्टीले संसदीय र स्थानीय सरकारी अङ्गहरूको चुनावमा भाग लिने आवश्यकतालाई एक आम नियमका रूपमा अङ्गीकार गर्दा तत्क्षणको विशेष अवस्थालाई मूल्याङ्कन गर्दै प्रत्येक प्रश्नलाई अलग ढङ्गले निर्णय गर्नुपर्छ । चुनाव वा संसदको बहिष्कार अथवा संसदबाट फिर्ता आउने भन्ने कुराहरू प्रमुखरूपले सत्ताका लागि सशस्त्र संघर्षको तत्काल परिचालनका लागि स्थिति पाकेको छ भन्ने स्वीकारयोग्य हुन्छ ।

१९. यस प्रश्नको तुलनात्मक अप्रमुखतालाई सधैँ ध्यानमा राख्नु पर्दछ । जब राज्यसत्ताका लागि हुने संघर्षको केन्द्रविन्दु संसदबाहिर रहन्छ, तब त्यसको मूर्तीकरणका लागि सर्वहारा अधिनायकत्व र जनसंघर्षको प्रश्न संसदलाई कसरी प्रयोग गर्ने प्रश्नभन्दा स्पष्ट रूपले, धेरै हिसाबले बढी मुख्य बन्दछन्‌ ।

२०. त्यसकारण कम्युनिस्ट अन्तर्राष्ट्रियले एकदमै दृढ ढङ्गले जोड दिन्छ कि यसले यत्ति एउटा प्रश्नको आधारमा कुनै फुट पार्न वा फुट पार्ने प्रयत्न गर्नु एक गम्भीर गल्ति हो भन्ने ठान्दछ । महाधिवेशनले ती सबै, जसले क्रान्तिकारी सर्वहारा वर्गको केन्द्रीकृत पार्टीको नेतृत्वअर्न्तगत सर्वहारा अधिनायकत्वका लागि सशस्त्र संघर्षको सिद्धान्तलाई स्वीकार्छन्‌ र जसले कामदार वर्गको सबै जनसङ्गठनहरूमा प्रभाव पार्ने काम गर्दछन्‌, बर्जुवा संसदलाई कसरी प्रयोग गर्ने भन्ने प्रश्नमा हुने सम्भाव्य भिन्नताहरूका बाबजुद सम्पूर्ण कम्युनिस्ट तत्त्वहरूको एकताका लागि उद्दत रहन आह्वान गर्दछ ।

३. क्रान्तिकारी संसदवाद

क्रान्तिकारी संसदीय कार्यनीतिलाई सही ढङ्गले प्रयोग गरिएको छ भन्ने कुराको प्रत्याभूतिका लागि निम्न लिखित बुँदाहरूलाई अवलोकन गर्नु पर्दछ :

१. समग्रमा केन्द्रीय समिति र कम्युनिस्ट पार्टीले तयारीको चरणमा अर्थात्‌ संसदीय निर्वाचन पहिला संसदीय फ्य्राक्सनका सदस्यहरूको राजनीतिक र साङ्गठनिक सक्षमताको गुणलाई व्यवस्थित ढङ्गले निरीक्षण गर्नैपर्छ । कम्युनिस्ट पार्टीको केन्द्रीय समिति कम्युनिस्ट संसदीय फ्य्राक्सनको कामप्रति जिम्मेवार हुनैपर्छ । उसलाई कुनै सङ्गठनले अगाडि सारेको उम्मेदवारले यदि निर्वाचित भएको खण्डमा सच्चा कम्युनिस्ट पाराले व्यवहार गर्छ भन्ने कुरामा शंका लाग्छ भने अस्वीकार गर्ने प्रश्नयोग्य अधिकार हुनैपर्छ ।

कम्युनिस्ट पार्टीले तथाकथित ‘अनुभवी’ सांसदहरू मुख्यतः कानुनविद्‌हरू आदिलाई मात्र अगाडि सार्ने पुरानो सामाजिक-जनवादी प्रचलनलाई तोड्नै पर्छ । नियमतः उनीहरूले मजदुरहरूलाई उम्मेदवार प्रस्तुत गर्नु पर्दछ । बृहत् संसदीय अनुभव नभएका कार्यकर्ताहरूलाई उम्मेदवार छान्नुपर्दा त्यो कुराले उनीहरूलाई चिन्तित तुल्याउन हुँदैन । कम्युनिस्ट पार्टी संसदमा जाने ध्येयले आफूलाई पार्टीसँग आबद्ध गर्ने अवसरवादी तत्त्वहरूका सम्बन्धमा निर्मम हुनैपर्छ । कम्युनिस्ट पार्टीका केन्द्रीय समितिहरूले उनीहरूका धेरै वर्षका व्यावहारिक कार्यले मजदुर वर्गहरूप्रतिको इमान्दारितालाई प्रमाणित गरेका मानिसहरूको उम्मेदवारीलाई स्वीकृत गर्नैपर्छ ।

२. त्यतिखेर पार्टी वैधानिक वा अवैधानिक जे भए पनि चुनावपश्चात संसदीय फ्य्राक्सनको सङ्गठनको काम पूरा भएपछि त्यो पूरैरूपले कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको हातमा हुनैपर्छ । पार्टीको केन्द्रीय समितिसँग संसदीय फ्य्राक्सनमा निषेधिकारसहितको स्थायी प्रतिनिधि हुनैपर्छ । त्यो संसदीय फ्य्राक्सनले सबै मुख्य राजनीतिक प्रश्नहरूमा केन्द्रीय समितिबाट अग्रिम निर्देशन खोज्नु पर्दछ । जब संसदमा गएका कम्युनिस्टहरूले महत्त्वपूर्ण अभियान चलाउन खोज्छन्‌, त्यतिखेर फ्य्राक्सनबाट प्रवक्ता नियुक्त गर्ने र अस्वीकार गर्ने, प्रवक्तासँग प्रस्तावित वक्तव्यको रूपरेखा वा त्यो वक्तव्य स्वयम्‌ केन्द्रीय समितिको अध्ययन र स्वीकृत गर्नका लागि माग गर्ने अधिकार र कर्तव्य केन्द्रीय समितिसँग हुन्छ । कम्युनिस्टका रूपमा खडा भएका उम्मेदवारहरूले पार्टीको केन्द्रीय समितिको पहिलो अनुरोधमै औपचारिक लिखित प्रतिबद्धता प्रदान गर्नैपर्छ, ताकि पार्टीले संसदवाट एकमुष्ट वापसीको आयोजना गर्न सकोस् ।

३. ती देशहरू जहाँ सुधारवादी, अर्द्धसुधारवादी र साधारणतया अवसरवादी तत्त्वहरूले कम्युनिस्ट संसदीय फ्य्राक्सनमा घुसपैठ गर्न तौरतरिका मिलाइसकेका छन् (खास देशहरूमा त्यस्तो घटना भइसकेको छ), कम्युनिस्ट पार्टीले कम्युनिस्ट नीतिमा अडान राख्न नसक्ने ठुलो फ्य्राक्सनभन्दा एउटा सानो तर सच्चा कम्युनिस्ट फ्य्राक्सनद्वारा कामदार वर्गको ध्येयमा राम्रो सेवा हुन्छ भन्ने सिद्धान्तबाट अगाडि बढेर त्यो फ्याक्सनको सदस्यता पूरै विशुद्ध पार्ने जिम्मा लिनैपर्छ ।

४. यदि केन्द्रीय समितिले निर्णय गर्दछ भने कम्युनिस्ट प्रतिनिधिहरूले उनीहरूको वैधानिक कार्यलाई अवैधानिक कार्यसँग जोड्नै पर्छ । ती देशहरू जहाँ कम्युनिस्ट प्रतिनिधिले बुर्जुवा कानुनद्वारा खास छुट उपभोग गर्न पाउँछन्, त्यसलाई पार्टीको अवैधानिक सांगठनिक र प्रचार कार्यलाई सघाउन प्रयोग गरिनु पर्दछ ।

५. कम्युनिस्ट प्रतिनिधिहरूले उनीहरूका सबै संसदीय कार्यलाई पार्टीको इतर संसदीय क्रियाकलापको अधिनस्थ राख्नैपर्छ । पार्टी र यसको केन्द्रीय समितिले व्यवस्थापकीय (Legislative ) प्रस्तावहरू बुर्जुवा बहुमतले स्वीकृत गर्ला भन्ने विचारले होइन कि बरू प्रचार, आन्दोलन (Agitation) र सङ्गठनका उद्देश्यका लागि नियमितरूपले प्रस्तुत भएका छन्‌ कि छैनन्‌ भन्ने कुरा हेर्नैपर्छ ।

६. कम्युनिस्ट प्रतिनिधिले कामदार वर्गद्वारा पहलकदमी गरिएका सडक प्रदर्शनहरू र अन्य क्रान्तिकारी क्रियाकलापका अवस्थामा सर्वहारा जनसमुदायको नेतृत्व गर्दै नेतृत्वदायी र देखिने खालको भूमिका खेल्नै पर्दछ ।

७. पार्टीको नियन्त्रणमा रहँदै कम्युनिस्ट प्रतिनिधिहरूले प्रेस र अन्य उपायहरूका माध्यमबाट उनीहरूका लागि उपलब्ध हरेक साधनहरूलाई क्रान्तिकारी मजदुरहरू, किसानहरू र अन्य कामदार जनताहरूसँग सम्बन्ध कायम राख्न प्रयोग गर्नैपर्छ । उनीहरूले कुनै पनि स्थितिमा सामाजिक जनवादी प्रतिनिधिहरूले जस्तो आफ्ना मतदाताहरूसँग व्यापारिक सम्बन्ध निर्माण गर्न उद्दत हुने जस्ता व्यवहार गर्न हुँदैन । उनीहरू सधैँ कम्युनिस्ट सङ्गठनका लागि प्रचार कार्यको जिम्मेवारी लिन तयार हुनैपर्छ ।

८. कम्युनिस्ट सदस्यहरू भनेका अरूसँग मिल्नखोज्ने खालका विधायक जस्ता होइनन्‌, बरू पार्टीका निर्णयहरूलाई कार्यान्वयन गर्न सत्रुको अखाडाभित्र पठाइएका आन्दोलनकारी हुन्‌ भन्ने कुरा ध्यानमा राख्नैपर्छ । संसदका कम्युनिस्ट सदस्य मतदाताहरूका स्वचालित जनसमुदायप्रति होइन, बरु वैधानिक होस् वा अवैधानिक, कम्युनिस्ट पार्टीप्रति जिम्मेवार हुन्छ ।

९. कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूले गर्ने संसदीय भाषण हरेक मजदुर र किसान कार्यकर्ताहरू, हरेक धोबी र गोठालोले बुझ्न सक्ने भाषणमा हुनैपर्छ – पार्टीले उनीहरूका भाषणहरूलाई पर्चाका रूपमा देशका अत्यन्तै दुर्गम ग्रामीण कुनाहरूमा पुर्‍याउने गरी वितरण गर्न सक्षम हुनैपर्छ ।

१०. सबै मजदुर कम्युनिस्ट कार्यकर्ताहरू बुर्जुवा संसदमा बोल्न डराउनै हुँदैन । अझ मजदुरहरू संसदीय कामका लागि नयाँ भए तापनि तथाकथित अनुभवी सांसदहरूद्वारा हेपिनु हुँदै हुदैन । यदि आवश्यक भएमा मजदुर प्रतिनिधिहरूले उनीहरूका वक्तव्यहरू सिधै लिखित टिप्पणीबाट वाचन गर्न सक्छन्‌ । तत्पश्चात् ती वक्तव्यहरू समाचारपत्र र पर्चाहरूमा प्रकाशित हुन सक्छन्‌ ।

११. संसदका कम्युनिस्ट सदस्यहरूले बुर्जुवा र तिनका स्पस्ट अनुयायीहरू मात्र होइन, बरू सामाजिक-राष्ट्रवादीहरू, सुधारवादीहरू, ‘केन्द्र’ का संदिग्ध राजनीतिज्ञहरू र साम्यवादका अन्य विरोधीहरूलाई भण्डाफोर गर्न संसदीय मञ्चलाई प्रयोग गर्नैपर्छ । त्यसो गरेर उनीहरूले तेस्रो अन्तर्राष्ट्रियका विचारहरूलाई फैलाउन यसको प्रयोग गर्नैपर्छ ।

१२. जहाँ संसदमा कम्युनिस्ट पार्टीका केवल एक वा दुई जना मात्र मान्छे छन्‌ भने तापनि, उसका प्रतिनिधिहरूको व्यवहार पुँजीवादका लागि चुनौती बन्नु पर्दछ । कम्युनिस्ट सदस्यहरूले बुर्जुवा व्यवस्था र उसका सामाजिक-राष्ट्रवादी चाटुकारहरूप्रति अनारत सत्रुता देखाउनुछ भने उनीहरूले केवल कम्युनिस्टको नाम धारण गर्न योग्य हुनुपर्छ भन्ने सम्झनु पर्छ ।

टिप्पणीहरू

१. अधिकतम कार्यक्रम: कम्युनिस्ट पार्टीको केन्द्रीय प्रश्न भनेको दैनिक समर्थनका कार्यनीतिहरू (न्यूनतम कार्यक्रम) लाई क्रान्तिको कार्यक्रम (अधिकतम कार्यक्रम) सँग सम्बन्धित गर्नु हो ।

२. तुराति फिलिप्पोः (१८५७-१९३२) १८१२ मा इटाली कम्युनिस्ट पार्टीका संस्थापक प्रथम विश्वयुद्धमा इटालियन बुर्जुवालाई दिइएको सैनिक योगदानको विरुद्ध मतदान गरे तर १९१७ मा क्यापोतोमा इटालीको पराजयपश्चात युद्धलाई समर्थन गरे । उदारवादी बुर्जुवाहरूसँग मिल्ने चाहना राख्दै इटालियन कम्युनिस्ट आन्दोलनको विकासप्रति विरोध राख्ने मुसोलिनी सत्तामा आएपछि फ्रान्सतर्फ भागेको, पेरिसमा मृत्यु भयो ।

३. लङ्गेट, जीन: (१८७६-१९३८) कानुनविद्‌ कार्लमार्क्सका नाति । समाजवादी पार्टीको पत्रिका एल, घ्युमानाइटका सम्पादक ।

४. आई. डब्लु. डब्लु. (संसारका अन्तर्राष्ट्रिय मजदुरहरू) । १९०५ देखि संयुक्त राज्यमा क्रान्तिकारी लडाकु संगठन विचारधारात्मकरूपले क्रान्तिकारी अर्थवाद्‌को नजिक र सुधारवादी समाजको विरोधी, १९१७ मा भएको राज्य दमनको परिणामस्वरूप छिन्नभिन्न भएको ।आई. डब्लु. डब्लु. को एउटा समूह अक्टोवर क्रान्तिपछि सि.पि. युएसए का भावी नेताहरू विलियम जे फोस्टर र जेम्स पि क्यानोन समेत साम्यवादतर्फ आकर्षित भए ।

५. के. ए. पि. डि. जमर्नीको साम्यवादी मजदुर पार्टी १९२० मा निर्माण भएको अति वामपन्थी पार्टी। संसदीय चुनावहरूमा सहभागिताको प्रतिवाद गर्‍यो । सुधारवादी जनट्रेड युनियनबाट अलग हुने र क्रान्तिकारी ट्रेड युनियनको निर्माणको पक्षमा वकालत गर्‍यो ।

६. लिब्नेख्त, कार्लः (१८७१-१९१९) । विल्हेम लिब्नेख्तका छोरा, जर्मन सामाजिक-जनवादी पार्टीका एकजना संस्थापक । कानुनविद् । पर्सियन डायट र रेइस्टागको प्रतिनिधिकारूपमा संसदीय मञ्चलाई क्रान्तिकारी आन्दोलनका लागि उपयोग गरे । जर्मनीले फ्रान्सको विरुद्धमा अगस्त ३, १९१४ मा युद्धको घोषणा गरेपछि अगस्त १४ मा भएको मतदानमा सामाजिक-जनवादी पार्टीको संसदीय दलको बहुमतलाई युद्धको विरोधमा मतदान गर्न मनाउन उनी असफल भए । बहुमतको निर्णयलाई स्वीकार गरे । रेइस्टागको प्रतिनिधिको रूपमा अक्टोबर २, १९१४ मा पश्चिमी मोर्चाको भ्रमण गरेपछि पार्टी एकताको सिद्धान्तले सरकारी नीतिलाई वैधानिक गराउन सक्दैन भन्ने महशुस गरे । डिसेम्बर २, १९१४ मा ११० जना सामाजिक-जनवादी प्रतिनिधिहरूमध्ये एक्लै युद्धको विरुद्ध मतदान गरे, रोजा लक्जम्बर्गसँग मिलेर स्पार्टाकस लिग र पछि जर्मन कम्युनिस्ट पार्टीको स्थापना गरे । नोभेम्बर १९१८ को विद्रोह असफल भएको लगत्तै जनवरी १५, १९९० मा गिफ्तार गरेपछि जर्मन सैनिक अधिकृतहरूद्वारा हत्या गरियो ।

७. जारकालीन दुमा: जारकालीन दुमाको मतदातासम्बन्धी कानुनले महिलाहरू र बिस लाख मजदुरहरूलाई मताधिकारबाट बन्चित गयो; मतदाताहरू भूमिपतिहरू (जमिन्दारहरू), सहरिया (पुँजीपतिहरू), कृषक र मजदुर गरेर चार वर्गमा विभाजित थिए । अप्रत्यक्ष निर्वाचनले जमिन्दार र पुँजीवादीहरूको प्रभुत्वलाई अझै सुनिश्चित गर्‍यो । प्रथम दुमा १९०५ को क्रान्तिको दबाबले गर्दा स्थापित भयो । बोल्शेभिकहरूले क्रान्तिका उर्लेको ज्वारले जारको संविधानवादको प्रतिक्रियावादी बाटोलाई सफलतापूर्वक निराश बनाउँछ भन्ने तर्कका आधारमा यसको बहिष्कार गरे । डिसेम्बर १९०५ को मस्को विद्रोहको असफलताका बाबजुद आंशिकरूपमा सैनिक विद्रोह र हड्तालहरू १९०६ को गृष्मसम्म कायम रह्यो । त्यतिखेरको बहिष्कार भनेको यी विद्रोहहरूमा ध्यान केन्द्रित गर्नका लागि आह्वान थियो । त्यसबेला कान्तिकारी उभार घट्दो छ भन्ने स्पष्ट थिएन : यो नै दुमाको अधिवेशनलाई बहिष्कारको कार्यनीतिले किन निराश पार्न असफल भयो भन्ने कारण थियो । क्रान्तिकारी आन्दोलनलाई सञ्चालन गरिरहने उद्देश्यका लागि क्रान्ति अधोगतिमा छ भन्ने स्पष्ट भएपछि बोल्शेभिकहरूले दोस्रो राज्य दुमाको निर्वाचनमा भाग लिए । यो दुमालाई जुन १९०७ मा विघटन गरिएको थियो र मजदुर वर्गका प्रतिनिधिहरूलाई मुद्दा लगाइयो, श्रम शिविरमा पठाइयो र निर्वासित भए । १९०५-७ को क्रान्तिको पराजयपश्चात कामदार जनसमुदायसँग सम्बन्ध कायम राखिरहने उद्देश्यले वैधानिक कार्यलाई मजदुर वर्गका अवैधानिक संगठनहरूका कामसँग जोड्न उनीहरूको रक्षात्मक कार्यनीतिको अङ्गका रूपमा बोल्शेभिकहरूले तेस्रो राज्य दुमामा भाग लिए । दुमाको मञ्च जार सरकारका नीतिहरू संवैधानिक प्रजातन्त्रवादीहरूका नीतिहरूलाई भण्डाफोर गर्न र सर्वहारा वर्गको पक्षमा किसानहरूको समर्थन जुटाउन उपयोग गरिएको थियो । बोल्शेभिकहरूले वैधानिकरूपले अस्तित्वमा रहेका संस्थाहरू, वैधानिक मजदुर संगठनहरू र दुमामा हुने कार्यको समर्थन गर्न अस्वीकार गरेकाले बोल्सोभिकहरूलाई पार्टीबाट निष्काशन गरे । “दुमामा भएको सामाजिक-जनवादी समूह र प्राभ्दा नै जनसमुदायका माझमा देशव्यापीरूपमा वैधानिकरूपले कार्यसञ्चालन गर्ने प्रमुख आधारहरू थिए।” (सोभियत संघको कम्युनिस्ट पार्टी (बोल्शेभिकको इतिहास, अंग्रेजी संस्करण मस्को, १९५२, पृष्ठ २३९ ) । १९१२ को शरदमा सम्पन्न भएको चौथो दुमाको निर्वाचनमा बोल्शेभिकहरूले जनतान्त्रिक गणतन्त्र, आठ घण्टे कार्यदिन, जमिन्दारहरूको सम्पत्ति जफत गर्ने नारा अन्तर्गत भाग लिए । उनीहरूका प्रतिनिधिहरूले निरङ्कुश व्यवस्थाको भण्डाफोर गरे, मजदुरमाथि भएको दमनका मामिलाहरूमा सरकारलाई र्‍याखर्‍याख्ती पारे, किसानहरूलाई सामन्ती जमिन्दारहरूका विरुद्ध लड्न आह्वान गरे । उनीहरूले आठ घण्टे कार्यदिन कायम गर्नका लागि पराजित हुने बाबजुद विधेयक प्रस्तुत गरे, बृहत प्रचारात्मक सफलता हासिल गरे । दुमाभन्दा बाहिर बोल्शेभिक प्रतिनिधिहरूले मजदुर वर्गको केन्द्रहरूको भ्रमण गरे, बैठकहरूको आयोजना गरे, त्यहाँ उनीहरूले पार्टी निर्णयहरूको ब्याख्या गरे र नयाँ पार्टी संगठनहरूको निर्माण गरे । उनीहरूले वैधानिक गतिविधिहरूलाई अवैधानिक भूमिगत कार्यसँग दक्षतापूर्वक संयोजन गरे। प्रथम विश्वयुद्ध सुरुवात हुनासाथ बोल्शिभिक प्रतिनिधिहरूले युद्धको पक्षमा मतदान गर्न अस्वीकार गरे । विभिन्न संगठनहरूसँग भेटघाट गरे र युद्धप्रतिको बोल्शेभिक नीतिको ब्याख्या गरे । नोभेम्बर १९१४ मा बोल्शेभिक संसदीय दलले युद्धप्रतिको नीति सम्बन्धमा छलफल गर्न एक सम्मेलनको आयोजना गर्‍यो: सम्मेलनको तेस्रो दिन उपस्थित सबै गिरफ्तार भएका थिए । बोल्शेभिक प्रतिनिधिहरूले जारको दरबारलाई सरकारको पुच्छरवादी नीतिलाई भण्डाफोर गर्ने मञ्चमा परिणत गरे । उनीहरूको सम्पूर्ण नागरिक अधिकार खोसियो र साइबेरिया पठाउने सजाय दिइयो । पेत्रोग्रादका बोल्शेभिक प्रतिनिधि ए. बादायेभले लेखेको र सर्वहारा प्रकाशनद्वारा प्रकाशित “चौथो दुमामा बोल्शेभिकहरू” भन्ने पुस्तक संसदवादसम्बन्धी बोल्शेभिक कार्यनीतिको शास्त्रीय विवरण हो ।

८. जनतान्त्रिक सम्मेलनः क्रान्तिकारी प्रक्रियालाई बुर्जुवा संवैधानिक लाइनमा भड्काउने उद्देश्यले मेन्शेभिक र सामाजिक क्रान्तिकारीहरूद्वारा प्रायोजित १२ सेप्टेम्बर १९१७ मा पेत्रोग्रादमा सम्पन्न ।

९. केरेन्स्कीको पूर्वसंसदः जनतान्त्रिक सम्मेलनद्वारा स्थापित । यसले वास्तवमै श्रमिक जनताका लागि केही गर्न सक्छ भन्ने मिथ्या आशा जनसमुदायमा उत्पन्न गराउन सक्छ भन्ने आधारमा बोल्शेभिकहरू यसबाट बाहिरिए । बोल्शेभिकहरूले २५ अक्टोवर १९१७ मा विघटन गरे ।

१०. संविधान सभाः बोल्शेभिक क्रान्तिपश्चात आममतदानद्वारा निर्वाचित, जनवरी १८, १९१८ मा भएको यसको बैठकले सोभियतहरूको दोस्रो महाधिवेशनले शान्ति, भूमि, सोभियतहरूलाई सत्ता हस्तान्तरण गर्ने अध्यादेशलाई मान्यता दिन अस्वीकार गयो । बोल्शेभिकहरूले जनवरी १९ को रातदेखि यसको बहिष्कार गरे । अर्को दिन सोभियत सत्ताले “यसको र रूसी सोभियत गणतन्त्र बिचको हरेक सम्बन्ध विच्छेद” भएको रूपमा संविधान सभाको विघटनको अध्यादेश जारी गयो ।

११. होग्लण्ड, कार्ल जेथ (१८८४-१९५६)ः १९२१ मा स्थापना भएपछि स्वीडेनी कम्युनिस्ट पार्टीको नेता, १९२४ मा भएको कम्युनिस्ट अन्तर्राष्ट्रियको पाँचौँ महाधिवेशनबाट निष्काशित, पुनः सामाजिक जनवादी पार्टीमा संलग्न भए र पहिले दोस्रो अन्तर्राष्ट्रियका महत्त्वपूर्ण व्यक्ति थिए ।

[कम्युनिस्ट अन्तर्राष्ट्रियको दोस्रो महाधिवेशन (अगस्त १९२०) बाट पारित यस दस्तावेज मार्क्स-एङ्गेल्स-लेनिन इन्स्टिच्युट, मस्को, १९९३ पेज ११३-११९, कम्युनिस्ट अन्तर्राष्ट्रिय डकुमेन्ट, १९१९-१९३२ मूल रूसी पाठ्यसामग्रीको अंग्रेजी अनुवादको नेपाली रूपान्तर हो । पि. थापाले अनुवाद गर्नुभएको यस दस्तावेजलाई निरन्तर प्रकाशनद्वारा प्रकाशित पुस्तिकाबाट साभार गरिएको हो – सं.]