jiang qing, chiang ching, च्याङ चिङ, चियाङ चिङ
 

कमरेड चियाङ चिङ जब बोल्नका लागि अगाडि जानुभयो, उहाँलाई पूरा भेलाले गडगडाहटपूर्ण तालीका साथ स्वागत गर्‍यो । सर्वप्रथम उहाँले सर्वहारा वर्गीय क्रान्तिकारी सलामद्वारा साहित्य र कलावृत्तका सम्पूर्ण कमरेड र मित्रहरूका साथै उपस्थित युवा लालरक्षकका योद्धाहरूलाई अभिवादन गर्नुभयो। महान् सर्वहारा सांस्कृतिक क्रान्ति बुझ्नलाई आफू कसरी सक्षम हुनुभयो भन्नेबारे उहाँले ब्याख्यान दिनुभयो ।

कमरेड चियाङ चिङले भन्नुभयोः

केही वर्षपहिले जतिबेला मेरो साहित्य र कलाका निश्चित तप्कासँग नियमित सम्पर्क हुन थाल्यो, मेरो दिमागमा उठेको पहिलो प्रश्न थियो किन समाजवादी चीनमा भूतका नाटकहरू मञ्चन भइरहेका छन् ? त्यस्तै मलाई के कुराले चकित तुल्यायो भने पेकिङ गीतिनाटकले वास्तविकताप्रति उदासीन हुँदै ‘हाई जुईको बर्खास्ती’, ‘ली हुई-निङ’ तथा गम्भीररूपमा प्रतिक्रियावादी राजनीतिक झुकाव बोकेका अन्य नाटकहरूको उत्पादन गर्दैछ। “परम्पराको पुनर्खोज” भन्ने बडो गजबको बहानामा धेरै कृतिहरू बादशाह, राजा, जनरल र प्रधानमन्त्रीहरू, विद्वतवर्ग र सुन्दरताका बारेमा लेखिँदै थिए। प्रसिद्ध नाटक, विदेशी नाटक र प्राचीन नाटकका बारेमा साहित्य र कलाको संसारमा ठुलो चर्चा थियो। वातावरण उकुसमुकुस थियो । आधुनिकताको ठाउँमा प्राचीनतालाई जोड दिइएको थियो, विदेशीको पूजा गरेर चिनियाँलाई उपेक्षा गरिएको थियो। मृतको प्रशंसा र जीवितलाई घृणा गरिएको थियो। मैले के महसुस गर्न थालेकी छु भने यदि हाम्रो साहित्य र कलाको समाजवादी आर्थिक आधारसँग तालमेल मिल्न सकेन भने पुरै समाजवादी संरचना धराशायी हुने कुरा निश्चित छ।

वर्षौंदेखि राजनीतिक र आर्थिक क्षेत्रमा नयाँ र पुरानो बिच चल्दै गरेको परिवर्तित सङ्घर्षले पुरानोको विरुद्ध नयाँ साहित्य र कलाले पनि आफ्नो स्थान बनाउँदै लगेको छ। विगतमा सुधार गर्न अति नै कठिन ठानिएको पेकिङ गीतिनाटकमा पनि नयाँ विषयको सिर्जना हुँदै आएको छ। हामी सबैलाई थाहा छ, तिस वर्ष अगाडि लु सुन सांस्कृतिक क्रान्तिका एक महान्‌ पृष्ठपोषक हुनुहुन्थ्यो। बिस वर्षभन्दा अगाडि अध्यक्ष माओले साहित्य र कला “मजदुर, किसान र सेनाको सहयोगका लागि हुनुपर्ने” कुरा बताउनुभएको थियो र उहाँले “नयाँ उमार्नका लागि पुरानोलाई उखेल्ने” प्रश्न उठाउनुभएको थियो। “नयाँ उमार्नका लागि पुरानोलाई उखेल्ने” भन्नुको अर्थ जनताको आवश्यकतासँग मेल खाने सार र जनताले माया गर्ने लोकप्रिय राष्ट्रिय विकास गर्नु हो। जहाँसम्म सारको कुरा छ, यसमा नयाँ उमार्नका लागि पुरानोलाई उखेल्ने कुरा कैयौँ सन्दर्भमा विवादरहित छ। भूत, भगवान र धर्मको कुरालाई विवेकसङ्गत रूपले हामी कसरी पचाउन सक्छौँ ? मेरो विचारमा यो असम्भव छ किनकि हामी नास्तिक हो, कम्युनिस्ट हौँ। हामी भूत र भगवानमा कत्ति पनि विश्वास गर्न सक्दैनौँ। फेरि उदाहरणका लागि उनीहरूले विवादरहित ठानेका जमिन्दार वर्गको सामन्ती नैतिक उपदेश र पुँजीपतिहरूको नैतिक उपदेश जनताको दमन र शोषण गर्न प्रयोग भएका छन्। के हामी जनताको दमन र शोषणमा प्रयोग हुने कुनै पनि कुरालाई विवेकसङ्गत ढङ्गबाट पचाउन सक्छौँ ? मेरो विचारमा यो असम्भव छ, किनकि हाम्रो देश सर्वहारावर्गको अधिनायकत्व भएको देश हो। हामी समाजवादको स्थापना गर्न चाहन्छौँ। हाम्रो आर्थिक जग सार्वजनिक स्वामित्वमा आधारित छ। हामी जनताको दमन र शोषण हुने निजी स्वामित्वमा आधारित पद्धतिको दृढ विरोध गर्दछौँ। शोषणमा आधारित पद्धतिका सम्पूर्ण अवशेष र सम्पूर्ण शोषक वर्गका पुराना विचार, संस्कृति, परम्परा र चालचलनलाई समूल नष्ट गर्नु हाम्रो महान् सर्वहारा सांस्कृतिक क्रान्तिको एउटा प्रमुख उद्देश्य हो ।

कलाका पुराना रूपहरूको सन्दर्भमा हाम्रो नीति न त पूर्ण बहिष्कारको हुनेछ, न त पूर्ण स्वीकृतिको नै। राष्ट्रको एउटा आफ्नै कलाको रूप र यसको आफ्नै कलात्मक विशेषता हुन जरुरी छ। विवेकपूर्ण ढङ्गबाट भन्नुपर्दा पूर्ण बहिष्कारवादी हुनु गल्ती हो। सबैभन्दा राम्रो त हाम्रो मातृभूमिको आफ्नै कलाको रूप र कलात्मक विशेषता हुनु हो। अर्कोतर्फ सम्पूर्ण कुरालाई सकारात्मकरूपमा लिनु र नयाँलाई उमार्न पुरानोलाई उखेल्न नखोज्नु पनि गलत हुन जान्छ। जहाँसम्म संसारभरिका विभिन्न देशका कलाका गहकिला रूपहरूको कुरा छ, हामीले “विदेशी वस्तुलाई चीनको सेवामा लगाऔँ” र “नयाँ उमार्नका लागि पुरानोलाई उखेलौँ” भन्ने अध्यक्ष माओका निर्देशन मुताबिक कार्य गर्न जरुरी छ ।

साम्राज्यवाद मृतप्रायः भइसकेको छ। पुँजीवाद पराश्रयी र खोक्रो भइसकेको छ। आधुनिक संशोधनवाद साम्राज्यवादी नीति र विभिन्न प्रकारको पुँजीवादको परिणति हो। त्यसले कुनै पनि राम्रा कृतिको सिर्जना गर्न सक्दैन। पुँजीवादसँग केही शताब्दीको इतिहास छ, तथापि यसले केही नगण्य सङ्ख्यामा ‘उत्कृष्ट ग्रन्थ’को सिर्जना गरेको छ। यसले केही कृतिलाई ‘उत्कृष्ट ग्रन्थ’ अन्तर्गत राखेको छ तर तिनीहरूमा कुनै मौलिकता पाइँदैन र तिनीहरूले जनतालाई सम्बोधन गर्न सकेका छैनन् र त्यसकारण तिनीहरू पूर्णरूपमा पतनको सङ्घारमा छन्। अर्कोतर्फ अन्य केही कुराको साँच्चिकै बजारमा बाढी चलेको छ। जस्तो झुलाउने सङ्गीतको नाच, रक एन्ड रोल, मूर्च्छन ‘जज’, विवस्त्रखेल ‘स्ट्रिप टिज’, प्रभाववाद ‘इम्प्रेसनिजम’, सङ्केतवाद ‘सिम्बोलिजम’, अमूर्ततावाद ‘एब्स्ट्रयास्क्निजम’, आधुनिकतावाद ‘मोडर्निजम’ आदि, जसको कुनै अन्त छैन। तिनीहरूको उद्देश्य केवल जनताको दिमागलाई विषाक्त र जड बनाउनु हो। छोटकरीमा भन्नुपर्दा जनताको दिमागलाई विषाक्त र जड बनाउने पतनोन्मुख कुराको त्यहाँ भाँडभैलो सिबाय अरू केही हुन्न।

म प्रश्न गर्न चाहन्छु, यदि परानो साहित्य र कलाको समाजवादी आर्थिक आधारसँग तालमेल खाँदैन र शास्त्रीय कलात्मकरूपको समाजवादी वैचारिक सारसँग पूर्णरूपमा तादात्म्यता हुन सक्दैन भने क्रान्ति र परिवर्तनको अपरिहार्यता नहोला ? म विश्वस्त छु धेरै कमरेडहरू र मित्रहरू यसको अपरिहार्यतामा सहमत हुनुहुन्छ तर हामीले यस कुरालाई स्वीकार गर्नैपर्छ। यसमा तीव्र वर्गसङ्घर्षको कुरा आउन र यो धेरै कष्टसाध्य र कठिन कार्य हो। सामान्यतया जनता बिच वास्तविकतामा हुने कठिनाइभन्दा बढी कठिनाइको डर ठुलोरूपमा देखापरेको छ किनकि लामो समयदेखि पार्टी केन्द्रीय समितिको पुरानो प्रचार विभाग र पुरानो संस्कृति मन्त्रालयको गैरपार्टी गैरसमाजवादी नेतृत्वले यो क्रान्ति र सुधारको विरोधमा धेरै ‘तर्कहरू‘ अघि सार्दै आयो। त्यस्तै आफ्नो निहित स्वार्थले प्रेरित भएका केही मुट्ठीभर व्यक्तिहरू पनि थिए, जसले क्रान्तिलाई कम आँक्ने र परिवर्तनको विरोध गर्ने कोसिस गरे। यी कठिनाइ र बाधा अड्चनलाई हटाइसकेपछि मात्र पेकिङ गीतिनाटक, नृत्यकाव्य र समस्वर सङ्गीतमा सुधार ल्याउन सम्भव भएको हो।

गत मेदेखि देशव्यापीरूपमा सुरु भएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिले विचारधाराको लगभग सम्पूर्ण पक्षमा हलचल ल्याइदिएको छ। उहाँले सांस्कृतिक क्रान्तिको कार्यदललाई विभिन्न सङ्गठनहरूमा पठाउने प्रश्न गर्नुभयो र भन्नुभयो महान् सर्वहारा सांस्कृतिक क्रान्तिमा कार्यदललाई पठाउने यो साङ्गठनिक रूप एउटा भुल थियो र आफ्नो कामको सिलसिलामा ती कार्यदलहरूले जे गरे, त्यो झनै गम्भीर भुल थियो। पुँजीवादी बाटो पक्रेका पार्टीभित्रका जिम्मेवार निकायमा रहेका मुट्ठीभर व्यक्तिहरूले प्रतिक्रियावादी प्राज्ञ “अधिकारीहरू” का विरुद्ध आक्रमण केन्द्रित गर्नुको साटो उनीहरूले क्रान्तिकारी विद्यार्थीहरूका विरुद्ध आक्रमण केन्द्रित गरे। सङ्घर्षको आक्रमण केका विरुद्ध केन्द्रित हुने भन्ने प्रश्न ठिक र बेठिकको एउटा आधारभूत प्रशन र मार्क्सवाद-लेनिनवाद-माओविचारधाराको एउटा सैद्धान्तिक प्रश्न हो। यस वर्षको जुनको सुरुतिर हाम्रा अध्यक्ष माओले हतारमा कार्यदल पठाउनुहुन्न भन्ने कुरालाई औँल्याउनुभएको थियो तर केही कमरेडहरूले माओको अनुमतिबेगर नै हतारमा कार्यदललाई पठाउने काम गरे तर के कुरा औँल्याउन जरुरी छ भने प्रश्न कार्यदलको स्वरूपमाथि होइन कि त्यसले अङ्गीकार गर्ने सिद्धान्त र नीतिमाथि हो। केही युनिटहरूमा कुनै पनि कार्यदललाई पठाइएको थिएन र पुरानै मान्छेको नेतृत्वमा काम भयो र त्यहाँ गल्तीहरू पनि भए । अर्कोतर्फ केही कार्यदलहरूले सही सिद्धान्त र नीति अँगाले र उनीहरूबाट कुनै गल्ती भएनन्। प्रश्नको सही समाधानमा यो एउटा उदाहरण साबित हुन सक्छ।

चियाङ चिङ, च्याङ चिङ, jiang qing, chiang ching
महान्‌ चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको क्रममा मन्तव्य दिँदै क. चियाङ चिङ

अध्यक्ष माओले अगस्ट १८ दश लाख युवा कान्तिकारी योद्धाहरूलाई भेट गर्नुभयो । जनताको हौसलाप्रति उहाँको कत्रो सम्मान थियो। उनीहरूप्रति कत्रो विश्वास थियो र कत्रो चासो थियो। मलाई अनुभूति भयो, मैले धेरै कुरा सिक्न सकेँ। त्यसपछि युवा लालरक्षक योद्धाहरू समाजतर्फ फर्किए र जोडतोडका साथ पुराना विचार, संस्कृति, परम्परा र चालचलनलाई नष्ट गर्न थाले। हामी पार्टी केन्द्रीय समितिको मातहतमा रहेका सांस्कृतिक क्रान्ति समूहका कमरेडहरू हर्षले गदगद भयौँ तर केही दिनदेखि नै नयाँ समस्याहरू देखा परे। हामीले तत्काल तथ्यहरूलाई भेला गर्‍यौँ, अनुसन्धान गर्‍यौँ र निरन्तररूपमा विकास हुने कान्तिकारी परिस्थितिसँग मुकाबिला गर्न तयार भयौँ। यसर्थ, मैले भन्ने गरेकी छु कि हामीले एकातिर माओत्सेतुङ विचारधारालाई नजिकबाट पछ्याउने प्रयत्न गर्नुपर्दछ भने अर्कोतिर युवा क्रान्तिकारीहरूको साहसिक र उत्साही क्रान्तिकारी विद्रोही जोशलाई पक्रन कोसिस गर्नुपर्दछ।

पेकिङ गीतिनाटक (पेकिङ अपेरा) सुधारको गौरवशाली कार्य सम्पन्न गर्ने पहिलो एकाइ यही कम्पनी हो । माओत्सेतुङ विचारधाराको मार्गनिर्देशन अन्तर्गत रहेर केही वर्षभित्रैमा तपाईँहरूले वास्तवमा समकालीन क्रान्तिकारी विषयमा गीतिनाटक सिर्जना गर्ने कार्यमा राम्रो सफलता हात पार्नुभएको छ र पेकिङ गीतिनाटक सुधारकार्यमा पूरा देशभरि एउटा उदाहरण पस्तुत गर्नुभएको छ। राष्ट्रिय उत्सवहरूमा प्रदर्शन गर्न समकालीन क्रान्तिकारी विषयमा नाटकहरूलाई समर्थ बनाउन हामी बिचमा धेरै छलफलहरू भए ।

हामीले तपाईँका प्रदर्शनहरूलाई समर्थन गर्‍यौँ र ती गलत विचारहरूको खण्डन गर्‍यौँ, जसले क्रान्तिमा तपाईँहरूका उपलब्धिलाई निषेध गर्ने प्रयत्न गरेका थिए। हामीले तपाईँहरूको ‘सा सिया पाङ’ अर्थात्‌ समकालीन क्रान्तिकारी विषयको एउटा पेकिङ गीतिनाटकलाई प्रदर्शन गर्न र पेकिङ गीतिनाटकहरू रातो लालटिन, डाँकुहरूको किल्ला कब्जा, समुन्द्री बन्दरगाह, सेतो बाघको शासनमाथि धावा र नृत्य काव्यहरू आइमाईहरूको लालकमान, कपाल फुलेकी केटी र समस्वर सङ्गीत- ‘सा सिया पाङ’ आदिलाई मञ्चमा ल्याउन समर्थ बनाउन विभिन्न वृत्तहरूमा पर्याप्त कार्यहरू गर्‍यौँ।

हामीले बतायौँ – यी सिर्जनाहरू साहित्य र कला, मजदुर, किसान र सिपाहीको सेवार्थ हुनुपर्छ भन्ने अध्यक्ष माओको विचारसँग मेल खाने महान् सर्वहारा सांस्कृतिक क्रान्तिका महत्त्वपूर्ण सफलता हुन् । तथ्यहरूले प्रमाणित गर्दछन् कि विशाल जनसमुदायले हाम्रा उपलब्धिहरूलाई मानेका छन्‌ ।

संसारभरिका क्रान्तिकारी मार्क्सवादी-लेनिनवादी जनताले तिनीहरूको उच्च मूल्याङ्कन गरेका छन् ।अध्यक्ष माओ र उहाँका हितैषी सहयोद्धा कमरेड लिन पियायो, कमरेड चाउ एन लाई कमरेड चेन पोता, कमरेड का सेन र अरू धेरै कमरेडहरूले हाम्रा उपलब्धिहरूमा समर्थन जनाउनुभएको छ र हामीलाई ठुलो सहयोग र अरू धेरै कमरेडहरूले हाम्रा उपलब्धिहरूमा समर्थन जनाउनुभएको छ र हामीलाई ठुलो सहयोग र हौसला प्रदान गर्नुभएको छ ।

म आशा गर्छु, सङ्घर्षमा होमिइसकेपछि यो महान् सर्वहारा सांस्कृतिक क्रान्तिमा हामीले आफूलाई होमेपछि हामी निरन्तररूपमा मजदुर, किसान र सैनिकहरूसँग एकताबद्ध हुन प्रयत्नरत हुनेछौँ । यसरी हामी निश्चयनै पेकिङ गीतिनाटक र साहित्य – कलाका अन्य फाँटको सुधारमा नयाँ उपलब्धिहरू हासिल गर्न सक्षम हुनेछौँ, हाम्रो कार्य कठिन छ तर हामीले बहादुरीपूर्वक यो गौरवशाली तर कष्टकर क्रान्तिकारी कार्यकर्तालाई फत्ते गर्न जरुरी छ । १ नम्बर पेकिङ गीतिनाटक कम्पनीमा भएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिमा धेरै धारिलो र धेरै कठिन वर्गसङ्घर्ष भएको थियो । त्यो सर्वहारा र पुँजीपति वर्ग बिच भएको शक्तिको सङ्घर्ष थियो ।

तथापि तपाईँहरूले अझसम्म पार्टी कमिटीको प्रतिक्रान्तिकारी संशोधनवादी दिशालाई नटुङ्ग्याउने र आलोचना गर्ने कार्य गर्नुभएको छैन । यहाँ अहिले पूरापूर गम्भीरताका साथ के कुरा औँल्याउन जरुरी भएको छ भने पेकिङको १ नम्बर गीतिनाटक कम्पनीका केही निश्चित नेतृत्वमा रहेका व्यक्तिहरूले अझसम्म आफूहरू र पुरानो पैकिङ नगरपालिका पार्टी कमिटी बिचको स्पष्ट भिन्नता छुट्याउन सकिरहनुभएको छैन । उहाँहरूले न त खरोरूपमा पुरानो पेकिङ नगरपालिका पार्टी कमिटीका अपराधहरूलाई नङ्गयाउनुभएको छ, न त गम्भीररूपमा आफ्ना गल्तीहरूप्रति आत्मालोचित नै हुनुभएको छ । उहाँहरूले पुरानो पेकिङ नगरपालिका पार्टी कमिटीको प्रतिक्रान्तिकारी संशोधनवादी दिशालाई लागु गर्नुभयो । दुईजिब्रे कुरा गर्दै अनेकथरी तिकडमको बलमा उहाँहरूले अध्यक्ष माओका निर्देशनलाई अवज्ञा गर्नुभयो र दोगला रणनीतिको आडमा पेकिङ गीतिनाटकमा भएको सुधारलाई ओझेलमा पार्न सबैखाले बाधा अड्चन र विध्वंशात्मक कार्यहरू गर्नुभयो । तपाईँ र हामी दुवैमाथिको आक्रमणका लागि उहाँहरूले धेरै घृणित चालहरू चल्नुभयो । पार्टी र जनताको विरुद्धमा पुरानो पेकिङ नगरपालिका पार्टी कमिटी, पार्टी केन्द्रीय समितिको पुरानो प्रचार विभाग र पुरानो संस्कृति मन्त्रालयले आपसमा गठजोड गरेर जुन अक्षम्य अपराध गर्नुभयो, त्यसलाई पूरापूर नङ्ग्याउन र नामेट पार्न जरुरी छ । त्यसरी नै अध्यक्ष माओले नेतृत्व गर्नुभएको पार्टी केन्द्रीय समितिको सर्वहारा क्रान्तिकारी दिशालाई विरोध गर्ने हाम्रो पार्टीभित्रको बुर्जुवा प्रतिक्रियावादी दिशालाई पूरापूर नङ्ग्याउन र आलोचना गर्न जरुरी छ । अन्यथा हाम्रो क्रान्तिको प्रतिफललाई जोगाएर राख्न असम्भव छ । पेकिङको एक नम्बर पेकिङ गीतिनाटक कम्पनीका केही निश्चित नेतृत्वमा रहेका व्यक्तिहरूले खुला हृदयका साथ स्पष्टरूपमा आफूले गरेका र अरूहरूले गरेका गल्लीहरूलाई बाहिर ल्याउन जरुरी छ । यो नै एउटा उत्तम उपाय हो र यसका अलवा अन्य उपायहरूको गुन्जाइस छैन । साँच्चिकै त्यस्तो गरेर उहाँहरूले जनतामाझ आत्मालोचित हुनुपर्छ, यदि उहाँहरूले निष्कपटरूपमा आफ्नो कार्यप्रति पश्चत्ताप गर्दै ताजा थालनी गर्नुभयो भने उहाँहरू अझ पनि क्रान्तिमा सहभागी हुन सक्नुहुनेछ। यदि उहाँहरूले साँच्चिकै आफ्ना गल्ती सच्याएर नयाँ सुरुवात गर्ने कोसिस गर्नुभयो र उहाँहरू पार्टीको सही गोरेटोमा फर्कनुभयो भने उहाँहरूका लागि अझ असल पार्टी क्याडर बन्ने अवसर बाँकी नै छ ।

पुरानो पेकिङ नगरपालिका पार्टी कमिटी, पार्टी केन्द्रीय समितिको पुरानो प्रचार विभाग र पुरानो संस्कृति मन्त्रालयको प्रतिक्रान्तिकारी संशोधनवादी दिशाको असरहरूलाई नामेट नपारे तपाईँहरूको कम्पनीमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई राम्रोसँग सञ्चालन गर्न असम्भव छ र के पनि सम्भव छ भने तपाईँहरूको कम्पनीमा नेतृत्व हडप्न सक्नेछन् । यो तपाईँहरूको कम्पनीको भावी प्रगतिका लागि निकै हानिकारक साबित हुनेछ। तपाईँहरूको कम्पनीका सबै क्याडर, पार्टी सदस्य र युवा लिगका सदस्यहरूले गल्ती गर्नुभएको छ अथवा सम्पूर्ण स्याडरहरूले एकैखाले गल्ती गर्नुभएको छ, भन्ने होइन । उहाँहरूलाई प्रत्येकलाई तथ्य र कारण भेला गरी विगतका गल्तीबाट सिक्दै आगामीलाई सच्याउने र ‘रोगीलाई बचाउने रोगको उपचार गर्ने’ मान्यताको आधारमा भिन्न भिन्न रूपमा व्यवहार गरिन आवश्यक छ । उहाँहरूलाई आफ्ना गल्तीहरू सुधार्ने र आफूहरूलाई क्रान्तिमा होम्ने अवसर दिनुपर्छ ।

महान् सर्वहारा सांस्कृतिक क्रान्तिमा सङ्घर्षलाई बलमिच्याइँ र शक्तिका आधारमा नभएर विचारका आधारमा अघि बढाउन आवश्यक छ । बलमिच्याइँ र शक्तिका आधारमा सञ्चालित सङ्घर्षले बाहिरी छाला र मासुलाई मात्र छुन सक्दछ जब कि विचारका आधारमा सञ्चालित सङ्घर्षले आत्मालाई स्पर्श गर्दछ ।

म चाहन्छु, तपाईँहरूले पार्टी केन्द्रीय समिति र अध्यक्ष माओले तयार पारेको सही सिद्धान्त र नीति अन्तर्गत चाँडो सङ्घर्षको निर्दिष्ट दिशालाई समात्नु हुने पुँजीवादी बाटो पक्रँदै गरेका अधिकारसम्पन्न निकायमा बसेका केही मुट्ठीभर व्यक्तिहरूको विरोध गर्नुहुनेछ, सङ्घर्षको क्रममा बिस्तारै क्रान्तिकारी शक्तिलाई विस्तार र मजबुत बनाउँदै लानुहुनेछ र बाटो बिराएकाहरूलाई समेत सही मार्गमा डोर्‍याउँदै बहुसङ्ख्यक जनतालाई गोलबन्द गर्नुहुनेछ ।

वर्गीय दृष्टिकोणबाट अलग राखेर कसैले पनि ‘अल्पमत’ र ‘बहुमत’ को कुरा गर्न सक्दैन । कसले मार्क्सवाद-लेनिनवाद र माओविचारधाराको सत्यलाई पक्रेको छ, कसले साँच्चिकै सर्वहारा क्रान्तिकारी अडानलाई जोगाइराखेको छ र कसले असलीरूपमा अध्यक्ष माओको सही दिशालाई आत्मसात् गरिराखेको छ भन्ने कुरा हेर्न अनिवार्य हुन्छ । प्रत्येक भिन्न सङ्गठनको सन्दर्भमा अलग र ठोस विश्लेषण गर्न आवश्यक छ ।

मलाई आशा छ, कम्पनीका सम्पूर्ण कमरेडहरूले माओत्सेतुङ विचारधाराको महान रातो झण्डालाई अझ माथि उचाल्नुहुनेछ, सर्वहारावर्गीय राजनीतिलाई प्रमुखता दिनुहुनेछ, अध्यक्ष माओले नेतृत्व गर्नुभएको सर्वहारावर्गीय क्रान्तिकारी दिशालाई दृढरूपमा आत्मसात गर्नुहुनेछ र बुर्जुवा प्रतिक्रियावादी दिशाको जोडदार रूपमा खण्डन र बहिष्कार गर्नुहुनेछ । मार्क्सवाद-लेनिनवाद र माओविचारधाराको सिद्धान्त मुताबिक गोलबन्द हुनुहुनेछ र मुख्यत तीन कार्यहरू पूरा गर्नुहुनेछ – प्रथम, पुँजीवादी बाटो समात्दै गएका अधिकारसम्पन्न निकायमा बसेकाहरू विरुद्ध सङ्घर्ष गर्ने र उनीहरूलाई परास्त गर्ने । दोस्रो, प्रतिक्रियावादी बुर्जुवा प्राज्ञ “अधिकारीहरू” को विरोध र बुर्जुवा र अन्य सम्पूर्ण शोषक वर्गीय विचारको खण्डन तथा बहिष्कार गर्ने । तेस्रो, समाजवादी आर्थिक आधारसँग तालमेल नखाने शिक्षा, साहित्य, कला र अधिरचनाका अन्य सम्पूर्ण अङ्गहरूमा आमूल परिवर्तन गर्ने । त्यसपछि तपाईँहरूले पेकिङको एक नम्बर पेकिङ गीतिनाटक कम्पनीलाई एउटा उदाहरणीय क्रान्तिकारी कम्पनी बनाउन सक्नुहुनेछ, जुन वास्तविक रूपमा सर्वहाराकृत र जुझारु हुनेछ ।

(हलमा उपस्थित सबैबाट उत्साहले भरिएको गडगडाहटपूर्ण तालीद्वारा क. चियाङ चिङको विचारलाई उच्च सम्मान गरियो ।)

(सम्पादनसहित साभारः कलम साहित्यिक त्रैमासिक, वर्ष १३, पूर्णाङ्क ४१-४२, २०६२ ।)