नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता
अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ !
“एकातिर नागरिक अधिकार लिई छोड्छौँ” भन्ने नारा बुलन्द गर्ने सयौँ भाइहरू राणाको जेलमा सडिरहेका छन्, अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको सुरूमा राणा सरकारले घोषणा गर्यो । नागरिक स्वतन्त्रताको विषयमा ऐन-कानुन, नियमावली जारी भयो। यो घोषणा हाम्रा ती वीर सहिदहरूको स्मृतिमा ठुलो अपमानको कुरा हो, जसले आफ्ना दाज्युभाइ, दिदी-बैनीहरूले लेख्ने, बोल्ने, पढ्ने, सभा संगठन गर्ने स्वतन्त्रता पाउनेछन् भनी हाँसीहाँसी दुश्मनको गोली छातीमा थापेका थिए, हाँसीहाँसी फाँसीको तख्तामा झुलेका थिए । फेरि यो घोषणा नेपालका ती सपुतहरूको निम्ति ठुलो अपमानको कुरा हो, जो सभा-संगठन गर्न नदिने राणाशाहीको ऐनलाई लत्याएर जेल परेका छन् । साथै यो घोषणा हामी हजारौँ नर-नारीको निम्ति एउटा हाँक हो, चुनौती हो, जसले राणाशाहीको अगाडि घुँडा टेक्नुभन्दा अनेक किसिमको यातना सहनु, देशनिकाला हुनु इत्यादिलाई श्रेष्ठ ठानिरहेका छौँ । अतएव हामी प्रत्येक नेपाली नर-नारीले यस घोषणापत्रलाई लत्याई ‘कोतपर्व’ होइन, क्रान्तिकारी तरिकाले राणाशाहीको तख्ता उल्टाउनेछौँ भन्ने क्रान्तिकारी प्रतिज्ञा गर्नु पर्दछ ।
राणाको घोषणा खोस्टा हो कि गुदी हो भन्ने कुरा यसै घोषणाबाट छर्लङ्ग हुन्छ । घोषणामा भनिएको छ – “राणाशाहीको हुकुम प्रमाङ्गीबिना कुनै किसिमको सभा संगठन अथवा प्रदर्शन गर्ने अधिकार नेपाली जनतालाई दिएको छ । राणाशाहीका कर्मचारीहरूले (नोकरशाहहरूले) जुनसुकै समयमा पनि हस्तक्षेप गर्न सक्नेछन्, चाहे त्यो सभा भरखरै सुरु भएको होस् अथवा आधा लम्किसकेको होस् ।”
राणाशाहीको स्वीकृतिबिना क्लब, मजदुर सभा (ट्रेड युनियन), किसान सभा इत्यादि कुनै किसिमको संगठन पनि खोल्ने अधिकार यस घोषणापत्रले अस्विकार गरेको छ । यसकारण यस घोषणापत्रको वास्तविक मतलव राणा समर्थकहरूले राणाशाहीका कुकर्महरूको समर्थन गरी पर्दा राखी जनताको विरोधमा खडा हुने, सङ्गठित हुने र खोल्ने अधिकार पनि पाएका छन् ।
हुँदा हुँदा यस घोषणापत्रले सामाजिक सेवा गर्ने अधिकारसम्म पनि दिएको छैन । यसैबाट राणाशाहीको समाजद्रोही काम जाहेर हुन्छ । औषधीमुलोको पसल, संघ संस्था इत्यादि खोल्नलाई पनि नानावलीका सर्तहरू यस घोषणापत्रले राखेको छ । राणाशाहीको चिले आँखा यस्ताहरूबाट पनि ओझल भएको छैन । यस्तो तिनको नागरिक स्वतन्त्रता संसारको कुनै भागमा पनि देख्न सुन्न मुस्किल छ ।
राणाहरूलाई भने यिनीहरूको मालिक तथा प्रभु आङ्ग्ल-अमेरिकन साम्राज्यवादीहरूलाई जतिपटक चाहियो उतिपटक भेट्ने स्वतन्त्रता छ । नेपाली जनतालाई संयुक्त तरिकाले शोषण गर्नका निम्ति भारतीय धनकुबेर टाटा, बिडला, सिंहानिया, गोयन्का, चमरियाहरूलाई राणाहरू इच्छा मुताबिक भेट्न सक्छन् । करोडौँ भारतीय जनताको रगत चुसी यिनीहरूले पोको पारेको थैली रक्षा गर्नको निम्ति हाम्रा अशिक्षित तर बहादुर भाइहरूलाई भारत पठाउनका निम्ति राणाहरू नेहरूलाई भेट्न सक्छन् । तर हामी नेपालका श्रमिक जनता नेपालका छोराछोरीहरूलाई आपसमा भेटघाट गरी राणाशाहीको यो बढ्दो शोषणलाई खतम गर्ने बाटो र भोक, बेकारी, चोर बजारी, दासत्वलाई खतम गर्ने उपाय निकाल्ने अधिकार छैन । हामीले राणाशाहीको त्यस कुकार्यको विरोधमा खडा हुने, बोल्ने, संगठित हुने अधिकार पाएका छैनौँ, जुन मुताबिक नेपाली जनताको अनुमतिबिना नै नेपाललाई विश्वयुद्धको बिउ छर्ने अमेरिकन साम्राज्यवादीहरूको र नेहरू आविष्कृत नव साम्राज्यवादीहरूको हातमा सोभियत युनियन, नव प्रजातन्त्रहरू, आजाद चीन र समस्त एसियाको स्वतन्त्रता आन्दोलनको विरूद्ध यौटा फौजी अखडा कायम गर्नको निम्ति नेपाललाई बेचेको छ ।

वास्तवमा राणाशाही नागरिक स्वतन्त्रतादेखि यस्तरी काँपेका छन्, किन ?
किनभने राणाहरूलाई यस कुराको पूर्णरूपले ज्ञान छ कि द्वितीय विश्वयुद्धको फलस्वरूप समाजवादी संसारको मान, प्रतिष्ठा र घेरा बढ्दै गएको छ र नेपाल यस संसारबाट कसै पनि अलग रहनेछैन । यस नयाँ संसार (समाजवादी संसार) को हावा नेपालमा अति प्रबलरूपले चलेको छ भन्ने कुरा राणालाई पूर्ण रूपले बोध छ । हामीहरूले प्रजातन्त्रीय अधिकारका धेरै लडाइँहरूमा हिस्सा लिएका छौँ, प्रजातन्त्रीय अधिकारको निम्ति लडेका छौँ र यस दौरानमा राणाशाहीको विश्वासघाती नीतिको भण्डाफोर गरेका छौँ ।
किनभने हामीले बोल्ने अधिकार पाएको खण्डमा राणाशाहीको पाखण्डी र अति निर्दयी शोषणको, जसमा जमिन्दार, साहुकार, पुँजीपतिहरूको पनि हिस्सा छ, विरोधमा शानदार शब्द गुञ्जायमान गर्नेछौँ भन्ने कुरा राणाशाहीलाई पर्णरूपले थाहा छ । हामीले बोल्ने अधिकार पाएको खण्डमा हाम्रा नेपाली भाइहरूलाई साम्राज्यवादीहरूले मलाया, हिन्दुस्तान, पाकिस्तान र दक्षिणपूर्व एसियाका मुलुकहरूमा आज बन्दुकको जुन चारा बनाइराखेका छन् त्यसको विरोध गर्छौँ ।
किनभने राणाहरू यो कुरा राम्ररी बुझ्दछन् कि यदि हामीले संगठित हुने अधिकार पायौँ भने हामीले मजदुर, किसान, विद्यार्थी, तरुण र नेपालका सम्पूर्ण प्रजातन्त्रीय-मनधारी नरनारीहरूलाई संगठित गर्नेछौँ । सामन्ती र साम्राज्यवादी डाँकाहरूले नेपालको धन जम्मा गरिरहेको शोषणलाई बन्द गर्नेछौँ । नेपालको श्रमिक वर्गलाई संगठित गरी हाम्रो जनधनको मालिक हामी हुनेछौँ र हाम्रो प्यारो मातृभूमिको तैनाथ हामी गर्नेछौँ, न कि सामन्ती साम्राज्यवादी डाँकाहरू । यी सबै कुराहरू राणाहरूको गिदीमा तस्विर छ, यसकारण थाप्लो रिंगाउछ, मुटु ढुकढुकाउँछ ।
यदि नागरिक स्वतन्त्रताको नामैले हाम्रा दुश्मनको मुटु काँपे काँपोस्, मुटुको चालै बन्द भए होस्, तर क्रान्तिकारी नेपालले निम्न लिखित युद्धनाद फुक्नै पर्छ ।
– मजदुरलाई आफ्नो रोटी र तलब बढाउन र महङ्गी भत्ता बढाउनको निम्ति लड्नु पर्छ । यसकारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ ।
– किसानलाई आफ्नो भोक हटाउन, आफ्नो बालीनाली (फसल) को भाउ बढाउन, ज्याला बढाउन (अँधियामा उचित भाग पाउन) र जमिनको हकको निम्ति लड्नु पर्दछ । यसकारण किसानहरू नागरिक स्वतन्त्रता चाहन्छन् ।
– विद्यार्थीलाई बिनाफिस अथवा कम फिसमा उच्च दर्जाको शिक्षा पाउन सङ्घर्ष गर्नु पर्दछ । यसकारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ ।
– नारी (महिला) लाई आफ्नो दोहोरो दासत्वको विरोधमा लड्नु पर्छ । यसकारण नारीहरू नागरिक स्वतन्त्रता चाहन्छन् ।
यस कारण सबै जनता एक भै नागरिक स्वतन्त्रताका लागि सानदार युद्ध लड्नु पर्दछ । यो युद्ध लड्दा विश्वासघाती समाजवादीहरूको नेतृत्वमा चल्ने र अरू सबै काङ्ग्रेसी नेताहरूको राणासँगको मेलमिलाप बाटो त्यागी अविराम युद्धनीति अपनाउनु पर्दछ । यी समाजवादी लगामे (भारतीय समाजवादी कठपुतली) काङ्ग्रेसी नेताहरू राणाहरूका मात्र विश्वासपात्र र दलाल होइनन्, अपितु टाटा, बिडला र नेहरूका पनि हुन् । यी समाजवादी लगामी काङ्ग्रेसी नेताहरू नेपाललाई त्यस नेहरू सरकारको फौजमा भर्ती अड्डा मात्र गराउन चाहन्छन्, जुन नेहरू सरकारले भारतमा समेत नरहत्या गरिरहेको छ, जुन नेहरू सरकारले हाम्रा नेपाली भाइहरूलाई मलायामा लैजाने सुविधा अङ्ग्रेजलाई दिएको छ ।
किनभने उनीहरू आफ्नो प्रभु नेहरूलाई खुशी तुल्याई आशीर्वाद प्राप्त गर्ने ताकमा छन् । यसकारण उनीहरूले श्रमिक वर्गको अगुवा दस्ता रेल्वे मजदुरको रोटीको लडाइँका विरूद्ध नेहरू सरकारको नादिरशाही नीतिलाई समर्थन गरी आफूलाई विश्व मजदुर वर्गका विरोधी साबित गरे। जो अरू मुलुकका जनताको पक्ष लिदैनन्, विरोधमा जान्छन्, उनीहरू आफ्नो देशका जनताको पक्ष लिन सक्दैनन्, विरोधमा नै जानेछन्, गै नै रहेका छन् । उनीहरूको सत्याग्रहको धम्की राणासँग मेलमिलाप गर्ने नीति मात्र हो। जनताको बढ्दो अशान्तिको डाहा देखाई राणालाई मेल गर्न दबाब दिने नीति मात्र हो। आजसम्मका कार्यमा उनीहरूले राणाशाहीको अगाडि मुन्टो निहुर्याएका छन् र मेलमिलापको निम्ति दबाब दिनु सिबाय अरू कुनै बाटो देखाएका छैनन् । अतएव नेपाली जनताले यस्ता “राणासँग मेलमिलापको नीति” को भण्डाफोर गर्दै अगाडि बढ्नु पर्दछ । यी जनतासँग हात मिलाउने सुरमा छैनन्, राणाको लात चाट्ने ताकमा छन्- खबरदार !!!
नेपाली जनताको नागरिक स्वतन्त्रताको लडाइँ एउटा क्रान्तिकारी लडाइँ हो । यसकारण यो लडाइँ अहिंसात्मकसम्म मात्र सीमित हुनु हुँदैन । हरेक टोल, हरेक सहर, हरेक गाउँ, हरेक जिल्ला, हरेक स्कुल र कलेज, हरेक कलकारखानाहरूमा नागरिक स्वतन्त्रताको क्रान्तिकारी समिति बनाऊ । राणाशाहीको जनविरोधी नीतिको खुल्लमखुल्ला वहिष्कार गर। आफ्नो ऐन कानुन जारी गर । ठाउँठाउँमा कब्जा गर। सभा प्रदर्शन गर। यी समितिहरूद्वारा मजदुर, किसान र अरू श्रमजीवीहरूको माग उठाऊ । नागरिक स्वतन्त्रताका लागि क्रान्तिकारी समितिहरूले भासिएर (अण्डरग्राउण्ड) काम गर्ने तरिकाहरू र पुलिस हमला रोक्ने चालहरू एवं ती क्रान्तिकारी जनताको मागलाई, जसलाई समाजवादी लगामे र अरू काङ्ग्रेसी नेताहरूले आँखामा छारो हालिराखेका छन्, दुश्मनको विरूद्ध लडाइँमा एकताबद्ध गर्ने उपायहरू पनि राम्ररी सम्झनु-बुझ्नु पर्दछ । नेपालमा जति संगठन छन् ती सबैलाई क्रान्तिकारी लालझण्डाको मुनि सामेल गराउनु पर्दछ । वास्तवमा नेपालका यस्ता समस्त प्रजातान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्ने क्षमता क्रान्तिकारी समितिहरूमा हनुपर्दछ, जो राणाशाहीलाई ध्वंश गरेर पनि अविराम गतिले समाजवाद र साम्यवादी क्रान्तितिर लम्कोस् ।
राणाशाही वास्तवमा त्यतिको बलियो छैन, जतिको देख्दा बलियो जस्तो भान पर्दछ । राणाशाहीसँग जनतालाई दबाउने ताकत छैन । अतएव जनतालाई दबाउनको निम्ति राणाशाहीले आङ्ग्ल-अमेरिकन साम्राज्यवादी र नेहरू सरकारबाट बल प्राप्त गर्दछ, जो कि आफसे आफ बढ्दो क्रान्तिकारी भेलको अगाडि लड्खडाइरहेका छन् । यसरी एकातिर प्रतिक्रियावादीहरू हरेक देशको क्रान्तिलाई रोक्ने ताकमा छन् । अर्कोतिर समस्त विश्वका प्रजातन्त्रीय शक्तिहरू सोभियत युनियनको नेतृत्वमा प्रतिक्रियावादीहरूलाई हाँक दिँदै अगाडि बढिरहेका छन् । प्रतिक्रियावादीहरूको प्रत्येक जालसाजीलाई चकनाचुर पार्दैछन् । लाखौँ -अरबौँ डलर (अमेरिकाको मुद्रा) ले पनि चिनी जनतालाई अमेरिकन डाँकाहरूले च्याङ-काइ-सेक मार्फत आफ्नो मुठ्ठीमा राख्न सकेनन् । चिनी जनता कम्युनिष्ट पार्टीको नेतृत्वमा नै विजयी साबित भए । चीनमा क्रान्तिकारी जनताको विजय हुँदैछ । यही क्रान्ति हाम्रो देशको संघारमा आइपुगेको छ । बर्मा, मलाया, चाइना, इण्डोनेसिया, भारतवर्षको मुटु तेलङ्गनामा समेत क्रान्तिको ज्वाला उठिसकेको छ । क्रान्तिकारी जनताको राज छ, ऐन कानुन लागु छ । यी क्रान्तिकारी जनता पाइलापाइला चाली हातमा हात मिलाई कम्युनिष्ट पार्टीको नेतृत्वमा अगाडि बढिरहेका छन् । अरूको त कुरै छाडौँ, एटम बमले पनि क्रान्तिकारी जनतालाई रोक्न सक्दैन ।
नेपालका छोराछोरी हो !!!
तिमीहरू पनि त्यस रणक्षेत्रमा उत्रिसकेका छौ । तिमीहरूले पनि आफूमा लुकेको साहस र वीरत्व वैरीविरोधी सङ्ग्राममा देखाइसकेका छौ । राणाशाहीले तिम्रो छातीमा सोझ्याएका बन्दुकको मोहरी त्यतै फर्काउने कोसिस गर्नु छ । राणाको घोषणालाई कुरकुच्चाले कुच्याई एकै स्वरले क्रान्तिकारी आवाजको गर्जना गर !
– पूर्ण नागरिक स्वतन्त्रताको लडाइँ – जिन्दावाद !
– लेख्ने, बोल्ने, पढ्ने, सभा संगठन गर्ने अधिकार जिन्दावाद !
– नेपाली मजदुरको तलब वा ज्याला बढाउने लडाइँ जिन्दावाद !
– नेपालका किसानको “फसल भाउ बढाऊ, ज्याला भाउ बढाऊ ! उचित अँधिया बालीको” लडाइँ जिन्दावाद !
– एउटा नेपाली भाइ पनि साम्राज्यवादी लडाइँको चारा बन्न दिने छैनौँ । चाहे मलाया होस, चाहे हिन्दुस्तान, वीर नेपाली भाइ हो ! हातमा भएको बन्दुकले साम्राज्यवादी डाँकाहरूको सिना ताक, देशका प्रत्येक गरिव भाइ मजदुर-किसानसँग गला मिलाऊ !
– सोभियत युनियन, नवप्रजातन्त्रहरू, आजाद चीन, विश्वको मजदुर वर्गको आन्दोलन र विश्वको कम्युनिष्ट आन्दोलनसँग हाम्रो एकता जिन्दावाद !
– नागरिक स्वतन्त्रताका लागि क्रान्तिकारी समितिहरू जिन्दावाद !
(२२ अप्रैल १९४९)
(२००६ साल वैशाख १० गते)
(साभारः नेपाल कम्युनिष्ट पार्टीको स्थापनापछि क. पुष्पलालद्वारा तयार गरी प्रकाशित गरिएको सबैभन्दा पहिलो पर्चालाई हामीले पुष्पलाल छानिएका रचनाहरू भाग १ बाट साभार गरेका हौँ सं.।)
र, यी पनि पढ्नुहोस्
नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र – क. पुष्पलाल
पार्टी र राजनीति – क. पुष्पलाल