आज म यस लेखमार्फत् पार्टी कामरेड, समर्थक, हितचिन्तक र नेपालको जनवादी आन्दोलनमा चाख राख्ने समस्त प्रगतिशील साथीहरूको अगाडि नेपाल कम्युनिष्ट पार्टीका दस्तावेजहरूको अध्ययन गर्ने सम्बन्धमा केही सुझावहरू पेस गर्न आवश्यक सम्झन्छु । किनभने, नेपाली जनक्रान्तिका विरोधी, अवसरवादी तथा विभिन्न स्वरूप लिएर आएका संशोधनवादीहरूले दस्तावेजका उद्धरणहरूको अर्थको अनर्थ गरी प्रयोग गरेर नेपालको जनवादी तथा कम्युनिष्ट आन्दोलनमा भ्रम पैदा गर्ने कुचेष्टा गर्दैछन् ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा मतभिन्नता देखापरेको हुनाले त्यसैको प्रतिविम्ब नेपाली कम्युनिष्ट आन्दोलनमा पर्न जाँदा नेपाली कम्युनिष्ट आन्दोलनमा पनि विभिन्न विचारधाराहरू देखिन आए भन्ने एक गलत धारणा छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा मत विभाजन भएपछि त्यसको असर हाम्रो देशमा परेन भन्ने होइन। अवश्य पनि पर्यो । तर हाम्रो देशको कम्युनिष्ट आन्दोलनमा देखिएका विभिन्न विचारधाराको मूल कारण नेपालको नयाँ जनवादी आन्दोलनको निर्माणको विषयलाई लिएर उठेका प्रश्नहरू हुन् । हाम्रो देशमा मतभेदको प्रारम्भ र विकास अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा मत विभाजन आउनुभन्दा धेरै पहिलेदेखि भएर आएको हो। हाम्रो पार्टीमा विवादको विषय राजा र नेपाली कांग्रेसप्रति हाम्रो नीति के हो ? देशमा किसान आन्दोलनको निर्माण कसरी गर्न सकिन्छ ? पुँजीवादी जनवादी क्रान्तिमा मजदुर वर्गको भूमिका के कस्तो हुनुपर्छ ? भन्ने जस्ता मौलिक विषयहरूलाई लिएर भएको हो। यी प्रश्नहरू आ-आफ्नो देशको विशिष्ट ऐतिहासिक परिस्थितिअनुसार उठ्दै आएका छन् । रुसी कम्युनिष्ट आन्दोलनको निर्माण र विकासका सन्दर्भमा पनि उठेका थिए र चीनको कम्युनिष्ट आन्दोलनको निर्माणका क्रममा पनि उठेका थिए ।
नेपालमा नयाँ जनवादी आन्दोलनको निर्माणका सम्बन्धमा उठेका प्रश्नहरूको सही समाधान निकाल्नको निम्ति अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा आएको मत विभाजनको अध्ययन मात्र पर्याप्त हुँदैन । यसका निम्ति नेपालमा यी प्रश्नहरू कसरी, कुन अवस्थामा आए र पछि यिनीहरूले के कस्ता रूप लिँदै गए भन्ने कुराको सही जानकारी हुनु आवश्यक छ । हाम्रो देशमा नयाँ जनवादी आन्दोलनको निर्माणको सन्दर्भमा राजावादी रुझान राख्ने र २०१७ को काण्डपछि शाही गुप्तचरको रूपमा काम गर्ने गद्दार माझी गुटले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा मत विभाजन भएपछि अन्तर्राष्ट्रिय संशोधनवादको पक्ष लियो । गद्दार माझीको विरूद्ध हाम्रो साथ बसी काम गर्ने अरू कतिपय साथीहरूले अवसरवादी चाल खेली भेलमा माछा छोप्ने नीति अपनाए । देशमा माओ विचारधाराको बढ्दो प्रभाव देखेपछि एकातिर आफूलाई माओवादी करार दिए भने अर्कोतिर मार्क्सवाद-लेनिनवाद-माओत्सेतुङ विचारधारको आधारमा संगठित भएको हाम्रो पार्टीको विषयमा नानाथरीका भ्रमहरू फैलाई नेपाली कम्युनिष्ट आन्दोलनलाई टुक्र्याई शाही पञ्चायती व्यवस्थाको पक्षमा आ-आफ्नो सेवा अर्पण गर्नको निम्ति होड लगाइरहेका छन् । उनीहरूको मुख्य उद्देश्य नै आजको अवस्थामा समस्त नेपाली जनताको साझा दुश्मनको रूपमा स्पष्ट देखिएको राजा तथा राजतन्त्रद्वारा नेतृत्व गरिएको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाको विरूद्ध उठेको संयुक्त संघर्षलाई लत्याउने भएर आएको छ। उनीहरूका विरूद्ध लफ्फाजी गरी राजतन्त्रको विरोधमा उठेको आन्दोलनको जोडलाई कम गर्दै क्रमशः राजतन्त्रको समर्थनमा पुर्याउन चाहन्छन् । जसरी गद्दार माझीले सामन्तवादको विरोधमा उठेको आन्दोलनको जोडलाई कम गर्न क्रमशः २०१७ सालमा राजाको समर्थनमा पार्टीलाई पुर्याउने कुचेष्टा गरेका थिए ।
पार्टीको तेस्रो ऐतिहासिक सम्मेलनपछि हाम्रो पार्टी आज देशको कम्युनिष्ट आन्दोलनलाई प्रतिनिधित्व गर्ने एकमात्र पार्टीको रूपमा विकसित भएर आएको छ । अरूहरू आपस्तमा नै अल्झी बल्झी विभिन्न गुट उपगुटमा विभक्त हुँदैछन् । तेस्रो ऐतिहासिक सम्मेलनका दस्तावेजहरू मौलिक रूपले सही भएको हुनाले नै हाम्रो पार्टीले अनेकौँ झुठा र भ्रमपूर्ण प्रचार हुँदाहुँदै पनि यसरी विकास गर्न सकेको हो । पार्टी अभिवृद्धिको नियम नै विभिन्न भड्काउहरूको विरूद्ध निरन्तर चलिरहने भित्री पार्टी संघर्ष हो । यस भित्री पार्टी संघर्षमा एकपछि अर्को सफलता प्राप्त गर्दै हामी अगाडि बढ्दैछौँ ।
आज देशमा कम्युनिष्ट आन्दोलनमा भएको विकासले गर्दा कानेखुसी र मौखिक भ्रमपूर्ण प्रचारले विशेष असर गर्न छोडेको छ । अतः ती व्यक्तिहरूले अनेकौँ छद्मभेषी नामबाट विभिन्न पुस्तक पुस्तिका पत्रपत्रिका तथा सङ्गालोहरू प्रकाशित गरी हाम्रा दस्तावेजहरू बङ्ग्याई उद्धरण गरी अर्थको अनर्थ गर्ने कुचेष्ठा गर्दैछन् । आज लिखितरूपमा हाम्रा विरूद्ध जनसाहित्यहरू आएका छन् – तिनीहरूको हामीले स्वागत गर्न पर्दछ । कारण, लिखितम्को अगाडि बकितम्को केही लाग्दैन । यस्तो अवस्थामा अब हामीहरूले पार्टीका दस्तावेजहरूको अध्ययन गर्न अति जरूरी छ । अतः म पार्टीका साथी, समर्थक, हितचिन्तक तथा देशको जनवादी आन्दोलनमा चाख राख्ने समस्त प्रगतिशील तत्त्वहरूसँग निम्नि लिखित अपिल गर्न चाहन्छुः
१) पार्टीका समस्त प्रकाशनहरूको संगालो गर्नोस् । अरू पनि सबै पार्टी तथा गुट-उपगुटका दस्तावेजहरूको सङ्गालो गर्नोस् ।
२) हाम्रा दस्तावेजहरूले राजा, नेपाली कांग्रेस अन्य पार्टी, संयुक्त मोर्चा, संगठनात्मक तथा संघर्षको नीतिका सम्बन्धमा के के भनेका छन्? छुट्टाछुट्टै शीर्षकमा टिप्नोस् । त्यसैगरी हाम्रा विरोधी तथा अरू विरोधी पार्टीहरूले के के भनेका छन्, टिप्नोस् ।
३) अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा हाम्रो भनाइ र अरूहरूको भनाई के-कस्तो छ ? टिप्नोस् ।
यसप्रकारले अध्ययन गर्दा देशको राजनीतिमा हाम्रो र अरूको भनाइ के-कस्तो छ भन्ने कुरा सबैमा स्पष्ट हुनेछ । यसप्रकारको अध्ययनले हाम्रो पार्टीमा सैद्धान्तिक, राजनैतिक, संगठानात्मक तथा संघर्षमा एकताको वृद्धि गर्नेछ र विरोधीहरूलाई परास्त गर्नेछ । उदाहरणको निम्ति अन्य पार्टी तथा संघर्षको सम्बन्धमा केही उद्धरण तल दिन चाहन्छु ।
हाम्रो क्रान्तिको लक्ष्यः “आजको हाम्रो क्रान्तिको लक्ष्य (१) नेपालबाट सम्पूर्ण सामन्ती शोषण र यसको रक्षा गर्ने किल्लाको रूपमा काम गरिरहेको शाही पञ्चायती राज्यतन्त्रलाई समूल नष्ट गर्नु तथा (२) विदेशी एकाधिकार पुँजीवाद, खासगरी भारतीय एकाधिकार तथा अमेरिकी साम्राज्यवादलाई खतम गर्नु हो ।” (नयाँ जनवादी कार्यक्रम) ।
यो लक्ष्य नेपाल कम्युनिष्ट पार्टीको मात्र नभई देशका समस्त प्रगतिशील सामाजिक वर्गको लक्ष्य हो। यसमा शङ्का छैन । यस्तो लक्षप्रति अन्य पार्टीहरूको के कस्तो नीति रहेको छ ? त्यस सम्बन्धमा पनि नयाँ जनवादी कार्यक्रममा स्पष्ट भनिएको छ ।
नेपाली कांग्रेसः “नेपाली कांग्रेसको चरित्रले हाम्रो देशको कमजोर पुँजीपति वर्गको दोहोरो चरित्रलाई स्पष्टरूपमा प्रतिविम्बित गर्दछ । नेपालका पुँजीपति अर्द्धसामन्ती तथा अर्द्धऔपनिवेशिक देशको पुँजीपति वर्ग भएको हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा विदेशी पुँजीवादसँग यसको घनिष्ट सम्बन्ध रहेको छ भने राष्ट्रिय क्षेत्रमा भूमिबाट हुने शोषणमा पनि यसको ठुलो सम्बन्ध छ । यसको यस्तो दुई प्रकारको शोषण नीतिमा भरपर्ने चरित्रले गर्दा यसले न त राष्ट्रिय क्षेत्रमा पूर्णतः सामन्तवाद विरोधी क्रान्ति नै चलाउन सक्दछ, न त अन्तर्राष्ट्रिय क्षेत्रमा साम्राज्यवाद तथा विदेशी पुँजीको नै विरोध गर्न सक्दछ । तर दुवैसँग यसको असंगति पनि रहेको देखिन्छ । तसर्थ आफ्नो स्वार्थ रक्षाको निम्ति यसले आफ्नो कार्यक्रममा स्थितिअनुसार एउटाको विरोध गर्न अर्काको सहयोग लिँदै आफ्नो राष्ट्रिय वर्गाधार र क्षेत्रलाई वृद्धि गर्ने इच्छा पनि राख्दछ । पूर्णतः सामन्तवाद विरोधी नभएको हुँदा यसले जनआन्दोलनको बाटोभन्दा कुटनैतिक दबाब र दरबारिया राजनीतिमा बढ्ता विश्वास र भरपरी रहन्छ । कदाचित आन्दोलनमा उत्रे तापनि यस्तो आन्दोलनलाई सम्झौतामा टुङ्गाउँदछ । अतः वर्गीय चरित्रको कमजोरीले गर्दा यस पार्टीले देशमा देखापरेको मूल अन्तर्विरोधको समाधानका निम्ति हुने सामन्तवाद विरोधी प्रजातान्त्रिक क्रान्तिलाई नेतृत्व दिन सक्दैन भन्ने कुराको शिक्षा हामीलाई विगत इतिहासले दिन्छ ।” (नयाँ जनवादी कार्यक्रम)
यसबाट यो स्पष्ट हुन्छ कि आजको नेपालको मूल समस्याको समाधान गर्ने कृषि क्रान्तिको नेतृत्व गर्न नेपाली कांग्रेस असमर्थ छ । सामन्तवाद र विदेशी शक्तिहरूसँग सम्बन्धको साथै आफ्नो वर्गाधारको वृद्धिको निम्ति अन्तर्विरोध पनि राख्दछ । अतः नेपाली कांग्रेसप्रति हाम्रो नीति एकता र संघर्षको नीति हुनेछ ।
अन्य पार्टीहरूः- “नेपाल प्रजा परिषद्, राष्ट्रिय कांग्रेस तथा संयुक्त प्रजातान्त्रिक पार्टी आदि तथाकथित प्रजातान्त्रिक पार्टीका नेताहरूको अतीतमा निश्चय नै केही क्रान्तिकारी भूमिका रहेको छ । तर सात सालको क्रान्तिपछि यी पार्टीहरूले मुख्यतः सामन्ती वर्गका नेता राजा र नेपालको पुँजीवादी जनतान्त्रिक शक्ति बिचको अन्तरद्वन्द्वमा हमेसा राजदरबारको आडमा उभिई पुँजीवादी जनतान्त्रिक अधिकारको हरण गर्नमा राजाको शक्तिलाई मजबुत पार्ने तथा देशको जनतान्त्रिक शक्तिलाई कमजोर पार्ने काममा अग्रिम भूमिका खेल्दै आएका छन् । यी पार्टीका नेताहरूले यदाकदा राजाको व्यवस्थाप्रति असन्तोष व्यक्त गरे तापनि उपरोक्त कार्यहरूले गर्दा यिनीहरूको चरित्र उदारवादी सामन्तको जस्तो देखाउँछ । यस्ता पार्टीहरूबाट सामन्तवाद विरोधी क्रान्ति सम्पन्न हुने कल्पना पनि गर्न सकिँदैन ।” (नयाँ जनवादी कार्यक्रम)
यसबाट यो स्पष्ट हुन्छ कि उनीहरूलाई जनतान्त्रिक संघर्षको विरूद्ध जान नदिई व्यवस्थाको विरूद्ध उतार्ने नीति कम्युनिष्ट पार्टीको नीति हो ।
क्रान्तिको नेतृत्वको सम्बन्धमाः- “नेपालको राष्ट्रिय आन्दोलनको शिक्षाले साबित गर्दछ कि आजको नयाँ ऐतिहासिक युगमा चलाइने सामन्तवाद विरोधी तथा साम्राज्यवाद विरोधी जनवादी क्रान्तिको नेतृत्व नेपालको पुँजीपति वर्गले गर्न सक्दैन । मजदुर वर्ग नै सबैभन्दा वैज्ञानिक क्रान्तिकारी तथा मार्क्सवाद लेनिनवादले सुसज्जित भएको हुँदा आजको नयाँ ऐतिहासिक युगमा र अझै आजको नेपालको विशिष्ट ऐतिहासिक स्थितिमा यस्तो क्रान्तिको नेतृत्व मजदुरवर्गको पार्टी नेपाल कम्युनिष्ट पार्टीले मात्र गर्न सक्दछ ।” (नयाँ जनवादी कार्यक्रम)
कार्यनीतिको सम्बन्धमाः आजको क्रान्तिलाई सम्पन्न गर्नको निम्ति नेपालको मजदुर वर्गको पार्टी नेपाल कम्युनिष्ट पार्टीले आफूभन्दा भिन्न सैद्धान्तिक तथा राजनैतिक मत राख्ने राजनैतिक तथा सामाजिक शक्तिहरूलाई पनि यस शाही अधिनायकवादी पञ्चायती व्यवस्थाको विरूद्ध एकजुट गराउने सम्बन्धमा पहलकदमी लिनु पर्दछ भन्दै नयाँ जनवादी कार्यक्रममा भनिएको छ, “आजको स्थितिमा यो (सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्था) नै साझा दुश्मनको रूपमा देखापरेको छ । आज सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थासँग अन्तर्विरोध राख्ने सम्पूर्ण वर्ग तथा वर्गस्तरहरूसँग एकता कायम गर्ने र मुख्यरूपले आफ्नो सम्पूर्ण शक्ति पञ्चायती व्यवस्थाको विरोधमा आन्दोलन उठाउनमा लगाउने कार्यनीति हुन पर्दछ किनकि सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्था विरोधी आन्दोलन नै आजको स्थितिमा मुख्य मिलनको विन्दु हो ।”
क्रान्तिको बाटो:- “दीर्घकालीन सशस्त्र किसान क्रान्तिको सञ्चालन विना नयाँ जनवादी व्यवस्थाको स्थापना हुन सक्दैन ।” (नयाँ जनवादी कार्यक्रम)
अन्तर्राष्ट्रिय सैद्धान्तिक विवादमाः- “आज अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा जुन सैद्धान्तिक मतभेद देखा पर्न आएको छ – त्यो दुई पार्टी बिचको झगडा नभई दुई दृष्टिकोणको संघर्ष हो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा सैद्धान्तिक मतभेदको प्रश्न आज मात्र उठेको होइन । अन्तर्राष्ट्रिय स्थितिको मूल्याङ्कनको आवश्यकताको बखत यो प्रश्न बेला मौकामा उठ्दै आएको छ । प्रत्येक पल्ट सैद्धान्तिक मतभेद उठ्दा पक्ष विपक्षको साथै एउटा तटस्थ बस्ने गुट पनि हमेसा नै देखापर्दै आएको छ । यो तटस्थवादी नीति अपनाउने गुट अन्त्यमा गई संशोधनवाद तथा अन्धराष्ट्रवादको दलदलमा फस्न गएको छ। अतः यिनीहरूको पनि त्यही गति हुनेछ, जुन यिनका पुर्खाको हुँदै आएको छ ।” (नेपाल कम्युनिष्ट पार्टीको तेश्रो ऐतिहासिक सम्मेलनको महत्त्वबाट)
“आधुनिक संशोधनवादले जोड पक्डन थालेपछि अन्तर्राष्ट्रिय भाइचाराको विरूद्ध सोभियत संशोधनवादीहरूले विभिन्न पार्टीहरूमा आफ्नो गुट तयार गर्न थालेपछि अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरूको बिचमा सम्पर्कका सिद्धान्तहरू के-कस्तो हुनुपर्दछ भन्ने चर्चा प्रत्येक देशको कम्युनिष्ट पार्टीमा उठ्न थाल्यो । यस प्रश्नको ठहर एकासी देशका कम्युनिष्ट पार्टीको मस्को सम्मेलनमा भयो। यस सम्बन्धमा मस्को घोषणापत्रमा लेखिएको छ। “एउटा पार्टीले अर्को पार्टीको गतिविधिका सम्बन्धमा केही कुराहरू स्पष्ट गर्न चाहेमा एकले अर्को पार्टीको नेतृत्वसँग सम्पर्क राख्नेछ । यदि आवश्यक भएमा आपसमा बैठक र सरसल्लाह गर्नेछन् ।”
“तृतीय अन्तर्राष्ट्रियको विघटनपछि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई निर्देशन गर्ने वैधानिक अधिकारयुक्त कुनै केन्द्र नभएको हुँदा यो सिद्धान्त अपनाउन परेको हो । अतः हामीले यसै सिद्धान्तलाई अन्तर्राष्ट्रिय पार्टीसँग सम्बन्ध गर्ने आधार बनाउनु पर्दछ ।” (सिंहावलोकन)
साथीहरू ! उपरोक्त उद्धरणहरूले हाम्रो नीति, संघर्षको नीति, अन्तर्राष्ट्रिय सैद्धान्तिक विवादमा हाम्रो पार्टीको मत स्पष्टरूपले व्यक्त गरिएको हामी पाउँदछौँ । तर शाही दलालहरूले हाम्रो पार्टीप्रति भ्रम उत्पन्न गर्नको निम्ति हाम्रा दस्तावेजहरूलाई तोडमोड गरी पेस गर्न थालेका छन् । यस्तो स्थितिमा हामीले आ-आफ्नो सैद्धान्तिकस्तर उठाउनका निम्ति एकातर्फ मार्क्सवादका मौलिक पुस्तकहरू पढ्नु पर्दछ भने अर्कोतिर हाम्रा दस्तावेजहरूलाई माथि दृष्टान्तको निम्ति दिएको तरिका अपनाई अध्ययन गर्नु पर्दछ ।
हामीले आज देशमा क्रान्ति सम्पन्न गर्नको निम्ति आफूलाई मात्र बुझेर पुग्दैन, अरूहरूलाई पनि बुझ्नु पर्दछ । भनाइको मतलब हो, जुन देश र समाजमा हामीले काम गरिरहेका छौँ, त्यसै देश र समाजमा अरू विभिन्न राजनैतिक तथा सामाजिक शक्तिहरूले पनि काम गरिरहेका छन् । अतः ती सम्पूर्ण राजनैतिक तथा सामाजिक शक्तिहरूका दस्तावेजहरू पनि संकलन गरी तिनको पनि गहिरो अध्ययन गर्न जरुरी छ । यस्तो अध्ययन बिना हामी देशका विभिन्न राजनैतिक तथा सामाजिक शक्तिहरूको गतिविधिबाट परिचित हुन सक्दैनौँ । फलतः हामी एकसुरे हुनेछौँ । अरू शक्तिहरूको सुर थाहा नपाइकन हामी आफ्नो सुर पनि तयार गर्न सक्ने छैनौँ । हामीले यो बुझ्नु पर्दछ कि राजनीतिमा स्थायी रूपबाट कुनै पनि शक्ति मित्र र दुश्मन हुन सक्दैन । आजको मित्र शक्ति भोलिको दुश्मन हुन सक्दछ । यो सबै देशको राजनैतिक स्थितिमा भर पर्ने कुरा हो। राजनैतिक स्थितिमा परिवर्तन आउनासाथै विभिन्न वर्ग तथा वर्गस्तरको आपसी सम्बन्धमा परिवर्तन देखिन थाल्दछ । यसले गर्दा राजनैतिक शक्तिहरूको आपसी सम्बन्ध अर्थात् नीतिमा परिवर्तन आउन थाल्दछ । अतः हामीलाई आफ्नो नीति तय गर्नको निम्ति पनि अन्य राजनैतिक तथा सामाजिक शक्तिहरूको नीतिहरूको गहिरो अध्ययन गर्नु अति आवश्यक छ । मुढेबल या छलकपटबाट क्रान्ति हुँदैन । क्रान्तिका निश्चित नियम अनुसार नै क्रान्ति हुन्छ । अतः ती नियमहरूको जानकारीको निम्ति हामीले आफ्ना दस्तावेजका साथै अन्य राजनैतिक तथा सामाजिक शक्तिका दस्तावेजहरूको गहिरो अध्ययन गर्ने बानी बसाल्नु पर्दछ ।
हाम्रो राजनीतिको व्यवहार क्षेत्र हाम्रो आफ्नै देश, जनता र समाज हो । हाम्रो आफ्नो राजनीति या भनौँ मूल विचारधाराको उद्गम स्रोत हाम्रै समाज हो । हाम्रो आफ्नो विशिष्ट इतिहास छ । आजको नेपालको जन्म हिजोको नेपालबाट भएको हो । हाम्रो राष्ट्रको हजारौँ वर्षको इतिहास छ । हाम्रो इतिहासमा आफ्ना विशेषता छन् । हामीले नेपालको विषयमा अध्ययन र खोज गर्नपर्ने प्रसस्त कुरा छन् । ती सबै कुराको अध्ययन बिना नेपाली समाजको विशिष्टताको थाहा लाग्न सक्दैन र साथै नेपाली समाजमा अधिशासित नियमहरूको पनि । यो ज्ञान भण्डारको विषयमा अझै हामी स्कुले बच्चाझैँ छौँ। आजको नेपाल हिजोको नेपालबाट विकास भएर आएको हो हामीहरूले इतिहासप्रति मार्क्सवादी दृष्टिकोणमा विश्वास राख्ने भएको हुनाले आफ्नो सम्पूर्ण इतिहासको अध्ययनबाट आफूलाई अलग राख्न हुँदैन। हामीले सुरुदेखि आजसम्मको आफ्नो देश नेपालको इतिहासका निचोड खिची मूल्यवान परम्परालाई लिने र गलत परम्परालाई छोड्ने गर्नु पर्दछ । यसै गर्नाले आजको महान् संघर्षलाई नेतृत्व गर्न सक्नेछौँ ।
तेस्रो ऐतिहासिक सम्मेलनभन्दा पहिले लुप्तप्राय भएको पार्टीको क्रान्तिकारी प्रतिमालाई यसपछि क्रमशः पुनः स्थापित गरी आज हाम्रो पार्टी पञ्चायती व्यवस्थाको विकल्पको रूपमा देखापर्न आएको छ। आज हाम्रो पार्टीको जिम्मेवारी बढेको छ । यस जिम्मेवारीलाई सफलताका साथ सम्पन्न गर्नको निम्ति हाम्रा साथीहरूले आ-आफ्नो सैद्धान्तिकस्तर उठाउन पर्दछ । माथि भनिएझैँ गरी दस्तावेजहरूको अध्ययन गर्दा आ-आफ्नो कमिटीमा सामूहिकरूपले छलफल गरी पढ्नु पर्छ । विरोधीहरूका दस्तावेजहरू पढ्दा उनीहरूले हाम्रो विरूद्ध लगाएका अभियोगहरूको तालिका बनाउनु पर्दछ । अनि तिनका उत्तरहरू तपाईँहरूले हाम्रा दस्तावेजहरूमा नै पाउनु हुनेछ । विरोधीहरूका दस्तावेजहरू पढ्दा तिनमा देखिएका अन्तर्विरोधको पनि तालिका बनाउनु पर्छ । यसरी सामूहिकरूपले अध्ययन गर्दा समाधान हुन नसकेका प्रश्नहरू केन्द्रमा लेखी पठाउनु पर्दछ ।
(साभारः पुष्पलाल : छानिएका रचनाहरू भाग-१ मा संग्रहित दस्तावेजहरूको अध्ययन कसरी गर्ने? शीर्षक २०२९ सालमा आयोजित नेकपाको चौथो राष्ट्रिय सम्मेलनमा प्रस्तुत सुझावमा कतिपय सन्दर्भमा तत्कालीन परिस्थितिको प्रतिविम्ब देखिएको (जस्तैः माओविचारधारा मान्ने तर माओवादीमाथि आक्रमण गर्ने) भए तापनि प्रतिगमनले टाउको उठाउन खोजेको र अध्ययन संस्कृति कमजोर बन्दै गइरहेको आजको सन्दर्भमा महत्त्वपूर्ण भएकोले पुनःप्रकाशन गरिएको हो – सं.।)
र, यी पनि पढ्नुहोस्ः
नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणा पत्र – क. पुष्पलाल
पार्टी र राजनीति – अध्यक्ष प्रचण्ड
नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति-कार्यनीति बारे – अध्यक्ष प्रचण्ड