सर्वोच्च जनसभाको यो अधिवेशनमा हामीले एउटा भूमि ऐन पारित गर्न लागेका छौँ। भूमि ऐन पारित गर्न सिफारिस गरिएको प्रनिवेदन हिजो प्रस्तुत गरियो र मस्यौदा ऐन पनि पढेर सुनाइयो ।
हाम्रो देशमा अहिलेसम्म उपयुक्त भूमि ऐन थिएन । भूमि समस्यासबन्धी महत्त्वपूर्ण कानुनको रूपमा, हामीले मुक्तिको लगत्तैपछि भूमिसुधार ऐन जारी गरेका हौँ र त्यस ऐनमा जग्गा जोत्ने किसानको जग्गामा स्वामित्व हुन्छ भन्ने व्यवस्था गरिएको हो । फेरि भूमि समस्याका केही पक्षहरूबारे हाम्रो देशको समाजवादी ग्रामीण समस्यासम्बन्धी थेसिसमा र समाजवादी संविधानमा पनि उल्लेख भएको छ । भूमि र उत्पादनका अरू सबै साधनहरू राज्य र सहकारी संगठनहरूको स्वामित्वमा रहन्छन् भनी समाजवादी संविधानमा व्यवस्था गरिएको छ । यसरी स्वामित्वको प्रश्न लगायत भूमिसम्बन्धी सिद्धान्तका प्रश्नहरू क्रान्तिका प्रत्येक चरणको निम्ति किटानीसाथ प्रस्तुत गरिएको हो । तर भूमि निर्माण, भूमि संरक्षण र भूमि प्रबन्धका प्रश्नहरूको व्यापकरूपले व्यवस्था गरिएको भूमिसम्बन्धी कानुन अहिलेसम्म पनि छैन ।
हुन त यस्तो भूमि ऐन नभए पनि कुनै गोलमाल हुने वा गम्भीर प्रश्न उठ्ने छैन । हामीकहाँ सहकारी खेतका नियमहरू र जग्गाको प्रयोग र प्रबन्धसम्बन्धी अरू कैयौँ नियमहरू भएकाले, सहकारी खेतहरू, राज्य सञ्चालित व्यवसायहरू र सरकारी निकायहरूले राज्य र समाजको उचित नियन्त्रणमा जग्गाको प्रयोग र प्रबन्ध गरिरहेका छन् । तर यतिले पुग्दैन ।
जग्गा महत्त्वपूर्ण उत्पादनको साधन र देशको अर्थतन्त्रको विकास जनताको जीवनमा ठुलो महत्त्व भएको बहुमूल्य निधि हो । त्यसकारण हामीले जग्गालाई हिफाजतसाथ संरक्षण र प्रबन्ध गरेर तथा अझ क्षमतासाथ विकसित पारेर यसलाई मुलुकको अर्थतन्त्र निर्माण गर्ने र जनताको जीवन स्थिति सुधार्ने उद्देश्यको निम्ति प्रभावकारी ढङ्गले प्रयोग गर्नु पर्दछ । यसको निम्ति यससम्बन्धी राज्य कानुन चाहिन्छ ।
राज्य एउटा शासन यन्त्र हो र कानुन राज्यको महत्त्वपूर्ण शासन गर्ने साधन हो । कानुन भनेको सबै नागरिकहरूले मान्नैपर्ने क्रियाकलापको सामान्य नियम हो । जबसम्म राज्य रहन्छ, कानुनको जरूरत पर्दछ । कानुन नभइकन राज्य र समाजमा सुव्यवस्था कायम गर्न सकिँदैन र सबै जनताले कानुनलाई मानेर व्यवस्थित ढङ्गले काम नगरी जे मन लाग्यो, त्यही गर्न लाग्यो भने समाजको विकास हुन सक्दैन ।
अहिले हाम्रो देशमा राज्य र समाजका सबै क्रियाकलापहरूमा लाग्ने आधारभूत कानुन समाजवादी संविधान हो । हाम्रो समाजवादी राज्यको कार्य क्षेत्र बढाउनका लागि तथा हाम्रो समाजवादी समाजलाई अझ बढी सुदृढ र विकसित पार्न, समाजवादी संविधानमा आधारित गरी जीवनका विभिन्न क्षेत्रका लागि व्यापक पारिएको विस्तृत कानुनहरू पनि हुनु आवश्यक छ । समाजवादी संविधान जारी भएदेखि हामीले भूमि ऐन, समाजवादी सम्पत्ति ऐन, समाजवादी श्रम ऐन जस्ता विभिन्न महत्त्वपूर्ण ऐनहरू तयार गरिरहेका छौँ । तिनीहरूमध्ये भूमि ऐन सबभन्दा पहिले राम्ररी तयार गरेर सर्वोच्च जन-सभाको चालु अधिवेशनमा विचारार्थ ल्याइएको छ ।
भूमि ऐन समाजवादी समाजका यथार्थ आवश्यकतामाथि उचित ध्यान दिई विस्तृत पारिएको छ । ग्रामीण इलाकाहरूमा समाजवादी सहकारीकरण सफल पारिसकेपछि र धेरै राज्य सञ्चालित खेतहरू स्थापना भएपछि समाजवादी कृषिले ग्रामीण अर्थतन्त्र छिटछिटो प्रगति गरिरहेको हाम्रो देशको यथार्थताले गर्दा निकै जरुरी भएको आवश्यकता के हो भने समावादी समाजको जग्गा-स्वामित्वलाई र जग्गाको संरक्षण, प्रबन्ध र प्रयोगसम्बन्धी खास-खास समस्याहरूलाई कानुनद्वारा व्यवस्थित गर्ने । त्यसकारण नयाँ भूमि ऐनमा समाजवादी समाजमा जग्गा-स्वामित्व कस्तो हुनुपर्दछ, जग्गाको निर्माण कसरी गर्ने र जग्गाको संरक्षण र प्रबन्धन कसरी गर्ने भन्ने कुराहरू पूरा विस्तृतरूपले लेखिएको छ । यो कानुनले भूमिसम्बन्धी व्यापक दृष्टि लिएको छ । जग्गाको कुरा गर्दा मनमा आबाद जग्गाको मात्र याद आउँछ । तर भूमि ऐनमा जग्गा भन्नाले खेत-जग्गा मात्र होइन, नदी, जङ्गल, सडक, समुद्र छेउको पानीले छोपेको जग्गा आदि पनि जनाउँछ ।
भूमि ऐनमा जग्गाको संरक्षण, जग्गाको प्रबन्ध र जग्गाको निर्माणका प्रश्नहरूको प्रमुख स्थान छ । वर्तमान समयमा जग्गाको स्वामित्वको बारेमा लेख्न तुलनात्मक दृष्टिले सरल छ । ऐनमा जग्गाको स्वामित्वको मात्र व्यवस्था गर्नुपर्ने भए एक-दुई प्याराग्राफमा सजिलै गर्न सकिन्छ । यसपालि तयार गरिएको भूमि ऐनमा जग्गाको स्वामित्वको स्पष्ट परिभाषा दिनुका साथै राष्ट्रिय भूमि निर्माणको आम योजना अनुसार भूमि निर्माण नियोजित ढङ्गले सञ्चालन गर्ने प्रश्न, जग्गाको संरक्षण र प्रबन्धलाई सर्व-जन, समस्त राज्यको स्तरमा सही तरिकाले चलाउने प्रश्न, बाली लगाइएको खेतमा माटो सक्रियरूपले सुधारेर जमिनलाई फेरि राम्ररी मिलाउने र देशको सम्पूर्ण जग्गालाई आकर्षक र उपयोगी ढङ्गले निर्माण गरेर त्यसको प्रभावकारी प्रयोग गर्ने प्रश्नलाई प्रमुख स्थान दिइएको छ । तसर्थ यो ऐन भूमि-प्रश्नसम्बन्धी थेसिस हो र जग्गाको निर्माण गर्ने कार्यक्रम हो भनी हामी भन्न सक्छौँ ।
भूमि ऐनको वियष-वस्तुमा जरुरी कुरा के हो भने सबभन्दा पहिले राष्ट्रिय भूमि निर्माण आम योजना तयार पार्ने र त्यस योजनाअनुसार नियोजित ढङ्गले भूमि निर्माण कार्य चलाउने ।
राष्ट्रिय भूमि निर्माणको आम योजनाअनुसार नियोजित ढङ्गले जग्गाको निर्माण र प्राकृतिक स्रोतहरू खोजेर निकालेमा मात्र हामीले प्रादेशिक भूमिको राम्रो, युक्तिपूर्ण उपयोग गर्न सक्नेछौँ । उही-उही प्रकारका कार्य दोहोरिने त्रुटि पहिलेबाटै रोक्न सक्नेछौँ र साधन र कोष खेर जानबाट रोक्न सक्नेछौँ ।
हाल राष्ट्रिय भूमि निर्माणको आम योजनाअनुसार भूमि निर्माण कार्य चलाउन नसकेकाले केही नराम्रा नतिजाहरू निस्केका छन् ।
अहिले सडक निर्माण कार्य पनि राष्ट्रिय भूमि निर्माणको एकीकृत आम योजनाबिना नै चलाइरहेको छ र यसकारण पहिले तर्जुमा गरेझैँ यो काममा प्रगति भएको छैन । सडक निर्माणको क्षेत्रका मानिसहरूले आफ्नो निर्माण योजना बनाउँदा सडकको मात्र विचार गर्छन्, विद्युत उद्योगका मानिसहरूले बाँध बनाउने योजना तयार गर्दा विद्युत उत्पादन केन्द्रको निर्माणको मात्र विचार गर्दछन् । फलस्वरूप यी दुइटा योजना जुध्छन् र काम रोकी सडक निर्माण योजना बदल्नुपर्ने हुन्छ ।
जेर्याङ खानीमा पनि पहिले नै विचार नगरी सडक बनाइदिनाले निकै हानी हुन गयो । फलाम धातुको परिमाण र क्षेत्रको सही अनुमान गरी पहिले नै विचार पुर्याएर खानीको विकासमा बाधा नपर्ने गरी सडक बनाउनु पर्दथ्यो । तर त्यस्तो गर्न सकिएन । फलस्वरूप सडक बनाएको धेरै समय नबित्दै अर्कै बाटोबाट फेरी कैयौँ किलोमिटर सडक बनाउन पर्यो । अर्को बाटोबाट फेरि सडक बनाउनु भनेको सजिलो काम होइन । यसका लागि नयाँ पुल बनाउनुपर्दछ, सडक पक्की पार्ने काम सब फेरि गर्नुपर्छ र निकै नै आबाद जग्गा बिगार्नु पर्दछ । त्यसकारण सडक बनाउँदा एक फेरि गल्ती भयो भने निकै धेरै श्रम र साधन खेर जान्छ ।
यस्तै कुरा जेर्योङगाङ्ग जलाशय बनाउँदा पनि भएको देखिन्छ । बितेका समयमा राष्ट्रिय भूमि निर्माणको आम योजना भन्ने वस्तु नै नभएकोले पानीपोखरी राख्नुपर्ने ठाउँमा धेरै नै आवास-घरहरू र अरू चिजहरू बनाइए । त्यसकारण पानीपोखरी बनाउनका लागि रेल बाटोहरू र धेरै आवास-घरहरूलाई हटाएर अरू ठाउँमा सार्नु पर्यो। यदि पानी पोखरी बनाउनुपर्ने कुरा पनि विचार गरी राष्ट्रिय भूमि निर्माणको आम योजना पहिले नै तयार भएको भए र यसैको आधारमा राष्ट्रिय भूमि निर्माणका क्षेत्रीय योजनाहरू बनाइएको भए यस प्रकारका असुविधाहरू पहिलेबाटै रोक्न सकिन्थ्यो ।
राज्यले भूमि निर्माण कार्यमा एकीकृत नियन्त्रण गरेर यो काम नियोजित ढङ्गले चलाउनका लागि राष्ट्रिय भूमि निर्माणको आम योजना राम्ररी तयार गर्नु आवश्यक छ ।
यो योजनामा कहाँ गाउँ बनाउने, कहाँ सहरहरू, कारखानाहरू, कहाँ नहर र रेल बाटो बनाउने भन्ने सब थोक परिकल्पना गरिएको हुनु पर्दछ।
पितृभूमि मुक्तियुद्धको समयमा मैले हाम्रो देशमा पूर्वदेखि पश्चिमसम्मै वारपार एउटा नहर खन्ने डिजाइन तयार गर्ने जिम्मा विश्वविद्यालयका शिक्षक र विद्यार्थीहरूलाई सुम्पेँ । उनीहरूले यो अभिभारा पूरा गर्न धेरै प्रयत्न गरिसकेका छन् र यसका लागि अलि धेरै समय लगाए तापनि यो डिजाइन निकै राम्ररी तयार गरे । उनीहरुको डिजाइनमा नाम्पो र दोक्छनको बिचको इलाकामा देदोङ-गाङ्ग नदीको बाटो अलि फेरेर नहर बनाउनका साथै नदी किनारको दृश्य सुन्दर पार्ने, नदीमा सधैभरि पानी टम्म पार्ने र नहरमा बन्द गर्ने ढोका प्रयोग गरी निकै बिजुली शक्ति निकाल्ने योजना पनि गरिएको छ । भूमि निर्माणको निकै राम्रो योजना र प्रकृति बदल्ने ठुलो योजना यो हो ।
पार्टी केन्द्रीय समितिको राजनीतिक समितिले विश्वविद्यालयका शिक्षक र विद्यार्थीहरूद्वारा तयार गरिएको यो डिजाइन जाँचेर हेर्यो र यसलाई पूरै लागु गर्न सकिने योजना भनी मान्यो । राष्ट्रिय भूमि निर्माणको आम योजनामा यो डिजाइन समावेश गरिनुपर्दछ ।
अब त राष्ट्रिय भूमि निर्माणको आम योजनामा देदोङगाङ्ग नदीमा नहर बनाउने परिकल्पना गरिएको हुनाले त्यस नदी किनारका सबै भूमि निर्माणहरू त्यससित सम्बन्धित पारिनुपर्दछ ।
राष्ट्रिय भूमि निर्माणको आम योजनामा वातावरण दूषित हुन नदिने प्रश्नमा उचित ध्यान दिनुपर्दछ । हाम्रा केही अधिकारीहरूले आवास इलाका निर्धारित गर्दा र कारखानाको निम्ति स्थल छान्दा यस प्रश्नमा अहिलेसम्म कमै ध्यान दिएका छन् ।
उदाहरणका लागि चोङजिनको सहर निर्माणको कुरा लिऔँ । चोङजिनमा मुक्तिभन्दा पहिले जापानी साम्राज्यवादीहरूले बनाएका केही कारखानाहरू थिए । जापानी साम्राज्यवादी बदमासहरूले हाम्रा मजदुर वर्ग र जनताबाट कसरी बढी चुसेर लिने भन्ने मात्र विचार गर्थे । हाम्रा जनता वातावरण दूषित भएर मर्ने भए पनि उनीहरूलाई केही वास्ता थिएन । त्यसकारण उनीहरूले आवास इलाकामा कारखानाहरू बनाए र जनतालाई निकै हानी पुर्याए । तर लडाइँपछि पनि चोङजिनमा जापानी साम्राज्यवादीहरूले बनाएका कारखानाहरूकै नजिकमा फेरि धेरै आवास-घरहरू बनाइए । यो कुरा थाहा पाएपछि हामीले चोङजिनको पुनर्निर्माण योजनाको कडा आलोचना गर्यौँ र नयाँ घरहरूको निर्माण सहरको नजिकमा बनाउने होइन, कारखानाहरूको धुँवा पुग्न नसक्ने रानाम क्षेत्रमा गर्नुपर्छ भनी निर्देशन दियौँ ।
हुन त रेल बाटो पुग्न विद्युत शक्ति र कच्चा पदार्थ पाउन सजिलो हुने जस्ता विभिन्न कारणले गर्दा आवास क्षेत्रहरूमा नै कारखानाहरू बनाउन पर्ने पनि हुन सक्छ । यस्ता रोक्न नसकिने परिस्थितिले गर्दा आवास क्षेत्रहरूमै कारखाना बनाउनुपर्ने भएमा श्रमिक जनताका घरहरूलाई अरू ठाउँमा सार्नु पर्दछ ।
राष्ट्रिय भूमि निर्माणको आम योजना राम्रो बनाउने मात्र होइन, त्यसलाई सही ढङ्गले कार्यान्वित गर्नु पनि निकै जरूरी छ ।
सामान्य योजना जत्तिकै राम्ररी बनाइएको भए पनि त्यसलाई कार्यान्वित गरिएन भने केही काम लाग्दैन । हाल प्योङयाङको सहर निर्माण यसको सामान्य योजनाअनुसार चलाइएको छ । तर पहिले केही संस्थान र उद्योग व्यवसायहरूले आफ्नै मात्र स्वार्थ हेरी सहर निर्माणको सामान्य योजनालाई वास्ता नगरी जस्तो मन लाग्यो त्यसरी निर्माण कार्य लागु गरेर सहर निर्माणमा बाधा पुर्याए । यदि सहर निर्माणको सामान्य योजनामा उल्लेख नगरिएका घरहरू अव्यस्थित ढङ्गले बनाइयो भने भविष्यमा कुनै समयमा ती घरहरू नभत्काई नहुने हुन जान्छ। हालै यस्ता कुरा क्रमशः हटाएर अनुशासन कायम गरिँदैछ ।
भूमि ऐन पारित भएपछि सबै क्षेत्रमा निर्माण कार्यलाई पूरै नै निर्माणको आम योजना अनुसार नै चलाउने कडा अनुशासन कायम गर्नु पर्दछ ।
प्रशासन परिषद्का मन्त्रालयहरू र आयोगहरू, स्थानीय पार्टी या प्रशासनका अङ्गहरू र आर्थिक निकायहरूका सबै नेतृत्वदायी अधिकारीहरू यहाँ उपस्थित हुनुहुन्छ । भूमि ऐनमा व्यवस्था गरिएझैँ भूमि विकासको काम सफलता साथ कार्यान्वित गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा तपाईँहरूले अभिभारा कसरी सम्हाल्नु हुन्छ त्यसैमा निर्भर गर्दछ। भविष्यमा सबै कर्मचारीहरूले भूमि विकासको कामलाई भूमि ऐनका आवश्यकताअनुरूप मालिकको भावना लिएर जिम्मेदारीसाथ चलाउनुपर्दछ ।
भूमि ऐनमा अर्को महत्त्वपूर्ण वस्तु जग्गाको संरक्षण र प्रबन्ध सही ढङ्गले चलाउने हो ।
खेत, जङ्गल र नदीजस्ता विभिन्न प्रकारका भूमि संरक्षण गर्ने कार्यको परस्पर घनिष्ट सम्बन्ध छ । आबाद जग्गाको संरक्षण गर्न पहाडमा राम्ररी वन संरक्षण हुनु पर्दछ र नदीलाई ठीकसित पुनर्निर्माण गरिनु पर्दछ । पहाडहरूमा वन संरक्षण नदीको संरक्षणको निम्ति पनि आवश्यक छ ।
उहिले हाम्रो देश कब्जा गरेका जापानी साम्राज्यवादीहरूले पहाडहरूका वन, जङ्गल मनपरी मासे र सब नाङ्गो पारे । मुक्तिपछि हामीले पहाडमा वृक्षारोपण गर्न निकै प्रयत्न र कडा मेहनत गर्यौँ । फलस्वरूप सहर नजिकका डाँडाहरू रूखले टम्म भरिएका छन् । भित्र पहाडका टाढा-टाढाका ठाउँमा पनि घना वन छन् । तर खानी गाउँहरू वरिपरिका डाँडाहरू वा बिचका क्षेत्रका पहाडहरूमा अझै पनि रूखहरू थोरै छन् । त्यसकारण पानी परेपछि तुरुन्तै बाढी आउँछ, बाली खेत बगाउँछ, जमिन बिगार्छ र नदी बाटोको थुन्न जान्छ ।
उदाहरणका लागि देदोङ-गाङ्ग नदीलाई लिऔँ। नदीको माथिल्तिर सोङचोन, याङदोक र अरू इलाकाहरूमा राम्ररी जङ्गल राख्न नसकेकाले पानी पर्दा बाढीले जग्गा बगाउँछ र नदीको पिँध निरन्तर उठाइरहन्छ । प्योङयाङमा देदोङ-गाङ्ग नदीको पिँधको गत दशवर्ष जतिको नाप लिँदा हरसाल निकै धेरै वालुवा नदीमा बगेर आएको देखिन्छ । खासगरी वर्षामा धेरै नै बालुवा तल बगाएर ल्याएर नदीको पिँधमा जम्मा हुन्छ । अरू नदीहरूको त्यही स्थिति छ । हामहुङको सोङचोन-गाङ्ग नदी र चोङजिनको सुसोङ-चोन नदीमा पनि यस्तै हुन्छ ।
देदोङ-दाङ्ग निर्माण गुठी र नदी पुनर्निर्माण गर्ने कार्यमा लागेका अरू निर्माण संस्थानहरूले अहिले अलिकति पनि फितलो नगरीकन नदीको पिँध खन्ने र नदी किनारका बाँध अग्लो पार्ने काम गरिरहेछन् । तर नदीको माथिल्तिरको पहाडमा जङ्गल राख्न सकेन भने यो सब काम व्यर्थ हुनेछ किनभने बालुवा अटुटरूपले बगाएर ल्याई जम्मा भइरहन्छ । नदीको पिँध उठ्दै जाने हुनाले अटुट नदी किनारको बाँध अग्लो पार्दै जान सकिन्न । नदी किनार निरन्तर उठाउँदै लगेमा नदीले घेरिएका सहरहरू त आखिरमा इनारमुनि राखेकोझैँ देखिन लाग्छ ।
खानीका धुलो कसिङ्गरले पनि नदीको पिँध उठाउने काम गर्दछ । खानीमा फोहरमैला होश नगरी जथाभावी फाल्ने हुनाले भारी वर्षा भएपछि त्यसलाई पानीले बगाएर नदीमा लग्छ । जोयाङ्ग कोइला खानीमा खुला काटेर झिक्न सुरु गरेदेखि चोङचोन-गाङ्ग नदीको पिँध निरन्तर उठिरहेछ । यसको कारण फोहरमैला बगाएर नदीमा लगेकाले हो ।
भूमि संरक्षण गर्ने कार्यको यसरी परस्पर घनिष्ट सम्बन्ध हुन्छ र तसर्थ यी कामहरू किसानहरूको वा सम्बन्धित केही मजदुरहरूको प्रयत्नले मात्र सफलताका साथ सम्हाल्न सकिने होइनन् । भूमि संरक्षणको काम त राज्यका संस्थान र व्यवसायहरू, सामाजिक र सहकारी संगठनहरू तथा अरू सबै एकाइ र शाखाहरूले यसलाई महत्त्व दिएर तिनीहरू सबैले एकजुट भएर चौगुना प्रयत्न बढाई यसैमा लागेपछि मात्र सफल हुन सकिने हो । भूमि संरक्षणको काम सम्पूर्ण पार्टी, समस्त राष्ट्र र सारा जनताको साझा कर्त्तव्य हो ।
भूमिको संरक्षण प्रभावकारी ढङ्गले गर्न नदीको मुहानतिर घना बनाउनु आवश्यक छ । हालका वर्षहरूमा हाम्रो देशमा शीत रेखाको प्रभावले गर्दा निकै खडेरी परे तापनि पहिले पहिले त निकै धेरै वर्षा हुने देश यो हो।हाम्रो देशमा साला खाला वर्ष भरिमा एक हजारदेखि बाह्र सय मिलिमीटर पानी पर्दछ र कहिलेकाहिँ जुलाई र अगष्ट महीनामा निकै पानी पर्छ। कहिलेकाहिँ दिन भरिमा ४०० मिलिमिटरसम्म पनि पानी पर्दछ। यसकारण नदीको माथिल्तिर पहाडमा वर्षाको पानी सोसेर राखेपछि बिस्तारै-बिस्तारै मात्र छोड्ने घना जङ्गल हुनु जरूरी छ । नदीको माथितिर घना जङ्गल भयो भने भयङ्कर वर्षाले पनि बाढी ल्याउँदैन, नदीको पिँध पनि उठाउँदैन ।
नदीको पिँध खन्ने र किनारमा बाँध बनाउने काम पनि जारी राख्नुपर्दछ । नदीहरूका माथिल्तिरका पहाडहरूमा अझै बाक्लो जङ्गल नभएकोले हामीले वृक्षारोपण अभियान जोडतोडले चलाउनु पर्दछ र साथै नदीका पिँध खन्ने र किनारका तटबन्ध उठाउने काम अथकरूपले अगाडि बढाइरहनु पर्दछ । बाढी रोकेर जग्गा बचाउन यस्तो नगरी हुँदैन ।
खेत-जग्गा जोगाउन हामीले ब्यापक रूपले बैंशका रूखहरू रोप्नु पर्दछ र वर्षातको पानीले बगाउने छाँटका फाँटका छेउ-छेउमा ढुङ्गाका पर्खालहरू बनाउनुपर्दछ ।
खानीहरूमा धातुको धुलो र कसिङ्गर वर्षाको पानीले बगाएर नदीमा पुर्याउन नदिन आवश्यक कदम उठाउनुपर्दछ । फोहरमैला बगेर नदीमा जाने कुरो रोक्नु गाह्रो काम पनि होइन । खानी नजिकै खोल्सोमा वारपार एउटा छेक्ने बाँध बनाएर त्यसको तलतिर पानीको निकास राख्ने र फोहर सब त्यस खोल्सोमा फाल्ने गरे पुगिहाल्छ। धातु खानीमा धातुको धुलो थिग्रिने भंगाल पोखरी पनि बनाउनु पर्दछ ।
जग्गाको राम्रो संरक्षणका साथै त्यसको राम्रो हिफाजत पनि हुनुपर्दछ । सबै क्षेत्रका मानिसहरूले भूमिलाई मालिकको भावना लिएर हेरविचार गर्नु पर्दछ र भूमिको प्रयोगसम्बन्धी निर्धारित नियमहरूको कडा पालना गर्नु पर्दछ ।
भूमि ऐनमा अर्को महत्त्वपूर्ण प्रश्न भूमि निर्माण कार्य ठिक तरिकाले चलाउने हो । भूमिको राम्ररी निर्माण गर्नु खेतीयोग्य जग्गा थोरै भएको हाम्रो देशमा विशेष महत्त्वको प्रश्न हो।
हाम्रो देशको निकै धेरै जनसंख्या छ । खेतीयोग्य जग्गा भने २० लाख जोङबो मात्र छ । २० लाख जोङबो खेतीयोग्यमध्ये पनि फलफूल बगैँचा लगाएका बारीहरू र ठाडो भीरका पाखा बारीको हिसा गरेन भने सामान्य बाली लाग्ने जग्गाको क्षेत्रफल पन्ध्र लाख जोङबो मात्र छ । यो सीमित जग्गाबाट जनताको जीविका चलाउनका लागि जग्गालाई प्रभावकारी रूपले निर्माण गरी हुनसम्म प्रभावकारी ढङ्गले प्रयोग गर्नु पर्दछ ।
भूमिको राम्ररी निर्माण गर्ने काम खेतीको कामलाई यान्त्रीकरण गर्न र किसानहरूलाई कठिन परिश्रमबाट मुक्त पार्न पनि आवश्यक छ ।
जमिनलाई ठिकसित पुनर्निर्माण नगरीकन खेती कार्यको यान्त्रीकरण गर्न र किसानहरूलाई कठिन परिश्रमबाट पूर्णरूपले मुक्त पार्न सम्भव छैन । जमिनलाई ठिकसित पुनर्निर्माण गरेर खेती कार्यलाई सक्रियरूपले यान्त्रीकरण गरेपछि मात्र किसानहरूलाई कठिन परिश्रमबाट मुक्त पार्न सकिन्छ र साथै हामीले देशभरिका मजदुरहरू, सिपाहीहरू, कर्मचारीहरू र विद्यार्थीहरूलाई हर साल धान रोप्ने याममा ग्रामीण इलाकामा गएर मद्दत गर्न आम परिचालन गर्ने काम नगरे पनि हुन्छ ।
जग्गालाई फेरि राम्ररी पुनव्यवस्थित गरेर खेती कार्यलाई यान्त्रीकरण गरेमा अन्न उत्पादन निकै बढाउन सकिन्छ । धानका बोटहरू हातले रोपाइँ गर्दा रोप्ने मान्छे जत्तिकै सिपालु भए तापनि एक प्योङ जग्गामा जतिवटा बोट राख्नु पर्ने हो त्यति निश्चित हुँदैन ।
पोहोर वसन्त ऋतुमा निकै जाडो भएकोले हामीले धानका दरो बोट उमार्न सकेनौँ र त्यसकारण मेशिन काम नलाग्ने हुनाले रोपाइँ धेरैजसो हातले गर्नुपर्यो। फलस्वरूप प्रति प्योङ जग्गामा हुनुपर्ने धानका बोटको संख्या कम भयो र यसले अन्नको बालीमा निकै नोक्सान भयो । एक प्योङमा एउटा कुप्पा बोट मात्र कम हुन गए पनि एक झुप्पा बोटमा १३ वटा हाँगा निस्कने र एक बालामा ७० गेडा अन्न हुने हिसावले एक प्योङ जग्गामा १००० गेडा धान कम हुन जान्छ । एक हजार गेडा धानको तौल २५ ग्राम हुन्छ । त्यसकारण एक प्योङमा एक समूह बोट मात्र कम हुन गए पनि एक जोङबो खेतमा ७५ किलोग्राम अन्न खेर जाने भयो र एक प्योङमा दश झुप्पा बोट कम भयो भने त एक जोङबो जग्गामा ७५० किलोग्राम कम हुने भयो । रोपाइँमा चाहिए जति धानको समूह नरोप्ने हुनाले एक जोङबो जग्गामा एक दुई टन अनाज कम हुने त अहिलेको सामान्य प्रक्रिया हो । त्यसकारण अन्न उत्पादन बढाउनका लागि खेतीको काम यान्त्रीकरण गर्नु निकै जरूरी छ ।
प्रभावकारी भूमि निर्माणको आवश्यकता शीत रेखाको प्रभावबाट हुने नोक्सानी रोकेर निर्धक्कसित बाली पाइरहनका लागि पनि पर्दछ । आजकाल शीत रेखाको प्रभावले गर्दा संसारभरि नै बाली बिग्रिरहेछ र धेरै देशहरू अन्नको कमीले पीडित छन् । अहिले त पैसाले पनि सबै ठाउँमा अरु किन्न पाइन । शीत रेखाले हाम्रो देशमा पनि असाधारण हावापानीको प्रक्रिया निकालेको छ र भविष्यमा यो झन् होला जस्तो छ | पछिको सालमा कुनै दिनमा गर्मी याममा हिउँ पर्ने घटना पनि हुने छाँट छ । शीत रेखाको प्रभाव हामीकहाँ परेकोले हामीले त सबै प्रकारका असाधारण मौसमी स्थिति हुने कुरा पहिले नै सोच्नु पर्दछ र हावापानीका कुनै पनि गडबडीले अलिकति पनि प्रभाव नपर्ने गरी निर्बिघ्न बाली भित्र्याउन सक्ने गरी भूमि निर्माण गर्नु पर्दछ ।
भूमि विकास कार्य सफलतासाथ अगाडि बढाउन सबै शाखा र सबै एकाइहरूले ग्रामीण क्षेत्रलाई सक्रिय सहायता गर्नुपर्दछ, र सम्पूर्ण पार्टी, समस्त सेना र सारा जनताले अगाडि बढेर भूमि निर्माण कार्य जोडतोडले चलाउनु पर्दछ ।
सबैभन्दा पहिले पाखोबारीको सिँचाइ कार्य छिटो पार्नुपर्दछ । यो काममा हामीले ठुलाठुला सफलता पाइसकेका छौँ । पार्टीले पाँचौँ केन्द्रीय समितिको बाह्रौँ प्लेनम बैठकमा प्रस्तुत गरेको ‘प्रकृतिलाई बदल्ने पाँच बुँदे नीति’लाई समर्थन गरेर हाम्रा कृषि-कार्यकर्ताहरू र समस्त जनताले पाखोबारीको सिँचाइ कार्य जोडतोडले कार्यान्वियित गरेर पाँच महिनाभन्दा अलि बढी समयमा एक लाख जोङबो खेतमा पानी पटाउने सिँचाइ व्यवस्था पूरा गरे । केही समयअघि बसेको पार्टीको पाँचौँ केन्द्रीय समितिको तेह्रौँ प्लेनम बैठकले उनीहरूलाई अर्को जोडतोडको प्रयत्न गर्न आह्वान गरेपछि उनीहरूले बिस दिनजतिमा नै ४२,००० वटा ईनार र पोखरी खनेर पानी तान जमिनभित्र चुच्चे पाइपहरू गाडे र यसबाट अर्को एक लाख जोङबो खेतमा सिँचाइ व्यवस्था गरे। यो निकै ठुलो सफलता हो र अत्यन्त सन्तोष दिने कुरा हो । साँच्चै नै हाम्रा जनताको संगठित शक्ति निकै भव्य छ ।
पार्टी केन्द्रीय समितिका प्लेनम बैठकहरूको निर्णय कार्यान्वित गर्नको निम्ति चलाइएको संघर्षमा प्राप्त गरिएका यी प्रशंसनीय परिणामले भने के कुरा छर्लङ्ग गर्यो भने हाम्रा जनता पार्टी वरिपरि बलियोसँग एकजुट भएका छन् र जस्तै कठिन स्थितिमा पनि पार्टीका निर्णयहरू कार्यान्वित गर्ने अडिग क्रान्तिकारी भावना उनीहरूमा छ र पार्टीका जनता निस्के भने उनीहरू पहाडलाई समथर पार्न र समुद्रलाई पुर्न पूरै समर्थ छन्। हाम्रो पार्टीका निम्ति यस्ता संगठित शक्ति हुनु गौरवको कुरा हो। जनताको उर्लँदो जोशलाई कम पार्न नदिई हामीले खडेरीबाट हुने नोक्सानीलाई रोक्ने संघर्ष चालु राख्नु पर्दछ ।
आजकाल त अलि पानी पर्यो भन्दैमा हामीले ईनार खन्ने र जमिनमा चुच्चो पाइप गाड्ने काम छोड्न हुँदैन । अहिले अलि पानी पर्न लागे नि जुन र जुलाई महिनामा सुख्खा मौसम रहन सक्दछ । पोहोर साल जुलाईको सुरुतिरै पानी पर्ला भनी धेरै मानिसहरूले भनेका थिए तर लामो समयसम्म सुख्खा मौसम रहेर जुलाई महिनाको आखिरमा मात्रै पानि पर्यो। त्यसबेलाको खडेरी यति चर्को थियो कि २०० वटाभन्दा बढी पानी पोखरीहरू झण्डै पूरै सुके । यो साल पनि कुनबेला पानी पर्ला, कसैले यकिन भन्न सक्दैन। त्यसकारण अहिले अलिकति पानी परेको छ भन्दैमा हामीले जमिनमुनिबाट पानी झिक्ने उद्देश्यका कामहरू कुनै हालतमा पनि त्याग्न हुँदैन। पक्कै पनि रोपाइँको याममा धान रोपाइँ कार्यमा सबै शक्ति केन्द्रित पार्नुपर्दछ। तर रोपाइँ सिद्धिने बित्तिकै जमिनमुनिको पानी झिक्ने काम फेरि थाल्नु पर्दछ। जमिनमुनिको पानी झिक्ने संघर्ष शरद र हिउँदमा पनि चलाइ रहनुपर्दछ ।
हामीले अहिलेकै जोश लिएर काम गर्दै गयौँ भने पार्टीको पाँचौँ केन्द्रीय समितिको बाह्रौँ प्लेनम बैठकमा निर्णय गरिएझैँ यही शरदमा वा अर्को वर्षको वसन्तसम्ममा चार लाख जोङबो पाखोबारीमा सिँचाइ पुर्याउने काम झण्डै सबै पूरा गर्न सक्नेछौँ भन्ने मलाई लाग्छ। अर्को कुरा भिरालोका खेतका गह्राहरू पनि व्यापकरूपले बनाउनु पर्दछ ।
हाम्रो देशमा १६ डिग्रीभन्दा बढी भिरालो परेका पहाडका पाखाका २ लाख जोङबो जति जग्गा छन् । हामीले यतिको धेरै जग्गा छोड्न हुँदैन । बरू ती सबैलाई खेतका गह्रा बनाउनु पर्दछ। पहाडका भिरालोका जग्गामा गह्रा बनाएमा ती राम्रा खेत बन्छन् र त्यहाँ प्रतिजोङबो अन्न उत्पादन अहिलेभन्दा धेरै गुणा बढाउन सकिन्छ।
दक्षिण प्योङ्गान प्रान्तको काङ्गदोङ जिल्लामा ३० डिग्रीभन्दा बढी स्लोप परेका भिरालो जग्गालाई खेतका गह्रामा परिणत गरियो र त्यहाँ पोहोर साल एक जोङबोको सालाखाला ६ टन अन्न उब्जनी भयो । त्योभन्दा पहिले प्रतिजोङबो जग्गाको अन्न उत्पादन ६०० देखि ८०० किलोग्राम मात्र थियो । त्यसकारण खेतका गह्राहरू बनाइसकेपछि प्रतिजोङबो उब्जनी दशगुणा जति नै बढेको देखिन्छ ।
भिरालोका खेतमा गह्रा बनाउनु समुद्रछेउको पानीले छोपेको जग्गालाई खेत बनाउनुभन्दा कम श्रम शक्ति र कम पैसा लाग्दछ। हामीले सालसाले दशौँ हजार गह्रा खेत बनाउँदै गयो भने आउँदा केही वर्षभित्र सजिलैसित भीरका दुई लाख जोङबो जम्मै जग्गा नै खेतका गह्रा बनाउन सक्नेछौँ । हामीले व्यापकरूपले खेतका गह्रा बनाउनका साथै धान खेत र पाखोबारीका सबै खलालाई स्तरयुक्त पार्नुपर्दछ ।
दक्षिण प्योङ्गान प्रान्तको काङसो जिल्लाको छोङसान सहकारी खेत, उत्तरी ह्वाङहाए प्रान्तको सारिओनको मिगोक सहकारी खेत र मैदानी इलाकाका झण्डै अरू सबै खेतहरूले आफ्ना जग्गालाई व्यवस्थित ढङ्गले राम्ररी फेरबदल गरिसकेका छन् तर बिचका क्षेत्रका र पहाडी क्षेत्रका सहकारी खेतहरूले अझैसम्म यो काम ठिक तरिकाले गरिसकेका छैनन्। जग्गालाई फेरि निर्माण गर्ने काम पूरा गरी नसकेका खेतहरूले पाखोबारी खेतहरूका बिचका आलीहरू र धान खेतहरू बिचका कुलेसाहरू हटाउनुपर्दछ, खेतका खला ठिक तरिकाले बनाउनु पर्दछ र भिरालो जग्गामा धान खेत बनाउँदा नागबेली पार्दै पुनर्व्यवस्थित गरेर ट्रयाक्टरहरू पसेर काम गर्नसक्ने पार्नु पर्दछ।
जग्गाको फेरि निर्माण गर्ने काम ज्यादा हतपतले गर्न हुँदैन। गर्मीमा खेतमा बाली लगाउनु पर्दछ र हिउँदमा माटो कडा जमेको हुन्छ । तसर्थ खेतलाई बनाउने काम समयको दृष्टिले ज्यादै सीमित हुन्छ। यो काम सरद ऋतुमा त्यस वर्षको अन्न खेतीको काम सकिएपछि अलिकति वर्षको वसन्तमै गर्न सकिन्छ। साँच्चै नै यो कामलाई सालमा दुई महिना जति मात्र समय मिल्दछ । त्यसकारण खेत जग्गाको पुनःनिर्माण गर्ने काम एक-दुई वर्षमा पूरा गर्न सकिँदैन । यो काम पूरा गर्न केही समय लाग्नेछ ।
जग्गाको पुनर्व्यवस्था गर्ने काम छिटो सिध्याउने भए जग्गा पुनर्निर्माण गर्न काम हिउँदमा पनि चलाई राख्ने तरिका खोज्नु पर्यो। हिउँदमा पनि यो काम गर्न सकियो भने जग्गाको पुनःनिर्माण गर्ने काम कम समयमै पूरा हुनेछ ।
समुद्रको पानीले छोपेको जग्गा सुधार्ने काम पनि चलाउनुपर्दछ । पानीले छोपेको जग्गा सुधारेर खेत बनाउने काम लामो समय लाग्ने महान कार्य हो । पानीले छोपेको हिले जग्गामा बाँध बाँध्न ठुला-ठुला जहाज र विभिन्न उपकरणहरू चाहिन्छ र निकै धेरै श्रमशक्ति र ज्यादै लगानी लाग्दछ। त्यसकारण पानीले छोपेको जग्गा सुधार्ने काम सबै स्थितिलाई सावधानीसाथ विचार गरेर नियोजित ढङ्गले चलाउनु पर्दछ र हाललाई सिँचाइ परियोजनाहरूमा र गह्रा खेतहरू बनाउनमा धेरै प्रयत्न लगाउनु पर्दछ ।
सिँचाइ परियोजनाहरू जोडतोडले बढाएर सिँचाइ व्यवस्था त्रुटिहीन पानुपर्दछ । खेतका गह्रा बनाउने काम जोडतोडले अगाडि बढाएर डाँडाका भिरालोका जग्गाहरूमा खेतका गह्रा बनाउनु पर्दछ र खेतहरूलाई पुनर्व्यवस्थित पारेर बाली लगाउने जग्गा बढाउनु पर्दछ । अनि अन्न उत्पादन अहिलेभन्दा धेरै बढ्ने छ र एक करोड टन अन्न उत्पादन गर्ने लक्ष्य निकट भविष्यमै सफलतासाथ पूरा हुनेछ । भविष्यमा एक करोड अन्न उत्पादन भएपछि हाम्रा जनताले अन्न भकारीहरू टनाटन भरेर अझ समृद्ध जीवन बिताउने छन् ।
भूमि विकासको काममा एउटा जरूरी समस्या नदी निर्माण कार्य निपुर्णतासाथ चलाउने हो । आबाद जग्गाको निर्माण कार्यलाई राम्ररी गरे मात्र भूमि विविध प्रयोगमा लगाउन सम्भव हुनेछ । हाम्रो देशका सबै नदीहरूलाई राम्ररी पुनर्व्यवस्थित पार्नु पर्दछ र खास गरी ठुलो आर्थिक महत्त्व भएका ठुला ठुला नदीहरूलाई सुधार्ने काममा जोड दिनुपर्दछ ।
हाम्रो देशमा नहर बनाउन सुहाउने धेरै नदीहरू छन् । नाम्पो र तोक्चोनलाई जोड्ने नहर विश्वविद्यालयका शिक्षक र विद्यार्थीहरूले तयार गरेको योजनाअनुसार देदोङ-गाङ्ग नदीमा बनाउन सकिन्छ र चोङचोन-गाङ्ग, अमनोक-गाङ्ग, जेन्योङ-गाङ्ग जस्ता नदीहरूमा अरू नहर बनाउन सकिन्छ।
आज हाम्रा ठुला ठुला नदीहरूमा नहर निर्माण गर्नु जीवनको माग हो । एउटा उदाहरण लिऔँ । सुन्चोन सिमेन्ट कारखानाले आफ्नो उत्पादन सामान्य पारेपछि यसको उत्पादन ३० लाख टन सिमेन्ट पुग्नेछ। ढुवानी गर्न यो सानो परिमाण कुनै हालतमा पनि होइन। हुन त रेलबाटोको ढुवानी क्षमता बढाएर कारखानादेखि सिमेन्ट रेलबाट ढुवानी गर्न सकिन्छ । तर ढुवानी गर्नुपर्ने सिमेन्ट मात्र होइन, सिमेन्ट उत्पादन गर्न चाहिने सामग्रीहरू र सुन्चोन क्षेत्रमा उत्पादन हुने कोइला पनि ओसार्नु पर्दछ र यसकारण यस क्षेत्रका ढुवानीका आवश्यकताहरू रेलबाटोले मात्र पूरा गर्न सक्दैन । यो समस्या समाधान गर्न देदोङ-गाङ्ग नदीमा नहर छिटछिटो बनाएर रेल ढुवानीका साथ नदीबाट गरिने ढुवानीको पनि विकास गर्नु पर्दछ ।
आजकाल केही मुलुकहरूले नदी नभएका ठाउँहरूमा खोल्सो वारपार पनि नहरहरू खन्ने कष्ट गर्दछन्। यसको उल्टो हाम्रो देशमा केही बन्द गर्ने ढोका बनाएर पानी थुन्ने बितिकै बडो राम्रा नहरहरू बनाउन नदीहरू छन् । यस्तो अनुकूल परिस्थितिको फाइदा हामीले नलिने ? हामीले राष्ट्रिय भूमि निर्माणको आम योजनामुताबिक नहर बनाउन र व्यापकरूपले नदीहरूको उपयोग गर्न मेहनतसाथ काम गर्नुपर्दछ ।
नदी सुधार्ने काम निपुर्णतासाथ कार्यान्वित गरेपछि यसले नदीबाट गरिने ढुवानीको विकास गर्नुका साथै निकै धेरै विद्युत शक्ति उत्पादन गर्न र सिँचाइ पानीको समस्या अझ सन्तोषप्रद तरिकाले समाधान गर्नमा पनि मद्दत दिनेछ ।
हामीले भूमि ऐनमा व्यवस्था गरिएझैँ राम्ररी राष्ट्रिय भूमि निर्माणको आम योजना तयार गर्नुपर्दछ र यसको आधारमा भूमिको संरक्षण, प्रबन्ध र निर्माण गर्ने कार्य ठिकसित चलाउनुपर्दछ र यसरी हाम्रो देशलाई अरू बढी सुन्दर, समृद्ध र आदर्श मुलुक बनाउनुपर्दछ ।
सर्वोच्च जनसभाको चालु अधिवेशनमा भूमि ऐन पारित गर्ने हाम्रो मुख्य उद्देश्य जनतालाई कानुनको बलले शासन गर्ने कदापि होइन । यो त भूमि विकासको निम्ति कार्यक्रम प्रस्तुत गरेर भूमिको निर्माण, संरक्षण र प्रबन्धमा ठुलो परिवर्तन ल्याउनलाई हो । यस अधिवेशनमा भाग लिइरहनुभएका सबै सभासद्हरू र कर्मचारीहरूले पारित हुन लागेको भूमि ऐनको उद्देश्य र महत्त्व ठिकसित बुझ्नु पर्दछ र तपाईँहरू आ-आफ्ना ठाउँमा जानु भएपछि श्रमिक जनताका व्यापक समूहमा ऐनको व्यापक व्याख्या र प्रचार गर्नुपर्दछ। सबै श्रमजीवीहरू लगायत समस्त जनताले अनि स्वेच्छाले भूमि ऐनका पालना गर्न सक्नेछन् ।
यहाँ उपस्थित सबै कमरेडहरू तथा तमाम श्रमिक जनताले सर्वोच्च जनसभाले पारित गर्न लागेको भूमि ऐनलाई भूमि निर्माणको महत्त्वपूर्ण कार्यक्रमको रूपमा स्वीकार गर्नेछन् र यसलाई कार्यान्वियित गर्ने संघर्षमा एकगठ भई भाग लिनेछन् भन्ने मेरो दृढ विश्वास छ ।
(नेपाल कोरिया मैत्री संघद्वारा सन् १९७८ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया स्थापनाको ३०औँ वार्षिकोत्सवको स्मृतिमा प्रकाशित यो महत्त्वपूर्ण मन्तव्यलाई प्रजातान्त्रिक जनगणतन्त्र कोरिया स्थापनाको ७५औँ वार्षिकोत्सवको अवसरमा साभार गरी पुनःप्रकाशन गरेका छौँ – सम्पादक।)