१. मजदुर तथा किसानहरूको सोभियत गणतन्त्रमा शिक्षा कार्यको सम्पूर्ण प्रबन्ध, सामान्य रूपले राजनीतिक ज्ञान आर्जनको क्षेत्रमा र साथसाथै विशेष रूपले कलाको क्षेत्रमा, त्यस वर्गसङ्घर्षको भावनाले ओतप्रोत हुनुपर्दछ, जुन सङ्घर्ष सर्वहारावर्गले आफ्नो अधिनायकवादको उद्देश्यपूर्तिका लागि चलाउँदैछ अर्थात् बुर्जुवावर्गको तख्ता उल्टाउनका लागि, वर्गहरूको उन्मूलन गर्नका लागि र मानवद्वारा मानवमाथि हुने सबै प्रकारका शोषणहरूको अन्त्य गर्नका लागि चलाउँदैछ ।
२. तसर्थ, सर्वहारावर्गले आफ्नो अग्रदल कम्युनिस्ट पार्टीको तर्फबाट र साथसाथै आम रूपले विभिन्न सर्वहारा सङ्गठनहरूको तर्फबाट सामूहिक रूपले सार्वजनिक शिक्षाको प्रत्येक कार्यमा बढीभन्दा बढी सक्रिय तथा प्रमुख भूमिका निभाउनु पर्छ ।
३. आधुनिक इतिहासको सम्पूर्ण अनुभव र विशेष गरेर ‘कम्युनिस्ट घोषणापत्र’ प्रकाशित भएदेखि विश्वराष्ट्रका सर्वहारावर्गको आधा शताब्दीभन्दा लामो इतिहासले आकाट्य रूपमा के कुरा प्रमाणित गरिसकेको छ भने मार्क्सवादी विश्वदृष्टिकोणले मात्र क्रान्तिकारी सर्वहारा वर्गको स्वार्थ, दृष्टिकोण एवम् संस्कृतिको उचित अभिव्यक्ति दिन सक्छ ।
४. मार्क्सवादले क्रान्तिकारी सर्वहारावर्गको विचारधाराको रूपमा विश्वव्यापी ऐतिहासिक मान्यता प्राप्त गर्न किन समर्थ भएको छ भने मार्क्सवादले पुँजीवादी युगका अमूल्य उपलब्धिको बहिष्कार गर्नुको सट्टा दुई हजार वर्षभन्दा लामो मानव विचारधारा र संस्कृतिको विकासको दौरानमा जे जति अमूल्य उपलब्धिहरू भए, ती सब कुरा स्वीकार गर्यो र यिनलाई परिस्कृत तुल्यायो । सर्वहारा अधिनायकवादको व्यावहारिक अनुभवद्धारा प्रेरित सबै प्रकारका शोषणविरुद्ध सर्वहारावर्गको अन्तिम सङ्घर्ष हुनेछ र यसै आधारमा, यसै दिशामा हुने भावी कार्यलाई मात्र वास्तविक सर्वहारा संस्कृतिको विकास मान्न सकिन्छ ।
५. आफ्नो विशेष संस्कृतिको सृर्जना गर्ने, आफ्नै विशेष सङ्गठनहरू भित्र गुम्सिएर बस्ने, सार्वजनिक शिक्षा जनकमिसारियाट र प्रोलेत्कुल्तका कार्यक्षेत्रको बिचमा सीमारेखा कोर्ने अथवा सार्वजनिक शिक्षा जनकमिसारियाटद्वारा सञ्चालित संस्थाहरू भित्र प्रोलेत्कुल्तको ‘स्वायत्तता’ स्थापना गर्ने जस्ता प्रयत्नलाई प्रोलेत्कुल्तको अखिल रसियाली महाधिवेशनले आफ्नो सैद्धान्तिक दृष्टिकोणले दृढतासाथ अनुसरण गर्दै सैद्धान्तिक रुपले गलत तथा व्यावहारिक दृष्टिकोणले हानिकारक ठान्छ र भर्तस्ना गर्दछ । यसको उल्टो महाधिवेशनले प्रोलेत्कुल्तका सबै संस्थाहरूलाई के निर्देशन दिन्छ भने उनीहरूले ठुलो कर्तव्यनिष्ठासहित सार्वजनिक शिक्षा जनकमिसारियाटद्वारा सञ्चालित संस्थाहरूको एक शृङ्खला अन्तर्गत आफै सहायक संस्थाहरूको रूपमा काम गरुन् र सोभियत सत्ता (विशेष रूपले सार्वजनिक शिक्षा जनकमिसारियाट) र रसियाली कम्युनिस्ट पार्टीको आम निर्देशनअनुसार आफ्नो कामलाई सर्वहारा अधिनायकवाद अन्तर्गत कार्यको एक भाग ठानेर पूरा गरुन् ।
अक्टोबर १९२०
(रूसी क्रान्तिका महानायक क. लेनिनको लेख ‘शिक्षामा मार्क्सवादी चिन्तन’बाट साभार गरी यहाँ प्रस्तुत गरिएको छ – सम्पादक ।)