नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, झण्डा, Flag, Communist Party of Nepal, CPN Maoist Centre,
 

नेपालमा विद्यमान सामन्तवादलाई ध्वस्त गर्नुका साथै साम्राज्यवाद र बिस्तारवादलाई पराजित गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादको महान् लक्ष्यसम्म पुग्ने महान् र ऐतिहासिक कार्यभार सहित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको यही वैशाख ९ गते ठिक ७० वर्ष पुग्दैछ । पार्टी स्थापनाको लगत्तै भएको २००७ सालको जनआन्दोलन, २०४६ सालको जनआन्दोलन, २०५२ सालबाट शुरु भएको महान् दश वर्षे जनयुद्ध र सोही जनयुद्धको जगमा उभिएको ऐतिहासिक दोस्रो जनआन्दोलनको परिणाम स्वरुप नेपालमा आफ्नै मौलिकतासहितको जनवादी क्रान्ति आधारभूत रुपमा सम्पन्न भएको छ ।

कम्युनिष्ट पार्टीहरुको नेतृत्व र आम जनताको सहभागिताको कारण एकातिर यो जनवादी क्रान्ति पश्चिमा मुलुहरुमा भएको पुँजीवादी (जनवादी) क्रान्ति भन्दा फरक छ भने नयाँ जनवादी क्रान्तिका सम्पूर्ण कार्यभारहरु पुरा हुन नसकेको र सम्पूर्ण सत्ता कब्जा गरी जनताको हातमा पूर्ण सत्ता प्राप्त नभएको कारण यो नयाँ जनवादी क्रान्तिभन्दा पनि पृथक छ । यसर्थ यो नेपाली मौलिकता सहितको छ ।

नयाँ जनवादी क्रान्तिको मुख्य कार्यभारको रुपमा रहेको कृषि क्रान्ति र भूमिसुधारको कार्यभार हालसम्म पनि पुरा हुन सकेको छैन । शिक्षा र स्वास्थ्य क्षेत्रको निजीकरणको अन्त्य र सांस्कृतिक क्षेत्रको जनवादीकरणका कार्यभारहरु पनि हासिल हुन सकेका छैनन् । तर यी सबै कार्यभारहरु अब समाजवादी क्रान्तिको रणनीति अन्तर्गत पुरा हुनेछन् ।

यतिबेला मुलुकमा जनताले आफ्नो रगत र पसिना सिँचेर बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान छ, जसले नेपाललाई समाजवादी मुलुक बनाउने मार्गनिर्देश गरेको छ । मुलुकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा दुई तिहाई बहुमतको स्थायी सरकार छ । सरकारसँग आवश्यक परेमा संविधानसमेत संशोधन गर्नसक्ने जनसमर्थन छ भने नयाँ संविधान अनुरुप नयाँ, जनपक्षीय र समाजवादको आधार निर्माण गर्ने गरी पुराना कानूनहरु खारेज गरेर नयाँ कानूनहरु बनाउन पाउने बिरलै प्राप्त हुने सुवर्ण अवसर प्राप्त छ ।

दुई वटा शक्तिशाली कम्युनिष्ट पार्टीहरु एकीकृत भएका छन् र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्माण भएको छ । नेकपा नेपालका सर्वहारा श्रमिक वर्गको पार्टी हो, नेपाली जनताको पार्टी हो । तसर्थ यसको नेतृत्वमा भएको वर्तमान सरकार जनताको सरकार हो । यसले जनपक्षीय कामहरु गर्नु पर्दछ ।

जनता सार्वभौम छन् र जनता धेरै चेतनशील छन् । जनताले सरकार र त्यसका सञ्चालकहरुको हरेक गतिविधि नियालिरहेका छन् । त्यसमाथि सामाजिक सञ्जालहरु र त्यसमा आधारित सूचना तथा पत्रकारिताको नयाँ परिस्थितिमा कुनै कुरा लुकाउन संभव छैन ।

यो सरकारको सफलतासँग नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य जोडिएको छ । यसले नेकपाले २००६ सालदेखि आजसम्म नेपाली जनताको पक्षमा उठाउँदै आएका एजेण्डाहरुलाई कार्यान्वयन गर्ने र जनताको बिचमा लगाउँदै आएका नाराहरुलाई मूर्तीकृत गर्ने समय आएको छ । यसलाई स्थायित्व नभएको, पर्याप्त बहुमत नपुगेको, काम गर्न नपाएको, संविधानले रोकेको, कानूनले छेकेको वा अरु कुनै पनि प्रकारका बहाना बनाउने र असफल हुने छुट छैन ।

तसर्थ तीनै तहका सरकार र निकायका जनप्रतिनिधिहरुले जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पुरा गर्दै समाजवादी क्रान्तिको आधारहरु निर्माण गर्ने काममा जुट्नु जरुरी छ । तिनले जनताको पक्षमा काम गर्न नसके, जनताका आकाङ्क्षाहरु र महान् शहीदहरुका सपनाहरुलाई साकार पार्न नसके नेपाली कम्युनिष्ट आन्दोलन धेरै लामो समयका लागि अँध्यारो गल्लिको यात्रा तय गर्नुपर्ने अवस्था आउनेछ ।

साम्राज्यवादीहरुले यतिबेला विभिन्न मोर्चाहरुबाट आक्रमण गरिरहेका छन् । सरकारभित्रै मन्त्रीहरुलाई झुक्काएर वा कर्मचारीतन्त्र, कुटनीतिक निकायहरु, अन्तर्राष्ट्रिय वित्तीय सञ्जालहरु र आफूले योजनाबद्ध रुपमा तयार गरेका दलाल बुद्धिजीवीहरु मार्फत गलत, जनविरोधी, नवउदारवादी र समाजवाद विरोधी नीतिहरु लागु गराउने र यो सरकार पनि विगतकै सरकारहरुको निरन्तरता भएको देखाउने प्रयत्नमा छन् । सञ्चार माध्यमहरुमार्फत असल काम लुकाउने, संभव भएसम्म सबै निर्णयहरुलाई विवादास्पद बनाउने र जनतालाई सरकार र नेकपाको विरुद्ध निरन्तर भ्रमित गर्ने अभियानमा छन् ।

तसर्थ वर्तमान सरकारले जनतालई परिवर्तनको आभास दिन सक्नु पर्छ । सुकुम्वासी, भूमिहीन तथा गरिब किसानहरु, कृषि मजदुरहरु, मजदुरहरु, दलित र पिछडिएका जनताको पक्षमा काम गर्न सक्नु पर्छ । शिक्षा र स्वास्थ्य क्षेत्रको निजीकरण र द्वैध शिक्षा तथा स्वास्थ्य प्रणालीको अन्त्य गर्नु पर्छ । संविधानमा उल्लेख भए अनुसारका वैज्ञानिक भूमिसुधार सम्पन्न गर्ने, खाद्य सम्प्रभुता हासिल गर्ने, कृषि क्षेत्रको समग्र विकास गर्दै कृषि क्रान्ति सम्पन्न गर्ने, राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, दलाल पुँजीलाई निरुत्साहित गर्ने,  उत्पादनमूलक पुँजीलाई बढावा दिँदै राष्ट्रिय पुँजीको विकास गर्ने, सरकारी र सार्वजनिक निगमहरु, संस्थानहरु तथा कम्पनीहरुलाई सुदृढ गर्दै राजकीय पुँजीको प्रबर्द्धन गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने र जनतालाई सबै क्षेत्रमा सुलभ र सहज तरिकाले सेवा र सुविधा प्रदान गर्नु पर्दछ । नेपाल र नेपाली जनताको सर्वोतोमुखी विकास गर्नुपर्छ ।

यस परिप्रेक्ष्यमा आँगनमा आइपुगेको नयाँ वर्ष २०७६ ले तीनै तहका सरकारहरुलाई जनताको पक्षमा उभिन र कार्य गर्न प्रेरित गरोस् र अध्यक्ष प्रचण्डले आफ्नो नयाँ वर्षको शुभकामना सन्देशमा उल्लेख गरेजस्तै समाजवादको आधार निर्माण गर्ने वर्ष बनोस् । जनताका हक, हित र अधिकारको रक्षा गर्दै ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारा यथार्थमा रुपान्तरण गर्ने कार्यको अनुभूति हुने गरी थालनी होस् ।

यही छ हाम्रो नववर्ष २०७६ को हार्दिक शुभकामना । यस सन्दर्भमा बामपन्थी पहिचान र सर्वहारा वर्गप्रतिको पक्षधरता कायम राख्दै आफ्नो तर्फबाट गर्नसक्ने सबै योगदान गर्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।

HAppy new year left review online