माओ, Maotsetung, Mao Zedong, mao tse tung, क. माओत्सेतुङ
 

प्रत्येक महान पुरुष आफ्नो युगको उपज हो, आफ्नो समयको महान आन्दोलन र इतिहासको उपज हो । इतिहासको अध्ययनबाट हामी कुन कुरा थाहा पाउँछौ भने साँच्चिकै महान आन्दोलन तथा महान परिवर्तनहरुसँग सम्बन्धित आन्दोलन र परिवर्तनको एक उपज र अभिन्न अंगको रुपमा आफ्नो भूमिका खेल्छन्‌ र आफ्नो तर्फबाट त्यसमा महत्त्वपूर्ण योगदान गर्छन् । यो कुरा क. माओत्सेतुङको सम्बन्धमा पनि साँचो रहेको छ ।

माओत्सेतुङ आफ्नो समयका महानतम मार्क्सवादी-लेनिनवादी हुनुहुन्थ्यो । अन्य ऐतिहासिक व्यक्तित्वहरुझैँ उहाँ पनि एक ऐतिहासिक उपज हुनुहुन्थ्यो । उहाँ आफू रहेको समयको त्यस्तो ऐतिहासिक अवधिको एक उपज तथा अभिन्न अङ्ग हुनुहुन्थ्यो, जुन अवधिमा विश्व ऐतिहासिक महत्त्वका केही घटनाहरु घटेका थिए ।

ती घटनाहरुमा प्रमुख हुनः चिनियाँ जनताको महान मुक्ति आन्दोलन, आधुनिक संशोधनवाद तथा सामाजिक साम्राज्यवादको विरुद्ध चलेको महान संघर्ष आदि । उहाँको सम्पूर्ण व्यक्तित्व तथा कार्यहरु उक्त घटनाहरुसित अभिन्न रुपमा गाँसिएका छन् र त्यसमा उहाँको व्यक्तित्व र कार्यको प्रभाव र छाप स्पष्ट रुपमा परेको छ । सच्चा सर्वहारा क्रान्तिकारीको हैसियतले ती घटनाहरुमा प्रमुख भूमिका खेल्ने सिलसिलामा उहाँले मानव मुक्तिको महान लक्ष्यमा र कम्युनिस्ट लक्ष्यमा ठूला योगदानहरु गर्नुभयो ।

माओत्सेतुङका योगदानहरु महान र महत्त्वपूर्ण छन् भन्ने कुरामा दुई मत पाइँदैन भन्न सकिन्छ किनभने उहाँको चिन्तन तरिका र कतिपय सैद्धान्तिक धारणालाई नमान्नेहरु समेत पनि उहाँका योगदानहरुलाई मान्छन् । तर योगदानको स्वरुपको सम्बन्धमा, योगदान कस्तो खालको र कुन स्तरको भन्ने सम्बन्धमा मुख्य रुपले दुई विपरित धारणा रहेको पाइन्छ ।

krishna das shrestha, marrxist writer, translator
लेखक

तिनमा एउटा धारणा अनुसार माओत्सेतुङले जे-जति योगदानहरु गर्नुभयो, ती राष्ट्रिय चरित्रका छन् र तिनले राष्ट्रिय अर्थात चिनियाँ सीमाभन्दा बाहिर केही महत्त्व राख्दैनन् । उक्त धारणाका समर्थकहरुमा एकथरी यस्ता छन्, जो माओत्सेतुङका विचारलाई त मान्छन् । तर त्यसलाई विशुद्ध राष्ट्रिय चीज, विशुद्ध चिनियाँ परिघटना भन्छन् । यस्तो धारणा मार्क्सवादलाई विशुद्ध जर्मन वा युरोपेली परिघटना भन्ने र लेनिनवादलाई विशुद्ध रुसी परिघटना भन्ने पहिले देखिएका धारणाहरुको पुनरावृत्ति मात्र हो भन्न सकिन्छ । उक्त्त धारणलाई मान्नेहरु माओत्सेतुङका काम तथा विचारको महान तथा महान चिनियाँ सीमाभित्र सीमित रहेको रुपमा लिन्छन् ।

यसको ठीक विपरीत अर्को धारणा छ जसले माओत्सेतुङलाई एक अन्तर्राष्ट्रिय व्यक्तित्वको रुपमा हेर्छ र कस्तो मान्यता राख्छ भने माओत्सेतुङका महान विचारहरु विशुद्ध राष्ट्रिय परिघटना होइनन्, तर साँगुरो र राष्ट्रिय सीमाभित्र मात्र महत्त्व राख्ने चीज होइन, बरु तत्कालीन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विकाससित घनिष्ट रुपले सम्बन्धित र त्यसमा आधारित अन्तर्राष्ट्रिय परिघटना हुन ।

अन्य मुलुकहरुमाझैँ हाम्रो मुलुकमा पनि माओत्सेतुङको देनलाई सानो पारेर देखाउने, त्यसलाई मामुली रुपमा प्रस्तुत गर्ने र विशुद्ध राष्ट्रिय महत्त्वको ठान्ने धारणा पाइन्छ । उक्त धारणा एकदमै अयथार्थवादी र गलत छ किनभने त्यसले माओत्सेतुङका देनहरुलाई उहाँका कार्य र विचारको महानतालाई व्यापक परिप्रेक्ष्यमा सम्पूर्ण अन्तर्राष्ट्रिय विकासको परिप्रेक्ष्यमा हेर्न सकेको छैन किनभने त्यसले त्यसलाई महान चिनियाँ जनक्रान्ति, आधुनिक संशोधनवाद विरोधी महान संघर्ष र महाशक्ति प्रभुत्ववाद विराधी संघर्षको विश्व ऐतिहासिक महत्त्वको परिप्रेक्ष्यमा हेर्न सकेको छैन । उक्त धारणाको पछिल्तिर कुन तथ्यप्रति अज्ञानता रहेको छ भन्ने प्रत्येक साँच्चिकै महान विचारमा अन्तर्राष्ट्रिय बन्ने स्वभाविक प्रवृत्ति रहेको हुन्छ ।

मेरो विचारमा, माओत्सेतुङबाट विश्व कम्युनिस्ट आन्दोलनमा गरिएका योगदानहरु बहुपक्षीय र बहुआयामिक छन् । यही दृष्टिकोणबाट संक्षिप्त रुपमा त्यसबाट चर्चा गरिएको छ ।

पहिलो कुरा के भने महान चिनियाँ जनक्रान्ति अर्थात बिसौँ शताव्दीमा महान अक्टोबर समाजवादी क्रान्तिपछिको अधिकतम् विशाल, व्यापक तथा शक्तिशाली प्रतिक्रियावाद विरोधी तथा साम्राज्यवाद विरोधी क्रान्तिका संगठनकर्ता तथा नेताको हैसियतबाट माओत्सेतुङले विश्व जनक्रान्ति र विश्व कम्युनिस्ट आन्दोलनप्रति महत्त्वपूर्ण योगदान गर्नुभयो ।

माओत्सेतुङ प्रमुख रहेको चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको चिनियाँ जनताको सामन्तवादविरोधी तथा साम्राज्यवादविराधी क्रान्तिको विजय बिसौँ शताव्दीमा भएका अक्टोबर समाजवादी क्रान्ति र फासिवादमाथि मानवजातिको विजयपछिको विश्ववयापी महत्त्वको तेस्रो घटना थियो । विश्व सर्वहारा क्रान्तिको अभिन्न अङ्ग रहेको उक्त विजयी क्रान्तिले विश्व साम्राज्यवादी व्यवस्थालाई निकै कमजोर पार्‍यो र जनवाद, समाजवाद र शक्तिको पक्षलाई अधिक शक्तिशाली तथा व्यापक बनायो । खास रुपमा उक्त विजयी क्रान्तिले औपनिवेशिक तथा अर्धऔपनिवेशिक मुलुकहरुका राष्ट्रिय मुक्ति आन्दोलनलाई ठूलो बल र प्रेरणा प्रदान गर्‍यो ।

जनवादी क्रान्तिका अभिभाराहरुलाई पूरा गरिसकेपछि १९५६ मा चीन समाजवादी क्रान्तिको युगमा प्रवेश गर्‍यो र त्यहाँ समाजवादी निर्माणको काम थालियो । विशाल जनसंख्या भएको उक्त मुलुकमा समाजवादी समाजको निर्माण गर्न थालिनु कम महत्त्वपूर्णको कुरा थिएन, बरु वास्तवमा त्यो एक महान विश्व ऐतिहासिक महत्त्वको घटना थियो ।

यसरी चीनमा नौलो जनवादी क्रान्तिको सम्पन्नता र त्यसपछि भएको समाजवादी क्रान्ति र समाजवादी निर्माण कार्यको थालनी हुनु निश्चय नै कम्युनिस्ट आन्दोलनकको ऐतिहासिक अग्रगतिमा अति महत्त्वपूर्ण पाइला थिए । तिनले उक्त आन्दोलनमा नयाँ अभिवृद्धि र विकासमा तिनको ठूलो योगदान रहेको छ ।

माथि उल्लेखित सम्पूर्ण क्रान्ति र निर्माणको कामसित माओत्सेतुङको नाउँ अभिन्न रुपमा गासिएको छ । उहाँ उक्त क्रान्तिका प्रमुख संगठनकर्ता तथा नेता र समाजवादी निर्माणका प्रमुख इन्जिनियर हुनुहुन्थ्यो । जनवरी १९३५ मा चिनियाँ कम्युनिस्ट पार्टीमा उहाँको नेतृत्व स्थापित भएपछि उहाँले चिनियाँ क्रान्तिलाई पूर्ण विजयसम्म बढाउनु भई त्यसलाई समाजवादी चरणमा लैजानुभयो । उहाँले मार्क्सवाद-लेनिनवादका आधारभूत सिद्धान्तहरुलाई अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनको क्रान्तिका विशिष्ट अवस्थाहरुमा बडो कुशल तथा सिर्जनात्मक ढंगबाट लागू गर्नुभयो ।

चिनियाँ जनक्रान्तिको विजय मार्क्सवाद-लेनिनवादको एउटा ठूलो ऐतिहासिक विजय पनि थियो । मार्क्सवाद अविकसित मुलुकहरुमा लागू हुन सक्दैन भन्ने त्यसताका प्रतिक्रियावादीहरुद्वारा व्यापक रुपमा प्रचारित फट्याँईलाई व्यावहारिक रुपमा देखाएर त्यसले मार्क्सवादको सर्वव्यापी लागू योग्यतालाई अकाट्य रुपमा सावित गरिदियो । कुन कुरा एकदमै सत्य सावित भयो भने मार्क्सवाद विकसित,अल्पविकसित सबै मुलुकमा र सवै परिस्थितिहरुमा लागू हुन सक्छ ।

उपरोक्त सारा कुरा विश्व कम्युनिस्ट आन्दोलनप्रति महत्त्वपूर्ण योगदान हुन् र त्यसमा माओत्सेतुङको प्रमुख भूमिका रहेको छ ।

दोस्रो कुरा के हो भने तत्कालीन सोभियत संशोधनवाद्वारा नेतृत्व गरिएको आधुनिक संशोधनवादको विरुद्ध मार्क्सवाद-लेनिनवादका क्रान्तिकारी शिक्षाहरुको रक्षकहरुको हैसियतबाट उहाँले विश्व कम्युनिस्ट आन्दोलनप्रति ठूलो योगदान गर्नुभयो ।

सन्‌ १९५३ मा स्टालिनको निधनपछि पूर्व सोभियत संघको कम्युनिस्ट पार्टीको नेतृत्व खुश्चेव र त्यसको गुटद्वारा हत्याइयो । उक्त नेतृत्व-डफ्फाले महान स्टालिनको नाउँ र कामहरुलाई बदनाम गर्न भगिरथ प्रयत्न गर्‍यो । खुश्चेवपन्थी नेतृत्व-डफ्फाद्वारा प्रतिनिधित्व गरिएको आधुनिक संशोधनवादले साम्राज्यवाद र प्रतिक्रियावादको हितमा मार्क्सवाद-लेनिनवादका शिक्षाहरुलाई संशोधन र तोडमोड गरे । ती संशोधनवादीहरुले क्रान्तिकारी वर्गसंघर्ष, समाजवादी क्रान्ति, सर्वहारावर्गको अधिनायकतन्त्र, युद्ध र शान्ति आदि सम्बन्धी मार्क्सवादी-लेनिनवादी सिद्धान्तहरुप्रति विश्वासघात गरेर कक्युनिस्ट आन्दोलनलाई संशोधनवादी बाटोमा लैजान खोजे । त्यसैले संशोधनवाद विश्व कम्युनिस्ट आन्दोलनका लागि निकै ठूलो खतरा बन्न गयो ।

विश्व कम्युनिस्ट आन्दोलन र विश्व जनताको मुक्ति आन्दोलनका लागि त्यो निकै संकटपूर्ण स्थिति थियो । विश्व कम्युनिस्टको आन्दोलन भित्र एकातिर मार्क्सवादी-लेनिनवादीहरु र अर्कोतिर आधुनिक संशोधनवादीहरुको माझमा ठूलो र भयानक संघर्ष चल्यो । यस संघर्षमा माओत्सेतुङ प्रधान रहेको चिनियाँ कम्युनिस्ट पार्टीले मार्क्सवाद-लेनिनवादका क्रान्तिकारी शिक्षाहरुको संरक्षणको पक्षमा अघिल्लो मोर्चामा रहेर प्रमुख भूमिका खेल्यो । त्यसताका आधुनिक संशोधनवादको विरुद्ध विश्वव्यापी रुपमा चलेको महान विवाद र संघर्षमा माओत्सेतुङले नेतृत्वकारी भूमिका खेल्नु भयो ।

उहाँले “व्यक्ति पूजा” को विरोधको आडमा गरिएको स्टालिनको निन्दालाई दुई रुपमा अस्वीकार गर्नुभयो र तत्कालीन सोभियत नेतृत्व डफ्फाद्वारा गरिएको विभिन्न खालका दबाब र धम्की सामु झुक्न ठाडो रुपमा इन्कार गर्दै चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका मार्क्सवादी-लेनिनवादीलाई संशोधनवाद विरोधी संघर्षमा नेतृत्व दिएर अगाडि बढाउनुभयो ।

उक्त कार्य विश्व कम्युनिस्ट आन्दोलनमा माओत्सेतुङको महत्त्वपूर्ण योगदान थियो ।

तेस्रो कुरा के भने महाशक्ति प्रभुत्ववादको विरुद्ध अन्तर्राष्ट्रिय संघर्षका महान राजनीतिज्ञको रुपमा पनि उहाँले विश्व कम्युनिस्ट आन्दोलन र विश्व क्रान्तिप्रति महान योगदान गर्नुभयो ।

पूर्व सोभियत संघ समाजवादीबाट सामाजिक-साम्राज्यवादी मुलुकमा, एक महाशक्तिमा फेरिएको र विश्व प्रभुत्वका लागि दुई महाशक्तिहरुमाझ होडबाजी चलेको तत्कालीन वस्तुसगत स्थितिको वैज्ञानिक विश्लेषणको आधारमा उहाँले तीन विश्वको सिद्धान्तको प्रतिपादन गर्नुभयो । सो सिद्धान्तलाई पहिलोपल्ट माओत्सेतुङले यसरी प्रस्तुत गर्नुभयो ।“मेरो विचारमा पहिलो विश्वमा संयुक्त राज्य अमेरिका र सोभियत संघ पर्छन् । दोस्रो विश्वमा जापान, युरोप र क्यानाडा पर्छन् । हामी तेस्रो विश्व हौँ । तेस्रो विश्वमा विशाल जनसंख्या छ । जापानलाई छाडेर एसिया तेस्रो विश्वमा पर्छ । सम्पूर्ण अफ्रिका तेस्रो विश्वमा पर्छ र लेटिन अमेरिका पनि यसमा नै पर्छ ।”

मार्क्सवाद-लेनिनवादको सर्वव्यापी सत्यलाई विश्व क्रान्तिको ठोस व्यवहारसित मिलाएर प्रतिपादन गरिएको सो सिद्धान्त त्यसको विकासमा एक महत्त्वपूर्ण योगदान रह्यो । उक्त सिद्धान्तले विश्व प्रभुत्ववादको विरुद्ध संघर्षलाई बढाउन र त्यसको विरुद्ध व्यापकतामा अन्तराष्ट्रिय संयुक्त मोर्चाको निर्माणका लागि सही निर्देशन र विश्व क्रान्तिकारी आन्दोलनका लागि आधारभूत रणनैतिक कार्यदिशा प्रदान गर्‍यो । यहाँ माओत्सेतुङ एक महान अन्तर्राष्ट्रिय रणनीतिज्ञको रुपमा देखिनुभयो ।

सर्वहारा अन्तर्राष्ट्रियवादलाई दृढ रुपमा समर्थन गर्दै माओत्सेतुङले युद्ध तथा आक्रमणका नीतिहरु, महाशक्ति तथा क्षेत्रीय प्रभुत्ववाद र ठूलो राष्ट्र अहंकारवादको दृढ रुपमा विरोध गर्नुभयो र चीनले अन्य देशहरुसितको सम्बन्धमा कहिल्यै पनि प्रभुत्व नखोज्ने कुराको घोषणा गर्नुभयो । विदेश मामिलाको सम्बन्धमा उहाँले एक पूरै क्रान्तिकारी कार्यदिशाको प्रतिपादन गर्नुभयो, र त्यो थियो विश्वका शोषित पीडित राष्ट्र तथा जनताहरुसितको एकतालाई जब्बर पार्न, प्रभुत्ववादी तथा बिस्तारवादी प्रयासहरुको विरोध गर्ने र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरुको दृढ रुपमा अनुसरण गर्ने कार्यदिशा उहाँले नयाँ अन्तराष्ट्रिय राजनैतिक तथा आर्थिक सम्बन्धका लागि नीतिहरुको प्रतिपादन गर्नमा पनि ठूलो योगदान गर्नुभयो ।

अन्तिम तर बढी महत्त्वपूर्ण कुरा के छ भने माओत्सेतुङ विचारधाराको रुपमा मार्क्सवाद-लेनिनवादको सैद्धान्तिक खाजानामा नयाँ विचार र प्रस्थापनाहरु थपी त्यसलाई अरु समृद्ध बनाएर माओत्सेतुङले विश्व कम्युनिस्ट आन्दोलनप्रति महत्त्वपूर्ण योगदान गर्नुभयो ।

जनताको क्रान्तिकारी आन्दोलनको विकासक्रममा देखा परेका व्यवहारिक समस्याहरुको समाधानमा मार्क्सवाद-लेनिनवादलाई लागू गर्ने सिलसिलामा र त्यसबाट प्राप्त अनुभवहरुको विचारको रुपमा माओत्सेतुङले धेरै नयाँ विचार तथा प्रस्थापनाहरु मार्क्सवादको भण्डारमा थप्नु भएको छ । उक्त विचार तथा प्रस्थापनाहरुको समष्टि रुपनै माओत्सेतुङ विचारधारा हो र तिनले मार्क्सवाद-लेनिनवादलाई विश्व विकास अनुरुप विकसित गरेका छन् । केही पक्षहरुमा उहाँले मार्क्सवादलाई निकै समृद्ध पार्नुभएको छ । यसका केही उदाहरणहरुलाई हामी हेरौँ ।

दार्शानिक क्षेत्रमा, माओत्सेतुङद्वारा लिखित “व्यवहारबारे”, “अन्तरविरोधबारे” र अन्य दार्शनिक लेखहरु निकै महत्त्वपूर्ण छन् र ती मार्क्सवादको दार्शनिक चिन्तनको क्षेत्रमा ठूला योगदान हुन् । “चीनको क्रान्तिकारी युद्धमा रणनैतिक समस्याहरु”, “दीर्घकालीन युद्धबारे”, “जापान विरोधी छापामार युद्धमा रणनैतिक समस्या” जस्ता उहाँका सैनिक कृतिहरुले मार्क्सवादको सैनिक सिद्धान्तको भण्डारालाई निकै समृद्ध र विकसित गरेका छन् ।

त्यस्तै नौलो जनवादी क्रान्तिका चालक शक्ति, अभिभारा, चरित्र नेतृत्व जस्ता महत्त्वपूर्ण सवालहरुबारे लेखिएका उहाँका कृतिहरु (उदाहरणार्थ, ‘नौलो जनवादबारे’) क्रान्तिसम्बन्धी मार्क्सवादी–लेनिनवादी सिद्धान्तको क्षेत्रमा ठूला योगदान हुन् । खास गरेर, चीनको जनक्रान्तिको अनुभवको निचोड निकालेर लेखिएका उहाँका कृतिहरुले उपनिवेशवाद विरोधी क्रान्तिसम्बन्धी मार्क्सवादी धारणालाई समृद्ध र फराकिलो पारेका हुन् ।

आफ्नो महत्त्वपूर्ण कृति ‘जनता बिचका अन्तरविरोधहरूको सही सञ्चालनबारे’मा उहाँले समाजमा हुने दुई प्रकारका अन्तरविरोध र तिनको समाधानका उपायहरुबारे जुन विचार प्रस्तुत गर्नुभयो, त्यो सााजिक अन्तरवरोधहरुको समाधान गर्ने सम्बन्धमा मार्क्सवादी सिद्धान्तको क्षेत्रमा एउटा ठूलो उपलब्धि रहेको छ ।

अन्य विभिन्न क्षेत्रहरुमा पनि, जस्तो कि पार्टी निर्माण, समाजवादी क्रान्ति र सामाजवादी निर्माण, विदेश सम्बन्ध आदिमा उहाँका सैद्धान्तिक योगदानहरु महत्त्वपूर्ण रहेका छन् ।

माओत्सेतुङका सैद्धान्तिक योगदानहरुबारे चर्चा गर्दा आधारभूत महत्त्वको एउटा कुरा के छ भने उहाँले मार्क्सवादी चिन्तन तरिकालाई निकै विकसित गर्नुभएको छ । सिद्धान्तलाई व्यवहारसित गाँस्ने सँधैगरी विद्यमान यथार्थताको आधारबाट अघि बढ्ने र तथ्यहरुबाट सत्य पत्ता लगाउने सिद्धान्तमा उहाँ निकै जोड दिनुहुन्थ्यो र त्यसलाई उहाँले समृद्ध पार्नु भएको छ । खास रुपले ‘तथ्यहरुबाट सत्य पत्ता लाउने’ सिद्धान्तलाई माओत्सेतुङ विचारधाराको सारतत्त्व मानिएको छ ।

माथि उल्लेखित विभिन्न क्षेत्रहरुमा माओत्सेतुङका सैद्धान्तिक योगदानहरु निकै महान् र महत्त्वपूर्ण छन् र ती योगदानहरु मार्क्सवादको सैद्धान्तिक भण्डारमा नयाँ विचार र स्थापनाहरुको रुपमा थपिएका उपलब्धि हुन् । हामी जसलाई माओत्सेतुङ विचारधारा भन्छौँ, त्यो उक्त थपिएका नयाँ विचार र प्रस्थापनाहरुको समष्टि हो । उक्त थप र विकासले मार्क्सवाद-लेनिनवादलाई समृद्ध र विकसित बनाएको छ ।

विश्व कम्युनिस्ट आन्दोलनको पक्षमा माओत्सेतुङबाट गरिएका जुन योगदानहरुबारे माथि चर्चा गरिएको छ, ती अवश्य पनि विशाल, महान र महत्त्वपूर्ण छन् । ती क्रान्तिका कुशल संगठनकर्ता, मार्क्सवादी विचारक तथा सिद्धान्तकार, महान रणनीतिज्ञ तथा कार्यनीतिज्ञ र महान सर्वहारा योद्धाको हैसियतबाट उहाँले गरेका योगदान हुन् ।

उहाँ सच्चा सर्वहारा क्रान्तिकारीको एक सर्वाेत्तम नमूना हुनुहुन्थ्यो र सिद्धान्त तथा व्यवहार बिचको एकता  कम्युनिस्ट आन्दोलनप्रति गरिएका उहाँका महान् योगदानहरुको फलस्वरुपनै उहाँ ठीक रुपले मार्क्स, एञ्जेल्स, लेनिन र स्टालिनको लाममा स्थापित हुनुभएको छ । उहाँको नाम विश्व श्रमजीवी जनगणले कहिल्यै बिर्सने छैनन् । उहाँका काम र विचारहरु प्रगतिशील मानवजातिका लागि निर्देशन र प्रेरणाको स्रोत बनेर सँधैभरि रहिरहने छन् ।

(लेखक वरिष्ठ बामपन्थी नेता तथा मार्क्सवादी चिन्तक हुनुहुन्छ ।)