काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो बैठक आजबाट काठमाडौँमा सुरू भएको छ ।
बैठकको उद्घाटन गर्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन मन्तव्यको रूपमा औपचारिक सम्बोधन गर्नु र अध्यक्षद्वयको तर्फबाट कार्यकारी अध्यक्ष प्रचण्डले प्रतिवेदन प्रस्तुत गर्दै बैठकलाई अगाडि बढाउनु हुनेछ ।
२०७५ जेठ ३ मा पार्टी एकता घोषणापछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बिचमा एकता भएपछि ४४१ सदस्यीय केन्द्रीय समिति बन्यो र प्रथम बैठक आयोजना गरी सबै केन्द्रीय सदस्यहरूलाई सपथ गराई बैठक सम्पन्न भयो । त्यसपछि एक वर्षभन्दा लामो समय बस्न नसकेको केन्द्रीय समितिको ऐतिहासिक दोस्रो बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा सुरू भएकाे हाे । नेकपाको विधान अनुसार ६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटीको बैठकमा झण्डै २१ महिनामा बस्न लागेको हो ।
नेकपाले बैठकका लागि हिजो बसेको पार्टी सचिवालयको बैठकले ७ एजेण्डासहित विभिन्न ९ बुँदे कार्यविधि तय गरेको छ । तिनै नौ बुँदे कार्यविधिका आधारमा ६ दिन केन्द्रीय कमिटी बैठक सञ्चालन हुने छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सहिदहरुप्रति श्रद्धाञ्जली, अध्यक्ष केपी ओलीले बैठकको उद्घाटन र मन्तव्य राख्ने, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने, महासचिव विष्णु पौडेलले साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने तथा सातवटै प्रदेशका अध्यक्षहरुले सांगठनिक रिर्पोट प्रस्तुत गर्ने एजेण्डा तय भएका छन् ।
यही बैठकले विधान संशोधन प्रस्ताव समेत अनुमोदन गर्नेछ । विधान संशोधन भएपछि नेता बामदेव गौतम उपाध्यक्ष बन्नुहुनेछ । उहाँलाई नेकपा सचिवालयले उपाध्यक्षमा प्रस्ताव गरेको थियो । यो बैठकले गत पुसमा सम्पन्न स्थायी कमिटी बैठक तथा विभिन्न समयमा पार्टी सचिवालयले गरेका निर्णयहरुको पनि अनमुमोदन गर्नेछ ।
त्यस्तै समसामयिक प्रस्तावहरु (अहिलेका तत्कालीन विषयहरु) र विविध विषय समेत केन्द्रीय कमिटी बैठकका कार्यसुची तय गरेको छ । अध्यक्षद्वयका तर्फबाट यसअघि स्थायी समितिमा पेश भएर सदस्यहरुले राखेको सुझावलाई समेत समेटेर तयार पारिएको राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी भएको बुझिएको छ । यसअघि अध्यक्षका तर्फबाट पेश भएको प्रतिवेदनमा एमसीसी, सरकारका काम कारवाही तथा पार्टीमा बढेको अराजकताको विषय समावेश गरिएको थियो ।
कार्यविधिको १ नम्बर बुँदामा बैठकसमक्ष कार्यसूची र कार्यविधि प्रस्तुत गरिनेछ । उक्त कार्यसूची र कार्यविधि पारित भएपछि सोहीअनुसार बैठक सञ्चालन गरिने उल्लेख छ । त्यस्तै, अध्यक्ष तथा महासचिवले प्रस्तुत गरेको राजनीतिक, साङ्गठानिक र विधान संशोधन प्रस्ताव उपर समूहगत रुपमा मात्रै छलफल गरिने नेकपाको कार्यविधिमा उल्लेख छ ।
छलफलका लागि वर्णानुक्रमअनुसार १५ वटा समूह बनाइने छ । ती प्रस्तावहरुमाथि माघ १६ गतेमात्र समूहगत रुपमा छलफल चलाइनेछ । त्यसैगरी माघ १७ र १८ गते समूहका नेताहरुले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्नुपर्नेछ । त्यसो गर्दा केन्द्रीय निकायका अध्यक्षहरुले १० मिनेटमा आफ्नो विचार राखिसक्नु पर्नेछ । प्रदेशका अध्यक्षहरुले आ–आफ्नो प्रदेशको रिपोर्ट बैठक समक्ष पेश गर्नेछन् । समूहगत रुपमा छलफलमा उठेका विषयहरुलाई माघ १९ गते निष्कर्षसहित प्रस्तुत गर्ने र दस्तावेजहरु पारित गर्ने कार्यविधिमा छ ।
त्यस्तै स्थायी कमिटी, सचिवालय र समसामयिक प्रस्तावहरुमा सोही दिन छलफल गरेर पारित गर्ने गरी कार्यविधि बनेको छ । बैठक हरेक दिन बिहान ११ बजे सुरु भएर ५ बजे सकिनेछ । तर माघ १७ गतेको बैठक भने दिउँसो १ बजेमात्रै सुरु हुनेछ ।
लामो समयपछि बस्न लागेको केन्द्रीय समिति बैठकलाई नेकपाका नेता कार्यकर्ताले महत्त्वका साथ हेरेका छन् ।