नेकपा, केन्द्रीय समिति, बैठक, Nepal Communist Party, NCP, Central Committee Meeting
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ऐतिहासिक निर्णयहरू गर्दै आइतबार समापन भएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बिचमा भएको ऐतिहासिक पार्टी एकतापश्चात केन्द्रीय समितिको पहिलो बैठक बसेर सपथ ग्रहण गराएको एक्काइस महिनापछि बसेको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकले अध्यक्षद्वयको तर्फबाट अधयक्ष  क. पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

बैठकमा पार्टी महासचिव क. विष्णु पौडेलले पेस गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । बैठकमा पार्टी एकता, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको आगामी योजना र कार्यक्रम एवं विधान संशोधन प्रस्तावमाथि समूहगत रुपमा छलफल भएको थियो । छलफलमा आएका विचारहरूलाई टोली नेताहरूले बैठकमा प्रस्तुत गर्नु भएको थियो ।

पूर्वनिर्धारित तालिका अनुसार लगातात ५ दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्दै नेकपाका नेता तथा वरिष्ठ सचिवालय सदस्य क. वामदेव गौतमलाई नेकपाको केन्द्रीय उपाध्यक्षमा चयन गरेको छ भने २०७७ चैतमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने प्रस्तावलाई पनि सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे देखिएको अन्यौलबारे पार्टीको एकमत बुझाइ बनाउन पार्टीका वरिष्ठ नेता क. झलनाथ खनालको नेतृत्वमा क. भीम रावल र क. प्रदीप ज्ञवाली सदस्य रहनुभएको ३ सदस्यीय सुझाव कार्यदलसमेत बनाएको छ। कार्यदललाई प्रतिवेदन बुझाउन १० दिनको म्याद दिइएको छ ।

पार्टी केन्द्रीय समितिको बैठकको समापन समारोहलाई सम्बोधन गर्दै पार्टीका अध्यक्षद्वय क. केपी शर्मा ओली र क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठक ऐतिहासिक भएको भन्दै आ–आफ्नो जिम्मेवारीमा सक्रिय हुन केन्द्रीय सदस्यहरुलाई निर्देशित गर्नुभएको थियो ।