काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष क. वामदेव गौतम नै मनोनित हुने बताउनुभएको छ । प्रेस सङ्गठन, चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा क. गौतमलाई सिफारिस गर्ने निर्णय गरेको विचार व्यक्त गर्नुभयो । पत्रकारहरूको प्रश्नको जवाफ दिँदै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको हो ।”
प्रधानमन्त्री ओलीले क. गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ भन्ने अर्को प्रश्नमा उहाँको जवाफ थियो– “म अहिले त्यतातिर जानै चाहन्नँ । मलाई विश्वास छ । उहाँले पार्टीको सचिवालय समितिको बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुन्छ भनेर म कल्पना पनि गर्न सक्दिन । कसैले पनि सक्दैनन् ।”
संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको सर्त भने गएको सचिवालय बैठकबाट हटेको अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी दिनुभयो ।
उपाध्यक्ष क. गौतम सिफारिसका लागि व्यावसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित हल्ला मात्र भएको भन्दै, “त्यो नियोजित, भ्रामक र कपोकलल्पित छ, त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु”, भन्नुभयो ।
अर्को प्रसंगमा उहाँले प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनित भएको प्रशस्त उदाहरण भएको बताउँदै मैले ल्याएर के-के गरे भन्ने तपाईंहरुलाई थाहा नै छ नि भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति र नेताहरूसँग भएको भेट सामान्य राजनीतिक प्रक्रिया भएको टिप्पणी गर्नुभयो ।