नयाँ दिल्ली, भारत । भारतमा रहेका नेपालीहरूको साझा संस्था प्रवासी नेपाली एकता मञ्च, भारतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन भारतमा रहेका प्रवासी नेपाली समुदायलाई अपील गरेको छ ।
आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंगठनको रूपमा रहेको प्रवासी नेपाली एकता मञ्च, भारतले एक प्रेस विज्ञप्ति जारी गर्दै छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस (कोभिड–१९)को त्रास दिन-प्रतिदिन बढ्दै गरेकोले संक्रमणबाट जोगिनका लागि सचेत रहन आग्रह गरेको हो ।
मञ्चका संयोजक क. लोकनाथ भण्डारी र सह-संयोजक क. ईश्वरी भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सङ्गठन प्रवासी नेपाली एकता मञ्च भारत, प्रवासी जनसमुदायहरू, नागरिकप्रति उत्तरदायी, समाजको संवाहकको रुपमा विम्बित भएकाले कोरोना भाइरसको सम्भावित असरलाई दृष्टिगत गर्दै यसबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि सचेत रहन र संगठनबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अत्यावश्यक काम बाहेक, भेला समारोहमा सहभागी नहुन र अनावश्यक यात्रा नगर्न अनुरोध गर्दछौँ।”
स्वदेशमा नेकपा नेतृत्वको नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन र स्थगन गर्न अनुरोध गरेको र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि स्वास्थ्य आपतकालको घोषणा गरेको अवस्थामा भआरत प्रवासमा समेत मञ्चले नेपाली समुदायको स्वास्थ्यप्रति सजग रहँदै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
जनवादी गणतन्त्र चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिलेसम्म ९० मुलुकमा फैलिइसकेको र यसबाट संक्रमित हुनेको संख्या ९४ हजार कटिसकेको अवस्थामा यसको त्रास संसारभर दिन प्रतिदिन बढेको विज्ञप्तिमा भनिएको छ ।
प्रेस विज्ञप्तिको पूर्ण पाठ
कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट जोगिन भारतमा रहेका प्रवासी नेपाली जनसमुदायहरूलाई अपील !!
छिमेकी रास्ट्र चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिलेसम्म ९० मुलुकमा फैलिइसकेको छ । यसबाट संक्रमित हुनेको संख्या ९४ हजार कटिसकेको छ ।
भाइरस (कोभिड–१९)को त्रास संसारभर दिन प्रतिदिन बढ्दो छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि स्वास्थ्य आपतकालको घोषणा गरेको सतर्कता अपनाउन समेत आग्रह गरिसकेको छ । नेपाल सरकारबाट कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन र स्थगन गर्न अनुरोध भएको हुँदा छिमेकी राष्ट्र भारतमा पनि कोरोना भाइरस (कोभिड–१९)को त्रास दिन प्रतिदिन बढ्दो छ ।
हाम्रो सङ्गठन प्रवासी नेपाली एकता मञ्च, भारत प्रवासी जनसमुदायहरू, नागरिकप्रति उत्तरदायी, समाजको संवाहकको रुपमा विम्बित हुने हुँदा यसको सम्भावित असरलाई दृष्टिगत गर्दै यसबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि आफ्नो तह र तप्काबाट आम मानिसमा सचेतना जागृत, रोकथामका लागि सबै पक्ष सचेत रहौँ राज्य र सङ्गठनबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ–आफ्ना कार्य्रकम, कार्य स्थगन गर्नुहुन सबैमा अनुरोध गर्दछौँ ।
क्रान्तिकारी अभिवादन सहित ।
दिनांक ६ मार्च २०२०
लोकनाथ भण्डारी
संयोजक
प्रवासी नेपाली एकता मञ्च, भारत
ईश्वरी भण्डारी
सहसंयोजक
प्रवासी नेपाली एकता मञ्च, भारत