काठमाडौँ । विश्वका शक्ति राष्ट्रहरूको समूह (जी-७) मा अमेरिकी प्रस्ताव एक्लो पर्नुका साथै असफल भएको छ ।
विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस नियन्त्रण सम्बन्धी रणनीति बनाउन बसेको सात शक्ति राष्ट्रहरूको समूह (जी ७) का विदेशमन्त्रीहरू बिच बुधबार सम्पन्न बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्ने प्रयास अमेरिकाका कारण असफल भएको छ भने सो असफलतासँगै अमेरिकी साम्राज्यवाद एक्लिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमा चीनलाई अपमान गर्ने उद्देश्यसहित कोरोना भाइरस (कोभिड-१९) को नाम ‘उहान भाइरस’ राख्ने प्रस्ताव गरेको थियो तर सो प्रस्तावमा कुनै पनि देश सहमत भएनन् र अमेरिका केवल एक्लिएको मात्रै नभएर विश्व राजनीतिक नराम्ररी रंगमञ्चमा नाङ्गिएको छ ।
विगतमा अन्यायपूर्ण युद्ध लगायतका सबै कार्यहरूमा चुपचाप साथ दिने भएकोले अमेरिकाले अन्य उत्पीडित राष्ट्रहरूजस्तै शक्तिराष्ट्रहरूलाई पनि आफ्ना पुच्छर (गुलाम) सम्झिने गरेको थियो तर यसपटक उसको त्यो भ्रम र दादागिरी दुवै तोडिएका छन् भने साम्राज्यवादी विश्वव्यवस्थाका अन्तरविरोधहरू सतहमा आएका छन् ।
अमेरिकी विदेश मन्त्रालयले तयार गरी जी ७ राष्ट्रका विदेशमन्त्रीसामु प्रस्तुत गरेको १२ अनुच्छेद लामो विज्ञप्तिको मस्यौदामा ‘उहान भाइरस’ शब्द राखिएको थियो भने समाजवादी चीनलाई कोरोना भाइरस फैलाएको भन्दै दोषारोपण गरिएको थयो ।
अमेरिकाको कल्पना बिपरित बाँकी सबै राष्ट्रहरूले त्यसलाई ठाडै अस्वीकार गरिदिए । अमेरिकाले अन्य देशका विदेश मन्त्रालयलाई मनाउन धेरै प्रयत्न गरेपनि कुनै पनि देश त्यसका लागि बिलकुल तयार भएनन् ।
विश्व स्वास्थ्य संगठनले यस रोगलाई कोभिड-१९ वा कोरोना भाइरस नामाकरण गरिसकेको छ । परन्तु कोरोना भाइरसको महामारी फैलिएदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेओ भने निरन्तर चीनमाथि खनिएका छन् । उनीहरुले चीनकै कारण भाइरस फैलिएको आरोप लगाइरहेका छन् ।
कोरोनाको महामारीका कारण भिडियोमार्फत गरिएको बैठकमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान र क्यानडा समावेश जी ७ राष्ट्रको अध्यक्षता गरेको अमेरिकाले प्रस्ताव गरेको संयुक्त विज्ञप्तिमा सहमति नभएपछि सदस्य राष्ट्रहरूले आफ्ना विदेशमन्त्रीमार्फत अलग-अलग विज्ञप्ति जारी गर्न बाध्य भए । यसबाट साम्राज्यवादी अन्तविरोधहरू बढ्दै गएको र त्यो असफलताको शिखर चढ्न थालेको विश्लेषकहरूको दावी रहेको छ ।