प्रचण्ड, puspa kamal dahal, chairman prachanda,
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग संवैधानिक परिषद्‌को बैठक स्थगित गर्न माग गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरूलाई अपिल गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनपश्चात स्वतसिद्ध अल्पमतमा परेको र आगामी संसद अधिवेशनबाट सरकारको नीति तथा कार्यक्रम र बजेट पास गर्न नसक्ने अवस्था आएपछि विश्वासको मत लिने नाममा वैशाख २७ गतेका लागि असंवैधानिक तरिकाले विशेष अधिवेशन आह्वान भइसकेको अवस्थामा सत्ताको दुरुपयोग गर्दै संवैधानिक निकायहरूमा आफू निकटका भ्रष्ट, चाटुकार र मतियारहरू नियुक्ति गर्ने बद्नियतका साथ संवैधानिक परिषद्‌को बैठक बोलाएको सन्दर्भमा त्यसको विरोध गर्दै अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै सो अपिल गर्नु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. प्रचण्डले विज्ञप्ति मार्फत “संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ,” बताउनुभएको छ ।

उहाँले लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गरेको समेत उल्लेख गर्नु भएको छ ।

बैठक स्थगित गर्न माग गर्दै अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरूसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।”

प्रेस वक्तव्यको पूर्णपाठः

संविधानको मर्म र भावना विपरीत संवैधानिक निकायहरूलाई निरङ्कुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ । यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ ।

प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरूसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।

२५ बैशाख, २०७८
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष