प्रचण्डले एउटै कम्युनिस्ट पार्टी बनाउन खोज्नुभयो र उहाँ असफल हुनु भो । सफल को भयो ? पार्टी फुटाउने ? प्रचण्डले राष्ट्रिय स्वाधीनताको पक्षमा अडान लिनुभयो र सरकार निर्माणमा असफल हुनुभयो । राष्ट्रलाई के क्षति पुग्यो ? प्रचण्डले संविधानका रक्षाका लागि प्रतिगमनका विरुद्ध आन्दोलनको नेतृत्व गर्नुभयो । बिग्रियो के ?
हो, गल्ति प्रचण्डकै हुन्छ किनकि सधैँ उहाँ राष्ट्रहितमा निरन्तर क्रियाशील हुनुहुन्छ । राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, गणतन्त्र, सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता, समानुपातिक निर्वाचन प्रणाली लगायत संविधानप्रदत्त मौलिक हकअधिकारको कार्यान्वयन गर्दै जनयुद्ध र जनआन्दोलनका उपलब्धिलाई रक्षा गर्दै समाजवादी राष्ट्र निर्माणको दिशामा अगाडि बढ्न पार्टीमा आइपरेका जस्तोसुकै संकटको सामना गरी पार्टी र आन्दोलनलाई नेतृत्व गर्दै अघि बढ्ने प्रचण्डचाँहि असफल । अनि, पार्टीभित्रका अन्तरसंघर्षबाट पार्टी नै फोरेर, पार्टी नै छोडेर हिँड्नेचाहिँ सफल ?
चौतर्फीरूपमा देशी विदेशी प्रतिक्रियावादीले जेमा टेकेर परिवर्तनको संवाहक अध्यक्ष कमरेड प्रचण्डमाथि निरन्तर आक्रमण गर्छन्, हामीले बुझ्नुपर्दछ कि हाम्रो नेतृत्व ठिक छ ।
हो, प्रचण्डका वास्तवमै धेरै कमजोरी छन् किनकि उहाँले धेरै प्रयोग गर्नुभएको छ । र, हामीले यी धेरै प्रयोगबाट ठुला पाठ पनि सिकेका छौँ । शान्ति प्रक्रियामा आएको १५ वर्षमा हामीले जे-जति परीक्षण गर्यौँ, यसबाट हामीले प्राप्त गरेको शिक्षालाई लागु गर्दै पार्टीलाई आफ्नो वर्गीय आधारमा अगाडि लैजाने गरी पार्टी विधान स्थायी समितिबाट पारित भइसकेको छ । पार्टी दस्तावेज त्यही स्प्रिटमा आउँदैछ ।
अत: आफ्नो नेतृत्व र नीतिको वरिपरि गोलबन्द भएर अघि बढ्न माओवादीबाट विभक्त भएका सबैले पनि सोच्नुपर्ने हो कि ? कम्युनिस्ट आन्दोलनकै एकताका लागि हात बढाएका प्रचण्डले त माओवादी आन्दोलनको एकताका लागि हात बढाउनु भएकै छ । अरुले पनि बढाउन पर्ने हो कि ?
अत : सबै आशावादी भएर अघि बढौँ । हाम्रो रणनीति समाजवादी नयाँ नेपाल हो । निरन्तर क्रान्ति हाम्रो सिद्धान्त हो ।
लालसलाम !!!
(लेखक नेकपा (माओवादी केन्द्र)का युवा नेता तथा वागमती प्रदेश सभा सदस्य हुनुहुन्छ ।)