नेतागण, अभिवादन !!
माओवादी आन्दोलनको एउटा कार्यकर्ता हुनुको नाताले केही जिज्ञासा राख्न चाहन्छु । जनयुद्धको सुरूवातदेखिको हालसम्म्को २५औँ वर्षसम्मको समीक्षासहित सँगसँगै छलफल गर्न सक्नुहुन्छ ?
१. तपाईंहरू छुट्टाछुट्टै र फरकफरक पार्टी भएर देश, जनता, परिवर्तन, पार्टी र स्वयं तपाईंहरूलाई फाइदा भएको छ ?
२. क. किरण चुनबाङ बैठकमा भारतमा बन्दी हुनुहुन्थ्यो तर संविधानसभाको निर्वाचन स्विकार्दै सभा सदस्य पनि बन्नुभयो । गत निर्वाचनमा निर्वाचनमा पनि सहभागी हुनुभयो । प्रचण्ड र तपाईंको पार्टीको तत्कालीन कार्यदिशामा कति फरक छ ?
३. क. विप्लवले पनि एकीकृत जनक्रान्तिको कार्यदिशा ल्याउनु भयो । जनयुद्धमा जानुभयो । आज सरकारसँग शान्तिपूर्ण तरिकाले अगाडि बढने सहमतिका साथ संगठन निर्माणमा हुनुहुन्छ । वैज्ञानिक समाजवादको व्यवस्था फेर्न जनमत सङ्ग्रहको माग गर्दै हुनुहुन्छ ? क्रान्तिको कुन चरण हो (जनमत संग्रहबाट) वैज्ञानिक समाजवादको स्थापना हुने ? संसदीय गणतन्त्र त खारेज गर्ने स्थितिमा छन् प्रतिक्रियावादीहरू । माओवादी छिन्नभिन्न हुने, एजेण्डा वैज्ञानिक समाजवाद ? प्रचण्डले वैज्ञानिक समाजवाद स्वीकार गरेका छैनन् र ?
४. संविधान घोषणापश्चात् पूर्ण संविधानको वकालत गर्दै हिँड्नुभएका डा. साब आज समाजवादको अभियानमा हुनुहुन्छ । ५ स र हिमाल, पहाड र मधेस जोड्ने अभियानमा हुनुभएको छ । कम्युनिस्ट पार्टीबाट आन्दोलन संभावना छैन भन्दै हिड्नुभएको डा. साहेबको कार्यदिशा पनि हेरियो ? खै त ? आज विदेशी प्रभुले पार्टी नै कब्जा गरिसक्यो । उहाँहरु चौतारीमा हुने स्थिति छ ? प्रचण्ड र तपाईंको नमिल्ने कहाँ हो ? कम्युनिस्ट आदर्शमै भिन्नता हो कि ? अन्य ? एकै स्थानमा बस्न नसकिने नै हो त ?
५. आजसम्म जनयुद्धको लिगेसी (विरासत) बोकेको मूलप्रवाहको पार्टी नेकपा (माओवादी केन्द्र) र मूल नेतृत्व क. प्रचण्ड नै हुन् । एउटै कम्युनिस्ट केन्द्र निर्माणको नेतृत्व गर्दागर्दै अन्तर्राष्ट्रिय शक्ति केन्द्रले क्षतविक्षत बनाएको छ । आधारमा ध्यान कम र उपरिसंरचनामा बढी भएको हो कि ?
जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको एजेण्डा वरिपरि र वर्गीय पक्षधरको हिसाबले किरण, विप्लव, मोहनविक्रम, बाबुराम, गोपाल किराँती, आहुती सबैलाई एकै स्थानमा राखेर बहस गर्ने र साझा धारणा निर्माण गर्न अब ढिला नगर्ने कि ?
एउटै धारणा निर्माण गर्न सकियो भने अन्य वामपन्थी शक्तिहरू स्वतः एकताको प्रस्ताव गर्दै आउँछन् । यसको गुरुत्वाकर्षण शक्तिले स्वतः तान्छ । प्रचण्ड कमरेडले बल धेरै गर्न पर्दैन ।आफ्नो आधारलाई संरक्षण गर्ने कि ?
६. आज जनयुद्धका उपलब्धिहरू मास्न विदेशी शक्ति केन्द्रहरू सबै शक्ति लगाइरहेका छन् तर विडम्बना जनयुद्धका नेता कार्यकर्ताहरू प्रचण्डको असफलतासँग मात्र जोडेर रमिते बनिरहेको देखिन्छ । उपलब्धि गुमेपछि प्रचण्ड मात्र होइन, सबैको पालो आउला कि ? ‘बुढी मरी भन्दा पनि काल पल्कियो’ भनेर सचेत बन्ने कि ?
७. समयमै सबै नेतृत्वगणले सोचौँ । २०६४ को जस्तै वेगवान् जनताको माओवादी संभावना किन छैन ?
(लेखक नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष हुनुहुन्छ ।)