काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोरोना महामारीले नेपालको सिंगो स्वास्थ्य प्रणाली परास्त भएकोले प्रवासी नेपालीहरूलाई एकजुट हुन र सक्दो सहयोग गर्न अपिल गरेको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष क. युवराज चौलागाईँले बिहीवार एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपाली दाजुभाइ-दिदीबहिनीहरूले स्वदेशमा बस्ने नेपाली दाजुभाइ-दिदीबहिनीको पक्षमा सोच्नुपर्ने बेला आएको भन्दै यो संकटपूर्ण घडीमा सबैलाई एकजुट हुन अपिल गर्नु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रवास समन्वय कमिटीद्वारा जारी गरिएको विज्ञप्तिको पूर्ण पाठः
कोरोना महामारी विरुद्ध एकजुट हुन अपिल
आदरणीय प्रवासी नेपाली साथीहरू,
कोरोना महामारीको दोस्रो संक्रमण-लहरले यतिबेला नेपाललाई नराम्ररी गाँजिरहेको छ । कोरोनाको यस आतंकले सामान्य स्वास्थ्य सेवा समेत दिन नसक्ने गरी अस्पतालहरू भरिभराउ भएका मात्र छैनन्, नेपालको सिंगो स्वास्थ्य प्रणाली नै परास्त भएको छ । राज्यले नागरिकहरूलाई यस्तो भीषण महामारीमा समेत संविधानप्रदत्त स्वास्थ्य सेवा प्रदान गर्न सकिरहेको छैन । सहरी क्षेत्रमा दैनिक संक्रमण तथा मृत्युदर बढिरहेको, स्वास्थ्यका आधारभूत पूर्वाधार नभएका गाउँ गाउँमा समेत संक्रमण फैलिरहेको र राज्यका तर्फबाट थप प्रभावकारी कदम संचालन नभइरहेको वर्तमान सन्दर्भमा विदेशमा बस्ने नेपालीहरूले स्वदेशमा बस्ने दाजुभाइ दिदीबहिनीहरूको पक्षमा सेच्नुपर्ने बेला आएको छ । सबै प्रवासी नेपाली श्रमिक संघसंगठनहरू लगायत सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यस्तो संकटपूर्ण घडीमा अक्सिजन, एम्बुलेन्स लगायतका अन्य प्रतिरोधी औषधि, उपकरण तथा सेवाका निमित्त आआफ्नो ठाउँबाट सहयोग प्रदान गर्न विनम्र अनुरोध गर्दछौँ । नेकपा (माओवादी केन्द्र) को प्रवास कमिटीले यस सम्बन्धी इच्छुक प्रवासी संघसंस्थाहरू मिलेर सक्दो सहयोगी कार्य गरिरहने जानकारी गराउँदछौँ ।
हार्दिक अभिवादन सहित ।
युवराज चौलागाईँ
अध्यक्ष