अश्रफ घानी, अफगानिस्तान, ashraf ghani, afghanistan
 

जनवरी ४, २००९ आइतबार काठमाडौं गौशाला बत्तीसपुतलीस्थित होटेल द्वारिकाज, समय दिनको १०ः०० बजे । हामी एउटा मिटिङमा आमन्त्रित थियौँ । आमन्त्रितमा म, दीपेन्द्रबहादुर क्षेत्री, लक्ष्मीप्रसाद देवकोटा र आमन्त्रण गर्ने चाहिँ नेपालस्थित विश्व बैंक कार्यालयको टिम राजेन्द्रध्वज जोशी, रोशन वज्राचार्य, राजीव उपाध्याय । अनि विशेष व्यक्ति अफगानिस्तानका पूर्व अर्थमन्त्री तत्कालीन विश्व बैंकका सल्लाहकार हाल विश्वभर चर्चित अफगानिस्तानका भगौडा राष्ट्रपति असरफ घानी । हाम्रो वार्ताको विषय थियो नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र नेपालको अर्थतन्त्र । न्युयोर्कस्थित विश्व प्रसिद्ध कोलम्बिया विश्वविद्यालयबाट पिएचडी गरेका, फरेन पलिसी म्याग्जिनले विश्वका १०० चिन्तकमा चयन गरिएका घानीले आफ्नो जीवनको प्राध्यापन, विश्व बैंक, संयुक्त राष्ट्रसंघ र अफगानिस्तान द्वन्द्वको लामो अनुभव एक घन्टा सुनाए । प्रसङ्गवस उनलेे आफू निकट भविष्यमा विश्व बैंक छाडेर अफगानिस्तानको राजनीतिमा सक्रिय हुने संकेत समेत गरे । अनि प्रश्न भए सोध्न आग्रह गरे ।

मैले उनलाई केही प्रश्नहरू सोधेँ । तपाईं केही पहिला संयुक्त राष्ट्रसंघ महासचिवको प्रत्यासी बन्नुभयो । वान कि मुनसँगको प्रतिस्पर्धामा चौथो हुनुभयो । अब त्यता संभावना नरहेकाले अफगानिस्तानको राजनीति रोज्न लाग्नुभएको होला । हुनत तपाईं सन २००२ मा हमिद कार्जाइको सरकारमा अर्थमन्त्री हुनुभएकै हो । जहाँसम्म राष्ट्रपतिका लागि अफगानिस्तानमा तपाईंको आधार कतिको बलियो छ, तपाईंलाई अनुभूति होला नै तर केही प्रश्नहरू सतह मै तैरिरहेका छन् । तपाईं अहिले ६० वर्षको हुनुभयो । जीवनका २५ वर्ष देशबाहिर अर्थात् अफगानिस्तान उथलपुथलको बेला सन् १९७९ सोभियत सामाजिक साम्राज्यवादको आक्रमणको बेला, सन १९९६-२००१ तालिवान शासन र अफगानिस्तान गृहयुद्धको बेला तपाईंको त्यहाँ उपस्थिति थिएन । अफगानिस्तानका जनताले यस विषयमा प्रत्यक्षीकरण त गरेका होलान् नि ?

भरत पोखरेल, bharat pokharel, economist, tu, professor, भरत पोखरेल
लेखक

मिटिङको सुरुमै हामीले एकेक कप कफी खाइसकेका थियौँ । घानीले जुरुक्क उठेर नजिकै रहेको कफी भाँडोबाट दुई कप कफी बनाई दुई हातमा बोकेर ल्याए । एउटा मेरो अगाडि अनि अर्को आफ्नो अगाडि राखेर आधी घन्टा मेरा प्रश्नहरूको जवाफमा खर्चिए । थप आधी घन्टा हामी नेपालको विषयमा केन्द्रित भयौँ । दुई घन्टामा हाम्रो मिटिङ सकियो । अरु टोली लाइनमा थिए । घानी सन् २००९ मा अफगानिस्तानको राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धामा कुल मतको ४ प्रतिशत मात्र ल्याएर चौथो स्थानमा सीमित भए । समय र सहयोगीहरू (साम्राज्यवादी) ले उनलाई साथ दिए । घानी सन् २०१४ र २०१९ दुईपटक अफगानिस्तानको राष्ट्रपति निर्वाचित भए ।

सन २००१ देखि हमिद कार्जाइ र असरफ घानी सरकारलाई सघाइरहेको अमेरिकी सेना फिर्ता सुरु हुनासाथ अफगानिस्तान तालिवानको कब्जामा गयो । तालिवानका एक प्रवक्ता मोहम्मद नइमले अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरे । अगस्त १५, २०२१ मा फेसबुकमार्फत रक्तपात नचाहेको एउटा स्टाटस लेखेर श्रीमती रुला घानी र केही सहयोगीसाथ घानी अज्ञात अफवाह स्थलहरू ताजकिस्तान, उज्वेकिस्तान, ओमनतिर उडिरहेका छन् । अमेरिका अफगानिस्तानमा यो अवस्थाको दोष घानीलाई दिइरहेको छ भने अफगानीहरू पनि घानीलाई नै दोषी मानिरहेका छन् । रक्षामन्त्री बिस्मिल्लाह खान मोहमदीले त घानीले आफूहरूलाई पाता कसेर देश बेचेको आरोपसम्म लाएका छन् ।

अफगान युद्धमा २.२६ ट्रिलियन अमेरिकी डलर खर्च भएको अनुमान छ । ६०,००० तालिवानहरूले थोरै फौजी तालिम, कुनै पनि राष्ट्रको विना सहयोग, न एयरफोर्स, न नाटोको बिलियन डलर सहयोग, न युद्धको आधुनिक प्रविधिले यो युद्ध कसरी जिते ? तालिवानले कालासनिकोभ राइफल, घरेलु ग्रिनेट, टोयोटा पिकपले अमेरिकी हार्डवेयर ड्रोन र युद्धक हेलिकप्टरलाई कसरी हराए ? अफगानी ३ लाख सेनाहरू कतै देखिएनन् । जो बाइडेनका सल्लाहकारहरू अमेरिकी पैसा अब कान्धारमा होइन, कन्सासमा खर्च गर्न उपदेश दिइरहेका छन् । अफगानिस्तान फेरि बर्बर युगमा जाने भो । बस र रेलमा मानिसहरूको लस्कर देखेको विश्वले हाल अफगानिस्तानको काबुल विमानस्थलमा जे देख्यो नयाँ देख्यो । विश्लेषकहरू भन्छन् – सन १९९६-२००१ को बर्बर तालिवानले दोहा, तेहरान, मस्को, तियानजिन वार्तामा परिपक्वता प्रदर्शन गरेको छ । तालिवानी नेता मुल्लाह बरादर भन्छन् – हामीले सरकार चलाउनेबारे अहिले नै अडकलवाजी गर्नु चाँडो हुनेछ । भविष्य अफगानी जनताको आकाङ्क्षामा आधारित हुनेछ । हेरौँ उत्तर समयले दिने नै छ ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)