अमेरिकी राष्ट्रपति जो बिदेनले सीबीएसमा आइतबार प्रकाशित वार्तांशमा उनको प्रशासन चीनसँग “कठोर प्रतिस्पर्धा” गर्न तयार रहेको कुरा बताए । “मैले यो ट्रम्पको बाटोबाट गर्न गइरहेको छैन । हामी सडकका अन्तर्राष्ट्रिय नियमहरूमा ध्यानकेन्द्रित गर्न जाँदैछौँ”, बिदेनले भने ।
बिदेनको यो भनाइ वास्तवमा थुप्रै चिनियाँ विज्ञहरूको अनुमान मुताबिक नै आएको छ । बिहिबार आफ्नो पहिलो विदेश नीति सम्बन्धी सम्बोधनमा बिदेनले चीनलाई अमेरिकाको “सबैभन्दा गम्भीर प्रतिस्पर्धी”को रूपमा ब्याख्या गरे र चीनसँग मानव अधिकार, बौद्धिक सम्पत्ति तथा आर्थिक नीतिहरूलगायतका विभिन्न मोर्चामा भिड्न निर्देशित गरे ।
चीन-अमेरिका प्रतिस्पर्धा एउटा यथार्थ विषय हो । अमेरिकाले चीनलाई एउटा प्रतिस्पर्धीको रूपमा लिन्छ र चीनले पनि व्यवहारिकरूपमा सचेततापूर्वक अमेरिकालाई प्रतिस्पर्धीको रूपमा नै लिन्छ । तर चीन अमेरिकासँग विश्वको प्रथम स्थान अथवा प्रभुत्त्वका लागि प्रतिस्पर्धा गर्न चाहँदैन । चीन उसको आफ्नै विकास र राष्ट्रिय पुनर्जागरणको अधिकार चाहन्छ ।
चीनले अमेरिकाबाट “कठोर प्रतिस्पर्धा”को सामना गर्नुपर्ने बिदेनको टिप्पणीले अमेरिका संकटबारे सचेत रहेको खुलासा भएको छ । चीनले जुन द्रुत गतिमा जति राम्ररी विकास गरिरहेकोले, विशेषतः कोभिड-१९ महामारी सुरूभए यताको समयमा, यसले अमेरिकी संकटको चिन्ता बढाएको छ । महामारी विरुद्धको चिनियाँ सफलताले सम्पूर्ण विश्वको ध्यान आकृष्ट गरेको छ । त्यसैले यतिबेला कैयौँ पश्चिमीहरूले विकास वा शासन व्यवस्थाको मोडेलमा समेत प्रतिस्पर्धा हुनसक्नेमा चिन्तित छन् ।
हामीले स्वीकार गरेपनि, नगरेपनि, चीन र अमेरिकाको बिचमा “कठोर प्रतिस्पर्धा” छ, तर प्रश्न के हो भने यो प्रतिस्पर्धा स्वस्थ हुन्छ कि हुँदैन । बिदेनको टिप्पणीले यो प्रतिस्पर्धा द्वन्द्वको विन्दुसम्म विकसित हुँदैन भन्ने संकेत गरेको छ । सामान्यतयाः यो एउटा सकारात्मक सन्देश हो । अमेरिकी राष्ट्रपतिको रूपमा, बिदेनलाई यो विश्वास छ कि चीन र अमेरिकाको बिचमा द्वन्द्वको आवश्यकता छैन, किनभने द्वन्द्व अमेरिकाको हितमा छैन । दुवै पक्षले प्रतिस्पर्धालाई वास्तवमै व्यवस्थापन गर्न सक्दछन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग वार्ता गर्ने योजनाबारे बिदेनले भने, ” हामीले अहिलेसम्म उहाँसँग वार्ता गर्ने अवसर पाएका छैनौँ, उहाँसँग कुराकानी नगर्नुपर्ने कुनै कारण छैन ।” बिदेन प्रशासनले चीनसँगको सम्बन्ध रणनैतिक धैर्यताका साथ अघि बढाउन खोजिरहेको छ । पहिलो कुरा, बिदेनले आन्तरिक मामिलाहरूलाई प्राथमिकतामा राख्नु पर्नेछ । अर्को कुरा, उनले आफ्ना सहयोगीहरू तथा साझेदारहरूसँग समन्वयको आधारमा संयुक्त धारणासहित चीनसँग वार्ता गर्न खोजेको देखिन्छ । साथै, बिदेन प्रशासनलाई दुई देश बिचका भिन्नता र अन्तरविरोधहरूलाई समाधान गर्न धैर्यताको खाँचो पनि छ ।
निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन-अमेरिकी सम्बन्धलाई सन् १९७९ पछिको सबैभन्दा तल्लो तहमा पुराइदिए । उनले कार्यालय (राष्ट्रपति भवन) छोडौ पनि उनको विरासतले अझै अमेरिकालाई तर्साइरहेको छ । चीनसँग कठोर हुँदै उनले अमेरिकाभित्र केही राजनीतिक सहमति बनाएका थिए ।
त्यसैको प्रतिफलस्वरूप रिपब्लिकनहरूले बिदेनलाई चीनसँग नरम भएको आरोप लगाइरहेको भए पनि डेमोक्य्राटहरूसँग चीनसँग कठोर नहुने आधारभूत रूपले भिन्न अडान छैन ।
यी सबै पक्षहरूलाई ध्यानमा राखेर नै बिदेनले राष्ट्रपति सीलाई फोन गर्न हतार नगरेका हुन् । यदि राम्रो वातावरण नबनाई टेलिफोनवार्ता भयो भने त्यसको अर्थ रहँदैन । तर जब उचित समय आउनेछ, अथवा अमेरिकालाई वार्ताको आवश्यकता पर्छ, बिदेनले संभवतः फोनको घण्टी बजाउनेछन् ।
सही समय निर्माण गर्नका लागि अमेरिकाले शुभेच्छा र सुविश्वास प्रदर्शन गर्दै पारस्परिक सम्मानको महसुस गराउन सक्नुपर्छ । चीन-अमेरिका सम्बन्धलाई हालको तनावबाट बाहिर ल्याउन वाशिङटनले गर्नुपर्ने धेरै कार्यहरू छन् ।
दुर्भाग्यवशः यतिबेला अमेरिकामा चीन विरूद्ध कठोर धारणा भएकाहरूको हात माथि छ । बिदेनले आफ्नो कार्यकालको पहिलो छ महिना चीन-अमेरिका सम्बन्धमा कुनै उल्लेख्य सुधार नगर्ने अमेरिकी विज्ञहरूको अनुमान छ । चीन यसका लागि तयार रहनुपर्छ ।
यो अवधिमा चीनले आफ्नै कुराहरू राम्रो बनाउन ध्यान दिनुपर्छ । चीनले सुधार र खुलापनलाई निरन्तरता दिँदै आन्तरिक विषयहरूलाई राम्ररी व्यवस्थापन गर्नुपर्छ । चीनले चौधौँ पञ्चवर्षीय योजना (२०२१-२५) लागु गरेको र यो वर्ष चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सतवार्षिकी मनाउने भएकोले, चीन अझ धेरै खुला र समावेशी हुनुपर्छ र बेल्ट एण्ड रोड अभियानलाई महत्त्वपूर्ण देशहरूसँग थप अघि बढाउनुपर्छ ।
चीन-अमेरिका सम्बन्धलाई आकार दिन चीनले नै अग्रसरता लिनुपर्छ । यदि द्विपक्षीय सम्बन्धले थप प्रगति हासिल गर्न असफल भएमा, संभवतः चीनले बहुपक्षीय मोर्चामा छलाङ मार्न सक्छ । आज चीन र अमेरिकाको राष्ट्रिय शक्तिमा रहेको भिन्नता साँघुरिएकोले चीन-अमेरिका सम्बन्धलाई आकार दिने चीनको क्षमता पहिले भन्दा अहिले बढी छ र चीनसँग अमेरिकाले दिने दबाबहरू व्यवस्थापन गर्ने अझ धेरै तरिकाहरू छन् ।
(लेखक चाइनीज एकेडेमी अफ सोसल साइन्सको इनिस्ट्च्युट अफ अमेरिकन स्टडिजका सिनियर फेलो तथा उपनिर्देशक हुनुहुन्छ ।)
(स्रोतः ग्लोबल टाइम्स । अनुवादः नहेन्द्र खड्का ।)