Soviet Union, USSR, Russia, Map, सोभियत संघ
 

गृष्मयामको क्रिमिया यसै पनि मनमोहक थियो । मिखाइल गोर्वाचेभ क्रिमियामा विदा मनाइरहेका थिए । सन् १९९१ अगस्ट १९ को बिहान सबेरै चार बजे उनको निवास अगाडि सेनाको टुकडी पुग्यो । तत्कालीन सोभियत संघका राष्ट्रपति, कम्युनिस्ट पार्टीका प्रमुख गोर्वाचेभ निद्राबाट नबिउँझिँदै नजरबन्दमा परिसकेका थिए । उपराष्ट्रपति गेन्नाडी यानायेवको नेतृत्वमा रहेको प्रधानमन्त्री पाव्लोभसहित आठ जनाको आपातकाल समितिले झिसमिसेमा गोर्वाचेभलाई पदबाट राजीनामा दिन आग्रह गर्‍यो । मिखाइल गोर्वाचेभले त्यो प्रस्ताव अस्वीकार गरे । आफ्नो देशका राष्ट्रपति बन्दी बनाइएको खबर देशबासीले तत्काल थाहा पाएनन्‌ । सम्पूर्ण स्वदेशी सञ्चारमाध्यम बन्द गरिएका थिए । तर मस्कोस्थित विदेशी सञ्चारमाध्यम खुलै रहेको हुँदा बिबिसी र सिएनएनले गर्वाचोभविरुद्ध ‘कू’ भएको समाचार संसारभरी फैलाइरहेका थिए ।

अगस्ट २०, १९९१ का दिन सोभियत संघका गणराज्यहरुलाई थप अधिकार दिने सम्झौता हुँदै थियो । त्यो सम्झौता रोक्न उपराष्ट्रपति गेन्नाडी यनायेवलगायतका नेताहरुको नजरमा राष्ट्रपति मिखाइल गोर्वाचेभलाई अपदस्थ गर्न अनिवार्य थियो । गोर्वाचेभ सन् १९८५ मा सत्तामा आएपछि सुधारका कार्यक्रमहरु अघि बढाए । सन् १९८८ मा गोर्वाचेभद्वारा ल्याइएका ग्लास्नोस्त (खुलापन) र पेरेस्त्रोइका (पुनर्निर्माण) नामक सुधारवादी कार्यक्रमले ठूलो चर्चा पाए । स्वदेशी तथा विदेशी लगानीकर्ताले सोभियत संघमा निजी व्यवसाय चलाउन पाए । सञ्चार माध्यमहरु खुला गरिए । धार्मिक समूहहरु खुला भए । चुनावमा कम्युनिस्ट पार्टीबाहेक अन्य पार्टी र स्वतन्त्र व्यक्तिले पनि उम्मेदवारी दिन पाउने भए । ग्लास्नोस्त र पेरेस्त्रोइका लागू भएपछि अमेरिकासँग सोभियत संघको सम्बन्धमा दुरि कम भयो । देशभित्र आर्थिक विभाजन देखा पर्‍यो । विदेशी कर्जा बढ्यो । राज्यद्वारा प्रदान गरिँदै आएका सेवाहरु कटौती भए । आम साधारण नागरिकमा निराशा छायो । मस्कोलगायतका सहरहरुमा कम्युनिस्ट पार्टीप्रति नागरिकहरुले अरुची प्रकट गर्न सुरु गरे। यी सबै घटनाक्रमबाट चिन्तित कम्युनिस्ट नेताहरु गोर्वाचेभको सुधारवादी बाटोलाई रोक्न चाहन्थे । अगस्ट १८, १९९१ का दिन आठ सदस्यीय आपातकाल‌ समितिको बैठक बस्यो । बैठकले राष्ट्रपति गोर्वाचेभलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गर्‍यो ।

chhabi subedi, dailekh, छवी सुवेदी
लेखक

सोभियत संघको रुसी गणराज्यमा त्यतिबेला बोरिस यल्त्सिन प्रमुख थिए । उनले सन् १९९० मा कम्युनिस्ट पार्टी छाडिसकेका थिए । यल्त्सिनले स्वतन्त्र उम्मेद्‌वार भएर चुनाव जितेका थिए । उनी बहुदलीय व्यवस्था र आर्थिक सुधारको पक्षपाती थिए । उनलाई गोर्वाचेभको सुधार कार्यक्रम अल्छिलाग्दो पट्यारिलो लागेको थियो । उनले चर्को स्वरमा रुसी राष्ट्रवादको वकालत गर्दथे । यल्त्सिनको राष्ट्रवादको नाराले रुसी युवाहरुलाई लठ्याएको थियो । अगस्ट महिनामा राष्ट्रपति गोर्वाचेभलाई अपदस्थ गर्ने आपातकाल समितिको कदमका विरुद्ध बोरिस यल्त्सिन खरो ढङ्गले उभिए । मस्कोमा कर्फ्यु थियो । कर्फ्यु उल्लंघन गर्दै यल्त्सिन सडकमा निस्किए । गोर्वाचेभको पक्षमा चर्को भाषण गरे।

आपातकाल समितिको सत्ता धेरै दिन टिक्न सकेन । अगस्ट २१ का दिन साँझ गोर्वाचेभ मस्को आए र पुनः सत्ता सम्हाले । अपातकाल समितिका आठजनामध्ये केहीले आत्महत्या गरे । यो घटनापश्चात मिखाइल गोर्वाचेभको पद जोगिए पनि शक्ति कमजोर भयो । सोभियत संघको विघटनका पक्षधर बोरिस यल्त्सिन शक्तिशाली भए । अगस्ट २३ को एक बैठकमा यल्त्सिनले गोर्वाचेभलाई पार्टीमा धोकेवाजहरुलाई नेतृत्वमा पुर्‍याएको भन्दै झपारे । अगस्ट २४ का दिन मिखाइल गोर्वाचेभले कम्युनिस्ट पार्टीको महासचिव पदबाट राजीनामा दिए । आफ्ना विरुद्ध चालिएको कदमका विषयमा सचिवालय, पोलिट्व्युरो र केन्द्रीय समितिले केही नबोलेकोमा उनी दुःखी थिए । गोर्वाचेभले सोही दिन एक वक्तव्य निकालेर कम्युनिस्ट पार्टीको सचिवालय, पोलिट्व्युरो र केन्द्रीय समिति विघटन गर्न तथा स्थानीय कमिटीहरुलाई के गर्ने भन्ने निर्णय आफै गर्न छुट दिन आग्रह गरे । त्यतिका वर्ष काम गरेको पार्टी परित्याग गर्न मात्र होइन, पार्टी नै भङ्ग गर्ने कुरा गर्न गोर्वाचोभलाई कुनै अप्ठ्यारो लागेन ।

मिखाइल गोर्वाचेभले छाडेको कम्युनिस्ट पार्टीले नेतृत्व पाउन सकेन । झन्डै दुई करोड सदस्य भएको कम्युनिस्ट पार्टी बुढो रुखझैँ ढल्न लाग्दा पनि सोभियत संघ चुपचाप थियो । विभिन्न गणराज्यहरु स्वतन्त्र भएको घोषणा गरिरहेका थिए । अगस्ट २९, १९९१ का दिन सोभियत संघभरी कम्युनिस्ट पार्टी अनिश्चितकालसम्मका लागि प्रतिबन्धित भयो । नोभेम्बर ६ का दिन बोरिस यल्त्सिनले रुसी गणराज्यमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाए ।

कम्युनिस्ट पार्टी छाडेको चार महिनापछि गोर्वाचेभले डिसेम्बर २५, १९९१ को साँझमा क्रेमलिन छाडे । त्यहाँ लहराइरहेको हँसिया हथौडा झण्डा झुकाइयो । डिसेम्बर २६ देखि क्रेमलिनमा हँसिया हथौडा अङ्कित झण्डा देखा परेन । संयोग भन्नुपर्छ, त्यो दिन माओत्सेतुङको ९८औँ जन्मदिन परेको थियो ।

३१ डिसेम्बरका दिन औपचारिक रुपमा सोभियत संघ विघटन भयो । हिटलरको क्रुर नाजीवादलाई धुलो चटाउने सोभियत सत्ता र कम्युनिस्ट पार्टी ढल्नु आफैमा दु:खद घटना थियो । तर यो अचानक ढलेको भने होइन । कम्युनिस्ट जीवनको थोरै मात्र चिम्टी बचेको हुँदो हो त कम्युनिस्ट पार्टी एकाध नेताको पतनसँगै विघटित हुने थिएन ।

सोभियत संघको पतनपश्चात शीतयुद्धको अन्त्य भयो । अमेरिका एकल विश्व महाशक्ति बन्यो । अमेरिका सोभियत संघको कम्युनिस्ट पार्टीको विभाजन होइन, विघटन चाहन्थ्यो ।

सन् १९९० को जुलाईमा सम्पन्न सोभियत कम्युनिस्ट पार्टीको २८औँ महाधिवेशनमा मिखाइल गोर्वाचेभको तीव्र आलोचना भए पनि उनी नै निर्वाचित भए । पार्टी सङ्गठनमा उनले प्रजातान्त्रिक समाजवादका समर्थकहरुलाई नियुक्त गरेका थिए । उनैले नियुक्त गरेका नेताहरुले सन् १९९० को डिसेम्बरमा गोर्वाचेभलाई अपदस्थ गर्ने योजना तयार पारेका थिए ।

यी सबै घटनाक्रमबाट मस्कोस्थित अमेरिकी दूतावास राम्रोसँग परिचित थियो । पार्टीका विभिन्न तहहरु नोकरशाही संरचनालेझैँ औपचारिक निर्णय मात्र गर्दथे । पार्टी जीवन कागजी बनेको थियो। संशोधनवादको खियाले पार्टीको कलपुर्जालाई खाइसकेको थियो । मिखाइल गोर्वाचेभका विरुद्ध विद्रोह गर्नेहरुले पार्टीभित्र छलफल चलाउने, गलत प्रवृतिको पहिचान गर्ने जस्ता गतिविधि गर्न नसक्नुको पछाडि यस्तै कारणहरु रहेका थिए । विद्रोहीहरुमा कम्युनिस्ट चेतनाको राँको बलेकै हुँदो हो त उनीहरु विद्रोह असफल भएपछि आत्महत्या गर्ने जस्तो निकृष्ट हर्कत गर्दैन्थे ।

सोभियत संघको विघटन र त्यहाँको कम्युनिस्ट पार्टीको अवसानमा रुसी जनताको ठूलो हिस्सा बेखुसी रह्यो । सन् २०११ मा मिखाइल गोर्वाचेभले सोभियत संघको पतनमा गहिरो दुःख व्यक्त गरे । उनले सोभियत संघ बचाउन अमेरिकाले आफूलाई सहयोग नगरेको भनी गुनासो गरे । यसबाट उनले सोभियत संघको पतनमा अमेरिकाको भूमिकाबारे संकेत गरे । रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले सक्नेभए सोभियत संघ ब्युँताउने थिएँ भनेका छन् । सर्वेक्षण अनुसार आज पनि दुई तिहाई रुसी जनता सोभियत संघको पुनर्गठनको पक्षमा छन् ।

(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता तथा बुद्धिजीवी हुनुहुन्छ ।)