जुछे, किम इल सुङ, Kim Il Sung, Korean Revolution, DPRK
 

विश्व समाजवादी आन्दोलनको अग्रस्थानमा आउने नाम हो किम इल सुङ, जसको जन्म सन् १९१२ मा भएको थियो l चौध वर्षको उमेरमा जापानविरोधी आन्दोलनमा सहभागी भएका उनी १७ वर्षको उमेरमा युथ कम्युनिस्ट समूहमा सामेल हुँदै सन् १९३१ मा कम्युनिस्ट पार्टीको सदस्य भएका थिए l दोस्रो विश्वयुद्धपछि सन् १९४८ मा गठित प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको उनकै पहलमा गठन भएको थियो l सन् १९४९ मा उनी कोरियाली श्रमिक (कम्युनिस्ट) पार्टीको प्रमुखमा निर्वाचित भएका थिए l

सन् १९४५ मा जापानले आत्मसमर्पण गरेपछि कोरिया दुई भागमा विभाजित हुनपुग्यो l उत्तरी आधा भाग रूसको कब्जामा रह्यो भने दक्षिणी आधा भाग अमेरिकी नियन्त्रणमा रहन पुग्यो l रूसको नियन्त्रणमा रहेको क्षेत्रमा किमले सन् १९४८ मा रूसको सहयोगमा एक सरकारको गठन गरे, जसबाट उत्तर कोरियाको जन्म हुनपुग्यो l

उक्त समयमा कोरियामा तीन खालका कम्युनिस्ट शक्तिहरू विद्यमान थिए: पहिलो रूस समर्थित र रूसबाट फर्केकाहरूको समूह, दोस्रो चीन समर्थित र चीनबाट फर्केकाहरूको समूह र तेस्रो स्थानीय समूह जसले जापानको उपनिवेश विरोध गर्दै कोरियामा संगठन बनाएका थिए l पछि उनलाई उत्तर कोरियाको सर्वसम्मत नेताको रूपमा स्वीकार गरियो र उनले सिङ्गो उत्तर कोरियाको नेताको रूपमा कार्य गर्न थाले l यसरी सत्तामा आएका किमले उत्तर कोरियालाई विश्व साम्राज्यवादी शक्तिबाट जोगाउँदै दक्षिण कोरियासँग एकीकरण गरी विशाल कोरियाको निर्माण गर्ने उद्देश्यसहित अघि बढे l यो सन्दर्भमा उनले विभिन्न सैद्धान्तिक धारणाको विकास गर्नुका साथै , उत्तर कोरियाको राजनीतिक र सैनिक क्षमताको विकास गरे र उत्तर कोरियालाई एक समाजवादउन्मुख राष्ट्रको रूपमा विकास गराए l उनले आफ्नो कार्यकालमा गरेका विभिन्न कार्यहरूमध्ये केही कार्यहरूलाई यहाँ उल्लेख गरिएको छ l

कोरिया एकीकरणको प्रयास र कोरियाको निर्माण

सन् १९५० मा अमेरिकाले कोरिया युद्धको घोषणा गर्‍यो । किम इल सुङको नेतृत्वमा उत्तर कोरियाले त्यसको प्रतिरोध गर्‍यो । उनले दक्षिण कोरियामा रहेको अमेरिकी सेनालाई परास्त गर्ने र एकीकृत कोरियाको निर्माण गर्ने कोसिस गरे । पितृभूमि मुक्ति युद्ध (Fatherland Liberation War) नाम दिइएको यस युद्धमा सोभियत संघ  र चीनले उत्तर कोरियालाई र संयुक्त राष्ट्रसंघ र अमेरिकाले दक्षिण कोरियालाई साथ दिएका थिए । उनले सन् १९५३ मा युएनको समझदारीमा कोरियाली युद्धको अन्त्यको घोषणा गरे र सिङ्गो कोरिया साम्राज्यवादी शक्तिलाई सुम्पिनुभन्दा उत्तर कोरियामा समाजवादको निर्माण गर्ने निर्णय लिए l तत्कालीन रूस समर्थित र चीन समर्थित कम्युनिस्ट पार्टीलाई स्वतन्त्र कोरियाली कम्युनिस्ट पार्टीमा रूपान्तरण गरी सन् १९५८ मा उत्तर कोरियालाई स्वतन्त्र र सार्वभौम राष्ट्रको रूपमा स्थापित गरे ।

जुछे विचारधाराको विकास

डा. गोकर्ण ज्ञवाली, dr gokarna gyawali
लेखक

उत्तर कोरियाको आफ्नै सैद्धान्तिक दृष्टिकोण, स्वतन्त्र पहिचान र अस्तित्वको लागि उत्तर कोरियाली नेता  किम इल सुङले सन् १९५५ मा जुछे विचारधाराको सुरुआत गरेका थिए l यो विचारधाराले आत्मनिर्भरतामा जोड दिने गर्दछ, जसको शाब्दिक अर्थले नै परनिर्भरताको खण्डन गर्दै आत्मनिर्भर अर्थतन्त्र, राजनीति र स्वतन्त्र पहिचान जनाउने गर्दछ l यो विचारधाराले विचारमा आत्मनिर्भर, राजनीतिमा स्वतन्त्र, आत्मनिर्भर अर्थतन्त्र र आत्मसुरक्षा (autonomy in ideology, independence in politics, self-sufficiency in economy, and self-reliance in defense) मा जोड दिने गर्दछ l

यो सिद्धान्तले मानिसलाई केन्द्रमा राख्दै मानिस नै सबै कुराको निर्णायक र सर्वशक्तिमान हो भन्ने विश्वास गर्दछ l यो सिद्धान्तले मानवलाई राजनीतिक प्रणालीको मुख्य कारकतत्त्व मान्दछ र मानवको भूमिका र सामाजिक हैसियतमा जोड दिने गर्दछ l मानवकेन्द्रित दर्शनको रूपमा लिइने यो विचारधाराले राजनीतिक निर्णयमा पनि मानवलाई केन्द्रमा राख्नुपर्ने मान्यता राख्दछ l राजनीतिक र आर्थिक रूपले यसले निम्न तीन कुरामा जोड दिने गर्दछ :

क‍. राजनीतिक स्वतन्त्रता (चाजु): राष्ट्रहरूको बिचको समानता, एक राष्ट्रले अर्को राष्ट्रलाई गर्ने सम्मान, राष्ट्रहरूको आत्मनिर्भरताको अधिकार, सार्वभौमिकता र अहस्तक्षेपको मान्यता l

ख. आर्थिक आत्मनिर्भरता (चारिप): स्वतन्त्र र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, वैदेशिक सहयोगको विरोध, कृषिको विकास र औधोगीकरण मार्फत समाजवादी अर्थतन्त्रको निर्माण

ग. सुरक्षामा आत्मनिर्भरता (चावी): स्वतन्त्र सार्वभौमिक राज्यको निर्माण, साम्राज्यवादीबाट हुने हस्तक्षेपका लागि सामरिक शक्तिको विकास र प्रतिरोध गर्ने क्षमताको विकास

यसरी किम इल सुङले मार्क्सवादी दर्शनमा एक नयाँ विचारधारा र एक स्वतन्त्र सिद्धान्तको विकास गरे, जसलाई २०औँ शताब्दीको मार्क्सवादको नवीन प्रयोग पनि मानिन्छ l यही सिद्धान्तले उत्तर कोरियालाई विकासको मार्गमा अघि लम्कन सहयोग गरिरहेको छ l

आत्मनिर्भर अर्थतन्त्रको विकासमा योगदान

किम इल सुङले अवलम्बन गरेको आर्थिक नीति, कार्यक्रम र योजनाहरूले उत्तर कोरियाको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ l आर्थिक आत्मनिर्भरता (चारिप) को कार्यान्वयन गर्न सन् १९५३ मा किम इल सुङले  तीनस्तरको आर्थिक विकास कार्यक्रम मार्फत अघि सारेका थिए :

क. राष्ट्रिय अर्थतन्त्रको समग्र निर्माण र पुनःनिर्माणको अवधि

ख. त्रिवर्षीय योजना (१९५४-५६) को निर्माण र कार्यान्वयन

ग. पञ्चवर्षीय योजना (१९५७-६१) को निर्माण र औद्योगिक विकासको खाका निर्माण

यी तीन नीतिहरूको कार्यान्यन अवधिमा उत्तर कोरियाको अर्थतन्त्र दक्षिण कोरियाको भन्दा निकै राम्रो थियो l तर सन् १९९० को रूसी समाजवादको पतनले उत्तर कोरियालाई निकै जटिल मोडमा पुर्‍यायो l यो बिचको अवधिमा कोरियाली अर्थतन्त्र त्यति राम्रो देखिँदैन, जसलाई सुधार गर्न र तीव्रतम् विकास गर्न सन् २०१५ मा उत्तर कोरियाले पिपुल इकोनोमिक प्लानिङ एक्ट (PEPA) अघि सार्‍यो l यसैको आधारमा सन् २०१६ मा वर्तमान राष्ट्रपति किम जोङ उनले अर्को पाँच वर्षे आर्थिक योजना अघिसारेका थिए  l यी सबै योजनाले उत्तर कोरियाको स्वतन्त्र अर्थतन्त्रको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् र पुँजीवादी राष्ट्रको आर्थिक नाकाबन्दीको बाबजुद आफ्ना आर्थिक नीतिहरूलाई कार्यान्वयन गरिरहेका छन्  l

विश्व साम्राज्यवाद विरुद्ध असंलग्न आन्दोलनको महत्त्व

किम इल सुङले स्वतन्त्र विश्व निर्माण र राज्यलाई जनताको पक्षमा उभिन आह्वान गर्दै विश्व साम्रज्यवाद विरुद्ध एक हुन अनुरोध गरेका थिए l किमको नारा, “Let the World People Who Safeguard Independence Be United!” लाई सफल पार्न उनले जुछे विचारधारालाई समेत अघिसारेका थिए  l उनले आफ्नो विश्व दृष्टिकोणलाई   “Let us intensify the anti-imperialist, anti-US struggle”, तथा  “The Great Anti-Imperialist Revolutionary Cause of the Asian, African and Latin American people is invincible” (१९६८) जस्ता नाराहरूमार्फत अघिसारेका थिए l उनले विश्व साम्राज्यवादसँग लड्नका लागि साझा मुद्दाको समेत खोजी गर्नुपर्ने धारणा राखेका थिए l उनले विश्वका क्रान्तिकारी र जुझारु शक्तिहरूलाई आफ्नो देशको स्वतन्त्रता र सार्भाभौमिकताका लागि एक हुन समेत अनुरोध गरेका थिए l उनले नवस्वाधीन राष्ट्रहरूलाई सबै खाले शोषण र प्रतिक्रियावादी दमनको विरुद्ध एक हुन आह्वान गरेका छन् l उनले साम्राज्यवादी मुलुकहरूले विकासोन्मुख देशहरूलाई गर्ने शोषणको प्रतिकार गर्न समाजवादी शक्तिहरू एक हुनुपर्ने धारणालाई विश्वव्यापी गर्दै समाजवादी मुलुकहरूको एकताबद्ध कार्यमा जोड दिएका छन् l उनले असंलग्न राष्ट्रको गहिरो एकता, सबलीकरण र विकासमा जोड दिँदै असंलग्न राष्ट्रहरूको आन्दोलन (NAM) मा पनि जोड दिएका थिए l असंलग्न आन्दोलनको सदस्यको रूपमा  प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले सन् १९७५ मा सदस्यता प्राप्त गरेको थियो, जसले गर्दा उत्तर कोरियाको विश्वस्तरमा प्रभाव विस्तार हुन मद्दत पुग्यो l किम कै शब्दमा असंलग्न आन्दोलन साम्राज्यवादविरोधी क्रान्तिकारी शक्तिहरुको आन्दोलन बन्नु पर्दछ (The Non-Aligned Movement is a mighty anti-imperialist revolutionary force of our times) l यसरी किम इल सुङले तेस्रो विश्वका राष्ट्रहरू जो असंलग्न आन्दोलनमा आबद्ध थिए, तिनीहरूलाई विश्व साम्राज्यवादविरोधी आन्दोलनमा लाग्न आह्वान गरेका थिए  र यो आन्दोलन किमको समयमा निकै सशक्त पनि थियो l

सनगुन (SONGUN) को धारणा

सनगुनको धारणा समाजवादी आन्दोलनको सन्दर्भमा अत्यन्त नयाँ र अति महत्त्वपूर्ण धारणा हो, जसलाई सन् १९६० मा किम इल सुङले अघिसारेका थिए l यो धारणा किम इल सुङको चार सैनिक पथ (Four Military Lines) अन्तर्गत सन् १९६२ देखि कार्यान्वयनमा आएको थियो l यो सिद्धान्त अर्थात् प्रणाली देशको सम्पूर्ण जनसंख्यालाई सैनिक क्षमतायुक्त बनाई सबल र सशक्त राष्ट्र बनाउने अभियान अन्तर्गत सुरु गरिएको थियो l उत्तर कोरियाको राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थालाई मध्यनजर गर्दै किम जोङ इलले यसलाई जुछे विचारको एक अंगको रूपमा विकसित गराएका थिए l यो विचारले सैनिक पहिलो (Military First ) भन्ने दृष्टिकोणको उल्लेख गर्दछ, जसमा कोरियाली जनसेनालाई कोरियाली समाजको सबैभन्दा महत्त्वपूर्ण अंग मानिन्छ l सन् १९९१ मा रूसी समाजवादको पतनपछि जनवादी कोरियाको सुरक्षामा अग्रस्थानमा रहेको कोरियाली जनसेनालाई, जुन विश्वको चौथो सबैभन्दा ठुलो र व्यवस्थित सैनिक दस्ता हो, नै राज्यको समग्र सुरक्षा जिम्मा लगाइएको छ l यसरी कोरिया र कोरियाली समाजवादको रक्षामा त्यहाँको कोरियाली जनसेनाको प्रथम भूमिकालाई सर्वप्रथम किम इल सुङले ब्याख्या गरेका थिए  l यसले कोरियाली जनतालाई राष्ट्रको सुरक्षाका लागि नागरिकस्तरमा तालिम दिने गर्दछ र कोरियाली युवा कोरियाली जनसेना  हुन लालायित रहन्छन् l त्यसैले पनि विश्व समाजवादको स्थापनामा सैद्धान्तिक र व्यावहारिक रूपमा किम इल सुङले प्रतिपादन गरेको सनगुनको योगदान अति महत्त्वपूर्ण रहेको मान्न सकिन्छ l

किम इल सुङद्वारा प्रतिपादित मार्क्सवादी-लेनिनवादी दर्शनमा आधारित मौलिक कोरियाली विचारधाराको रूपमा लिइने जुछेको शासन व्यवस्था कोरियाको संस्कृति, मूल्य र मान्यतामा आधारित रहेको छ । जुछे विचार उत्तर कोरियाको राष्ट्रिय विचारधारा पनि हो, जसले यहाँको आर्थिक, राजनीतिक, मनोवैज्ञानिक तथा सामाजिक जीवनलाई पूर्णतः अङ्गीकार गरेको छ ।

अन्नपूर्ण पोस्ट (२०७६) मा कमलदेव भट्टराईले लेखेका छन्, “विगत तीन वर्षदेखि उत्तरपूर्वी एसियाली मुलुक उत्तर कोरिया विश्व राजनीतिको केन्द्रमा रहेको छ । खासगरी सन् २०१६ र २०१७ मा उत्तर कोरियाले इतिहासमा सबैभन्दा बढी मिसायल र आणविक हतियार परीक्षण गरेपछि अमेरिका र अन्य पुँजीवादी मुलुकसहित संसारभरि नै भावी युद्धबारे चिन्ता व्यक्त गरिन थालेको थियो । यसलाई उत्तर कोरियाले आत्मसुरक्षाका लागि चालेको कदम भन्दछ भने अमेरिकी सरकार कोरियाको हतियारदेखि त्रसित बनिरहेको छ l”

यसरी कोरियाली समाजवादको सुरक्षा, कोरियाली जनताको एकता र विकासलाई निरन्तरता दिँदै विश्वको शक्तिशाली राष्ट्र अमेरिकालाई चुनौती दिन सफल राष्ट्र उत्तर कोरियाको जग किम इल सुङले नै बसालेका थिए l त्यसैले पनि उनलाई विश्व समाजवादी आन्दोलनका महारथी र मार्क्सवाद–लेनिनवादका एक मुख्य व्याख्याकार मानिन्छ l

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत मानवशास्त्री हुनुहुन्छ ।)