British Prime minister Rishi Sunak ऋषि सुनक
 

भारतीय मूलका मानिसहरू मरिसस, सुरिनाम, फिजी, त्रिनिडाड, आदि ठाउँमा राष्ट्रपति र प्रधानमन्त्री भए तर उनीहरूबारे भारत त्यति गौरवान्वित भएन जति कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति र हालै ऋषि सुनक बेलायती प्रधानमन्त्री बन्दा भए । कारण माथिका देशहरूमा भारतीयहरू कामदारको रूपमा लगिएका थिए । कमारा र मजदुरका छोराछोरी लामो समयको अन्तरालमा सत्ताको माथिल्लो ओहदामा पुगेका थिए ।

ऋषि सुनकको कथा भारतमा करिश्माको रूपमा प्रचार भइरहेको छ । ऋषि सुनकका पूर्वज गुजराँवाला, जुन हाल पाकिस्तानमा पर्छ, त्यहाँबाट सन् १९३७ मा केन्या गएको इतिहास छ । ऋषिका बुवा डाक्टर यशवीर केन्याको नाइरोबीमा सन १९४९ मा जन्मेका थिए । यशवीर सन् १९६६ मा आप्रवासीको रूपमा बेलायत गएका थिए । बेलायतमा तान्जानियाबाट आएको आप्रवासी परिवारकी फार्मासिस्ट उषासँग यशवीरले सन् १९७७ मा विवाह गरे । ऋषिको जन्म बेलायतको साउथ ह्याम्प्टनमा सन् १९८० मा भयो । ऋषिले बेलायतको प्रसिद्ध स्कुल विनचेस्टरमा प्रारम्भिक पढाइ गरे । उच्च शिक्षा अक्सफोर्ड विश्वविद्यालयमा र अमेरिका क्यालिफोर्नियास्थित स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबिए गरे । स्ट्यानफोर्डमा ऋषिको प्रेम अक्षता मूर्तीसँग पर्‍यो र उनीहरूले सन् २००९ मा विवाह गरे । अक्षता भारतको चर्चित दोस्रो सबैभन्दा ठुलो आइटी फर्म इन्फोसिसका सहसंस्थापक नारायण मूर्तीकी छोरी हुन् । ऋषि र अक्षताका दुई छोरी कृष्णा र अनुस्का छन् ।

भरत पोखरेल, bharat pokharel, economist, tu, professor, भरत पोखरेल
लेखक

बेलायतको २१० वर्षको संसदीय इतिहासमा डेविड क्यामरून र टोनी ब्लेयर ४३ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए । ऋषि सुनकले ४२ वर्षमा बेलायतको प्रधानमन्त्री बनेर इतिहास बनाएका छन् । ऋषि सन् २०१५ मा रिचमन्ड, योर्कसायरबाट चुनाव जितेर सांसद बने । उनले गीता हातमा लिएर शपथ लिएको खुब चर्चा चल्यो । सन् २०२० फेब्रुअरीमा साजिद जावेदले अर्थमन्त्रीबाट राजीनामा दिएपछि बोरिस जोन्सनको सरकारमा ऋषि सुनक चान्सलर अफ एक्सचेकर अर्थात् अर्थमन्त्री नियुक्त भए । रायटर्स समाचार अनुसार बेलायतका धनी नेताहरूमा ऋषि सुनक पर्छन् । ऋषि सुनकको कुल सम्पत्ति ७० करोड पाउन्ड बराबर छ । उनको योर्कसायरमा एक आलिसान बंगलाबाहेक मध्य-लन्डनको केन्सिंटनमा अर्को विलासी बंगला पनि छ । अक्षताले भारतीय नागरिकता त्यागेकी छैनन्, जसबाट उनले इन्फोसिस शेयरबाट प्राप्त लाभांश दुई करोड पाउन्ड कर बचाइन् । सुनक दम्पतिको वित्तीय स्थिति जब बाहिरियो ‘डिशी ऋषि’ अर्थात् आकर्षक ऋषिको आवरण पत्नी अक्षताको करछली ‘पार्टीगेट’ कान्डपछि ‘फिशी ऋषि’ अर्थात् संदिग्ध ऋषि बन्न पुग्यो ।

ऋषि सुनकले इतिहासको एउटा अशान्त युगमा बेलायती प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । बेलायतको अर्थव्यवस्था अप्ठेरो अवस्थामा छ । महंगी उच्चस्तरमा पुगेको छ तथा ब्याजदर बढिरहेको छ । रुस-युक्रेन युद्धले यो वर्ष नै दुई पटक ऊर्जा खर्च वृद्धि भएको छ । मुद्रा बजारमा स्टर्लिङ पाउन्ड कमजोर हुँदै गएको छ । यस्तो अवस्थामा भारतमा एकथरी मानिसहरू ऋषि भारतका लागि उज्ज्वल भविष्यको भविष्यवाणी गरिरहेका छन् तर वास्तविकता बेग्लै छ । ऋषि सुनकले बेलायतको परम्परावादी टोरी पार्टीको प्रतिनिधित्व गर्दछन् र टोरी पार्टीको मुख्य एजेन्डा गोरा, ईशाइहरू र राजतन्त्रको हितमा नै रहने छ । ऋषि सुनकले मुख्यतया बेलायती स्वार्थ पूर्तिका लागि काम गर्ने निश्चित छ । अनि भारतीयहरूको ऋषि सम्मोहनको के अर्थ ?

(लेखक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)