राष्ट्राध्यक्ष सी चिनफिङ, सी जिनपिङ, president xi jinping,
 

अक्टोबर ११ । जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १० तारिखका दिन चिनियाँ कम्युनिस्ट पार्टीको स्कुल विभागमा आयोजना भएको एक प्रशिक्षण कार्यक्रममा युवा सरकारी अधिकारीहरुलाई व्यावहारिक समस्या सुल्झाउँदै आफनो क्षमता सुदृढ गर्न आह्वान गर्नुभयो । यसका लागि काममा तत्परता देखाउँदै असल नतिजा प्रवाह गर्न सल्लाह दिनुभयो ।

उहाँले आफ्नो मन्तब्यमा समस्याहरुको सम्बोधन गर्दै इतिहास अघि बढ्दै आएको बताउनुभयो । “चीनभित्रको समस्याहरुको सम्बोधन गर्नकै लागि क्रान्ति, निर्माण र सुधार गर्दै आएका छौँ”, राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयो ।

उहाँले युवा अधिकारीहरु स्वयंको विकासका लागि पनि समस्यासँग जुध्दै क्षमता सुदृढ गर्नु एक अपरिहार्य आवश्यकता भएको बताउनुभयो । विशेष गरी कनिष्ठ अधिकारीहरुले राजनीतिक क्षमताका साथै अध्ययन अनुसन्धान वैज्ञानिक निर्णय क्षमतालाई चुस्त बनाउँदै सुधारको गहिराईलाई अघि बढाउनुपर्ने कुरामा जोड दिनुभयो । यसका साथै काम गर्दै जाँदा आउने आपत्कालीन समस्याहरूविरुद्ध प्रतिक्रिया दिन सक्नुपर्ने बताउनुभयो । जनसमक्ष घुलमिल हुँदै नीतिहरुको कार्यान्वयन गर्दै आफ्ना क्षमतालाई सुदृढ गर्नुपर्ने औँल्याउनुभयो ।

विगतका शताब्दीमा नदेखिएका ठोस परिवर्तनहरु वर्तमान विश्वमा भइरहेको हुँदा बाह्य वातावरणमा अस्थिरता, अनिश्चितता बढिरहेको जानकारी दिनुभयो ।

युवा सरकारी अधिकारीहरुलाई प्रशिक्षण दिँदै राष्ट्राध्यक्ष सी चिनफिङले चीनको विकास नयाँ चरणमा प्रवेश गरेको र विविधतायुक्त समस्याहरुको समाधानका लागि विकासको नयाँ संरचना तयार गर्नुपर्ने आवश्यकता प्रस्ट्याउनुभयो । उहाँले कोभिड-१९ का विरुद्ध चीनले प्रमुख रणनीतिक सफलता हासिल गरेतापनि निर्णायक विजयका लागि स्थिर प्रयास अझै पनि आवश्यक भएको बताउनुभयो ।

राष्ट्राध्यक्ष सीले खासगरी ६ वटा मुख्य मोर्चामा स्थिरता सुनिश्चित गर्नुपर्ने बताउनुभयो, जसअन्तर्गत रोजगारी, वित्तीय क्षेत्र, वैदेशिक व्यापार, वैदेशिक लगानी, घरेलु लगानी र जनआकांक्षाको पूर्ति रहेका छन् । यसका साथै ६ वटा क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न आवश्यक रहेको बताउनुभयो, जस अन्तर्गत रोजगारीको सुरक्षा, आधारभूत आवश्यकता, बजार संस्था, खाद्यान्न र उर्जा, स्थिर औद्योगिक तथा वितरण प्रणाली र आधारभूत तहका सरकारहरुको सामान्य कार्य सञ्चालन रहेका छन् ।

युवा अधिकारीहरुले आफनो क्षमता सुदृढीकरणका लागि राजनीतिक दिशा, पार्टी नेतृत्व र चिनियाँ समाजवादी व्यवस्थालाई दह्रोसँग कायम राख्नुपर्ने कुरामा जोड दिनुभयो । यसमा कुनै शंका र ढुलमुले प्रवृत्तिका लागि स्थान नरहेको समेत बताउनुभयो ।

“तपाईंहरुले सुपरिवेक्षण र अनुसन्धान निरन्तर गरिराख्नुपर्दछ । कनिष्ठ अधिकारीहरुले जनताका राय तथा चासो वास्तविक परिस्थिति बुझ्दै आफनो क्षमता अभिवृद्धि गर्नुपर्दछ । निर्णय गर्नुपूर्व युवा अधिकारीहरुले गहिरो अध्ययनका साथै विविध क्षेत्रबाट सरसल्लाह लिनु उचित हुन्छ”, राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयो । सुधारलाई बढाउने क्रममा साहस र दृढताको आवश्यकताका साथै कामप्रतिको अभिरुचीलाई वैज्ञानिक भावसँग जोड्दै, जनताको नवोत्थानसम्बन्धी विचार र अग्रणी भावलाई सम्मानका साथै सही पद्धति अपनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

प्रशिक्षणका अन्त्यमा उहाँले चिनियाँ कम्युनिस्ट पार्टीका सबै तहका संगठनहरुले युवा अधिकारीहरुको राजनीतिक, व्यावहारिक र व्यावसायिक उन्नतीका लागि सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

(स्रोतः पिपुल्स डेली, अनुवादः मेल्सम ओझा)