जन्म र मृत्यु सापेक्षित र सार्थक छन् । जसको जन्म हुन्छ, उसको मृत्यु अनिवार्य छ । अपितु चिनियाँ क्रान्तिका महानायक, जनवादी गणतन्त्र चीनका संस्थापक, माओवादका प्रणेता तथा विश्व सर्वहारा वर्गका महान गुरु क. माओत्सेतुङले भनेझैँ ‘कसैको मृत्यु चराको प्वाँखजस्तै हलुका हुन्छ र कसैको मृत्यु पहाडजस्तै गह्रौँ’ हुन्छ । आफ्नो युवावस्थामै एउटा पहाडजस्तो मृत्युवरण गर्ने नेपाल आमाका एक होनाहार सपुतको नाम हो – क. मित्रमणि आचार्य ।
२०४२ साल वैशाख १८ गते प्रतिक्रियावादीहरूद्वारा विभत्स रूपमा हत्या गरिएका महान शहीद क. मित्रमणि आचार्य स्वयंमा नेपाली विद्यार्थी आन्दोलन र कम्युनिस्ट आन्दोलनका एक जाज्वल्यमान नक्षेत्र हुन् भने सम्पूर्ण नेपाली युवा, विद्यार्थी र कम्युनिस्टहरूका लागि एक बलिदानीका नमूना र प्रेरणाका स्रोत हुन् ।
यसर्थ २०४२ सालको वैशाख १८ गते नेपाली राजनीतिक इतिहास र त्यसमा पनि मूलतः विद्यार्थी आन्दोलनको इतिहासमा अंकित भएको एउटा कालो दिन हो, जुन दिन नेपाली धर्तीले आफ्नो एउटा वीर सपुत गुमायो । र, हरेक वर्षको बैशाख १८ गते अर्थात क. मित्रमणि आचार्य स्मृति दिवस नेपाली विद्यार्थी तथा कम्युनिस्ट आन्दोलनका सच्चा अनुयायीहरूले शिर निहुराएर उनलाई स्मरण र सम्मान गर्ने दिन हो ।
बाल्यकाल र शिक्षा

क. मित्रमणि आचार्यको जन्म २०१९ असार ११ गते प्युठानको राम्दी २, तिघ्रामा भएको थियो । उहाँ बुवा रेशमराज आचार्य तथा आमा पिताम्बर देवी आचार्यको काँइलो छोरो हुनुहुन्थ्यो । सानैदेखि उहाँ निडर, लडाकु र जिज्ञासु स्वभावको हुनुहुन्थ्यो । उहाँमा विषयवस्तुलाई छिटै ग्रहण गर्न सक्ने क्षमता र नेतृत्व कौशल सानैदेखि मुखरित हुन थालेको थियो ।
उहाँले प्रारम्भिक शिक्षा २०२५ सालदेखि आफ्नै गाउँमा लिनुभयो भने २०३१ सालदेखि खैरा निम्न माध्यामिक विद्यालयमा अध्ययन गर्नु भयो । २०३५ सालमा उहाँ रातामाटा माध्यामिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गर्नुभयो । त्यसपछि उहाँले २०३६ सालमा पक्लिहवा कृषि क्याम्पसमा कृषि विज्ञान विषयको अध्ययन गर्न थाल्नुभयो ।
राजनीतिमा प्रवेश
अध्ययनशील स्वभावका आचार्य सानै उमेरदेखि राजनीतिमा पनि सरिक हुनुभयो । उहाँ पढाइ र राजनीति दुवै कुरामा निकै तीक्ष्ण हुनुहुन्थ्यो । उहाँले माध्यामिक विद्यालय स्तरदेखि नै शोषण, अन्याय र अत्याचारको विरोध गर्ने र गरिवहरूप्रति माया र वर्ग पक्षधरता बोकेका युवाको रूपमा उठान र विकास हुनु भयो । उहाँ २०३६ सालमा पक्लिहवा कृषि क्याम्पसमा भर्ना भएपछि विद्यार्थी राजनीतिमा अझ सक्रिय हुनु भयो ।
उहाँ त्यही वर्ष (२०३६ सालमा) पक्लिहवा कृषि क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (नेकपा चौमको भातृ संगठन) को एकाई समितिको सदस्य चुनिनु भयो । मृदुभाषी र मिलनसार स्वभावका आचार्य विद्यार्थीहरूको बिचमा छिटै नै लोकप्रिय बन्न सफल हुनुभयो र २०३८ सालमै अनेरास्ववियु रुपन्देही जिल्ला समितिको सचिव हुनुभयो भने त्यही वर्ष भएको क्याम्पसको स्ववियु निर्वाचनबाट सभापतिमा विजयी हुनुभयो ।
उहाँले पक्लिहवा क्याम्पसमा कृषि विषय सहित प्रविणता प्रमाण पत्र (आइएस्सी एजी) को अध्ययन विशिष्ट श्रेणि सहित पूरा गरेर २०३९ सालतिर चितवन जानुभयो । चितवन गए लगत्तै उहाँ चितवनको विद्यार्थी राजनीतिमा सक्रिय हुनु भयो ।
उहाँ कृषि विज्ञानको स्नातक (बिएस्सी एजी) को थप अध्ययनका लागि कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर, चितवनमा भर्ना हुनुभयो ।
२०४० सालमा उहाँ अनेरास्ववियुको जिल्ला समितिको कोषाध्यक्ष निर्वाचित हुनुभयो । यही सालको कार्तिकमा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) मा फुट भयो । मातृपार्टीसँगै विद्यार्थी संगठनमा पनि विभाजन आयो । त्यसपछि जिल्ला सम्मेलन आयोजक समिति बनाइयो र ०४० माघमा आठौँ अ.ने.रा.स्व.वि.यू. चितवन जिल्ला सम्मेलन भयो । सम्मेलनबाट क. चन्द्रहरि सुवेदी (अटल) अध्यक्ष र क. मित्रमणि आचार्य उपाध्यक्ष चुनिनु भयो । ०४० सालकै चैत्रमा भारतको गोरखपुरमा अखिलको आठौँ राष्ट्रिय सम्मेलन भयो र क. मित्रमणि आचार्य अखिलको केन्द्रीय सदस्य र मध्य तराई उपकेन्द्रको सचिव चुनिनु भयो
२०४१ सालमा रामपुर कृषि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्रगतिशील प्यानलको तर्फबाट उमेद्वारी दिँदै कृषि क्याम्पस रामपुरको स्ववियु सभापतिमा निर्वाचित हुनुभएको थियो । स्ववियु सभापतिमा विजयी भई सकेपछि समस्त विद्यार्थीहरूको हक, हित र अधिकारका लागि अग्रपंक्तिमा रहेर निष्ठापूर्वक क्याम्पस प्रशासन र प्रतिकृयावादीहरुसँग संघर्ष गर्नुभयो ।
०४० सालमा चौथो महाधिवेशन फुटेपछि पार्टीले राष्ट्रिय सम्मेलन गर्यो । र, पार्टीको नाम नेकपा मशाल राखियो । २०४१ मंसिरमा भारतको अयोध्यामा सम्पन्न पाँचौँ महाधिवेशनले क. मोहन बैद्यलाई महासचिव छान्यो । त्यसपछि ‘विश्वविद्यालयलाई क्रान्तिका किल्ला बनाऔँ’ भन्ने महान लेनिनको भनाइबाट प्रभावित भएर देशभरका ठूला क्याम्पसहरू अखिलका किल्लामा परिणत गरियो । भूमिगत पार्टीका नेताहरू क्यामपसका विद्यार्थीका कोठामा गुप्त रूपमा सेल्टर लिन्थे । क्याम्पसमा पार्टीका शाखाहरू खोलिएका थिए । क. मित्रमणि आचार्य रामपुर क्याम्पस पार्टी शाखाको सदस्य हुनुहुन्थ्यो ।
क. मित्रमणि आचार्यको हत्याः
उहाँको जन्मथलो प्युठान थियो । अध्ययनका लागि सुरुमा रूपन्देही र पछि चितवन आउनुभएको थियो । तर, उहाँको असाधारण प्रतिभा, राजनीतिक कर्मठता र उदाउँदो नेतृत्व क्षमताका कारण विशेषतः काङ्गेसहरू र पञ्चायती राजनीति गरिरहेका मानिसहरूको मुटु काँप्न थाल्यो । क. आचार्यबाट उनीहरूले आफ्नो राजनीतिक विरासतमाथि खतरा देखे भने चितवनको कम्युनिस्ट आन्दोलनले एउटा जुझारू र संघर्शील नेता जन्माउँदै र हुर्काउँदै गरेको अवुभव गरे ।
यससँगै पञ्चायती कालमा उदाएका जनप्रिय वामपन्थी विद्यार्थी नेता क. आचार्य तत्कालीन सत्ताका भरौटे पञ्चेहरुका लागि आखाँको तारो बन्न थाल्नु भयो । काँग्रेसहरूले पनि उहाँको डाह र ईश्या गर्न थाले थिए ।
प्युठान, रूपन्देही होस् वा चितवन, क. मित्रमणि आचार्यले जहाँ पाइला राख्यो त्यहीँ विजयको माला पहिरिएको देखेपछि कायर प्रतिक्रियावादीहरूले चितवनको राजनीतिलाई कमाण्डमा राख्ने हो भने उहाँलाई सिध्याउनु पर्ने निष्कर्ष निकाले ।
त्यही सिलसिलामा चितवनको मेघौलीमा २०४२ बैसाख १४ गतेलाई आयोजना गरिएको अभिभावक भेलालाई सुनियोजित रुपमा १८ गतेलाई सारेर त्यही भेलामा सहभागी हुन गएका क. मित्रमणि आचार्यलाई तत्कालीन पञ्चेहरू र ने. वि.संघ (नेपाली काँग्रेसको विद्यार्थी संगठन) का गुण्डाहरुले भाला, खुकुरी र साइकलको चेनजस्ता हतियारको प्रयोग गरेर मरणासन्न हुने गरी कुटे र घाइते बनाए । पछि भरतपुर अस्पतालमा उपचारका क्रममा राति २:०५ बजे उहाँको मृत्यु भयो ।
यी घटनाहरूको विवरण त्यतिबेलाका विभिन्न पत्र-पत्रिका र लेखहरुमा पढ्न पाइन्छ । कतिपय जनताका दुश्मनहरू र तिनको ईशारामा चल्ने केही पत्रिकाहरुले भने दुई पक्षको भिडन्त भएको र कमजोर पक्षका मित्रमणिको निधन भएको भनेर पनि लेखेको पाइन्छ, जुन सत्य होइन । उहाँको हत्या योजनाबद्ध रूपमा गरिएको त्यतिबेलाका प्रत्यक्षदर्शीहरू बताउँछन् ।
क. मित्रमणि आचार्य विद्यार्थी र जनताका माझमा अति नै लोकप्रिय हुनुहुन्थ्यो । उहाँको हत्यापछि भरतपुर अस्पतालदेखि पुल्चोकसम्म करिब ३० हजार मान्छेको लाम उहाँको शवयात्रामा सहभागी भएको थियो । यसबाट त्यतिबेलाको चितवनको राजनीतिमा क. मित्रमणि आचार्यको लोकप्रियतालाई पुष्टि गर्छ ।
यसरी नेपाली धर्तीमा एउटा क्रान्तिकारीको जीवनको दियो निभ्यो र नेपालको विद्यार्थी तथा वामपन्ती आन्दोलनले एक भविष्य बोकेको जुझारू योद्धा गुमाउनु पर्यो ।
क. मित्रमणि आचार्यको हत्या प्रयासः
क. मित्रमणि आचार्यको हत्या आकस्मिक होइन । यसको एउटा लामो शृङ्खला छ । यसलाई सबै युवा, विद्यार्थी र उहाँको बारेमा जान्न चाहने सबैले बुझ्नु जरूरी छ ।
क. मित्रमणि आचार्य २०४१ सालमा चितवनको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुरमा स्ववियु सभापतिमा निर्वाचित भइसकेपछि काङ्ग्रेस निकट प्राध्यापकहरूले उहाँ र अरू वामपन्थी विद्यार्थीहरूलाई पछाडि पार्नका लागि विभिन्न उपायहरू अपनाउन खोजिरहेका थिए । तिनीहरूले राजनीतिक र सैद्धान्तिक तहबाट मित्रमणिको सामना गर्नसक्ने अवस्था देखेनन् । त्यसपछि पटक पटक भौतिक आक्रमणको प्रयास गरिरहे ।
उहाँको हत्या प्रयासको सुरुवात २०३८ चैत्र १ गते विरेन्द्र क्याम्पसमा अखिल पक्षका क. शिव पौडेलको हत्यासँग समेत जोडिएको छ । यस सम्बन्धी तथ्यहरू इतिहासमा भेटिन्छन् ।
त्यतिखेर अध्ययनका लागि मात्रै नभएर राजनीतिक हिसाबले पनि विरेन्द्र बहुमुखी क्याम्पस र कृषि तथा वन विज्ञान अध्ययन संस्थान (जो रामपुर कृषि क्याम्पसको नामले प्रचलित छ, चितवनका दुई महत्त्वपूर्ण क्याम्पसहरू थिए । चितवनमा जनमत निर्माण र वर्तमान तथा भावी राजनीतिको दिशा निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने यी क्याम्पसहरूमा वामपन्थी विद्यार्थीहरूको बढ्दो प्रभावदेखि सत्ताधारी पञ्चहरू र काङ्ग्रेसी प्रशासकहरु अत्तालिए ।
राजनीतिक र सांगठानिक रूपमा नेविसंघ र मण्डलेहरू कमजोर हुँदै गएपछि अखिल पक्षका विद्यार्थीहरुलाई बिनाकारण कारवाही गर्ने, क्याम्पसबाट बिनाकारण निकाला गर्ने, स्ववियुको कार्यक्रमलाई बेवास्ता गरी नेविसंघको एकाइ भेलामा गएर क्याम्पस प्रशासनले चन्दा दिने, नाम ननिस्केका नेविसंघका विद्यार्थीहरुलाई भर्ना गर्ने, प्राध्यापकहरूको रूपमा प्रतिस्पर्धा बिना वा षड्यन्त्रपूर्वक काङ्ग्रेस निकट गुण्डाहरु भर्ती गर्ने लगायतका कार्यहरू गरे ।
यी सबै अवैधानिक गतिविधिबाट समेत अखिलको वर्चस्व तोड्न नसक्ने देखेपछि ती क्याम्पसहरूमा वामपन्थी पकड तोडेर आफ्नो पञ्जामा ल्याउनका लागि त्यहाँका स्थापित वामपन्थी विद्यार्थी नेताहरूलाई सिध्याउनु जरूरी देखे र सोही अनुसार योजना बनाए ।
सोही योजना अनुरूप उनीहरूले विरेन्द्र बहुमुखी क्याम्पसबाट क. शिव पौडेल र रामपुर कृषि क्याम्पसबाट क. मित्रमणि पौडेलको हत्याको योजना बनाए र दुवैको योजनाबद्ध र कायरतापूर्वक हत्या गरे ।
पछिल्लो कालमा जव क. मित्रमणि आचार्यको राजनीतिक भूमिका बढ्दै गएपछि उहाँ असुरक्षित हुँदै गएको र त्यसको आभास उहाँले पाइसकेको बताउने गरिएको छ । उहाँले आफ्ना साथीहरीलाई पत्र लेख्दा तिनमा साथीहरुलाई सम्बोधन गर्दै “अहिलेसम्म त बाँचिएकै छ” भन्ने शब्दको प्रयोग गरेको पाइएको छ । यसबाट उहाँलाई आफू असुरक्षित रहेको महसुस भएको देखिन्छ ।
त्यसरी नै केही निकटस्थ साथीहरूले बताएअनुसार उहाँ अखिलको केन्द्रीय समितिको कामले वा अन्य कारणले काठमाडौँ आउँदा-जादाँ नारायणगढ नपुगिकन जङ्गलको बाटो करिब १२ किलोमिटर पैदल हिँडेर रातारात राममुर पुग्ने गरेको पाइएको छ । यसबाट पनि उहाँले आफू असुरक्षित भएको पहिल्यै महशुस गरेको र सुरक्षित हुनका लागि आफ्नोतर्फबाट सक्दो उपायहरू अपनाउँदै आएको देखिन्छ ।
हत्याको घटना
२०४२ वैशाख १८ गते उहाँको विभत्स हत्या गरिएको थियो । त्यो दिन उहाँ चितवन अखिलका जिल्ला समिति अध्यक्ष टीका पोखरेलसँगै मेघौलीको एक विद्यालयमा अभिभावका भेलामा जाँदै हुनुहुन्त्यो । उहाँ सँगै विजय भुजेल पनि जाँदै हुनुहुन्थ्यो ।
विद्यालयमा क्यारम बोर्ड खेल्ने विषयमा त्यहाँ विवाद सिर्जना भएको थियो । त्यो विवादले विस्तारै राजनीतिक रूप लिन पुग्यो । मेघौली माविका एकजना शिक्षक (नारायण मास्टर भनिने) ले विद्यालय र अन्यत्रका घटनाहरूलाई काँग्रेसीकरण गरेको आरोप लागेको थियो । तत्पश्चात त्यहाँ तीव्र ध्रुवीकरण भएको थियो । ती शिक्षकलाई विद्यालयमा राख्ने वा निकाल्ने भन्ने विषयमा २०४२ साल वैशाख १४ गते अभिभावक भेला आयोजना गरी फैसला गर्ने सहमति भएको थियो । तर पञ्च र काँग्रेसहरू मिलेर भेलालाई १७ गतेलाई सारे ।
मित्रमणिको साथमा गएका पोखरेल र भुजेल उक्त विद्यालयका अभिभावक पनि थिए भने आचार्य विद्यार्थी नेताको हैसियतले सहयोद्धाहरूको साथमा विवादको विषय बुझ्न र सके मिलाउन भनेर मेघौली गएका थिए ।
मेघौली माविमा नपुग्दै आचार्य लगायत अन्य साथीहरु आएको देखेर सुजन शेर्पा (शेखर) ले अन्य गुण्डाहरूलाई खबर गरेका थिए । अन्य गुण्डाहरु पूर्व तयारीका साथ बसेकाले उनीहरुको रामचन्द्रको घरनेर चौतारीको नजिक पुगको बेला ६०–७० जना गुण्डाहरुले हातमा भाला, साइकलको चेन, कटारी, खुकुरी र लाठी लिएर आचार्य लगायत यताबाट जाँदै गरेका साथीहरूलाई घेरे ।
उहाँहरु जीवन रक्षाका लागि नजिकैको घरमा पस्नुभयो । तर, ती पञ्च र काँग्रेसबाट परिचालित भाडाका गुण्डाहरू कोही घरको ढोका फोडेर भित्र छिरे भने कोही छानो निकालेर भित्र पसे । र, निहत्था मित्रमणि आचार्य लगायतका साथीहरूलाई धारिला हतियारहरूले सांघातिक हमला गरे ।
भेलामा उपस्थित भएका जनसमुदायहरुले उक्त घटनाको जानकारी पाएपछि घटनास्थलमा पुग्दा गुण्डाहरू जीप गाडी चढेर भागे । सुजन (शेखर) लाई आक्रोशित स्थानीय जनसमुदायले घटनास्थलमा नै भाग्दै गर्दा नियन्त्रणमा लिए र कुटपिट गरे ।
पाशविक रूपमा गरिएको हमलाबाट पाँच जना सिकिस्त घाइते विद्यार्थी नेताहरुको उपचारको प्रबन्ध मिलाउन स्थानीयहरूले सक्दो सहयोग गरे । टाउकोमा लागेको गहिरो चोट र अत्यधिक रक्तस्रावका कारण भरतपुर अस्पतालमा उपचार गर्दागर्दै सोही राति २ बजेर ५ मिनेट जाँदा क. मित्रमणि आचार्यको २२ वर्षको कलिलो उमेरमा निधन भयो र नेपाली जनताको वर्गीय मुक्ति आन्दोलनले एउटा उदाउँदो तारा गुमायो ।
करिब ३० हजार शोक र आक्रोशित भएको जनसमुदायको सहभागिताका साथ उहाँको शवयात्रा गरी अन्तिम श्रद्धाञ्जली दिइयो ।
क. मित्रमणि आचार्यको स्मृतिमा प्यूठानमा उहाँको शालिक निर्माण भएको छ । त्यसरी नै उहाँले अध्यन गरेको रामपुर कृषि क्याम्पसमा पनि उहाँको शालिक निर्माण भएको छ ।
साम्राज्यवाद र सर्वहारा क्रान्तिको यो युगमा नवउदारवादले शिक्षाको साथै सबै क्षेत्रहरू जकडिरहेको यो समयमा आज नेपालको राजनीतिले धेरै मित्रमणिहरू खोजिरहेको छ । नेकपाको दुई तिहाईको सरकार बनिरहँदा सरकार, पार्टी, विद्यार्थी, शिक्षक, प्राध्यापक र बुद्धिजीवी संगठनको साझा पहलमा क. मित्रमणि आचार्यहरूले बलिदानपूर्व देखेका सपनाहरू पूरा गर्ने शैक्षिक, राजनीतिक र आर्थिक व्यवस्थाको निर्माणमा जुट्नु आजको आवश्यकता हो ।
शिक्षा क्षेत्रको निजीकरणलाई ध्वस्त गरेर समाजवादी शिक्षाको जग हाल्नु नै विद्यार्थी नेता तथा महान शहीद क. मित्रमणि आचार्यप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । क. मित्रमणि आचार्य, हार्दिक श्रद्धासुमन । हामी तपाईंका सपनाहरू पूरा गर्नेछौँ ।
यो पनि पढ्नुहोस्ः