chirs hani, thembeseli, general secretary, communist party of south africa, leader, african neational congress
 

को हुन् क्रिस हनी ?

क्रिस हनी विश्व कम्युनिस्ट आन्दोलनका एक महान् क्रान्तिकारी र अन्तर्राष्ट्रयवादी नेता हुन् । अफ्रिकी समाजवादी र मुक्तिकामीहरुका त उनी अझ लोकप्रिय नेता हुन् ।

अफ्रिकी राष्ट्रिय काँग्रेसका नेता नेल्सन मण्डेलापछि सबैभन्दा लोकप्रिय नेता तथा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका क्रिस हनीको साम्राज्यवादीहरुसँको मिलोमतोमा दक्षिणपन्थीहरुले गोली हानी हत्या गरेका थिए ।

उनी कंगोका क्रान्तिकारी प्याट्रिस लुमुम्बा, घानाका क्रान्तिकारी क्वामे एनक्रुमा र ब्रुकिना फासोका नेता थोमस संकारा जस्तै अफ्रिकाको स्वतन्त्रता, मुक्ति र समाजवादी आन्दोलनको एक अग्रणी नाम हुन् । संघर्ष, संगठन, सामान्य जीवनशैली, क्रान्तिकारिता र जनता बिचको सम्बन्ध उनबाट हरेक क्रान्तिकारीले सिक्नुपर्ने पाठ हुन् ।

हनी अफ्रिकी राष्ट्रिय काँग्रेस (एएनसी) र दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीको (एसएसीपी) सबैभन्दा राम्रा वक्ता थिए । क्रान्तिकारी, स्पष्ट र कुशल वक्ता । उनलाई एक समझदार र समन्वयकारीको रुपमा पनि लिइन्छ जसले एएनसी र एसएसीपी बिचको समन्वय र क्रान्तिकारी भावनामा कहिले आँच आउन दिएनन् ।

उनकै नाम र हत्याको विरोधको बलमा एएनसीले सन् १९९४ मा चुनाव जित्यो र नेल्सन मण्डेलाले सरकार चलाए । मण्डेलाका अनुसार हनी दक्षिण अफ्रिकाको मुक्ति आन्दोलनको सबैभन्दा सर्वोच्च नाम हो ।

जन्म र वाल्यकाल

२८ जुन १९४२ दक्षिण अफ्रिकाको दक्षिणपूर्वी क्षेत्र ट्रान्सकाईको एक दुर्गम सानो गाँउ कोफिम्भाडामा जन्मिएका क्रिस हनी (मार्टिन थेम्बिसिली हनी) को १० अप्रिल १९९३ मा हत्या गरिएको थियो ।

Pramesh Pokharel
लेखक

हत्याअघि दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका महासचिव रहेका उनी अफ्रिकी राष्ट्रिय काँग्रेसको प्रमुख नेताहरुमध्ये एक थिए । नेल्सन मण्डेलाले स्थापना गरेको अफ्रिकी राष्ट्रिय काँग्रेसको भातृ संगठन युवा लिगबाट राजनीतिमा प्रवेश गरेका क्रिस हनी १५ वर्षको उमेरमै अफ्रिकी राष्ट्रिय काँग्रेसको सदस्य बनेका थिए । लगत्तै उनी अफ्रिकी राष्ट्रिय काँग्रेसको सशस्त्र संगठन वा जनसेनामा सक्रिय भए र त्यसको उपप्रमुख समेत रहे ।

क्रिस हनीका बाबुको नाम गिल्बर्ट हनी र आमाको नाम मेरी हनी थियो । उनी ६ मध्ये बाँचेका ३ भाइ छोरामा माइला थिए । उनका पिता अफ्रिकी राष्ट्रिय काँग्रेसको कार्यकर्ता थिए ।

सानैदेखि अध्ययनमा निकै तेज हनी पूर्वी केपमा स्नातक पढ्दै गर्दा गोराहरुबाट कालाहरुमाथि भएको शोषण र विभेदको विरुद्धको विरोध तथा वान्टु शैक्षिक ऐनको विरुद्धमा प्रदर्शनमा सहभागी भए । स्नातकपछि उनले सन् १९६२ मा अफ्रिकी राष्ट्रिय काँग्रेसको सशस्त्र संगठन एमके (जनसेना) मा भर्ती भए । सशस्त्र संघर्षकै सुरुवातमा उनले प्रशासनबाट बच्न आफूलाई क्रिसको रुपमा चिनाए ।

सुरुवाती राजनीतिक जीवन

दक्षिण अफ्रिकी जनताको अधिकार, समानता र न्याय, राष्ट्रिय मुक्ति र स्वाधीनताको वकालत गर्ने उद्देश्यले अफ्रिकी राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो । सन् १९४८ पछि यो रंगभेदविरोधी आन्दोलनको अगुवा बन्यो । यसलाई नेल्सन मण्डेला लगायतका नेताले रंगभेदविरोधी आन्दोलनको पर्यायको रुपमा चिनाए ।

अफ्रिकी राष्ट्रिय काँग्रेस (एएनसी) एक ऐतिहासिक गठबन्धन हो, जसमा रंगभेद विरोधी र राष्ट्रिय मुक्तिकामी जनताका साथै दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी (एसएसीपी) र दक्षिण अफ्रिका ट्रेड युनियन काँग्रेस (कोसाटु) सामेल छन् । यसलाई तीन पार्टीको सम्मिलन मानिन्छ, जहाँ अन्य दुवैले विगतमा पनि भिन्न रुपमा चुनावमा समेत भाग लिएका छैनन् ।

यही वर्णभेद र असमानताको परिस्थितिबाट हनीको परिवर्तनकारी सोचको उदय भयो । हनी १५ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय भएका थिए । क्रिस हनीले अफ्रिका राष्ट्रिय काँग्रेसको सशस्त्र जनसेनाको संगठन, प्रशिक्षण र तालिमको क्षेत्रमा अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

उनी निकै सुझबुझ भएका सबै सहयोद्धाको मन बुझ्नसक्ने क्रान्तिकारी र अनुशासित थिए । उनको नेतृत्व जनसेना बिच लोकप्रिय हुँदै गयो भने विलासी बन्दै गएका र क्रान्तिकारी युवाको भावना बुझ्न नसक्ने नेताहरुको आलोचना बढ्दै गयो । त्यसैले सन् १९६९ मा क्रिस हनी सहित ६ जनाले नेतृत्वलाई ‘हनी प्रस्ताव’ भनिने ज्ञापनपत्र तयार गरी पेश गरे ।

समाजवाद र अन्तर्राष्ट्रवादको यात्राः

हनीले लामो समय निर्वासनमा विताए । उनी सुरुमै लेसोथोमा तालिम गर्न गए । त्यसपछि उनी तत्कालीन सोभियत संघमा सशस्त्र युद्धको तालिम लिन पुगे । त्यहाँ उनले एक वर्ष बिताए । अन्तर्राष्ट्रिय प्रभाव पनि हुनुपर्छ, त्यतिबेला सोभियत संघ र क्युवाको अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनप्रतिको सहयोग र सद्भाव निकै बलियो थियो ।

Chris Hani, Chief of staff of South African MK
क. क्रिस हनी, अफ्रिकी राष्ट्रिय काँग्रेसको सैन्य दस्ता एमकेका चिफ अफ स्टाफको रूपमा

अंगोलामा स्वयम् चे ग्वेभाराले गुरिल्ला संघर्ष चलाएका थिए । हनी पनि जिम्बाब्बे, लेसोथो, जाम्बिया, अंगोला आदि देशमा निर्वासनमा मात्र बसेनन्, त्यहाँको क्रान्तिकारी आन्दोलनसँग जोडिएर रहे । उनी अन्तर्राष्ट्रवादी पनि थिए । उनले युरोपमा करिव १० महिना तालिममा बिताए । उनी भियतनाम समेत आई सशस्त्र संघर्षको बारेमा बुझेर गए ।

मण्डेला र क्रिसको सम्बन्ध

मण्डेलालाई दक्षिणपन्थीहरु कम्युनिस्ट र उग्रपन्थी ठान्दछन् तर कम्युनिस्टहरु र वामपन्थीहरुले उनले रंगभेदको मुद्दालाई लिएर सरकारसँग सम्झौता गरेको र समाजवादी आन्दोलनलाई धोका दिएको ठान्दछन् । यी दुवै सत्य होइनन्‌ ।

लोकतन्त्र र सामाजिक न्यायको प्रतीकको रुपमा मण्डेला चिनिए भने क्रान्तिकारी कम्युनिस्ट, सच्चा समाजवादी र अन्तर्राष्ट्रयवादीको रुपमा क्रिस हनी चिनिए । उनी आफ्नो जीवनभर मण्डेला जत्तिकै लोकप्रिय थिए ।

दक्षिण अफ्रिकी शान्ति सम्झौता र सशस्त्र मुक्ति आन्दोलनको शान्तिपूर्ण अवतरणका कारण मण्डेला अन्तर्राष्ट्रिय रुपमा परिचित भए । तर जब मण्डेला जेलमा थिए, क्रिस हनी र बिनी मण्डेलाले आन्दोलन हाँकेका थिए ।

बिनी मण्डेला एक महत्त्वपूर्ण क्रान्तिकारी थिइन् । श्रीमतिको रुपमा मण्डेलाको विश्वासपात्र र क्रिस हनीसँगको विश्वासको सम्बन्धका कारण उनी महिला आन्दोलनको मात्र होइन, अफ्रिकी काँग्रेसको पनि सशक्त नेता बनिन् । जीवनभर नेल्सन मण्डेला र क्रिस हनी बिच अत्यन्त सुमधुर सम्बन्ध भएपनि कतिपयले बिनी मण्डेला र क्रिस हनीको सम्बन्धलाई लिएर दरार सृजना गर्न खोजे । रोध विश्वविद्यालयबाट स्नातक उनलाई धेरैले तन्नेरी मण्डेला भनी चिन्दथे । तर आजकल यसोभन्दा कतिपय उनका समर्थक उनको अपमान भएको पनि ठान्दछन् ।

हत्या र विश्वव्यापी अर्थराजनीतिक सन्दर्भ

सन् १९९० को सुरुवातमा विश्वमा साम्राज्यवादी र पुँजीवादीहरुले एक नयाँ युगको सुरुवातको घोषणा गरे । सोभियत संघको विघटनसँगै विश्वमा समाजवादमाथि पुँजीवाद हावी भएको होहल्ला गरे । तर समाजवादको पतनको घोषणा गर्दागर्दै उनीहरुमाथि केही धक्काहरु देखिन थाले ।

सन् १९९० मै दक्षिण अफ्रिका र नेपालमा लोकतन्त्रको स्थापना भयो । अनि दुवै देशमा प्रमुख शक्तिको रुपमा कम्युनिस्टहरुको उदय भयो । कम्युनिस्ट पार्टी बलियो हुनुमा तिनहरुको समय सापेक्ष विचार र अत्यन्त कुशल रणनैतिक र कार्यनैतिक क्षमता भएका श्रमजीवी वर्गका नेताहरुको नेतृत्व प्रमुख रहेको थिए । नेपालमा जननेता क. मदन भण्डारीको नेतृत्वमा कम्युनिस्ट आन्दोलन उचाइमा पुग्दै थियो भने दक्षिण अफ्रिकामा जननेता क. क्रिस हनीको नेतृत्वमा आन्दोलनले उचाइ लिइसकेको थियो ।

सन् १९९० देखि नै साम्राज्यवादीहरु यसको आँकलन गरेका थिए कि यी जनप्रिय नेताहरु उनीहरुका लागि खतरा हुनेछन् । केहीले पहिलेनै खतराको शंका गरेका थिए ।

पुँजीवादी र साम्राज्यवादीहरुलाई थाहा थियो कि ती नेताहरुकोपछि लाखौँ जनताको साथ र समर्थन छ । त्यसैले उनीहरु ती नेतालाई हत्या त गर्न चाहन्थे तर त्यो हत्या नभई एक दुर्घटना बनोस् या सामान्य मृत्यु । उनीहरु कम्युनिस्ट आन्दोलन र विचारलाई समेत कमजोर बनाउन चाहन्थे ।

अनि केही समयपछि दुश्मनहरु सन् १९९३ को अप्रिल र मे महिनामा क्रमशः क्रिस हनी र मदन भण्डारीको हत्या गर्न सफल भए । मदन भण्डारी र जीवराज आश्रितलाई दासढुंगामा जीप दुर्घटना गराई मारियो ।

दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी र राजनीतिका सबैभन्दा लोकप्रिय र क्रान्तिकारी क्रिस हनीलाई उनकै निवास बाहिर गोली प्रहार गरी हत्या गरियो । हनीलाई एक अतिवादी जानुज वालुसले गोली हानेको थियो, जसका लागि सुरुमा मृत्युडण्डको फैसला सुनाइए पनि पछि २०१६ मा अदालतबाट गल्तिका लागि पश्चाताप गर्ने, हनीका परिवारसँग माफी माग्ने र आइन्दा कसैको हत्या नगर्ने शर्तमा  रिहा गरिएको थियो ।

 हनीको आत्मकथा

सन् १९९१ फेब्रुअरीमा उनले आफ्नो अत्मकथा प्रकाशन गरेका थिए, जसमा उनले आफ्नो बाल्यकाल र शिक्षादेखि राजनीतिक जीवनसम्मका अनेकन पाटाको व्याख्या गरेका थिए । ६ जना सन्तानमध्येका पाँचौ उनी दुर्गम र असचेत समाजको सम्झना गर्दै सानैमा तीन भाइबहिनीको मृत्यु भएको बताउँछन् ।

उनको सानैदेखिको जीवन संघर्षपूर्ण रहेको, सन् १९५६ को अभियानबाट उनी एएनसीमा आबद्ध भएको र उनी दक्षिण अमेरिकी र अंग्रजी साहित्य पढ्दै गर्दा मार्क्सवादी अध्ययनमा लागेको लेखेका छन् ।

उनी सम्झन्छन्, “सन् १९६१ मा भूमिगत दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीमा लागेपछि बल्ल उनलाई महशुस भयो की स्वाधीनता र मुक्तिका लागि कम्युनिस्ट पार्टी नै आवश्यक छ । त्यतिबेला गोभान बेकी, वारम फिसर, रे सिमोन, मोस कोटाने आदि पार्टीका प्रभावशाली व्यक्ति थिए ।

सन् १९६२ मा एमकेमा भर्ती भएपछि उनी १९६७ मा जिप्रा जस्तामा सामेल भई जिम्बाब्बेमा संघर्ष गरे । उनी १९७४ मा लेसोथोमा बसी दक्षिण अफ्रिकामा भूमिगत संघर्ष सञ्चालन गरे ।

हनी सन् १९६२ मा सरकार विरोधी प्रचाहरु बाँड्ने क्रममा कम्युनिस्ट विरोधी कानुनका कारण पक्राउ परे । तर जमानीमा छुटेपछि उनी बोत्स्वाना पुगे । त्यहीँ उनले अफ्रिकी काँग्रेसको सदस्य बने । फेरि १९६७ मा उनी २ वर्षका लागि जेल चलान भए ।

क्रिस हनीको नाममा लेक्चर नाट्यघर बनेको छ । उनको सम्मान र सम्झनामा केप टाउन विश्वविद्यालय दक्षिण अफ्रिकाले लेक्चर नाट्यघरको नामाकरण उनको नामबाट गरिएको छ । त्यहाँ उनको बारेमा समेत अध्यापन र प्रवचन गरी जानकारी गराइन्छ ।

(लेखक मदन भण्डारी एसियाली विद्यालयका संयोजक हुनुहुन्छ।)