अहिले विश्वव्यापीकरणको अवधारणालाई हरेक देशको सामाजिक–आर्थिक विकाससँगै जोड्ने गरिन्छ । यसले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र सामाजिक–आर्थिक क्रियाकलापको व्यापकततालाई बुझाउँछ । सामान्यतः विश्वव्यापीकरण आफैँमा नराम्रो अवधारणा होइन । विभिन्न समाज, अर्थतन्त्र, संस्कृति र व्यवस्थाको विश्वव्यापी रूपमा एकीकृत हुने प्रक्रिया विश्वव्यापीकरण हो । विज्ञान र प्रविधिमा भएको विकासले सञ्चार र यातायात क्षेत्रमा गरेको विकाससँगै विश्वका विभिन्न मानिस, विचार तथा व्यक्तिका क्रियाकलापहरू अन्तर्सम्बन्धित, अन्योयाश्रित तथा एकीकृत हुँदै जाने तथा विश्व खुम्चिँदा वा साँघुरिँदै जाँदा व्यक्ति, वस्तु र सूचना सजिलै एक धु्रव वा देशबाट अर्कोमा प्रवाह वा स्थानान्तरण हुन सक्दछ । यो नै विश्वव्यापीकरण प्रक्रिया हो ।
विश्वव्यापीकरणलाई अन्तर्राष्ट्रियकरण, उदारीकरण, संसारीकरण, पश्चिमीकरण तथा राज्यविहीनताका थुप्रै उदाहरण तथा नाम दिइने गरिन्छ जुन सन्दर्भ अनुसार पर्यायवाची पनि हुन् । तर मुख्यतः पुँजीवादी दर्शन, बहुराष्ट्रिय निगमको विकास र आधुनिक संस्कृति तथा सामाजिक सम्बन्धहरूको विश्वव्यापी रूपमा फैलने प्रक्रिया विश्वव्यापीकरण हो । यो प्रक्रिया नवउदारवादी विचारसँगै १९९० देखि तीव्र भएको मानिन्छ तर यसको जग धेरै अघि नै बसेको थियो । मुख्य गरी नजउदारवादीहरू विश्वव्यापीकरणको पक्षपोषण गर्दछन् । विश्वव्यापीकरणलाई नवउदारवादको परिणामका रूपमा लिने हो भने यो अवसरभन्दा पनि सङ्घर्ष र चुनौतीको विषय हो । यसको उद्देश्य पनि पहिलेको साम्राज्यवाद र हालको नवउदारवादको भन्दा भिन्न हुन सक्दैन । तर कम्युनिस्टहरू पनि विश्वव्यापीकरणका विरोधी होइनन् । कार्ल माक्र्सकै समयदेखि सर्वहारा वर्गको अन्तर्राष्ट्रियकरणको विषयमा चर्चा पाइन्छ ।
२,००० वर्ष अघिका अलेक्जेन्डर दी गे्रट र चन्द्रगुप्त माैर्यकाे प्रयास तथा सातौँ शताब्दीको इस्लाम विश्वको कल्पना मात्र होइन, थुप्रै विश्व जित्नेहरूको उद्देश्य र कल्पना विश्वव्यापीकरणका प्रारम्भिक घटना मान्न सकिन्छ । तर यी सबै कार्य साम्राज्यवादी मानिन्छन् । मध्यकालीन युगमा विभिन्न देशहरूका बिच भएका राजनीतिक सन्धि–सम्झौता तथा व्यापारिक सम्बन्ध विस्तारका उदाहरण पनि विश्वव्यापीकरणका ऐतिहासिक आधारहरू हुन् । बाराैँ शताब्दीमा गेङ्गिज खानले तथा १९ औँ शताब्दीमा हिटलर तथा ब्रिटिस शासकले पनि विश्वलाई एक बनाउने कोसिस गरे जुन राजनीतिक र व्यापारिक उद्देश्यले गरिएका विश्वव्यापीकरणकै प्रयास हुन् ।
विश्वव्यापीकरणको सुरुवात उदार अर्थनीति र पुँजीवादी दर्शनसँगै आधुनिक युगमा भएको धेरैको विश्वास भए पनि आर्थिक विश्वव्यापीकरणको इतिहास ग्रिस, रोम, भारत, इजिप्ट जस्ता देशले तेस्रो शताब्दीदेखि नै सुरुवात गरेका आर्थिक व्यापारिक सम्बन्धको व्याख्याविना पुरा हुँदैन । मध्ययुगमा यहुदी र मुस्लिमका बिचको वस्तु विनिमयले ल्याएको विचार र परम्पराको प्रसार, चिनियाँहरूद्वारा सुरुवात भएका व्यापारिक भ्रमण तथा अफ्रिका तथा अमेरिका पत्ता लागेपछि फैलिएका सम्बन्ध, बसाइँसराइ आदि पनि विश्वव्यापीकरणकै ऐतिहासिक घटना हुन् ।
कार्ल माक्र्सले साम्यवादी समाजको परिकल्पना गर्नु, वर्ग, राज्य, शोषणको अन्त्य हुनु र मानव अन्तर्राष्ट्रिय जातिमा परिणत हुनु भनी उल्लेख गरिनु पनि विश्वव्यापीकरण कै अवधारणा हो ।
हामीले चर्चा गरेका साम्राज्यवादी र माक्र्सवादी घटनाक्रम र अहिलेको विश्वव्यापीकरणको रूप उस्तै देखिए पनि यी कुरामा ठुलो अन्तर छ ।
धेरैले नबुझेको कुरा के भने अहिलेकोे विश्वव्यापारीकरण नवसाम्राज्यवादको उद्देश्य बोकेको छ र यसको मूल कार्य विश्वभर नवउदारवाद फैलाउनु हो । अहिलेकोे विश्वव्यापारीकरणको चरित्रबाट विकसित हुँदै अगाडि बढिरहेको छ । विश्वमा सञ्चार र वस्तु व्यापारको युद्घ सञ्चालन भइरहेको छ । जसले विश्वव्यापीकरणलाई विश्वव्यापारीकरणको हस्तक्षेपकारी क्रियाकलापबाट परिचित गराउँदै लगेको छ । यस्तो प्रयोगको सुरुवात दोस्रो विश्वयुद्धपछि मात्र भयो । सुरुमा देशका सीमा कमजोर बनाउने र अन्य देशसँग आर्थिक सम्बन्ध कायम गर्ने कार्य तीव्र बन्यो । त्यसैगरी दोस्रो विश्वयुद्धपछि ठुला तथा साना धेरै देशहरू उपनिवेशबाट मुक्त हुनु र ती देशमा आधुनिकीकरणको प्रक्रिया अगाडि बढ्नु तथा संयुक्त राष्ट्र सङ्घको स्थापना हुनुले पनि विश्वव्यापीकरणको आधुनिक जग बस्यो । आर्थिक रूपमा व्यापार खुल्ला बन्नु, भन्सार दर, भाडा आदि कम हुँदै जानु, ठुला ठुला बहुराष्ट्रिय निगम खुल्नु, राजनीतिक रूपमा प्रजातन्त्र र मानव अधिकारको अवधारणा विश्वव्यापी रूपमा फैलनु र सामाजिक सांस्कृतिक रूपमा संस्कृति र सामाजिक सम्बन्धहरू फैलँदै जानु विश्वव्यापीकरणका प्रक्रिया हुन् । झट्ट हेर्दा त्यस्तो नदेखिए पनि सारमा अहिलेको नवउदारवादी विश्वव्यापीकरणको उद्देश्य र पहिलेको साम्राज्यवादको उद्देश्य एउटै हो तर रणनीतिहरू समयअनुकूल फरक फरक छन् ।
नेपालमा भने २०४६ पछि मात्र उदार अर्थनीतिसँगै यो प्रक्रिया तीव्र बन्यो । हाम्रो देशको सन्दर्भमा अहिले आन्तरिक मात्र नभई विश्व बजारमा निर्भर हुनु, निजी लगानीकर्तालाई प्रोत्साहन गर्नु, पुँजी र स्रोतको निजीकरण गर्दै जानु, विकासमा अन्तर्राष्ट्रिय सङ्गठनहरूको महत्त्वपूर्ण भूमिका रहनु तथा सूचना, प्रविधि, वस्तु, विचार, पुँजी र व्यक्तिहरू सजिलैसँग स्वतन्त्र प्रवाह हुन सक्नु विश्वव्यापीकरणका उदाहरण हुन् । त्यसैले विदेशी लगानी भिœयाउनु, पुँजीलाई चल राख्नु लगायत वैदेशिक रोजगार, प्रविधि हस्तान्तरण, आधुनिकीकरण आदि विश्वव्यापीकरणका सवल पक्ष जस्ता देखिए पनि खुला बजार र सीमासँगै आन्तरिक बजार र उद्योग बाह्यबाट दमित र विस्थापित हुनु, विदेशी प्रभाव बढ्दै जानु, देशको अर्थतन्त्र र राजनीतिमा निजी संस्था, बुर्जुवा वर्ग वा विदेशी शक्तिको एकाधिकार हुँदै जानु, सामाजिक सम्बन्ध र संस्कृतिमा पश्चिमीकरणको प्रभाव पर्नु, दक्ष जनशक्ति पलायन हुनु, कृषि क्षेत्र धरासायी हुनु, प्राकृतिक स्रोतको विनाश हुनु आदि यसका अत्यन्त गम्भीर दुर्बल पक्ष हुन् ।
नेपालमा उदारवादी नीतिका कारण प्रारम्भिक चरणमा रहेका उद्योगले वैदेशिक निगमसँग प्रतिस्पर्धा गर्न सकेनन् भने अर्कातर्फ राज्यले संरक्षण नगर्दा भ्रष्टाचारका कारण निजी क्षेत्रले यसलाई धरासायी बनाउँदै लगे । र, अन्त्यमा प्रायजसो ठुला औद्योगिक प्रतिष्ठान निजी क्षेत्रलाई विक्री गरियो र बाँकी बन्द भए । नेपालमा बेरोजगारीको सङ्ख्या थपिँदै गयो । निर्वाहमुखी खेतीमा संलग्न पारिवारिक कृषिले ग्रामीण क्षेत्रका युवाहरूलाई रोजगारी दिन नसकिरहेको अवस्थामा भएका केही रोजगारका अवसरहरू पनि गुम्दा बेरोजगारी बढ्दै गयो । त्यसपछि विश्वव्यापार प्रबद्र्धनका निम्ति नीतिहरू अझ नवउदार बन्दै गए । नेपाल बहुराष्ट्रिय कम्पनीले आफ्ना उत्पादन बेच्ने बजार बन्यो भने नेपालका बेरोजगार युवाहरूलाई भारत बाहेक खाडी क्षेत्र, मलेसिया, दक्षिण कोरियामा आफ्नो श्रम विक्री गर्ने बजार उपलब्ध हुन गयो ।
कृषिप्रधान देश नेपालका युवाहरू प्रत्यक्ष वा परोक्ष रूपमा कृषिमा निर्भर रहेको र लाखौँ युवाको त जीविकोपार्जनको प्रमुख स्रोत कृषि नै भएको सन्दर्भमा विश्वव्यापीकरणको प्रभावले कृषि कठिन बन्न थाल्यो । नवउदारवादी अर्थनीति र पुँजीवादी व्यवस्थाले सिर्जना गरेका सम्पूर्ण सङ्कटद्वारा सबैभन्दा बढी किसान वर्ग त्यसमा पनि युवा किसान वर्ग प्रभावित हुँदै गयो । युवाको विदेश पलायन र कृषिप्रतिको बढ्दो विकर्षण पनि यसैको परिणाम हो । कृषिमा उत्पन्न सङ्कटले युवा वर्गलाई बेरोजगार बनाएको छ । प्राकृतिक स्रोत साधनको मनलागी दोहनले यिनलाई स्रोत साधन विहीन बनाई गरिबीको कुचक्रमा धकेलेको छ । हरित क्रान्ति र आनुवांशिक क्रान्तिका नाममा तर मूल उद्देश्य व्यापार र नाफा बोकेका पुँजीवादी देशले बहुराष्ट्रिय निगमको आडमा किसानहरूलाई रोग र भोकको खाल्डोमा पारेका छन् । किसान वर्ग जो देशको संस्कृति, राजनीति र अर्थतन्त्रका मेरुदण्ड हुन् तिनलाई दूषित र विस्थापित गर्नाले देशको सम्प्रभुता, सभ्यता र अर्थ–राजनीतिमा दखल पुग्ने निश्चितप्रायः छ ।
सर्वपक्षीय दृष्टिकोणबाट भन्दा आजको विश्वव्यापीकरण आर्थिक विश्वव्यापीकरणमा केन्द्रित छ । तर वस्तु, पुँजी र प्रविधिको विश्वव्यापी प्रवाहसँगै समाज, संस्कृति र राजनीतिमा पनि प्रवाह बढ्दछ । अनि पुँजीवादी देशबाट उत्पादन, पुँजी र प्रविधि अल्प विकसित देशतर्फ एकतर्फी प्रवाह हुने हुँदा धनी देश धनी बन्दै जाने र गरिब देश अझ गरिब बन्ने निश्चितप्रायः छ । त्यसैले विश्वव्यापीकरणले अविकसित देशमाथि विकसित देशको प्रभुत्व कायम गराउँदछ । अझ नाफाको सिद्धान्तमा आधारित महत्त्वाकाङ्क्षी बहुराष्ट्रिय निगम र व्यापार लगानी सम्झौताद्वारा धेरै हदसम्म निर्देशित वर्तमान विश्वव्यापीकरण निगमीय विश्वव्यापीकरणको प्रक्रियाद्वारा गरिब देश, त्यहाँका जनता र सम्पूर्ण स्रोतसाधनहरू दोहन र प्रताडित छन् । विश्व बैँक, अन्तर्राष्ट्रिय मुद्रा कोष, बहुराष्ट्रिय निगमहरू, विश्व व्यापार सङ्गठन आदिले अल्पविकसित देशको कृषि क्षेत्र जुन ती देशको अर्थतन्त्रको मेरुदण्ड पनि हो, त्यसलाई तहसनहस र ध्वस्त पार्दै छ ।
उदारवादी व्यापारले ग्रामीण साना किसानलाई विस्थापन गर्दछ, निजीकरणले देशको अर्थतन्त्रलाई गरिबको पहुँचबाट टाढा राख्दछ र सरकारी खर्चमा कटौती ल्याउँछ । कालो बजारी बढ्नु, चर्को ब्याजदर हुनु तथा कृषि क्षेत्रप्रति विकर्षण बढ्नु निगमीय विश्वव्यापीकरणका परिणामहरू हुन् । त्यसैगरी जलवायु परिवर्तन, प्राकृतिक स्रोतको विनाश, भूमि अतिक्रमण लगायतका समस्या निगमीय पुँजीवादी विश्वव्यापीकरणकै परिणाम हुन् । त्यसैले किसान पनि विश्वव्यापीकरणबाट लाभान्वितभन्दा बढी प्रताडित भएका छन् । त्यसमा पनि युवा र महिला किसानमा विश्वव्यापीकरणले धेरै नकारात्मक प्रभाव पारेको छ ।
व्यापारिक र निगमीय विश्वव्यापीकरणसँगै आयात बढ्नु उत्पादनमा कमी नभई गलत सन्धि सम्झौताको कारण हुन सक्दछ । कृषि क्षेत्रका लागि आवश्यक प्राकृतिक स्रोत साधनको अनियन्त्रित प्रयोगले सम्पूर्ण आनुवांशिक, पर्यावरणीय र जैविक विविधता नष्ट गर्दछ । विश्व व्यापारका गलत नीतिले गरिब देशको उत्पादन पूर्ण शिथिल हुन्छ भने मौद्रिक नीतिले देशलाई ऋण र परनिर्भरतातर्फ धकेल्छ ।
स्थानीय स्रोतसाधन र बिउ बिजनमा पर्ने प्रभावले कृषि व्यवसाय कठिन बन्दछ । बहुराष्ट्रिय कम्पनीको एकाधिकार, भूमि अतिक्रमण तथा जलवायु सङ्कट प्रकोपबाट पनि साना ग्रामीण किसान मारमा पर्दछन् । एकातिर युवाहरू अमेरिकीकरण, पश्चिमीकरण लगायतका विश्वव्यापीकरणका हाँगाहरू समाउँदै छन् भने अर्कातिर शिथिल अवस्थाको ग्रामीण कृषि अर्थतन्त्रमा विकर्षण बढ्दो छ । त्यसैले केही वर्षपछि कृषि क्षेत्र सम्हाल्ने जनशक्तिको अभाव हुन सक्ने खतरा पनि उब्जिएको छ । त्यसैले विश्वव्यापीकरणका नकारात्मक प्रभाव न्यूनीकरण गर्नु देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा समग्रमा दिगो कृषि विकासका लागि हाम्रो ध्यान जानु अपरिहार्य भइसकेको छ ।
कृषि क्षेत्र र कृषकको पहिचान गरिबी, पछौटेपन बनेको समयमा यस्तो सोचलाई परिवर्तन गर्ने, नयाँ प्रविधि र ज्ञानसँगै कृषि क्षेत्रलाई व्यावसायीकरणतर्र्फ लग्ने जस्ता प्रमुख कार्य गर्नु आजको जिम्मेवारी हो । विश्वव्यापीकरणकै कारण आज कृषि पेसालाई व्यवसायका रूपमा विकास गरी विश्वव्यापी रूपमा बजार पाउने सम्भावना छ । तर त्यसभन्दा अघि विश्वव्यापीकरणले युवा जगत् र कृषि क्षेत्रमा परेका प्रभाव न्यूनीकरणका लागि केही कार्यहरू पनि आवश्यक देखिन्छ ।
१) किसानलाई ज्ञान, सिप र प्रविधिले सुसज्जित गरी क्षमता अभिवृद्धि गर्ने ।
२) पुँजी, भूमि, सूचना लगायतका स्रोतहरूमा युवाको सहज पहुँच र नियन्त्रण बनाउने ।
३) बजारीकरणमा सहयोग, उत्पादन कार्यमा सेवा, राहत र प्रोत्साहनका कार्यक्रम तर्जुमा गर्ने ।
४) युवालाई कृषिमा आकर्षित गर्ने नीति तथा कार्यक्रमहरू अगाडि सार्ने ।
५) विश्वव्यापीकरणको सबल र दुर्बल पक्षबारे सचेत युवा किसान अधिकारकर्मी, संस्था र सञ्जाल निर्माण गरी युवा किसानको हकहित र अधिकारको आन्दोलन सशक्त बनाउने ।
६) कृषिको व्यावसायीकरण गर्न ग्रामीण पूर्वाधारको विकास गर्ने र दिगो कृषि विकासको नीति र कार्यक्रम तर्जुमा गर्ने ।
७) वैदेशिक कम्पनी र ध्त्इ लाई कृषि क्षेत्रमा लगानी गर्न निषेध गर्ने ।
८) नवउदारवाद र विश्वव्यापीकरणका प्रभावबारे समयमै सचेत रहने ।
९) विश्वव्यापीरणलाई अवसरभन्दा पनि चुनौतीका रूपमा लिई योजनाबद्ध कार्य गर्ने ।
१०) विश्वव्यापीकरणलाई व्यापार, लगानी र राजनीतिक प्रभावको कारण बन्न नदिने ।
अन्त्यमा, विश्वव्यापीकरण आशा पनि हो र सङ्घर्ष पनि । यसले किसानका निम्ति अनेक सम्भावनाहरू ल्याएको छ । किसान आन्दोलनलाई विश्वव्यापी बनाउन पनि यसको ठुलो भूमिका छ, जसबाट किसान आन्दोलन बलियो बनेको छ । तर जबसम्म विश्वव्यापीकरणमा व्यापारिक र निगमीय केन्द्रीकरण रहन्छ र उदार अर्थनीति र पुँजीवादी दर्शनमा आधारित हुन्छ, तबसम्म मुख्य गरी गरिब देशका किसानका आशा निराशामा परिणत हुने सम्भावना बढी छ । त्यसैले हामीले विश्वव्यापीकरणलाई व्यापारिक र निगमीय केन्द्रीकरण तथा उदार अर्थनीति र पुँजीवादी दर्शनबाट अलग राख्न सक्यौँ भने यसलाई सर्वहारा वर्गको अन्तर्राष्ट्रियकरणका रूपमा परिणत गर्न सकिने छ ।
(लेखक कृषि अनुसन्धानकर्मी हुन् –सम्पादक ।)