बीमाको परिचय
आफ्नो सम्पति, उत्पादन, सामग्री आदिमा भइपरी आउने क्षतिबाट राहत पाउन तथा त्यसको संरक्षणका लागि गरिने कार्य नै बीमा हो । बीमा प्रकृयामा अन्य व्यापारमा जस्तै क्रेता र बिक्रेता बीच समझदारी भई बीमाका ग्राहक (बीमित) ले बीमा कम्पनीसँग बीमा शुल्क (Premium) तिरी बीमा सेवा पाउनका लागि सम्झौता गर्दछ । बीमा शुल्क वस्तुको प्रकृति, सोको वर्गीकरण, सोसँग आबद्ध विगतका दाबीहरु तथा मूलतः सम्भाव्य जोखिमको आधारमा निर्धारण गर्ने गरिन्छ । कृषि उत्पादनको पनि बीमा गर्न सकिन्छ । नेपालमा बाली तथा पशु बीमामा बीमा शुल्क ५ प्रतिशत लाग्दछ भने माछा र कुखुरामा भने यो क्रमश २ र १.२५ प्रतिशत रहेको छ ।
बीमा कार्य नेपालको हकमा नया भए पनि यसको विश्वव्यापी प्रयोग निकै लोकप्रिय छ । यसको प्रमुख कारण यसका फाइदाहरू नै हुन् । बीमाबाट व्यक्ति, समाज, राष्ट्रलाई नै धेरै फाइदा हुन्छ । व्यक्तिगत रुपमा फाइदाहरूलाई आर्थिक सुरक्षा, बचत गर्न प्रोत्साहन, शिक्षादीक्षा र विवाहको व्यवस्था, लाभदायक लगानी र सामाजिक प्रतिष्ठा आदि यसका फाइदा हुन् । बीमाले व्यक्तिलाई आफ्नो जीवन र सम्पत्तिबारे भविष्यमा हुनसक्ने जोखिमहरूकोे कारण उब्जिएको समस्याबाट राहत हुने गरी क्षतिपूर्ति गर्दछ । व्यवसायको बीमा गर्दा विशेष गरेर व्यवसायबाट डुब्ने डर कम हुन्छ र ढुक्कसँग काम गर्न पाइन्छ । व्यवसायमा बीमाले आर्थिक सुरक्षा, ऋण प्राप्त गर्न सजिलो, व्यवसायको निरन्तरता, व्यावसायिक दक्षतामा वृद्धि आदि फाइदाहरू गराएको हुन्छ ।
नेपालमा कृषि बीमाको सुरुवात्
वि.सं. २०६० साल माघ १ गतेदेखि लागु हुने गरी बीमा ऐन, २०४९ को दफा ८(घ२) अनुसार कृषि विकास मन्त्रालय र बीमा समितिको पहलमा बाली तथा पशुपंक्षी बीमा निर्देशन, २०६९ जारी भई बाली, तरकारी खेती, फलफूल खेती, आलु खेती, पशुधन, पंक्षी र माछा लगायत बाली तथा पशु बीमा सुरु भयो ।
निर्देशनुसार सुरुमा बीमा शुल्कको पचास प्रतिशत रकम र २०७१ देखि ७५ प्रतिशत प्रिमियम नेपाल सरकारले व्यहोर्ने गरी विभिन्न बीमा कम्पनी (बीमक) हरूले निर्देशनको अधीनमा रही बीमा समितिबाट स्वीकृति लिएर बाली तथा पशुपंक्षी सम्बन्धि बीमाको सेवा सञ्चालन गर्दै आएका छन् ।
कृषक (बीमित) हरूले अभिकर्ताको सहयोगमा उल्लेखित बाली, पशुपंक्षी तथा माछापालन बीमालेखमा तोकिएको शर्त बमोजिम निर्धारित प्रस्ताव फारम भरी आफ्नो व्यवसायको बीमा गराउन सक्दछन् । बीमा अभिकर्ताले बीमा गराए बापत कमिशन पाउने व्यवस्था गरिएको छ । बीमा गर्दा प्रस्ताव फारमको साथमा सम्बन्धित प्राविधिकको प्रमाणपत्र समेत पेश गर्नु पर्दछ ।
प्राविधिक व्यक्ति भन्नाले बाली बीमाको हकमा कृषि सेवा केन्द्र वा मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विषयमा आधारभूत ज्ञान हासिल गरी सम्बन्धित निकायबाट सो सम्बन्धमा कार्य गर्ने इजाजत प्राप्त व्यक्ति र पशुपंक्षी बीमाको हकमा पशु सेवा केन्द्र, उपकेन्द्रका प्राविधिक वा भेटेरीनरी जे.टि., जे.टि.ए. वा ग्रामीण पशुपंक्षी स्वास्थ्य कार्यकर्ता वा मान्यता प्राप्त शिक्षण संस्थाबाट पशुपंक्षी चिकित्सा/पशुपन्छी विज्ञान बिषयमा ज्ञान हासिल गरी सम्बन्धित निकायबाट सो सम्बन्धमा कार्य गर्ने इजाजत प्राप्त व्यक्ति भनी परिभाषित गरिएको छ ।
बाली तथा पशुपंक्षी बीमाको बीमा शुल्क कमिशन सम्बन्धि व्यवस्था अनुसार बाली तथा पशु बीमामा १५ प्रतिशतसम्म कमिशनको व्यवस्था गरिएको छ । तर बीमा शुल्क निर्धारणका केही विशिष्ट प्रावधानहरु समेत रहेका छन्ः जस्तै न्युनतम् क्षेत्रफल, उमेर आदि ।
नेपालमा कृषि बीमाको अवस्थाः
नेपालमा बालीको हकमा तराईमा कम्तीमा १ कठ्ठा र पहाडमा आधा रोपनी जमिनमा गरिएको खेतिमा बीमा गर्न सकिन्छ । बाली बीमाको हकमा उत्पादन लागत (खेति गर्न लाग्ने खर्च) र पशुको हकमा तोकिएको बजार मुल्य (जिल्लास्थित समितिले निर्धारण गरेको) को आधारमा बीमा शुल्क निर्धारण हुन्छ । उदाहरणको लागि १ रोपनी जमिनमा तरकारी खेतिको बीमा गर्ने हो भने त्यसका लागि आवश्यक बिउ, मल, श्रमिक आदिको आधारमा जम्मा रु १०,०००/– खर्च लाग्छ भने त्यसको बीमा गर्दा जम्मा बीमा शुल्क पाँच प्रतिशत अथवा रू ५००/- रुपैयाँ लाग्दछ । सोमध्ये नेपाल सरकारले किसानलाई प्रिमियमा ७५ प्रतिशत अनुदान दिएको छ । सो अनुसार किसानले बीमाका लागि रु ५००/– को २५ प्रतिशत अथवा रु १२५/– मात्र तिरेर आफ्नो तरकारीको बीमा गर्न सक्छ । बीमा अभिकर्ताको सामान्य सेवा शुल्क र कमिशनसमेत जोड्दा केही रकम थपिए पनि त्यो त्यति ठूलो रकम भने हुँदैन ।
अर्को उदाहरण हेरौँ । मानाैँ हामीले एउटा होलेस्टाइन गाई एक लाखमा किनेर ल्यायौँ । बजार मुल्यको आधारमा जम्मा ५% वा ५,०००/– त्यसको बीमा शुल्क लाग्दछ । सो मध्ये नेपाल सरकारले किसानलाई प्रिमियममा ७५ प्रतिशत अनुदान दिएको छ । सो अनुसार किसानले बीमाका लागि रु ५,०००/– को २५ प्रतिशत अथवा रु १,२५०/– मात्रामा आफ्नो १ लाख मुल्यको गाईकोे बीमा गर्न सक्छ । बीमा अभिकर्ताको सामान्य फिस र कमिशन समेत जोड्दा केही रकम थपिए पनि त्यो त्यति ठूलो रकम भने हुँदैन । तर यदि बीमामा उल्लेख भएका कारण किसानलाई क्षति भएमा उसले गाईको बीमा बापत ९०,०००/– सम्म भुक्तानी पाउँछ । नेपालमा जम्मा बीमाको लगभग ८५% बीमा पशु बीमामा हुने गरेको तथा कृषि बीमामा पशु बीमाको तुलनामा कम आकर्षण रहेको छ ।
बीमा लेखले रक्षावरण गर्ने जोखिमहरूः
देहायका कुनै कारणबाट धान बाली, तरकारी, फलफूल, आलु, पंक्षी र माछा बीमा अवधिभित्र हानी नोक्सानी भएमा बीमकले बीमाङ्क रकमको ९० प्रतिशत रकम बीमितलाई भुक्तानी गर्नेछः धान बाली, तरकारी, फलफूल, आलु, पंक्षीको हकमा ।
(क) आगलागी, चट्याङ, (ख) भुकम्प,(ग) बाढी/डुबान/खडेरी, (घ) पहिरो/भू–स्खलन, (ङ) आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, (च) आकस्मिक/दुर्घटनाजन्य बाह्य कारणहरू, (छ) किरा तथा रोगबाट हुने हानि–नोक्सानी (माछाको हकमा तलका थप बुँदा समेत), (ज) अक्सिजनको कमी, एमोनियाबाट हुने नोक्सानी, (झ) बिषालु पदार्थबाट मरेमा ।
पशुधनको हकमाः
बीमाको अवधिभित्र पशुधनको विवरण तालिकामा उल्लेख भए बमोजिमका पशुधनहरूको क्षति/हानीनोक्सानी भएमा देहाय बमोजिमको क्षतिपूर्ति रकम बीमकले सम्बन्धित पक्षलाई भुक्तानी गर्नेछ । क) मृत्यु भएमा बीमाङ्क रकमको ९० प्रतिशत ख) पूर्ण स्थायी रुपमा अशक्त भएमा बीमाङ्क रकमको ५० प्रतिशत ।
दाबी सम्बन्धि प्रकृया
बीमालेखले रक्षावरण गरेको जोखिमहरूका कारणबाट बीमित माछा र पंक्षीको हानी नोक्सानी भएमा सात (७) दिनभित्र र धान, तरकारी, फलफूल, आलु र पशुधनको हकमा १५ दिनभित्र वा सो अवधिभित्र संभव नभएमा सोको कारण सहित संभव हुनासाथ बैङ्क/सदस्य संस्था मार्फत देहायका कागजातहरू बीमक समक्ष पेश गर्नु पर्नेछ । क) सक्कल बीमालेख) पूर्ण रुपले भरिएको दाबी फाराम, ग) सम्बन्धित प्राविधिकको प्रतिवेदन (पशु र पंक्षीको हकमा मृत्यु प्रमाण–पत्र) घ) न.पा./गा.वि.स./वडाको सर्जमिन मुचुल्का वा माछा, पशुधन र पंक्षीको हकमा कम्तिमा सबभन्दा नजिकको दुई (२) जना छिमेकीको सर्जमिन मुचुल्का ।
बाली तथा पशुपंछी बीमा व्यवसायलाई प्रवद्र्धन गर्नका लागि मिति २०७१/११/१ गते बीमा समिति तथा बाली तथा पशु पंछी बीमा व्यवसायमा संलग्न १७ वटा बीमा कम्पनीहरुको बैठकवाट हरेक बीमा कम्पनीहरुलाई ३ देखि ५ वटा जिल्लाहरु कार्यक्षेत्रको रुपमा तोकिएको छ । जस अनुसार तोकिएको जिल्लाहरुमा सम्बन्धित बीमा कम्पनीहरुले अनिबार्य रुपमा बाली तथा पशुपंछी बीमा व्यवसाय गर्नुपर्नेछ भने अन्य जिल्लाहरुमा आवश्यकता अनुसार बीमा व्यवसाय गर्न पाउने व्यवस्था रहेको छ ।
निष्कर्ष
बाली तथा पशु बीमा किसानका लागि अत्यन्त उपयोगी र आवश्यक कार्य हो । तर धेरै किसान यसको ज्ञान र सेवाबाट बञ्चित छन् । बीमा समिति, मन्त्रालय तथा सरकारको तर्फबाट किसानलाई बीमामा आकर्षण बढाउने प्रयासहरु सफल भएका छैनन् । बीमा कम्पनी, अभिकर्ता र एजेन्टहरु खेत वा गोठमै उपलब्ध हुन सकेका छैनन् । बीमालाई कसरी सरल, सहज, साना किसानमैत्री बनाउने भन्ने चुनौती छ । पशुको हकमा उन्नत जातका लागि मुल्य निर्धारणमा समस्या छ भने बालीको हकमा उत्पादनको आधारमा बीमा नहुँदा बीमामा आकर्षण हुन सकेको छैन । बीमाको दायरा समेत फराकिलो बनाउनुपर्ने छ । किसानले आफूलाई भैपरी आउने क्षतिबाट बच्न बीमा आवश्यक छ भन्ने जनचेतना जगाउने कार्य गर्नुका साथै व्यावसयिक मात्र होइन अन्य साधारण किसानहरु माझ पनि यो सेवा पुर्याउनुपर्ने छ ।