“जसले श्रम गर्छ, ऊ संसारको सबैभन्दा सुन्दर मान्छे हो ।” –कार्ल मार्क्स
यस भनाइले श्रमको सबैभन्दा सुन्दर परिभाषा गरेको छ । काम जस्तोसुकै वा जुनसुकै होस् त्यसले मानिसलाई आफ्नै पाखुरामा बाँच्न सिकाउँछ ।
विशेषतः श्रम र उत्पादनको दृष्टिकोणबाट राजनीतिलाई हेर्दा नेपालको राजनैतिक समाज खोक्रो देखिन्छ । हामी किन पछि परिरहेका छौँ ? हामीले राजनैतिक परिवर्तनसँगै समाजलाई पनि उन्नतिको दिशामा उकास्न किन सकिरहेका छैनौँ ? यसको मूल कारण खोतल्ने जाँगर नचलाउँदा झनै पछि परिरहेका छौँ । मूलतः राजनैतिक पार्टीले विचार, निति, साङ्गठानिक गतिविधि सँगसँगै श्रम र उत्पादनको योजना पनि उत्तिकै महत्त्वका साथ लैजान नसक्नु ठुलो बिडम्वना हो ।
श्रम र उत्पादनसँग जोडिनु राजनीतिक सङ्गठन र पार्टीका लागि अनिवार्य विषय हो । कार्यकर्ता र नेताहरूलाई श्रम र उत्पादनका आधारमा आफैँमा आत्मनिर्भर हुन सक्षम नबनाउँदासम्म सङ्गठन र पार्टी बलियो हुन सक्दैन ।
यसको ज्वलन्त उदाहरण अहिलेको माओवादी केन्द्र नै हो । यो पार्टी हिजो के थियो, कहाँ थियो ? त्यहाँ को थिए र ती आज कहाँ छन् ? पार्टी आज के छ र कहाँ छ ? यसको जवाफ खोज्न सोच्न थाल्ने हो भने छर्लङ्ग हुन्छ कि आत्मनिर्भर कार्यकर्ता र नेता जन्माउन नसक्दा सङ्गठन कति कमजोर हुन्छ ?
हिजो त्यही पार्टी जसको एक निर्देशनमा लाखौँ मानिस जीवन अर्पेर परिवर्तनको बाटो कोर्न खडा भए, कोरेर देखाए तर आज समय सापेक्षित योजना बनाउन र लागू गर्न उदासीन हुँदा तिनै गौरवशाली मान्छेहरू देशलाई अर्पण गरेको त्यो आफ्नो बाँकी जीवनको सास धान्नकै लागि मात्र, बाँच्नकै लागि फेरि उही कुल्ली, भरिया र पाले बन्न विदेश भासिएका छन् ।
यदि बेलैमा पार्टीले गौरवका साथ आफ्नै पसिनामा बाँच्न अनि राजनैतिक जिम्मेवारी पूरा गर्ने आधार तयार गरिदिएको भए ती सबै झन् दशौँ गुणा ऊर्जा थपेर देश र समाजको उन्नति र समृद्धिमा लाग्ने थिए ।
एउटा महान् र गौरवशाली विरासत बोकेको माओवादी पार्टी पछिल्लो संसदीय राजनैतिक समयमा किन यति साह्रो खुम्चियो ? यसको पछाडि व्यवस्थापकीय र प्राविधिक दृष्टिले हेर्दा दुईवटा कारण छन्: पहिलो टुटफुट र विभाजन, दोस्रो कार्यकर्ताहरूको संरक्षण र व्यावहारिक व्यवस्थापनमा बिल्कुल ध्यान नदिनु ।
यसो हुनुको पछाडि पनि एउटै कारण छ, आर्थिक उत्पादनको मजबुत, दिगो र समग्र संस्थागत योजना र कार्यक्रम नहुनु । टुटफुटको पछाडि विचारको मतभेद भनिएला तर त्यो गौण हो । मुख्य कुरा त असमझदारी, स्वार्थ र सिर्जनशील योजनाको अभाव नै हो ।
यदि कार्यकर्ता र नेतालाई दुस्मनीपूर्ण अन्तरसङ्घर्ष गर्ने, अनावश्यक महत्त्वकाङ्क्षा राख्ने, गफ गर्ने फुर्सद हुँदैनथ्यो भने विचारकै कारणले पार्टी फुट्नुको कुनै कारण देखिँदैन । सबैले पार्टीको जिम्मेवारी बहन गर्ने सँगै बाँकी समय उत्पादनको योजनामा लगाएको भए कार्यकर्ता पनि आत्मनिर्भर हुन्थे, सङ्गठन पनि बलियो हुन्थ्यो, अनावश्यक गुटबन्दी हुँदैन थियो र आज पनि पार्टीलाई हिजो जस्तै जनताले विश्वास गर्थे ।
श्रमले मानिसलाई आत्मनिर्भर मात्र होइन जिम्मेवार पनि बनाउँछ । जिम्मेवारीबोधले कार्यकर्ताहरूमा पार्टीसँग अपेक्षा मात्र गर्ने होइन, आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्ने संस्कार निर्माण हुन्छ । विचार, व्यवहार र जिम्मेवारीमा खँदिला कार्यकर्ता भएपछि सङ्गठनको जग दश रेक्टरको भूकम्पले हल्लाए पनि टसको मस हुने छैन ।
हालको माओवादी केन्द्र बन्दासम्म माओवादी फुट्ने र जुट्ने खेल चलिरहेको छ । अहिले आएर किन कमजोर भइयो भनेर समीक्षा गर्दा पनि चुरो कुरा खोतलेको जस्तो लाग्दैन । यो अवस्थामा पनि सङ्गठन, कार्यकर्ता, पार्टी, विचार, राजनीति, परिवर्तन र मुद्दालाई थेग्ने र धकेल्ने आर्थिक आधार निर्माण गर्ने उत्पादनका योजनामा बिल्कुल ध्यान दिएको पाइँदैन । बैठक आयो, भेला–प्रशिक्षण आयो ।
अब त केही नयाँ योजना बन्ला कि भनेर आशा गरेर बसेका नेता–कार्यकर्तालाई हात्ती आयो, हात्ती आयो फुस्सा भन्ने उखान सम्झाइदिन्छ । बरु हिजो आफैँले अन्त्य गर्नुपर्छ भनेको दलाली र ठेकेदारी पेसामा संलग्नहरूको आर्थिक सहायतामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पार्टी सङ्गठन चल्नुपर्ने बाध्यता विद्यमान छ । अनि पार्टीमा पनि तिनकै वोलबाला छ । इमान र नैतिकवान् कार्यकर्ता र अन्तर्मनदेखि माओवादीलाई चाहने जनता, पार्टी र नेतृत्वको छायाबाट कोसाैँ टाढा छन् ।
पार्टी भनेको विचार, राजनीति र आन्दोलन हो तर त्यतिले मात्र पार्टी बन्दैन । समग्र पार्टी बन्नका लागि यसका सबै अङ्गहरू त्यत्तिकै सक्रिय र प्रभावकारी भए मात्र सही अर्थमा पार्टी बन्छ । आजका कार्यकर्ता र जनतालाई कि त आफ्नो योजनाले आकर्षित गर्न सक्नु पर्यो कि त उनीहरूको भावना र समस्याको समाधान गर्नु पर्यो । हाम्रो पार्टीले यी दुबै कुरा गर्न सकिरहेको छैन । पार्टीले आफ्नो मूल राजनैतिक ध्येयसँगै पारदर्शी र उत्पादनशील आर्थिक आधार निर्माण गर्न सकेन ।
उत्पादनसँग जीवन जोडिन्छ, जीवनसँग राजनीति । यो तथ्य पार्टीले आफ्नो प्राथमिकतामा पार्न सकेको छैन । हिजो जनयुद्ध फगत युद्ध थिएन, त्यहाँ जीवन पनि थियो, त्यहाँ भावना पनि थियो । तर आजको राजनैतिक परिवेशमा पार्टीभित्र जीवन भेट्न गाह्रो छ । त्यहाँ मात्र राजनीति हुने गरेको छ ।
यी यावत् समस्याहरूको चाङ लगाउनुको अर्थ फगत विरोधका लागि विरोध होइन । जसलाई जोसँग बढी अपेक्षा हुन्छ, पूरा नहुँदा त्यही स्तरमा दुःख र आक्रोश पैदा हुन्छ, बस् कुरा त्यही हो ।
अब समाधान के त ? खोजाैँ, बहस गरौँ । निष्कर्षमा जाऔँ, गरेर देखाऔँ । हिम्मत गरौँ । आज पनि देश र राजनीति माओवादीले उठाएका एजेन्डामा अघि बढिरहेको छ । यदि पार्टीको मूल नेतृत्वको टिमले इच्छाशक्ति देखाएमा आशाको दियो बल्छ । नेताहरूले “म सांसद, मन्त्री अनि लाभको पद पाउँछु कि पाउँदिनँ, मलाई फाइदा हुन्छ कि हुँदैन” भन्ने होडबाजी छोडेर पार्टीलाई जगैदेखि बलियो बनाउन जिम्मेवारी लिने होडबाजी चलाउन सक्नुपर्छ ।
आजको आवश्यकता त पार्टीका आधारभूत राजनैतिक मूल्य मान्यताको जगमा कृषि र उत्पादन, विकास र निर्माण, कारखाना र प्रशोधन सुरुवात गर्न नेताहरूको दिमागमा उत्कट अभिलाषाको होडबाजी हुन जरुरी छ । कार्यकर्ता अनि जनतालाई श्रम र सृजनामा गौरवका साथ जोडिन प्रोत्साहन गर्दै आत्मनिर्भर, समृद्ध र समुन्नत समाज र राष्ट्र बनाउने अभियानमा प्रतिस्पर्धा गर्ने आँट गरौँ । आफ्नै कमजोरीले भत्किएको पार्टी आफ्नै हातले बनाऔँ ।
(लेखिका माओवादी केन्द्रकी युवा नेतृ हुन् – सं.)