गौरवबोधले ओतप्रोत नेपाली समाज
नवनिर्माण महाअभियान सम्पन्न भएपछि सम्पूर्ण नेपाली जनताले नयाँ युग निर्माण भएको महसुस गर्नेछन् । त्यो इतिहासको अभूतपूर्व गौरवबोधको अवस्था हुनेछ । नेपाली समाज सम्पूर्ण पछौटे संस्कार परित्याग गरी सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध हुनेछ । यस किसिमको सामाजिक–आर्थिक रूपान्तरणबाट नेपाल राष्ट्र आफ्नो विशेषताको समाजवादमा प्रवेश गरेको हुनेछ । जनताका अगुवाहरूमा मानिसको अन्तर्राष्ट्रिय जाति विकसित भइरहेको आदर्शमय भावना जागृत हुनेछ । जाति–जातिबीच विभेद, मानवीय हिंसा र साम्प्रदायिक विद्वेष फेरि कहिल्यै नउठ्ने गरी समाप्त भएको हुनेछ । श्रम, सीप, ज्ञान, काम, उद्यमशीलता, परिकल्पना र सिर्जनात्मक विचारको बाहकका रूपमा अनेक युगीन व्यक्तित्वको जन्मक्रम सुरु हुनेछ । यसरी राष्ट्रको भावी समाज विकसित र गौरवबोधले ओतप्रोत हुनेछ ।
अभूतपूर्व आर्थिक समृद्धिको नेपाल राष्ट्र
नवनिर्माण महाअभियानमा ५ सय अर्बभन्दा धेरै अमेरिकी डलर लगानी हुनेछ । सोअन्तर्गत २ सय अर्ब अमेरिकी डलरबराबरको अक्षयकोषको रूपमा नेपाल नवनिर्माण कोष स्थापित हुनेछ । यसबाट महाअभियानको १०औँ वर्षमा नेपाली जनताको प्रतिव्यक्ति आम्दानी ५ हजार अमेरिकी डलरभन्दा धेरै पुग्नेछ । २ सय अर्ब अमेरिकी डलरको लगानीबाट १२ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न सकिनेछ र बाँकी ३ सय अर्ब अमेरिकी डलरको विभिन्न क्षेत्रमा गरिने लगानी र खर्चले अर्थतन्त्रमा अत्यधिक उचाइको उभार ल्याउनेछ । यसबाट समग्रमा आर्थिक वृद्धिदर प्रतिवर्ष औसतमा २० प्रतिशतभन्दा माथि पुग्नेछ । यस्तो उच्च प्रतिव्यक्ति आम्दानी प्राप्त हुँदा नवनिर्माणको १०औँ वर्षमा अर्थतन्त्रले असाधारण फड्को मारेको नयाँ अवस्था सिर्जना हुनेछ ।
आर्थिक समृद्धिले थप गति लिई महाअभियानको १७ औँ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर अर्थात् १० हजार अमेरिकी डलरभन्दा माथि पुग्नेछ । आर्थिक विकासको यो क्रम त्यहीँ रोकिनेछैन । यसको तीव्रता अरू बढेर जानेछ । यस्तो अवस्थामा भन्न सकिन्छ, महाअभियानको ३० औँ वर्षमा प्रतिव्यक्ति आम्दानी ३० हजार अमेरिकी डलरभन्दा धेरै पुग्नेछ । त्यस अवस्थामा नेपाल समृद्ध राष्ट्रको रूपमा चिनिनेछ र संसारका विकसित देशहरूको समकक्ष पुग्नेछ ।
नेपाल औद्योगिक राष्ट्र
सामाजिक–आर्थिक समृद्धिसहित विकसित देशको समकक्ष पुग्न उत्पादनमा व्यापक वृद्धि, भौतिक पूर्वाधार निर्माण, सामाजिक क्षेत्रको उच्चस्तरमा विकास तथा अनेकौँ क्षेत्रमा गरिनुपर्ने उच्च विकासका लक्ष्यलाई महाअभियानले ठोस रूपमा अघि सारेको छ । कृषि क्षेत्रअन्तर्गत ७ लाख हेक्टर भूमिमा ठूला कृषि फार्महरू, लाखौँ हेक्टर भूमिमा साना कृषि फार्महरू, १० लाख हेक्टर भूमिमा कृषि वन विकास हुनेछन् । सम्पूर्ण कृषिभूमिमा व्यावसायिक उत्पादन र औद्योगिकीकरण हुनेछ । सम्पूर्ण खाद्यान्न प्राकृतिक र प्रांगारिक भई नेपाल रासायनिक मल र रासायनिक विषादी मुक्त देश बन्नेछ । कृषिको औद्योगिकीकरणले नेपाली उत्पादनका हरेक क्षेत्रमा औद्योगिकीकरण लागू हुनेछ ।
औद्योगिकीकरणका निम्ति आवश्यक पूर्वाधार, लगानी र बजारका लागि सम्पूर्ण व्यवस्था महाअभियानका दौरान तयार गरिनेछ । औद्योगिक करिडोर, सबै प्रदेशमा निर्माण गरिने विशेष आर्थिक क्षेत्रहरू तथा बृहत् अन्तर्राष्ट्रिय विशेष आर्थिक क्षेत्रको स्थापना, राष्ट्रव्यापी रूपमा सबै स्थानीय तहमा औद्योगिक क्षेत्रको विकास र पहिले जिल्लास्तरमा खोलिएका औद्योगिक क्षेत्रहरूको आधुनिकीकरणले सिङ्गो राष्ट्र औद्योगिकीकरण हुनेछ । यसरी उत्पादनका सबै क्षेत्रमा हुने औद्योगिक विकासबाट नेपाल संसारमा औद्योगिक राष्ट्रको रूपमा चिनिनेछ । मुलुकको आधाभन्दा धेरै भूभागमा घना जङ्गल विकसित हुनेछ र औद्योगिक उत्पादनका रूपमा ठूलो मात्रामा बजारमा जानेछ । कृषि वनका रूपमा विकास गरिने वनजङ्गलले सबै गाउँ, बस्ती तथा नगरहरू पर्यावरणमैत्री क्षेत्रका रूपमा विकसित हुनेछन् । नेपाल संसारकै सुन्दर औद्योगिक देश बन्नेछ ।
सामाजिक सुरक्षाको राष्ट्र
महाअभियानअन्तर्गत निर्माण हुने सम्पूर्ण संरचना भूकम्प प्रतिरोधक, अग्नि प्रतिरोधक, मानवीय दृष्टिकोणले अत्यन्त सुविधा सम्पन्न हुनेछन् । राजधानी सुधार कार्यक्रमबाट नेपालको नयाँ राजधानी सुन्दर, स्वच्छ, हरियालीले युक्त, सुविधा सम्पन्न तथा संसारभरिका पर्यटकहरूको आगमन केन्द्रका रूपमा विकसित हुनेछ । महाअभियानले आजअगाडिका सबै नगरलाई आधुनिकीकरण गर्नेछ । नयाँ नगरहरू अत्याधुनिक निर्माण गरिएका हुनेछन् । उत्पादनको अवस्थामा बाहेक सम्पूर्ण नेपाली जनता आधुनिक सुविधासम्पन्न नगरमा बसोवास गर्नेछन् ।
शिक्षा, स्वास्थ्य, पिउने पानी, आवास, सन्तुलित भोजन, मनोरञ्जन र खेलकुद जनताले निःशुल्क प्राप्त गर्नेछन् । ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिला र बालबालिकाहरूले राज्यद्वारा पूर्ण संरक्षण प्राप्त गर्नेछन् । काम गर्ने उमेर पुगेका प्रत्येक नेपाली नागरिकले रोजगारी प्राप्त गर्नेछन् ।
मुनाफामूलक राष्ट्रिय कारोबारमा सबै नेपाली नागरिकले लगानी गर्नेछन् । यसका साथै आर्थिक रूपले कसैलाई अत्यधिक समृद्धि र कसैलाई अत्यधिक पछाडिको अवस्था आउन नदिने गरी सामाजिक समानता कायम गरिनेछ । श्रमप्रति आदर, उद्यमशीलताको संस्कृति, श्रमिक बनेर काम गर्दा गौरव महसुस गर्ने नेपाली नागरिकहरू विकसित हुनेछन् ।
महाअभियानले सामाजिक समतामूलक विकासको आधारमा उच्च आर्थिक वृद्धि हासिल गर्ने रणनीति अंगीकार गरेकाले ३ वर्षभित्रमा गरिबीको अन्त्य हुनेछ । नवनिर्माण अभियानको १० वर्षमा लाखौँ व्यक्तिले सीप र क्षमता वृद्धिसहित रोजगारी र स्वरोजगारी पाउनेछन् । उच्च आर्थिक वृद्धिको क्रममा ठूलो जनशक्ति थप खपत हुने र आमरूपमा हुने अनुकूल स्थितिले गर्दा बेरोजगारीको पूर्ण अन्त्य हुनेछ । यसरी अदक्ष श्रमशक्तिका रूपमा नेपाली श्रमशक्ति विदेशमा बेचिने प्रथा सदाका लागि समाप्त हुनेछ । त्यसैगरी विदेशी फौजमा भर्ती हुने अवस्था पनि सदाका लागि समाप्त हुनेछ ।
प्रत्येक परिवारलाई सुविधासम्पन्न भूकम्प प्रतिरोधक आवास उपलब्ध हुनेछ । शिशु मृत्युदर ०.५ प्रतिशतमा पुगेको हुनेछ । सरदर आयुले ८० वर्ष नाघ्नेछ । साक्षरता ९५ प्रतिशत पुग्नेछ । शैक्षिकस्तर ९० प्रतिशत पुग्नेछ । सहरीकरण ९५ प्रतिशत पुग्नेछ । प्रत्येक नेपाली नागरिकका लागि सन्तुलित आहारको सुनिश्चितता हुनेछ । जातिभेद, छुवाछुत र उचनीच सदाका लागि समाप्त भएको सामाजिक रूपमा एउटै नेपाली जाति विकसित हुनेछ । संसारमा नेपाल सामाजिक सुरक्षाको अग्रणी देशको रूपमा चिनिनेछ ।
समृद्ध भौतिक पूर्वाधारको राष्ट्र
भौतिक पूर्वाधारका क्षेत्रमा ठुल्ठूला उपलब्धि हासिल हुनेछन् । महाअभियानको यस अवधिमा ५८ हजार ८ सय ६८ मेगावाट विद्युत् उत्पादन हुनेछ । यसै अवधिमा पूर्व–पश्चिम र उत्तर–दक्षिण २३०० किमि ७६५ केभी प्रसारण लाइन जडान हुनेछ । त्यसैगरी सबै क्षमताका राष्ट्रिय विद्युत् प्रसारण लाइन अनुमानित २ लाख किमि विस्तार हुनेछ । सिंगो देश विद्युतीकरणको जालोले आबद्ध हुनेछ । उत्पादन हुने विद्युत्को आधा हिस्साबाट देशको ऊर्जा क्षेत्रको आवश्यकता पूरा हुनेछ र बाँकी आधा हिस्सा अन्तर्राष्ट्रिय बजारमा बिक्री हुनेछ । विद्युत् ऊर्जाको बजारीकरणले मात्र पनि नेपालको व्यापारमा रहेको असन्तुलन समाप्त भई ठूलो मात्रामा नेपालको पक्षमा अन्तर्राष्ट्रिय व्यापार देखा पर्नेछ ।
कृषि उत्पादनदेखि औद्योगिक उत्पादन, पर्यटनका अनेक क्षेत्रसहित सडक यातायातका साधन र रेल यातायातका साधन सबै विद्युत् ऊर्जाबाट सञ्चालित हुनेछन् । चुलोचौका, पशुपक्षी, माछा तथा डेरी र पोल्ट्री फर्महरू सबै विद्युत् ऊर्जाबाट सञ्चालित हुनेछन् । औद्योगिक क्षेत्रमा यन्त्रमानवसमेत परिचालित हुने अवस्था विकसित हुनेछ । यसरी नेपाली जीवन विद्युत्मय भई विद्युतीय गतिमा अगाडि बढ्नेछ । सडक यातायातअन्तर्गत यस अवधिमा सबै गरी १७ हजार किमि अत्याधुनिक राजमार्ग र सहायक राजमार्ग निर्माण तथा स्तरोन्नति हुनेछन् । सबै पुराना राजमार्ग, जिल्ला सडक, नगर सडक तथा ग्रामीण सडकहरू करिब ९८ हजार किमि मर्मत गरी अत्याधुनिक हुनेछन् ।
त्यस्तै विभिन्न ठाउँ हुँदै अगाडि बढ्ने ग्रेट हिमालयन टे«किङ रुट करिब ५ हजार किमि, अन्य साना टे«किङ रुट करिब १ हजार किमि निर्माण हुनेछन् । ग्रेट हिमालयन टे«किङ रुटका विभिन्न स्थानसहित देशैभरि अनेक ठाउँमा केवलकार निर्माण हुनेछन् । सडक यातायातले सम्पूर्ण नेपाली बस्ती, उत्पादनका क्षेत्र, पर्यटनका क्षेत्र र सबै किसिमका बजारलाई एकताबद्ध गर्नेछ । यी सबै कम्तीमा आगामी एक सय वर्षसम्मका लागि नेपाली जनतालाई गतिशील बनाइरहने संरचनाका रूपमा रहनेछन् ।
अब मानिसको गतिशीलता आकाशमा हवाईजहाजमार्फत र जमिनमा अत्याधुनिक प्रविधिले युक्त तीव्र गतिका चुम्बकीय रेलमार्फत मापन गर्न थालिएको छ । नेपालले पनि त्यही गतिमा आफूलाई अगाडि बढाउनेछ । महाअभियान सम्पन्न भएपछि पूर्व–पश्चिम ३ वटा र उत्तर–दक्षिण ५ वटा तीव्र गतिका चुम्बकीय रेलमार्ग तथा चक्रपथमा सञ्चालन हुने मेट्रो रेलसमेत ६ हजार ४ सय २७ किमी रेलमार्ग निर्माण हुनेछ । देशभित्र सञ्चालित रेलमार्गबाट दसौँ लाख व्यक्ति आवतजावत गर्न सक्नेछन् । त्यसपछि नेपालको कुनै पनि सहर, गाउँ, बजार र बस्ती कसैको निम्ति टाढा हुनेछैन र अभूतपूर्व तीव्र आर्थिक क्रियाकलापले जनताको जीवनस्तर उच्चस्तरमा विकसित हुनेछ ।
हवाई यातायाततर्फ निजगढमा हब केन्द्रका रूपमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनेछ । काठमाडौँको त्रिभुवन विमानस्थल पूर्ण रूपमा आधुनिकीकरण, सुविधासम्पन्न र अत्याधुनिक प्रविधिले युक्त अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नत भएको हुनेछ । विराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी र दोलखाको सैलुङ, उपल्लो मुस्ताङ तथा अछामको रामारोसनमा अन्तर्राष्ट्रिय महत्वका विमानस्थल निर्माण हुनेछन् । राष्ट्रिय विमानस्थलहरूको विकास र विस्तारको क्रममा आन्तरिक ठूला ९ वटा र आन्तरिक साना २७ वटा तथा निजगढ र त्रिभुवन विमानस्थलसहित १० अन्तर्राष्ट्रिय गरी ४६ वटा अत्याधुनिक विमानस्थल निर्माण गरिएका हुनेछन् । यी विमानस्थलबाट आन्तरिक र बाह्य गरी दैनिक करिब २ लाख पर्यटक आवतजावत गर्न सक्नेछन् । यो अवस्थाले एकातिर आर्थिक क्रियाकलापमा अत्यधिक गतिशीलता उत्पन्न हुनेछ र अन्तर्निर्भरतामा विकसित सामाजिक सम्बन्धले राष्ट्रलाई एकताबद्ध गरिरहनेछ ।
जलमार्गअन्तर्गत कोसी–गंगा–बंगालको खाडीसम्म र त्यसैगरी भारत, चीन र बंगलादेशसित भाडामा लिइएका बन्दरगाहबाट संसारभरि पहुँच हुने गरी अन्तर्राष्ट्रिय जलमार्गको विकास गरिएको हुनेछ । राष्ट्रियस्तरमा कोसी, नारायणी कर्णाली नदीहरूमा जलमार्गको विकास हुनेछ । नेपालसित नवनिर्माण महाअभियानपछि कपिलवस्तु, रुपन्देही, परासी, अर्घाखाँची र पाल्पा जिल्लाको सम्पूर्ण भूभागमा विकसित गरिएको बृहत् अन्तर्राष्ट्रिय विशेष आर्थिक क्षेत्र हुनेछ । यस आर्थिक क्षेत्रलाई नेपालका निम्ति मात्र होइन, संसारकै निम्ति नमुनाको रूपमा विकसित गरिएको हुनेछ । यसमा संसारका मुख्य राजनीतिक केन्द्रका रूपमा विकसित राजधानीहरूको नमुनामा ११ सहर विकसित हुनेछन् । यो बृहत् क्षेत्र आर्थिक कारोबारको हिसाबले मात्र होइन, सामाजिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले पनि विशेष हुनेछ । समृद्ध भौतिक पूर्वाधारका हिसाबले पनि नेपाल संसारकै अग्रणी देश भनेर चिनिनेछ ।
विकसित समाज
नवनिर्माण महाअभियानले प्रस्तावित गरेको राजनीति र शासन प्रणाली स्थापित भयो भने स्थानीय तह सबभन्दा अधिकार सम्पन्न हुनेछन् । संविधानको सर्वोच्चता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासन प्रणाली, समानुपातिक समावेशी चरित्र भएको संसद्सहित बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली कायम हुनेछ । बहुलवादी, खुला, प्रतिस्पर्धी, अनुशासित र उच्चस्तरको संस्कृतिले विकसित समाज भएको हुनेछ । महाअभियानको अवधिमै भूमिगत अर्थतन्त्र ध्वस्त हुनेछ तथा भ्रष्टाचार पूर्ण रूपले निवारण हुनेछ । नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक कारोबार नगदविहीन अनलाइन प्रणालीमा आबद्ध भएका हुनेछ । शिक्षा पूर्ण रूपले राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा आधारित हुनेछ, जसले गर्दा शैक्षिक बेरोजगारी पूर्ण रूपले समाप्त भएको अवस्था हुनेछ । हिन्दू धर्म र बुद्ध धर्मस्थलहरू आस्था र विश्वासका साथै पर्यटन विकासको अभूतपूर्व सम्भावना बनेर देखा पर्नेछन् । राष्ट्रको आधा भूभाग प्राकृतिक चिडियाखानाले सजाइएको वनजङ्गलयुक्त हुनेछ । नेपालका नदीनाला र तालतलैया जनताका निम्ति अब प्रलय होइन, समृद्धिका साधन बनेर प्रकट हुनेछन् । त्यसवेला साँच्चै नेपाली जनताले प्रकृतिमाथि प्रारम्भिक विजय हासिल गरेका हुनेछन् । नेपाल–भारतबीच रहेको खुला सिमानाको अवस्था समाप्त हुनेछ ।
खुला सिमानालाई प्रयोग गरेर हुने तस्करी, अनेक किसिमका अवाञ्छित क्रियाकलाप र अवैधानिक आवतजावत समाप्त भई दुई देशबीच सम्बन्ध अझ सुदृढ हुनेछ । नेपालसित गरिएका सबै असमान र अपमानजनक सन्धि सम्झौता समाप्त भई सम्मानपूर्ण वैदेशिक सम्बन्ध स्थापित भएको स्वतन्त्र र सुदृढ राष्ट्रिय अर्थतन्त्रसहितको सबल नेपाल राष्ट्र हुनेछ ।
यो पनि पढ्नुहोस्ः समाजवादी भूमण्डलीकरण बारे – क. फिडेल क्यास्ट्राे
यो पनि पढ्नुहोेस्ः एनजिओ: साम्राज्यवादको सेवक – जेम्स पेट्रास र हेनरी वेल्तमेयर
यो पनि पढ्नुहोस्ः साेमालियाकाे भाेकमरी र यसकाे वास्तविकता – मिसेल चाेसडुवस्की