फ्रेडरिक एङ्गेल्स, Frederick Engels,
 

विश्व कम्युनिस्ट आन्दोलनका महान् गुरु फ्रेडरिक एङ्गेल्सको जन्म प्रसियाको राइन प्रदेशको बार्मेन भन्ने स्थानमा सन् १८२0 नोभेम्बर २८ मा भएको थियो । एङ्गेल्सका पिता एक धनी उद्योगपति हुनुहुन्थ्यो । एङ्गेल्सको पालनपोषण अत्यन्त रुढिवादी एवम् सनातनी धार्मिक वातावरणमा भएको थियो । उहाँलाई आफ्नो पढाई पूरा नगरिकनै आफ्ना पिताको व्यवसाय सम्हाल्नु पर्‍यो ।

शिशिर श्रेष्ठ, Shishir Shrestha, Milan Afanta
लेखक

राइन प्रदेश, जहाँ एङ्गेल्सको जन्मस्थान र घर थियो, भौगोलिक स्थिति एवम् कोइला र धातु (खानी) को प्रचुर उपलब्धताको कारण औद्योगिक तथा राजनीतिक दृष्टिकोणबाट जर्मनीको सबैभन्दा विकसित क्षेत्र रहेको थियो । यसरी उहाँ पिताको निर्देशन बमोजिम पढाइमा भन्दा व्यवसायमा केन्द्रित हुन थाल्नु भयो । पहिले बार्मेन र त्यसपछि बे्रमनमा गरेको व्यावसायिक कामबाट उहाँले आफूलाई एक राम्रो व्यवसायी सिद्ध गर्नुभयो । एङ्गेल्स अध्ययन सके लगत्तै व्यवसायमा होमिनु पर्यो ।

जब उहाँ जवान हुँदै जानुभयो, उहाँमा ज्ञानको भोक जाग्न थाल्यो । व्यवसायले मात्र उहाँलाई सन्तुष्टि दिन सकेन । उहाँले आफ्नो सम्पूर्ण अतिरिक्त समय र चिन्तन दर्शनशास्त्रको अध्ययनमा लगाउनु भयो । अठार वर्षको अन्ततिर उहाँले आफ्नो धार्मिक बन्धन तोडिदिनु भयो र दृढतापूर्वक हेगेलवादी दर्शनको पक्षपाती हुनुभयो ।

जब उहाँ अध्ययनमा तल्लीन रहन चाहनु हुन्थ्यो, त्यसै समयमा अक्टोवर १८४१ बाट १८४२ सम्म उहाँले बर्लिनको सुरक्षा तोपखानामा काम गर्नुभयो । उहाँ आफ्नो व्यवसायमा जसरी सफल रहनु भयो, त्यसरी नै व्यारेकमा पनि एक कुशल सैैनिक सिद्ध हुनुभयो । उहाँले सैन्यशिक्षा र सैनिक सेवाको समयमा नै अत्यन्तै ऐतिहासिक लेखहरु लेख्न थाल्नु भयो ।

उहाँले स्वीजरल्याण्डको एक अखवारमा केही व्यंग्यात्मक पद्य र एक कविता प्रकाशित गर्नुभयो, त्यसपछि उहाँ स्वीजरल्याण्डमा बिस्तारै परिचित हुन थाल्नु भयो । सेनामा काम सकिएपछि एङ्गेल्स बार्मेन फर्कनु भयो र १८४२ को अक्टोबरमा “एर्मेन र एङ्गेल्स” नामको धागो बनाउने कारखानाको (जसमा उहाँका पिता पनि साझेदार हुनु हुन्थ्यो) एजेण्टको रुपमा म्यानचेस्टर पुग्नु भयो । आफ्नो यस यात्राको क्रममा उहाँ कोलोनस्थित राइनिश जाइटुङ (राइन ग्याजेट) को सम्पादकीय कार्यालयमा पस्नुभयो । त्यहीँ नै उहाँकाे  कार्ल मार्क्स सँग पहिलो पटक भेट भयो ।

Ermen and Angels named wood factory
एर्मेन र एङ्गेल्स नामक धागाे कारखाना

“डोएट्स–फाँसुएसीसे यर ब्युरवेट” मा एङ्गेल्सका लेखहरुको प्रकाशन भयो, त्यसपछि उहाँको कार्ल मार्क्ससँग पारस्परिक पत्राचार सुरु भयो । १८४४ को सेप्टेम्बरमा एङ्गेल्स केही दिनका लागि पेरिस जानुभयो । उहाँको उद्देश्य मार्क्सलाई भेट्नु थियो ।

दार्शनिक तथा आर्थिक प्रश्नहरुमा दुवैको दृष्टिकोणमा यति धेरै सामिप्यता थियो कि दुवैले तुरुन्तै मिलेर एक पुस्तक पवित्र परिवार अथवा ब्रुनो बावर र उनका अनुयायीहरुको विरुद्ध आलोचनात्मक समीक्षा लेख्न सुरु गर्नुभयो । यो सुप्रसिद्ध कृति सन् १८४५ को फेब्रुअरीमा प्रकाशित भयो । लेखहरुको विचारअनुसार यसको उद्देश्य जनसाधरणको हितमा नरहेको कल्पनावादी दर्शनका भ्रान्तिहरुको खण्डन गर्नु थियो । यस पुस्तकमा उहाँहरुले सर्वहारा दृष्टिकोण अपनाइसकेको देखिन्छ, यद्यपि पुस्तकको आर्थिकक्षेत्रसँग प्रत्यक्ष रुपमा थोरै मात्रै सम्बन्ध रहेको थियो । १८४० पछि कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले मजदुर वर्गको पक्षमा त्यो सिद्धान्त प्रदान गर्नुभयो, जसलाई हामी मार्क्सवादी सिद्धान्त भन्दछौँ ।

Freidrick Engels, with Karl Marx's family
कार्ल मार्क्सकाे परिवारसँग फ्रेडरिक एङ्गेल्स

मार्क्स र एङ्गेल्सले जीवनपर्यत्न मार्क्सवादी सिद्धान्तको प्रतिपादन र रक्षार्थ संघर्ष गर्नुभयो । उहाँहरुले व्यवहार र कृतिहरुबाट आफ्नो सिद्धान्तलाई सु–समृद्ध पार्नुभयो । मार्क्सको पुँजी र एङ्गेल्सका इङल्याण्डमा मजदुर वर्गको अवस्था, जर्मनी क्रान्ति र प्रकृतिका द्वन्द्ववाद, परिवार, निजी स्वामित्व र राज्यसत्ताको जन्म, लुडविग फायरबाख आदि वैज्ञानिक समाजवादका युगान्तकारी कृतिहरु हुन् ।

मार्क्सको मृत्यु सन् १८८३ मा भयो । त्यसपछि अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको नेतृत्वको जिम्मेवारी मात्र नभएर एङ्गेल्सको काँधमा मार्क्सको महान कृति पुँजीका खण्ड दुई र तीनको सम्पादन र प्रकाशन गर्ने अत्याधिक उत्तरदायीत्त्व र श्रमसाध्य काम आइलाग्यो भने जर्मनीमा प्रतिक्रान्ति, ड्युरिङ मत खण्डन, समाजवादः वैज्ञानिक र काल्पनिक जस्ता कृतिहरु लेख्ने काम पनि उहाँले लगनशीलताका साथ पूरा गर्नुभया । यो कुरा मार्क्स र एङ्गेल्सबीच रहेको अपूर्व मित्रताको परिणाम थियो ।

उहाँहरुबिचको मित्रता इतिहासमा नै सुप्रसिद्ध रहेको छ । त्यसबारे लेनिनले लेख्नु भएको छः “सर्वहाराले भन्न सक्दछ कि उसको विज्ञानको रचना दुई यस्ता मनिषिहरु र योद्धाहरुले गरे जसको आपसी सम्बन्धहरुले प्राचीन मानिसहरुको मानवीय मित्रताका अत्यन्त हृदयस्पर्शी कथाहरुलाई पनि फिक्का गरिदिएको छ ।”

आफ्नो जीवनभर मार्क्सको सहयात्री र सहयाेद्धा बनेर विश्व सर्वहारावर्गको मुक्तिका लागि चिन्तनशील महान् व्यक्तित्व तथा दाशर्निक फ्रेडरिक एङ्गेल्सको विचार र कर्म आजको शताव्दीमा पनि उत्तिकै विचारणीय र विकासशील छ । उहाँको सन् १८९५ अगस्ट ५ मा मृत्यु भयो । आज एङ्गेल्स हाम्रो सामु हुनु हुन्न । परन्तु त्यो महान् व्यक्तित्वका विचारहरु अमर छन्, तिनले संसारभरका सर्वहारा वर्गलाई क्रान्तिको सुमार्गमा डोराइरहेका छन् ।

याे पनि पढ्नुहाेस्ः   कार्ल मार्क्सको जीवनी

यो पनि पढ्नुहोस्ः  भ्लादिमिर इल्यिच लेनिनको संक्षिप्त जीवनी

याे पनि पढ्नुहाेस्ः   कमरेड स्टालिनको निधनः हत्या कि मृत्यु ?  

याे पनि पढ्नुहाेस्ः   किसान सहिद क. भीमदत्त पन्तकाे जीवनी – क. चित्रबहादुर श्रेष्ठ    

याे पनि पढ्नुहाेस्ः    एकदेव आले, तिमीलाई सयबार सलाम ! (क. एकदेव आलेकाे जीवनीमा आधारित क. राेहितकाे कविता)