Madhab Dhungel
 

धेरै बिक्ने वस्तुहरूमा खैनी, चुरोट र रक्सीहरू पनि छन् । मोबाइल र हतियारहरू छन् । विदेश गएर फर्केकाहरू भन्छन्, युवतीको शरीर पनि धेरै बिक्नेमा पर्छ रे । हलिवुड सिनेमाहरूले यौन मात्रै होइन, हिंसा, त्रास र सपना पनि बेच्छन् रे । यसमा बलिवुड पनि कम छैन । नेपालमा अर्धनग्न नायिकाहरूलाई मिडियाले ‘बोल्ड’ भनी प्रशंसा गर्ने गरेको छ । संसारमा कमजोर नै भएर बाँच्न मन कसलाई होला ? बोल्ड हुने होड समाजमा जताततै देख्न पाइन्छ । बिचरा दर्शक फिल्मको होस् कि बजारको त्यस्तै ‘बोल्ड’हरूलाई आँखा लाउँदै दौडँदा बाटामा बारम्बार पछारिएको छ, ठोकिएको छ, कति ठाउँमा घाइते समेत भएको छ । यसमा महिला पुरुष भन्नै पर्दैन ।

मेरा केही साथीहरूको गुनासो छ, तिनका पत्नीहरूले खर्च धेरै बढाए । घरबाट तरकारी किन्न निस्कँदा बजारबाट जुत्ता पनि बोकेर आउँछन् रे । राम्रो देखेर ल्याएको । छोरीका लागि राम्रो फ्रक तरकारी पसलकै नजिक भेटिन्छ, मनै मान्दैन । ब्युटिपार्लर छेवैमा छ, उमेर ढल्किँदै छ । यस्तो बेलामा बिचरा के गर्नु ?

बजारमा राम्रा कुराहरू धेरै छन् । बजार सिङ्गै राम्रो छ । राम्रो हुँदैनथ्यो भने बजार कसरी हुन्थ्यो ? पसलमा गएर हेर्दा जे पनि राम्रो । सबका सब नयाँ छन्, चिटिक्क परेको प्याकेजिङ छ, वस्तुहरूको टल्काइ छ । बजारमा नराम्रो के छ ? आइसक्रिमदेखि पुस्तकसम्म । पुस्तकहरू पनि कति राम्रा भने चिल्ला पाना, खिरिला अक्षर, हार्ड कभरमा त्यसै मुसारूँ मुसारूँ लाग्ने । पुस्तकभन्दा अलिकति मात्रै सानो लेखकको अनुहार । अनुहार पनि सौन्दर्य प्रशाधनका सबै उपायहरू लगाएर खिचिएको तन्नेरी फोटो । त्यसमा जडिएको मिठो मुस्कान । वास्तवमा पुस्तकहरू धेरै राम्रा हुन थालेका छन् । नेपाली पुस्तकलाई कसैले पनि स्वदेशी भनेर हेप्न गारो छ ।

बढी बिक्ने लेखक वा कलाकार राम्रो, बढी पैसा कमाउने फिल्मकर्मी राम्रो । अब राम्रो नराम्रोको मूल्याङ्कन समीक्षकहरूले गर्नु पर्दैन । अनेक वाद, सिद्धान्त र शास्त्रहरू मरेपछि एउटै मात्र बाँचेको छ, बजारशास्त्र । यसलाई जसरी पनि टिकाउनु छ किनभने शास्त्रको अभावमा साहित्य कलाको मूल्य निर्धारण गर्न सकिन्न । मूल्य भएन भने तिर्नेले कति तिर्ने, लिनेले कति लिने ? प्रकाशकलाई काम गर्न गारो हुन्छ । लेखकलाई कति दिने, पत्रकारलाई कति दिने ? त्यसमा पनि टेलिभिजनको ज्यादा नै महँगो छ, समस्या हुन्छ । विज्ञापनमा गर्ने खर्च, ग्राहकलाई दिने दस प्रतिशत छुट । मूल्य भएन भने यी सबै व्यवहार चल्दैनन्, संसार भत्किन्छ । भूकम्पले भत्केका घर त बनाउन नसकेको सरकारले प्रकाशन गृह बनाइदेला भन्ने आश प्रकाशकहरूलाई छैन । त्यसैले उनीहरू जसरी पनि बजारशास्त्र जोगियोस् भन्ने चाहन्छन्, जोगाउँछन् र यसै शास्त्रका आधारमा कृतिको मूल्याङ्कन गर्छन् ।

बजार शास्त्र जोगाउन महत्त्वपूर्ण भूमिका खेल्नेमा सञ्चार माध्यमहरूले मञ्चका रूपमा काम गर्छन् । त्यसलाई प्रायोजन गर्ने काम भने व्यापारीहरू, उद्योगपतिहरू वा सत्तासीनहरूले गर्छन् । आफ्ना पत्रपत्रिका, रेडियो र टेलिभिजनहरूमा बारम्बार मञ्च उपलब्ध गराएर उनीहरूले आफ्नो आदर्श अनुकूलका खास खास प्रतिभालाई सेलिबे्रटी बनाउँछन् र सेलिब्रेटीबाट आफ्नो आदर्शको प्रचार गराएर वर्गीय तथा सांस्कृतिक प्रभुत्वलाई जोगाइराख्छन् ।

यसैलाई हिजोआज ‘सिस्टम’ भन्ने नाम दिइएको छ । ‘सिस्टम’भित्रका रेडियोहरूले जुन विषय वा तर्कलाई ठिक भनी प्रचार गरिरहेका हुन्छन्, ‘सिस्टम’भित्रका पत्रिकाले पनि त्यही लेख्छन्, टेलिभिजनले पनि त्यही देखाउँछन् । रेडियो सुने पनि त्यही, पत्रिका पढे पनि त्यही र टेलिभिजन हेरे पनि त्यही भेटिएपछि आम मानिसहरूलाई त्यही नै सत्य हो भन्ने लाग्छ । पत्रिकामा पनि त्यही सेलिब्रेटीको फोटो, रेडियो र टेलिभिजनमा पनि त्यही सेलिब्रेटीको अन्तर्वार्ता र विश्लेषण सुनेका कानले अर्को कसैलाई विश्वास गर्ने आँटै गर्दैन । कसको अनुसन्धान राम्रो, कसको सिर्जना राम्रो, कसको विश्लेषण सही वा कसको राजनीतिले मानिसहरूको भलाइ गर्छ भन्ने कुराको निर्धारण यही ‘सिस्टम’ले गर्छ । त्यसैले लोकप्रियताको शिखर चुम्ने अधिकार र क्षमता उसैसँग मात्रै हुन्छ, जसको मिडियामा पहुँच र प्रभाव दुवै छ अनि जसका विचार र अभियानहरू सत्तापक्षीय राजनीतिको सहायक हुन्छन् ।

संस्कृतिका क्षेत्रमा खास गरी सस्ता सामग्रीहरू लोकप्रिय छन् । कोमल वलीका तीजे गीत होऊन् वा नेपाल टेलिभिजनका कमेडी सिरियलहरू । पत्रपत्रिकाले मनोरञ्जन भन्ने स्तम्भमा गहिरा कुरा केही छाप्दैन । किनभने गहिरा कुरा लोकप्रिय हुनै सक्दैनन् । साहित्यिक, वैचारिक वा राजनीतिक क्षेत्रका गम्भीर सामग्रीहरू पढ्दा आम मानिसहरूको टाउको दुख्छ किनभने त्यसले परम्परागत सोच र दृष्टिकोणलाई बदल्ने लक्ष्य राखेको हुन्छ । गम्भीर चलचित्रहरूले पनि आम दर्शकको टाउको दुखाइदिन्छन् । हामीलाई कसैले त्यस्तो तर्क गर्यो भने मजा लाग्छ जो आफूले पहिल्यैदेखि बुझिएको हुन्छ । आफूले सोचे जस्तै गरी अर्काले तर्क गरिदियो भने हामी तुरुन्तै त्यसको पक्ष लिन्छौँ र वाह, ठिक भन्छौँ ।

परम्पराको विरोध गर्ने भन्नेहरूमा पनि हामी धेरै जसो त्यस्ता छौँ जो परम्परागत तौरतरिकामा रमाउने गछौँ । परम्परालाई हामीले घर परिवारबाट, आफन्तहरूबाट, समाजका मूल्य मान्यताहरूबाट, धार्मिक सांस्कृतिक चाडपर्व र प्रचलनहरूबाट, विद्यालय, मन्दिर, चलचित्र वा कथाकहानीहरूबाट आत्मसात गरिसकेका हुन्छौँ । त्यसले हाम्रो मस्तिष्कमा निश्चित प्रकारको बुझ्ने, सोच्ने ढाँचा वा संरचना बनाइसकेको छ । त्यो पचाउन हामीलाई सजिलो हुन्छ, दिमाग खियाउनु पर्दैन, त्यो देख्दा हामी रमाउँछौँ । विदेशमा छँदा नेपाली भाषा बोल्ने व्यक्ति भेट्दा आफन्त झैँ लाग्नु, आफ्नो क्षेत्रका लोकगित सुन्न पाउँदा रमाइलो लाग्नु, आफ्ना चाडबाडहरूमा ज्यादा आनन्दित हुनु, आफ्नो जातीय पहिरनमा राम्रो देखिनु वा आफ्ना परम्परागत खाना खाँदा ज्यादा सन्तुष्टि मिल्नु वा आफ्नो जातीय परम्परा अनुसार विवाह, मृत्यु वा जन्म संस्कारका गतिविधिहरू गर्ने इच्छा हुनु र त्यो भयो भने सन्तुष्टि हुनु । यी सब के हुन् ? यी लोकप्रिय गतिविधिहरू हुन् । जो लोकप्रिय बन्ने कुरालाई प्रधान मान्छ उसले आफ्नो कुरालाई अरुले सजिलै स्वीकार गरुन् भन्ने ठान्छ, विवाद हुँदा आफ्नो पक्षमा बढीभन्दा बढी मानिसले मत जाहेर गरुन् भन्ने ठान्छ, यसले मेरो मनकै कुरा भनिदियो भनेर प्रशंसा गरुन् भन्ने ठान्छ । त्यसैले लोकप्रियताको पछि लाग्ने सर्जक समाजलाई नयाँतिर सोच्न प्रेरित गर्नेभन्दा पनि ज्यादा समाजकै विश्वासहरूलाई पछ्याउने खालको हुन्छ अर्थात् यथास्थितिवादी हुन्छ । यसलाई अझ स्पष्ट गर्नका लागि प्रेमचन्दको दृष्टिकोणले सहयोग गर्छ । चलचित्र र साहित्यका बारेमा चर्चा गर्दै उनले लेखेका छन्,

यदि कुनै पुस्तकले हाम्रो पाशविक भावनालाई प्रबल तुल्याउँछ भने हामी त्यसलाई साहित्यको स्थान दिँदैनौँ … त्यो बिक्नलाई धेरै बिक्छ, त्यसले मनोरञ्जन पनि गर्छ तर त्यो साहित्य होइन । साहित्यमा भावहरूको उच्चता, भाषाको प्रौढता तथा स्पष्टता र सुन्दरताको जुन साधना हुन्छ, त्यो सौन्दर्य सस्ता पुस्तकमा पाइँदैन । मलाई लाग्छ चलचित्रमा पनि पाइँदैन किनभने त्यसको उद्देश्य केवल पैसा कमाउनु भएको छ, सुरुचि वा सौन्दर्यसँग यसको प्रयोजन छैन । यसले त मान्छेलाई त्यही चीज दिन्छ जो उनीहरू माग्ने गर्छन् …. साहित्य जनरुचिको पथप्रर्दक हुन्छ, अनुगामी होइन ।

के लेख्दा मान्छेले ताली पिट्छन् त्यही लेख्ने, आफ्नो कुरा नलेख्ने; कस्तो चलचित्र बनाउँदा धेरैले हेर्न आउँछन् त्यही बनाउने, आफ्नो दृष्टिकोण अनुसार नबनाउने; कस्तो बनाउँदा बिक्छ त्यही बनाउने आफूलाई बनाउन मन लागे जस्तो नबनाउने । एउटालाई प्रेम गरेर घराना र इज्जत मिल्ने अर्कैसँग विवाह गरेका धनीमानी जस्ता । यसरी लेखक वा कलाकारले आफ्नो भन्ने स्वत्व गुमाउँदै जाने र अरुको चाहना अनुसारको बन्दै जाने हो भने उसले कुन मुखले सर्जक हुँ भनेर गर्व गर्ला ? पत्रिकाले कस्तो छाप्छ, प्रकाशकले कस्तो रुचाउँछ, समीक्षकले कस्तो खोजेको हो त्यस्तै सिर्जना तयार गर्ने कुराले लेखनलाई मौलिक र गम्भीर हुन दिन्छ कसरी ?

सर्जक भएर सोच्दा तपाईंलाई पनि सेलिब्रेटी हुने रहर होला । सफल हुने, लोकप्रिय हुने वा पुरस्कार पाउने रहर होला । त्यो केही मानेमा सही पनि होला तर तपाईं एक्कैछिन आफू पाठक वा दर्शक भएर सोच्नुस् । चलचित्र निर्देशकबाट, कलाकार वा साहित्यकारबाट तपाईं के चाहनुहुन्छ ? रचनाको स्तर वा सर्जकको लोकप्रियता ? राजेश हमाल, रेखा थापा वा दयाहाङ राईहरू लोकप्रिय छन् तर तिनको सिर्जनाबाट नेपाली समाजले गौरव गर्न लायक कुरा के के पाएको छ ?

याे पनि पढ्नुहाेस्ः मध्य मैदानी प्रदेश – क. जोसे मारिया सिसोँ

याे पनि पढ्नुहाेस्ः  मेरा बा किसान हुन् – हेम प्रभास