विश्वभरका श्रमजीवी मजदुरहरुका लागि हरेक वर्षको मई १ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसको अत्यन्तै ठूलो महत्त्व छ । श्रमिकहरुको गौरवमय इतिहास, बलिदानीपूर्ण सङ्घर्ष र रक्तरञ्जित इतिहास रहेको मई दिवस अठारौँ शताव्दीमा शताव्दीमा अमेरिकाको शिकागो सहरमा श्रमिकमाथि गरिएको बर्बर दमनको स्मृति र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रुपमा मनाइन्छ ।
तत्कालीन अमेरिकामा कारखानामा काम गर्ने श्रमिकहरुलाई कुनै अधिकारहरु दिइएको थिएन । उनीहरुलाई मतदानको अधिकार थिएन । आफ्ना मागहरु राख्ने, मागपत्रहरु पेश गर्ने र आफ्ना अधिकारहरु सुरक्षित गर्नलाई बोल्ने अधिकार समेत थिएन । उनीहरु चौबिसै घण्टा काममा जोतिनु पर्ने अवस्था दियो । कार्य समय तोकिएको थिएन । श्रमिकहरुले कडा परिश्रमको बाबजुद पनि आराम गर्न नपाउने र बिरामी हुँदा बिरामी भन्न पाउने आवस्था समेत थिएन । त्यति कठोर परिश्रमको बाबजुद पनि प्राण धान्न समेत मुस्किल पर्ने खालको वेतन थियो ।
त्यसैले त्यहाँका श्रमिकहरुले ‘अमेरिकी फेडेरेसन अफ लेबर सङ्गठन’ गठन गरेर लामो समयदेखि कार्य समय निर्धारण गर्दै आइरहेका थिए । उनीहरुले सन् १९८६ मई १ तारिखदेखि शिकागो सहरबाट ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको माग राखेर सङ्घर्षको सुरुवात गरे ।
मई १ तारिखमा सङ्घर्षको पहिलो दिननै १ लाख ४० हजारभन्दा बढी श्रमिकहरुले सक्रिय रुपमा हड्तालमा भाग लिए । मई ३ तारिखमा भएको प्रहरी दमनमा ६ जना श्रमिकहरु मारिए । सो हत्याको विरोधमा मई ४ तारिखमा भएको विरोध सभामा कुनै अज्ञात व्यक्तिले बम फालिदिएपछि एक जना प्रहरीको मृत्यु हुन पुग्यो र त्यसपछि भएको दोहोरा झडपमा ४ जना श्रमिकहरु र ७ जना प्रहरीहरु मारिए । त्यसपछि ठूलो संख्यामा आन्दोलनकारीहरुको धरपकड भयो ।
पक्रिएकाहरु मध्ये ४ जनालाई सन् १८८७ मा मृत्युदण्ड दिइयो भने अरु सबै मजदुर नेताहरुलाई जेल सँजाय गरियो । संघर्षमा उत्रिएका मजदुरहरुका माग पुरा गर्नुको सट्टा सुरुमा त्यहाँको पुँजीपति वर्ग र पुँजीवादी सरकारले मजदुरहरुमाथि ‘नेतालाई डोरी र अरुलाई गोली’ भन्दै सो आन्दोलनमा उत्रिएका मजदुरहरुमाथि बर्बर दमन गरिए पनि अन्त्यमा उनीहरु झुक्न र माग पुरा गर्न बाध्य भए ।
परिणामतः सन् १८८९मा फ्रान्सको पेरिसमा सम्पन्न भएको विश्व श्रम संगठन र श्रमिक नेताहरुको बैठकले सन् १८९० को मई १ देखि हरेक वर्ष ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’ मनाउने निर्णय गर्यो । सोही दिनलाई ‘मई दिवस’का रुपमा चिनिन्छ ।
नेपालमा बि.सं. २००३ सालदेखि ट्रेड युनियन आन्दोलन संसथागत रुपमा अगाडि बढे पनि बि.सं. २०२० सालदेखि ‘मई दिवस’ मनाउन थालिएको हो । त्यस यता हरेक वर्ष हामीले निरन्तर रुपमा नेपालका श्रमिक वर्गको सङ्घर्षको मोर्चाको रुपमा र अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको उतसवको रुपमा अखिल नेपाल ट्रेड युनियन महासंघको नेतृत्वमा ‘मई दिवस’ मनाउँदै आएका छौँ ।
२०७४ सालको चैत्र २१ गते अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय समितिको बैठक बस्यो र सो बैठकले ‘मई दिवस’लाई संघर्षको रुपमा अत्यन्तै भव्यताका साथ मनाउने निर्णय गरेका छौँ । यसपटकको ‘मई दिवस’लाई अखिल नेपाल ट्रेड युनियन महासंघले “श्रम ऐन र सामाजिक सुरक्ष ऐन कार्यान्वयन गरौँ ! समाजवादी लक्ष्यलाई पक्डँदै १२९ औँ मई दिस भव्य रुपले सफल पारौँ !” भन्ने मूल नाराका साथ संघर्षको एउटा मोर्चाको रुपमा मनाउन गइरहेका छौँ ।
हाम्रो ट्रेड युनियन महासंघ र योसँग आवद्ध घटक संगठनहरु देशका सबै प्रदेश, जिल्ला, स्थानीय निकाय र उद्योग तथा प्रतिष्ठानहरुमा छन् । ती सबै कमिटीहरुले कहीँ केन्द्रीकृत रुपमा, कहीँ सापेक्षित केन्द्रीकृत रुपमा र कहीँ आफू श्रमसँग जोडिएको ठाउँमै स्थानीय विशिष्टतामा विभिन्न कार्यक्रमहरु आयोजना गरी भव्य रुपले ‘मई दिवस’ मनाउने निर्णय गरेका छौँ । सो दिन सार्वजनिक विदा भए पनि कुनै पनि मजदुर घरमा नबस्ने र ‘मई दिवस’को कार्यक्रममा सरिक हुने निर्णय गरेका छौँ । त्यो दिन हामी सबै सडकमा आउने छौँ, हाम्रा मागहरुलाई जोड्दार ढङ्गले उठाउने छौँ । सो दिन र यो मई दिवसमा हामीले नयाँ श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐनको कार्यान्वयनका लागि दबाब दिने गरी आकर्षक र भव्य रुपले कार्यक्रम सम्पन्न गर्नेछौँ ।
संगठनात्मक रुपमा यसको तयारीका लागि हाम्रो केन्द्रीय समितिको बैठकले विभिन्न कार्यक्रमहरु तय गरेको छ । केन्द्रीय कार्यक्रमको रुपमा हामीले कार्यक्रमहरु तय गरेका छौँ र हामीले सबै प्रदेश र जिल्लाहरुलाई पनि कार्यक्रम दिएका छौँ । सो कार्यक्रम अनुसार २०७५ बैशाख १० गतेदेखि १३ गतेसम्म वाल पेन्टिङ, पोस्टरिङ र अन्य प्रचारात्मक कायहरु गर्ने, १४ गते प्रदेश महासंघले प्रदेश सरकारलाई र केन्द्रमा केन्द्रीय महासंघको केन्द्रीय कार्यालयको तर्फबाट श्रममन्त्रीलाई ज्ञापन पत्र बुझाएका छौँ । बैशाख १५ गते र १७ गते हामी तयारीका बैठक तथा अन्य कार्यक्रमहरु गरेका छौँ भने भने बैशाख १६ गते हामीले रक्तदान लगायतका कार्यक्रमहरु आयोजना गरि सम्पन्न गरेका छौँ ।
आज बैशाख १८ गते अखिल नेपाल ट्रेड युनियन महासंघले विशाल मजदुर र्यालीको आयोजना गरेका छौँ । हाम्रो यो र्याली भृकुटीमण्डपमा पुगेर विशाल मजदुर सभाको रुपमा सम्पन्न हुनेछ । त्यसलाई मजदुर नेताहरुका साथै हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष क. प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
हामीले यो मजदुर दिवस मनाइरहँदा देशमा बामपन्थीहरुको शक्तिशाली सरकार छ । यो सरकारले संविधानमा प्रदान गरिएका श्रमिकहरुका हक, हित र अधिकारहरुको कार्यान्वयन गर्नका लागि सन्देश दिने संघर्षको रुपमा यो कार्यक्रम तय गरिएको छ । भर्खरै आएको श्रम ऐन, सामाजिक सुरक्षा ऐनका साथै संविधानले श्रमिकहरुलाई प्रत्याभूत गरेका आवास, रोजगारी, उचित वेतन, स्वास्थ्य लगायतका सम्पूर्ण अधिकारहरुको अबिलम्ब कार्यान्वयन होस् । त्यसतर्फ यो बामपन्थीहरुको सरकारले सोचोस् भन्ने हिसाबले यो मजदुर सभाले सन्देश प्रबाह गर्नेछ ।
आज नेपाली श्रमिक/मजदुरहरुले आफ्नो जीवनमा जे जस्ता समस्याहरु खेपिरहेका छन्, तिनको समाधान गरोस् भन्ने हाम्रो चाहना रहेको छ । त्यस्तै वेतनमा बृद्धि, श्रम ऐन र सामाजिक सुरक्षा ऐन लागु गर्ने वातावरणको सिर्जना गरोस् । सरकारले समाजवादोन्मुख संविधानलाई टेकेर आगामी दिनमा मजदुरहरुको सहभागितामा मजदुरमुखी नीति, योजना र कार्यक्रमहरु निमार्ण गरोस्, नीति निर्माण तहमा मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित गरोस्, हालको वेतनमा कम्तिमा रु. ५०००/– बृद्धि र आवासको अधिकार, रोजगारीको सुनिश्चितता, महङ्गी नियन्त्रण, राष्ट्रिय श्रम आयोग गठन लगायतका अधिकारहरु सुनिश्चित होऊन् र त्यसबारे यो सरकारले श्रमिक वर्गको पक्षधरता लिँदै अगाडि बढोस् र श्रमिक वर्गको हक, हित र अधिकार सुरक्षित गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा अगाडि बढोस् भन्ने हाम्रो माग एवम् आकाङ्क्षा छ । यिनै विषयहरुका साथै मजदुरहरुका जीविका र दैनन्दिनीसँग सम्बन्धित मागहरुलाई समेत हामीले जोडदार रुपमा उठाउने छौँ । यसरी हामीले यो मई दिवसलाई एउटा संघर्षको मोर्चाको रुपमा मनाउँदै छौँ ।
याे पनि पढ्नुहाेस्ः महान् अक्टोबर समाजवादी क्रान्तिबारे केही कुरा – क. स्वनाम साथी
याे पनि पढ्नुहाेस्ः बुद्ध जयन्ती र गौतम बुद्ध बारेको वास्तविकता क. नहेन्द्र खड्का
याे पनि पढ्नुहाेस्ः अन्तर्राष्ट्रिय किसान सङ्घर्ष दिवस (अप्रिल १७) बारे – क. प्रमेश पाेखरेल
(लेखक अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का अध्यक्ष हुनुहुन्छ ।)