चीनकाे शान्सी प्रान्तको नर्थ वेष्ट विश्वविद्यालयकी एक भाषा प्रशिक्षक याङ यु मईमा चीन फर्कनु अगाडि किर्गिस्तानस्थित एउटा चिनियाँ पेट्रोलियम कम्पनीमा दिइएको आफ्नो सबैभन्दा पछिल्लो जिम्मेवारी पुरा गर्दै थिइन् ।
विश्वविद्यालयकाे अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान स्कुलमा काम गर्ने यी शिक्षिकाले सन् २०१७ को डिसेम्बरमा त्यो मध्य एसियाली देश छोडिन् र अहिले जोङ्दा चीन पेट्रोल कम्पनीमा काम गर्ने १ सय जना किर्गिस्तानी विद्यार्थीहरुलाई पढाइरहेकी छन् ।
याङजस्तै नर्थ वेष्ट विश्वविद्यालयका अरु २ जना शिक्षकहरुले पनि सो पेट्रोलियम कम्पनीमा रासायनिक उद्योगसम्बन्धी आफ्नो ज्ञान प्रदान गर्ने तयारी गरिरहेका छन् । नर्थ वेष्ट विश्वविद्यालय र जोङ्दा चीन पेट्रोल कम्पनीले सन् २०१४ मा संयुक्त रुपमा सुरु गरेको यो प्रशिक्षण परियोजनाले कम्पनीलाई द्रुत गतिमा अगाडि बढाउन सहयोग गर्नका लागि किर्गिस्तानमा १ हजार प्रतिभाहरुलाई प्रशिक्षित गर्ने लक्ष्य लिएको छ ।
नर्थ वेष्ट विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना शाखामा काम गर्ने एक कर्मचारी वाङ युअानले ग्लोबल टाइम्ससँग कुरा गर्दै अहिले ५ वटा बेल्ट एण्ड रोड मुलुकहरुका १४० विद्यार्थीहरुले चिनियाँ क्याम्पसहरुमा अध्ययन गरिरहेको तथ्य खुलाए । ती मध्ये अधिकांशले अन्तर्राष्ट्रिय व्यापार विषाय अध्यन गरिरहेका छन् । तिनीहरुले भविष्यमा चिनियाँ कम्पनीहरुमा सेवा गर्ने अपेक्षा गरिएको छ ।
शान्सी लवज नै मातृभाषा रहेका कजाकिस्तान र किर्गिस्तानका यी डुङ्गन विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गरेको र यहाँको वातावरणमा घुलमिल हुँदै गरेको कुरा वाङले बताए ।
हालैका बर्षहरुमा चिनियाँ विश्वविद्यालयहरुले “स्थानीयकरण”को अभिबृद्धि गर्नका लागि चिनियाँ कम्पनीहरुसँग निकट रहेर सहकार्य गरिरहेका छन् ।
विज्ञहरुका अनुसार चिनियाँ कम्पनीहरुमा भएको दक्ष प्राविधिक जनशक्तिको कमी र स्थानीय जनसमुदायसँगको अन्तरक्रियाको अभावलाई पूर्ति गर्नुका साथै विदेशी विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने बेल्ट एण्ड रोड अभियान (बिआरआई)काे यस्ताे सहकार्यकाे उद्देश्य दीर्घकालीन रुपमा “स्थानीयहरुको मन जित्नु” पनि हो ।
कम्पनी निर्देशित प्रशिक्षण कार्यक्रमः
विगतमा चिनियाँ कम्पनीहरुले विदेशमा रहेका आफ्ना परियोजनाहरु सञ्चालन गर्न सक्षम उच्चस्तरका व्यवस्थापकहरु भेटाउन धेरै कठिनाईंहरु भोग्नु पर्यो ।
कम्पनीहरुले नियुक्त गरेका व्यवस्थापकहरु आफ्ना कम्पनीहरुप्रति प्रायजसो अत्यन्तै वफादार थिए, तर उनीहरुले विदेशी संस्कृति, नियम–कानुनहरु र भाषा, त्यसमा पनि विशेषतः अन्तर्राष्ट्रिय वित्त तथा कर प्रशासन सम्बन्धी ज्ञानलाई बुझ्न धेरै नै कठिन भएको कुरा याङ्जी रिभर दैनिकले उल्लेख गरेकाे छ ।
“हामी अझै पनि अन्तर्राष्ट्रिय दक्ष जनशक्तिमा युरोपेली, अमेरिकी र जापानी कम्पनीहरुभन्दा पछाडि छौँ,” ६ वर्ष भारतमा बसेर काम गरिसकेका चाइना फर्स्ट मेटालर्जिकल ग्रुप कम्पनीका पार्टी सचिव माओ होङ्ताओले बताए ।
“जब हामी वार्ताको टेबलमा बस्छौँ, हामीले आफूलाई बेसहारा जस्तो अनुभव गर्छौँ किनभने हामीसँग अन्तर्राष्ट्रिय वरिष्ठ कार्यकारीहरु हुँदैनन्”, अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड दक्ष जनशक्तिकाे आवश्यकताबारे जोड दिँदै उनले बताए ।
अब भने परिस्थिति बदलिँदैछ । हालसालै एउटा ताजिकिस्तानस्थित चिनियाँ उत्खनन् (खानी) कम्पनीले १०० जना ताजकिस्तानी स्थानीयहरुलाई दक्षिण पश्चिमी चीनको युनान प्रान्तको विश्वविद्यालयमा भर्ना गर्ने आफ्नो योजना घोषणा गर्यो ।
योजना अनुसार युनान प्रान्तमा रहेको कुन्मिङ विज्ञान तथा प्रविधि विश्वविद्यालय र हुनान गैरफलाम धातुहरुको अनुसन्धान प्रतिष्ठानले ताजकिस्तानबाट ताजिक–चिनियाँ उत्खनन् कम्पनीहरुका निम्ति शांघाईस्थित तिब्बत समिट शंसाधन कम्पनी अन्तर्गत विद्यार्थीहरु आकर्षित गर्नेछन् । सो कुरा तिब्बत समिटबाट ग्लोबल टाइम्सलाई प्राप्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
“चिनियाँ भाषा र उत्खनन् सम्बन्धी सीप अध्ययन गरिसकेपछि योग्य विद्यार्थीहरुले ताजिक–चिनियाँ उत्खनन् कम्पनीमा काम गर्ने अवसर पाउनेछन्,” तिब्बत समिटका अध्यक्ष हुवाङ जिआनरोङले बेइजिङस्थित सेक्युरिटिज टाइम्सलाई भने ।
“यो सहकार्यले प्रभावकारी रुपमा कामदाहरुको तलब खर्चमा कटौती हुनेछ किनभने स्थानीय कामदारहरुको तलब चिनियाँ कामदारहरुको भन्दा कम हुन्छ,” सेक्युरिटिजमा रहेका यान थरका तिब्बत समिटका प्रतिनिधिले ग्लोबल टाइम्सलाई भने ।
“हाल कम्पनीमा २ हजार चिनियाँ र १ हजार ताजिकिस्तानका कामदारहरु छन् । खर्च कटौती गर्नका लागि भविष्यमा हामीले चिनियाँ भन्दा धेरै ताजकिस्तानी कामदारहरु राख्न चाहन्छौँ,” यानले भने ।
कम्पनीका अनुसार यो परियोजनाले बेल्ट एण्ड रोड अभियानको आव्हानलाई सफल बनाउने र ताजिकिस्तानको औद्योगिक विकासलाई प्रबर्द्धन गर्न कम्पनीका आवश्यकताहरुलाई पूरा गर्नेछ । यसले स्थानीय रोजगारीमा समेत सहयोग गर्नेछ भने स्थानीय वैज्ञानिक तथा प्राविधिक जनशक्तिको विकास गर्नेछ ।
कम्पनीको आधिकारिक वेवसाइटले जनाए अनुसार, ताजिक–चिनियाँ उत्खनन् कम्पनी यतिबेला ताजिकिस्तानमा सबैभन्दा ठूलो चिनियाँ लगानी रहेको कम्पनी हो, जोसँग १ करोड मेट्रिक टनभन्दा बढी शिशा–जस्ताका स्रोतहरुको स्वामित्त्व छ ।
“भविष्यमा अझ धेरै चिनियाँ भाषा जान्ने ताजिकिस्तानीहरु कम्पनीमा नियुक्त हुनेछन्, जसले कम्पनीको लगानी र मध्य एसियाको विकासलाई थप अगाडि बढाउनेछ । तिनीहरूले हामीलाई स्थानीय नीतिहरु र परम्पराहरुसँग अझ बढी परिचित गराउने छन्,” कम्पनीको विज्ञप्तीमा उल्लेख छ ।
“केही बेल्ट एण्ड रोड (सदस्य) मुलुकहरु अझैसम्म पनि चिनियाँ संस्कृतिसँग परिचित नभएकोले हाम्राे एक आपसको पारस्परिक समझदारीलाई गहन बनाउन शिक्षा र सञ्चारलाई जोड दिनु जरुरी छ,” चीन पराराष्ट्र मामिला विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानका प्राध्यापक लु जिङले ग्लोबल टाइम्सलाई बताए ।
“कम्पनीहरुले आफ्ना वास्तविक आवश्यकताहरुको आधारमा दक्ष जनशक्तिहरु तयार गर्नु धेरै नै व्यवहारिक हुन्छ ।”
सञ्चार र सहकार्यः
“मैले आफ्ना फलफूलहरु र कृषि उत्पादनहरुलाई अनलाइनमा कसरी बेच्न सक्छु ?” “के मैले चिनियाँ इन्टरनेटमा कारका पाटपूर्जाहरु बेच्न सक्छु ?” “कस्तो प्रकारको सजावटले चिनियाँ उपभोक्ताहरुलाई थप आकर्षित गर्छ ?”
चीनको शान्सी प्रान्तको राजधानी सियानमा अप्रिल १८ मा आयोजित एउटा विद्युतीय–व्यापार (ई–कमर्श) प्रशिक्षण कक्षाका क्रममा २० जना कजाकी उद्यमीहरुले सोधेका यी र यस्तै धेरै प्रश्नहरुको जवाफ दिइएको थियो । धेरैजसो प्रश्नहरु फलफूल, स्वाद, मह, यन्त्र उत्पादन र निर्माण उद्योगसँग सम्बन्धित थिए ।
कजाकस्तानका उद्यमीहरुलाई लक्षित गरेर आयोजना गरिएको सो विद्युतीय–व्यापार (ई–कमर्श) प्रशिक्षण कक्षा शान्सीको सियानमा रहेको खुला व्यापार क्षेत्रको ताओबाओ विश्वविद्यालयको आंगिक क्याम्पसमा सञ्चालन गरिएको थियो, सियान दैनिकले लेखेको छ ।
ताओबाओ विश्वविद्यालय चीनको अनलाइन व्यापारको टाइकूनको रुपमा रहेको अलिबाबाको मुख्य शिक्षा विभाग हो । बेल्ट एण्ड रोड अभियान अन्तर्गतको सो प्रशिक्षण कक्षाले कजाकी उद्यमीहरुलाई सो अभियानबारे थप जानकारी हासिल गर्न र बेल्ट एण्ड रोड मुलुकहरुमा विद्युतीय–व्यापार सञ्चालन गर्न सक्षम बनाउने छ ।
ताओबाओ विश्वविद्यालयका प्राध्यापकहरुले चीनमा विद्युतीय व्यापारको विकास र बजारका अवसरहरुका साथै सीमापार अनलाइन व्यापार सञ्चालन गर्ने विधिहरुबारे जानकारी दिने छन् । उद्यमीहरु प्राध्यापकहरुबाट सिक्नका लागि व्यग्र थिए, जबकी उनीहरु रुसी भाषा अनुवादकहरुको सहायताले मात्रै कुराकानी गर्न सक्दथे, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) ले उद्धृत गरेको छ ।
शिक्षा मन्त्रालयको तथ्यांकले देखाएकाे छ कि सन् २०१६ मा बेल्ट एण्ड रोड मुलुकहरुबाट २,०७,७४६ (दुर्इ लाख सात हजार सात साय छ्यालिस) विदेशी विद्यार्थीहरुले चीनमा अध्ययन गरिरहेका थिए, जुन सन् २०१५ को भन्दा १३.६ प्रतिशतले बढी हो । यो तथ्यांकबाट चिनियाँ सरकारी छात्रवृत्तिको ६१ प्रतिशत बेल्ट एण्ड रोड मुलुकका विद्यार्थीहरुले प्राप्त गर्ने गरेको कुरा प्रस्टिन्छ ।
“समयक्रमसँगै चिनियाँ विश्वविद्यालयहरुले अन्तर्राष्ट्रिय दक्ष जनशक्तिको विकासद्वारा बेल्ट एण्ड रोड मुलुकहरुको मन–मस्तिष्क जित्नेछन, जसले समग्र अभियानलाई सुदृढ गर्नेछ,” लुले औँल्याए ।
सन् २०१७ को अप्रिलमा चीनको सिचुआन प्रान्तको छेङ्दुमा रहेको चीनकाे विद्युतीय विज्ञान र प्रविधि विश्वविद्यालयमा घानाका ५ वटा विश्वविद्यालयसँग सहकार्य गरिरहेको एउटा पश्चिम अफ्रिकी विद्यार्थी केन्द्रको सुरुवात गरियो । शांघाईमा रहेको पूर्वी चीन राजनीतिक विज्ञान तथा कानुन विश्वविद्यालयले पनि बेल्ट एण्ड रोड मुलुकका कानुनका विदेशी विद्यार्थीहरुका लागि उच्च दक्षता सम्बन्धी परियोजना सुरु गरेको कुरा हङकङस्थित अखबार वेन वेई पाेले जनाएको छ ।
राष्ट्रिय शिक्षा विज्ञान प्रतिष्ठानका चु झाओहुईले यस्ता सहकार्यहरुले गति लिइरहेको भए पनि विद्यमान समस्याहरुलाई नजरअन्दाज गर्न नहुने चेतावनी दिएका छन् ।
“याे सहकार्यमा केही समस्याहरु पनि आए जसले गर्दा केही विदेशी विद्यार्थीहरुले आफ्नो पढार्इ पुरा गर्नु अगाडि नै चीन छाड्नु पर्यो,” चुले भने, “मलाई जानकारी भएसम्म ४ वर्षे कार्यक्रमका लागि चीन आएका बेल्ट एण्ड रोड मुलुकका केही विद्यार्थीहरुले एक वा दुई वर्षपछि नै चीन छाडे ।”
उनले थपे, “तिनीहरु आफ्नो अध्ययन पूरा गर्न अरु देशतिर गए । तिनीहरुले मलाई भनेका थिए कि उनीहरुले चिनियाँ पाठ्यक्रमहरु आकर्षक नभएकाे पाए ।”
चुले बताए कि विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुको बाबजुद चीनले विदेशी विद्यार्थीहरुलाई दिने शिक्षाको प्रभावकारिता र गुणस्तरमा सुधार गर्नुपर्छ ताकि यस्ता शैक्षिक सहकार्यका कार्यक्रमहरु विदेशी विद्यार्थीहरुका लागि थप आकर्षक बनून् र दीर्घकालमा अझ राम्रो नतिजा प्राप्त हुन सकोस् ।
“विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय दक्ष जनशक्तिकाे विकासका निम्ति कम्पनीहरू र स्थानीय (तत् तत्) देशहरूका अावश्यकताहरूमा ध्यानकेन्द्रित गर्नुपर्छ र अाफ्नाे खर्चमा अध्ययन गर्न अाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूकाे अनुपातलार्इ बढाउनु पर्छ, जबकी अहिले चिनियाँ सरकारले अार्थिक सहयाेग गरेका विद्यार्थीहरू धेरै छन्,” उनले थपे ।
लुले भने कि चिनियाँ विश्वविद्यालयहरु अन्तर्राष्ट्रिय शैक्षिक समुदायसँग एकाकार हुँदै अगाडि बढ्नु पर्छ, ताकि चिनियाँ शिक्षाले विश्वभर मान्यता प्राप्त गर्न सकोस् ।
याे पनि पढ्नुहाेस्ः कमरेड माअाेकाे पहिलाे पेकिङ यात्रा – क. हंशराज रहबर
याे पनि पढ्नुहाेस्ः अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिमा यसकाे प्रभाव – क. हाे कान च
याे पनि पढ्नुहाेस्ः सि जिनपिङ-किम जाेङ उन शिखर वार्ताकाे एेतिहासिक सन्देश
(स्राेतः ग्लाेबल टाइम्सका लागि शान जिएले तयार गरेकाे रिपाेर्टबाट । सक्कल अंग्रेजी भाषाकाे अालेखका लागि Chinese firms, schools offer training to overseas talents aspiring to profit from Belt & Road Initiative मा जानुहाेस् – सं. । अनुवादः नहेन्द्र खड्का )