Chinese President Xi Jinping
 

जुन ९ देखि १० सम्म चीनको चिङ्दाओमा हुने १८ औं ‘शाङ्घाई सहयाेग सङ्गठन (शाङ्घार्इ काेअपरेसन अर्गनाइजेसन – एससीओ) शिखर सम्मेलनको अध्यक्षता राष्ट्रपति शी चिनफिङ ले गर्ने जानकारी चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीले दिनु भएको छ ।

८ सदस्यीय सङ्गठनको सम्मेलनमा सदस्य राष्ट्रका नेताहरुले क्षेत्रीय शान्ति तथा विकासमा सङ्गठनको भूमिकाबारे धारणा आदान-प्रदान, सहमति निर्माण र कार्ययोजना निर्माण समेत गर्ने सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री वाङले बताउनुभयो ।

नेताहरुले चिङ्दाओ घोषणापत्रमा हस्ताक्षर गर्नुकासाथै सङ्गठनमा आबद्ध मुलुकबिच आर्थिक, नागरिकस्तरको सहकार्य एवम् सुरक्षा साझेदारीसम्बन्धि दस्तावेजमा हस्ताक्षर गर्नेछन् । वाङका अनुसार यो वर्ष सम्मेलनको मुख्य एजेण्डा सदस्य राष्ट्रहरुले प्राथमिकतामा राखेका तीन कु-तत्त्व अर्थात् आतङ्कवाद, अतिवाद र पृथकतावादकासाथै साइबर अपराध र लागु औषध तस्करीविरुद्धको लडाइँ रहेका छन् ।

Member Countries of Shanghai Cooperation Organisation
शाङ्ङार्इ सहयाेग सङ्गठनका सदस्य राष्ट्रहरू

‘चीन विदेश मामिला विश्वविद्यालय’का प्राध्यापक गाओ फेइ ‘शाङ्घाई सहयाेग सङ्गठन’ले आफ्नो स्थापनाकालदेखि नै क्षेत्रीय सुरक्षालाई प्राथमिकतामा राख्दै आएको र यसकै कारण यो सङ्गठन युरेसियाली देशहरुको स्थिरताको ‘अक्ष’ जस्तो बनेको धारणा राख्छन् ।

‘चिनियाँ सामाज-विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ सोसल साइन्स)’का शोधकर्ता ली योङचुआन मध्य तथा दक्षिण एसियाले अझै पनि गम्भीर सुरक्षा चुनौति सामना गरिरहेका कारण सङ्गठनको संयुक्त प्रयासले विकासका लागि वातावरण तयार पार्ने अपेक्षा राख्छन् ।

चिङ्दाओ सम्मेलन सदस्य राष्ट्रहरुको आर्थिक विकासमा अनुकूल वातावरण निर्माणका लागि विश्वव्यापी शासन र बहुपक्षीय व्यापार प्रणालीमा पनि केन्द्रित हुने वाङले बताए ।

अमेरिका स्वतन्त्र व्यापार प्रणालीको शक्तिशाली ‘भँडुवा’ बनेर निस्किएपछि देखिएको विश्वव्यापीकरणविरुद्धको डरलाग्दो लहरले विश्व शान्ति तथा स्थायित्त्वमा चुनौति थपेकाले सम्मेलनले बहुपक्षीयतावाद र स्वतन्त्र व्यापारको एजेण्डा प्रवर्द्धन गर्नु महत्त्वपूर्ण हुने प्राध्यापक गाओको विचार छ ।

उनी भन्छन्- सम्मेलन आयोजनाका लागि देशको पूर्वी क्षेत्रमा पर्ने शाङ्दोङ प्रान्तको चिङ्दाओ सहर छनौट गर्नुले चीन विश्वसामु अझै खुल्न दृढ छ भन्ने प्रष्टिन्छ । चिङ्दाओ विश्वलाई खुला गरिएका प्रथम चरणका चिनियाँ तटीय सहरमध्ये एक हो । सन् २०१७ मा चिङ्दाओ र साङ्घाई सहयाेग सङ्गठनका सदस्य मुलुकबिचको व्यापार ५.८२ अरब अमेरिकी डलर पुगेको र अघिल्लो वर्षको तुलनामा १२.५ प्रतिशतको वृद्धि भएको जानकारी चिनियाँ कम्युनिस्ट पार्टीका चिङ्दाओ प्रमुख च्याङ जियाङ्टिङले सोमबार आयोजित पत्रकार सम्मेलनमा दिए ।

सम्मेलनस्थल तयार भैसकेको र प्रेस सेन्टरमा ३ हजार मानिस अट्ने क्षमता रहेको च्याङले बताए । सम्मेलनको सुरक्षा र स्थानीय बासिन्दाको दैनिक जीवन प्रभावित नहुने गरी सम्मेलन सञ्चालन गर्न तयारी सुरु भएकाे छ।

बेल्ट एण्ड रोड

बेल्ट एण्ड राेड अभियान Belt and Road Initiative (BRI)
बेल्ट एण्ड राेड अभियान

सन् २०१७ मा पाकिस्तान र भारतलाई समेत समावेश गरिएपछि पहिलो पटक हुन लागेको सङ्गठनको सम्मेलनले बहुपक्षीय सहकार्यका लागि विश्वासको वातावरण बनाउन अवसर वृद्धि गर्ने विश्लेषकहरुको भनाई छ । शोधकर्ता ली सङ्गठनका सदस्यसँग समझदारी बढ्दै जाँदा भारतलेसमेत चीनले प्रस्ताव गरेको ‘बेल्ट एण्ड रोड अभियान’ प्रतिको धारणा बदल्न सक्ने र भविष्यमा सकारात्मक भूमिका खेल्नसक्ने ठान्छन् । ‘बेल्ट एण्ड रोड’को रुटमा पर्ने सङ्गठनमा आबद्ध मुलुकहरूसँगको साझेदारी यो परियोजनाको सफलताका लागि अति महत्त्वपूर्ण रहेको उनको बुझार्इ छ ।

सन् २००१ मा चीनको शाङ्घाईमा स्थापना भएको ‘शाङ्घाई सहयाेग सङ्गठन’का संस्थापक सदस्य चीन, रुस, कजाकिस्तान, क्रिगिस्तान, ताजिकिस्तान र उज्वेकिस्तानमात्र थिए । भारत र पाकिस्तानसमेत समेटिएपछि ‘शाङ्घाई सहयाेग सङ्गठन’का सदस्यहरूको हिस्सा युरेसियाली भू-भागमा ६० प्रतिशतभन्दा बढी भएको छ, जहाँ विश्वको आधाभन्दा बढी जनसंख्या बसोवास गर्छ र विश्वको २० प्रतिशतभन्दा बढी कूल गार्हस्थ उत्पादन पनि रहेको छ । प्राध्यापक गाओ अमेरिकाले दिएको चुनौतिका कारण अन्तर्राष्ट्रिय शान्ति बिग्रिएको समयमा यो संयुक्त मिसनबाट शान्ति तथा समृद्धि प्रबर्द्धन गर्नका लागि चीन र रुसजस्ता देशहरूमाथि ठूलो जिम्मेवारी रहेको बताउँछन् ।

यो पनि पढ्नुहोस्ः बेल्ट एण्ड रोड सम्बन्धमा चिनियाँ उद्यमीहरूले ध्यान दिनुपर्ने कुराहरू – शोउ हुइशेङ 

यो पनि पढ्नुहोस्ः बेल्ट एण्ड राेड अभियान र चिनियाँ अन्तर्राष्ट्रिय छात्रवृत्ति – शान जिए

(स्राेतः ग्लाेबल टाइम्सका लागि लि रोहानले तयार गरेकाे रिपाेर्टबाट । सक्कल अंग्रेजी भाषाकाे अालेखका लागि Xi to chair SCO summit in Qingdao मा जानुहाेस् – सम्पादक।)