‘इतिहासका निर्माता श्रमजीवी जनता हुन् ।’ इतिहासको भौतिकवादी व्याख्याले यही भन्छ । ‘संसारको आजसम्मको लिखित इतिहास वर्गसंघर्षको इतिहास हो ।’ सर्वहारावर्गका महान् गुरुहरु कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्रको सुरुवातमै उल्लेख छ । यी दुई महत्त्वपूर्ण वाक्यांशहरुलाई संंश्लेषण गरेर भन्न सकिन्छः संसारको आजसम्मको लिखित इतिहास वर्गसंघर्षको इतिहास हो, जसका निर्माता श्रमजीवी जनता हुन् । यो सार्वभौम सत्य हो ।
अपितु इतिहास लेखन, अध्ययन र अध्यापनका परम्परागत तथा तथाकथित वैज्ञानिक वा आधुनिक मान्यताहरु जो मूलधारमा छन्, तिनले त्यसो मान्दैनन् । मूलधारका कथित इतिहासकारहरु र इतिहासविद्हरुले इतिहासलाई केही मुठ्ठीभर महापुरुषहरुको जीवनगाथाको रुपमा प्रस्तुत गर्ने गरेका छन् र यसलाई शासकहरुको स्तुतिगान गर्न र विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयका कोठाहरुमा शिक्षकहरुले विद्यार्थीहरुलाई प्रवचन दिन र विद्यार्थीहरुले कक्षा परीक्षाहरुमा प्रश्नोत्तरको समाधान गर्न उपयोग गरिने गरेको छ ।
नेपालमा पनि आजसम्मको लिखित इतिहासलाई मूलतः राजा¬महाराजाहरुको स्तुतिगानमा समर्पित गरिएको छ, जसको मूल उद्देश्य विगतमा राजपरिवारको निगाह प्राप्त गर्नु, त्यसबाट कुनै राम्रो पदमा नियुक्ति हुनु, जागिर खानु र लाभदायी पदमा नियुक्ति पाइसकेकाहरुले तक्मा र पादोन्नतिसहितको बृत्तिविकास प्राप्त गर्नु रहने गरेको थियो । त्यसैले नेपाली इतिहासका कथित पानाहरु यहाँका छोटे बडे राजा, महाराजा, तिनका रानीहरु, परिवारका सदस्यहरु र केही भारदारहरुको गुणगानमा समर्पित छन् । यसैको वरिपरि घुमेको छ नेपालको इतिहास लेखन ।
इतिहास लेखनमा विकास गर्नु भनेको त्यस्ता राजा, रजौटा र तिनका भारदारहरुको चाकरी र चाप्लुसीमा कसले कति मीठा, सुन्दर र आकर्षक शव्दहरु प्रयोग गर्न सक्ने भन्ने बुझिने गरेको छ । यहाँ इतिहास लेखनको अर्को जिम्मेवारी भनेको राजा–महाराजाहरुका सम्पूर्ण गल्ति कमजोरीहरुलाई छोप्नु एवम् तिनका नाममा औपन्यासिक कथाहरु र चरित्रहरु जोड्नु पनि रहेको छ । त्यतिमात्र नभएर इतिहासकारहरुले विभिन्न राजा महाराजाहरुलाई मान पद्वीले गुथ्ने प्रयत्न समेत गरेका छन् । इतिहासकारहरुको त्यसैमा धेरैभन्दा धेरै प्रतिस्पर्धा देखिन्छ ।
राजतन्त्रलाई जनताले जरैदेखि उखेलेर फ्याँकिसकेता पनि स्वघोषित मूलधारको इतिहास लेखन प्रकृयामा अझैसम्म खासै परिवर्तन आएको छैन ।
के नेपाल उत्पत्तिकाल देखिनै यस्तै देश थियो ? के मञ्जुश्रीले तरबारले एकै चोटमा (वा धेरै चोटमै) चोभारको डाँडा काट्न संभव थियो ? के नेपाल एकीकरण प्रकृया पृथ्वीनारायण शाह र तिनका दुई–चारजना सहयोगीहरुले मात्रै गरेका थिए ? के त्यसो हुन संभव थियो ? के तिनमा सैनिकहरु र आम जनताको कुनै भूमिका थिएन ? नेपालमा राणाशासन विरोधी संघर्ष उत्पकर्षमा पुग्दा आफ्नो अढाई वर्षको नातिलाई दरबारमा छोडेर भारतीय विस्तारवादको शरणमा पर्ने तत्कालीन राजा त्रिभुवन कसरी ‘प्रजातन्त्रका पिता’ हुन सके ? भारतबाट बेलायती साम्राज्यवाद पछि हट्दा सुगौली सन्धिबाट गुमेको नेपाली भूभाग फिर्ता माग्न नसक्ने राजा–महाराजाहरु र तिनका सन्तानहरु कसरी ‘राष्ट्रिय एकताका प्रतीक‘ बने ? नेपालमा मानव जातिको उत्पत्ति र विकास कसरी भयो ? यहाँका मानवहरुको उद्गम स्थल कहाँ हो ? यहाँ लिच्छवीहरु, किराँतहरु, कसरी आए ? किराँतहरु, निषादहरु र कोलहरुको जातीय स्थिति, भूगोल र संशाधनहरुको संघर्ष कसरी चल्यो ? नेपालको समाज विकासका चरणहरु कसरी गुज्रे ? नेपालमा दास युग थियो वा थिएन ? नेपाल विभिन्न युगहरुलाई कसरी पार गर्दै अगाडि बढ्यो ?
यस्ता प्रश्नहरुको जवाफ नेपालका कथित मूलधारका इतिहासकारहरुले दिन सकेका छैनन् र दिने प्रयत्न गरेका छैनन् । विगतमा छिटफुट लेख, रचना र हातका औंलामा गन्न सकिने पुस्तिकाहरुबाहेक कहिल्यै पनि नेपालको इतिहासलाई भौतिकवादी ढंगले, ‘इतिहासका निर्माता जनता हुन्’ भन्ने मान्यताका आधारमा तयार गर्ने, लेख्ने र पढ्ने प्रयत्न गरिएन । यो अभावलाई संभव भएसम्म पुरा गर्ने जमर्को गरेका छन् राजनीतिकर्मी तथा लोकप्रिय लेखक श्री रामराज रेग्मीले आफ्नो पुस्तक ‘नेपालको इतिहासः एक मार्क्सवादी दृष्टिकोण’बाट ।
बामपन्थी राजनीतिमा ‘लेखपढ गर्ने बानी भएकाहरु’का लागि रामराज रेग्मी कुनै नौलो नाम होइन । लामोसमयदेखि पोखरामा आधारित भएर राजनीतिमा संलग्न भएका रेग्मी राजनीतिकर्मी मात्र नभएर एक कुशल राजनीतिशास्त्री र अर्थशास्त्री हुनुकासाथै समाजवशास्त्र र दर्शनशास्त्रका अध्येयता पनि हुन् ।
नेपालको त्रिभुवन विश्वविद्यालय र बेलायतको विश्वप्रसिद्ध रिडिङ विश्वविद्यालयबाट अंग्रेजी र अर्थशास्त्रमा स्नातकोत्तर गरेका रेग्मी नेपाली किसान आन्दोलनमा समेत सक्रिय रहे र ल्याटिन अमरिकाका चर्चित समाजावादी नेताहरु ह्युगो चाभेज, इभो मोरालेस र लुला इनासिया डि सिल्भालगायतका चर्चित नेताहरुलाई भेट्ने र छलफल गर्न पाउने कमै नेपालीहरु भित्र पर्दछन् । विभिन्न पत्र, पत्रिका र जर्नलहरुमा एक हजार भन्दा धेरै लेख रचना प्रकाशित गराइसकेका रेग्मीले पुस्तकाकारमा ‘मानिसको समाजका विभिन्न जुगहरु’, ‘चीनका दुई कथा’ (अनुवाद), ‘मानव समाजको रुपान्तरण’, ‘पूर्वीय दर्शनमा भौतिकवाद’ र ‘राष्ट्रिय पहिचानका मुद्दाहरु’ जस्ता महत्त्वपूर्ण रचनाहरु नेपाली पाठकहरुलाई पस्कन सफल भएका छन् । प्रस्तुत पुस्तक मार्फत् लेखक रेग्मी नेपालको इतिहासको भौतिकवादी व्याख्या गर्ने अध्येयताको रुपमा उपस्थित भएका छन् ।
जागरण बुक हाउस, अद्वैत मार्ग, काठमाडौँद्वारा प्रकाशित र ५५० पृष्ठमा समेटिएको प्रस्तुत पुस्तकलाई लेखकले १. प्रारम्भिक काल, २. राजतन्त्रात्मक लिच्छवीकालः सामन्तवादको उदयको चरण, ३. तीन राज्यकाल (मध्यकाल): सामन्तवादको विस्तारको चरण, ४. विखण्डितकालः इलाकीय सामन्तवादको चरण, ५. एकीकृत राज्यकालः केन्द्रीकृत सामन्तवादको चरण, ६. राणा शासनकाल ः सामन्तवाद र अर्धउपनिवेशको चरण, ७. शक्तिशाली राजतन्त्रात्मक शासनकालः अर्ध सामन्ती र अर्ध औपनिवेशिक चरण र ८. संसदीय शासनकालः सीमान्तीकृत सामन्तवाद र नवउपनिवेशको चरणको रुपमा प्रस्तुत गरेका छन् । हरेक काललाई विभिन्न शीर्षक तथा उपशीर्षकहरुमा विभाजित गर्दै तत्कालीन नेपाली समाजको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक चरित्रलाई उद्घाटित गरिएको छ ।
नेपालका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, इतिहासकारहरु र इतिहासविद्हरु, इतिहासका प्राध्यापक, शिक्षक तथा विद्यार्थीहरु, नेपाली समाजका व्याख्याताहरु तथा विश्लषकहरुकासाथै नेपालको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक पृष्ठभूमिको विषयमा जानकारी राख्न चाहने हरेक व्यक्तिका लागि यो एउटा अति आवश्यक र पढ्नै पर्ने पुस्तक हो ।
यो एउटा राजनीतिक प्रोपागाण्डामा आधारित नभएर ऐतिहासिक विषयवस्तुमा आधारित पुस्तक हो । यसलाई अध्ययन गर्ने हरेक व्यक्तिले सजिलै यो निष्कर्ष निकाल्न सक्छ । पुस्तकमा पस्किएका विषयहरु वर्गपक्षधरतामा आधारित हुनु त स्वभाविक नै हो तर प्रस्तुत पुस्तक एक जना राजनीतिकर्मीले लेख्नुको बाबजुद पनि यसमा राजनीतिक आग्रह वा पूर्वाग्रहको कुनै गन्धसमेत पाइँदैन ।
प्रस्तुत पुस्तक लेखनमा अत्यन्तै धेरै पुस्ट सन्दर्भ सामग्रीहरुको उपयोग गरिएको छ र त्यसको सन्दर्भ सूची दिइएको छ, जसले इतिहासको थप अध्ययनमा जुट्न चाहने हर कसैलाई थप सहयोग र प्रेरणा दिनेछ । यो पुस्तकले जे जति विषयहरु पस्केको छ, ती सबैका लागि लेखकलाई साधुवाद छ, तर त्यो भन्दा पनि धैरै बढी यो पुस्तकले नेपाली इतिहासको भौतिकवादी अध्ययन, विश्लेषण, संश्लेषण, पठन, पाठन र पाठ्यक्रमको विकासका लागि मार्गप्रशस्त गरेको छ । यसमा टेकेर नेपाली इतिहासलाई जनताको कोणबाट अझ धेरै अध्ययन, विश्लेषण र संश्लेषण गर्ने संभावनाको ढोका खुलेको छ । त्यसका लागि लेखक विशेष धन्यवादका पात्र छन् । लेखकबाट भविष्यमा पनि नेपाली पाठकहरुले यस्तै थप ग्रन्थहरू अध्ययन गर्ने अवसर प्राप्त गरून् ।
इतिहासको विषयलाई मार्क्सवादी कोणबाट लेख्न चाहने लेखकलाई प्रोत्साहित गर्दै ‘नेपालको इतिहासः एक मार्क्सवादी दृष्टिकोण’ जस्तो नामबाटै स्पष्ट बैचारिक दृष्टिकोण अभिव्यक्त भएको पुस्तक प्रकाशन गर्न र त्यसको सम्पूर्ण जिम्मेवारी बहन गर्ने तयार हुने प्रकाशक जागरण बुक हाउस र त्यसका स्वामी श्री गणेश चितौरेलाई धन्यवाद दिनै पर्छ ।
प्रस्तुत पुस्तकलाई नेपालको इतिहासको पठनपाठनमा एउटा महत्त्वपूर्ण सामग्रीको रुपमा पाठ्य पुस्तक तथा सन्दर्भ ग्रन्थहरुको सूचीमा राखिनु अति आवश्यक देखिन्छ । यसका लागि सम्बन्धित सबैको ध्यान जाओस् ।
पुस्तकः नेपालको इतिहासः एक मार्क्सवादी दृष्टिकोण
लेखकः श्री रामराज रेग्मी
पृष्ठ संख्याः ५५०
मूल्यः ६७५/–
प्रकाशकः जागरण बुक हाउस, अद्वैत मार्ग, काठमाडाैँ ।
यो पनि पढ्नुहोस्ः दार्शनिक रचनाः एउटा पढ्नै पर्ने पुस्तक
यो पनि पढ्नुहोस्ः जुगेडी किसान सङ्घर्ष र किसान सङ्घर्ष दिवस – क. चित्रबहादुर श्रेष्ठ
यो पनि पढ्नुहोस्ः अक्टाेबर समाजवादी क्रान्ति – क. आनन्दस्वरुप वर्मा
यो पनि पढ्नुहोस्ः अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवादबारे एक छलफल – क. स्वनाम साथी