वर्षा ऋतुको अन्त्यपछि न जाडो न गर्मीको शरद ऋतुमा नेपाल र भारतमा दशैँ मनाइन्छ । यस पर्वका अवसरमा विशेषगरी देवी दुर्गाको पूजा र आराधना गरिन्छ । अतएव यसलाई दुर्गा पूजा पनि भनिन्छ ।
हाम्रो समाजमा कतिपय चाड–पर्वलाई धार्मिक रङ दिइएको छ । देवी दुर्गाले राक्षस गणका नायक महिषासुर लगायत रक्तबीज, शुम्भ, निशुम्भ आदिलाई वध गरी तिनको आतङ्कबाट देव गणको रक्षा गरेकाले वर्षेनि देवीको पूजा र आराधना गर्ने प्रचलन चलेको हो भन्ने कुरा पौराणिक कथाहरूमा उल्लेख गरिएको छ ।
दश हात भएकी र मुण्डमाला लगाएकी देवीलाई सिंहमाथि चढेकी र हातमा त्रिशूल एवम् खप्पर लिएकी क्रुद्ध स्वरूपमा चित्रण गरिएको छ र उनको पूजा आराधना गरे सुख-शान्ति मिल्नुका साथै पुण्यलोकमा पुगिने प्रलोभन बाँडिएको छ ।
अयोध्याका राजा रामचन्द्रले नौ दिनसम्म दुर्गाको पूजा गरेर शक्ति प्राप्त गरेपछि आफ्नी पत्नी हरण गर्ने असुर गणका राजा रावणसँग दशौँ दिनमा युद्ध गरी विजय प्राप्त गरेको प्रसङ्ग यसमा जोडी त्यस दिनलाई विजया दशमी भनी विजय उत्सवको रूपमा मनाउने गरिएको हो भन्ने किम्बदन्ती जोडिएको छ ।
दशैँलाई आजभोलि हिन्दूहरूको महान चाडको रूपमा लिइएको छ । यस पर्वमा देवीलाई बोका, राँगा, कुखुरा र हाँसको बली दिएर प्रसादको रूपमा तिनको मासु खाने चलन छ । तर सुरुको इतिहास खोतल्ने हो भने यो पर्व धार्मिक आस्थासँग होइन, मातृशक्तिको सम्मानसँग जोडिएको पाइन्छ ।
संसारका सबै समाजहरू मातृसत्तात्मक अवस्थाबाट गुज्रिँदै आएका हुन् । जङ्गली युगको जुन अवस्थामा समाजको नेतृत्व महिलाहरूले गर्दथे, त्यतिखेर महिलाहरू आदरणीय र सम्मानित थिए । वेदमा ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अथवा जहाँ नारीहरूको सम्मान हुन्छ, त्यहाँ देवताहरू रमाउँछन् भनी लेखिएबाट यो तथ्य प्रमाणित हुन्छ ।

नेपालको सन्दर्भमा यहाँका प्राचीन जातिहरू कोल, किराँत र खसहरूमा पनि मातृसत्तात्मक समाजहरू भएको पुष्टि हुन आएको छ । खस राजा अशोक चल्लले आफ्नो पुस्तावलीमा बाबुको नाम नराखी आमाको नाम सगर्व राख्नुमा मातृसत्ताको प्रभाव देखिन्छ ।
बुद्धकालभन्दा पहिले नेपाली भूमिमा विकसित भएको अवैदिक साङ्ख्य दर्शनले मातृसत्ताकै प्रभावबाट प्राचीन कालमा नारीको सत्तालाई प्राथमिकता दिँदै पुरुषको सत्तालाई गौण स्थानमा राखेको छ । पछि वर्गहरूको उदय भएपछि र राजसत्ताको स्थापना भएपछि मातृसत्तालाई पितृसत्ताले विस्थापित गर्यो । तर समाजमा नारी नेतृत्वलाई सम्मान गर्ने अथवा पुज्ने पुरानो प्रचलन पछिसम्म कायम रहँदै आयो । दशैँको अवसरमा गरिने दुर्गा पूजा त्यसकै परिणाम हो ।
साङ्ख्य दर्शनको प्रभावमा परी हिमाली क्षेत्रका प्राचीन जातिहरू मङ्गोल, किरात, खस आदि मातृशक्तिलाई पुज्ने ‘शाक्त मत’ का अनुयायी बनेका थिए । लिच्छवीकालीन नेपालमा बनेका अनेकौँ शक्तिपीठले देवीको महत्त्वलाई ठुलो जनसमुदायले स्वीकारेको तथ्य उजागर गर्दछन् । बज्रयोगिनीलाई भाग चढाएर मात्र खाना खाने लिच्छवी शासक वृषदेवका कार्यले उनी नारी शक्तिका उपासक भएको प्रमाणित गर्दछन् (लेभी, २००७ः ६७) ।
परम्परागत शाक्त मत प्राचीन नेपाली समाजमा सशक्त रहेको कुरा ललितपुरको स्वथुटोल नजिकै पाइएको मानदेवको समयको अभिलेखले र उनकै पालामा इ. ५०३ मा स्थापित काभ्रेपलाञ्चोकको विजयस्वामीनीको अभिलेखले प्रमाणित गर्दछ (किरण, २०६५ः ६७) ।
आजकल पनि माझ किराँतका राईहरूले प्राचीन पुर्खा भनेर यूमा, खौ बुढी, बाल्मे बुढी, कुलुङ्ग बुढी, माङ्नेवा बुढी आदिलाई चाडपर्वमा पुज्ने र खानेकुरा चढाउने गर्दछन् । थारू जातिमा मैया र गोरैया, माझी, दराई र दनुवारमा वनदेवी र नेवारहरूमा आजिमालाई मातृदेवीको रूपमा पुजिन्छ ।
हिन्दूहरू जसलाई दुर्गा भन्दछन्, ती किराँतकी माई सुम्निमा हुन् भनिएको छ (पोखरेल, २०६०ः १०५ प्रसाईँ, २०६३ः ६) । अनि दशैँलाई किरातहरूले महिला नेतृको अगुवाइमा द्रविडहरूसँग युद्धमा विजय प्राप्त गरेपछि विजय उत्सवको परम्पराको रूपमा मनाउँदै आएको पर्व भनिन्छ । नेपालका राई लिम्बूले दशैँको पर्वमा राँगोको मासु खाने र द्रविड जातिले त्यस जनावरलाई पुज्ने चलनले यस कुरालाई पुष्टि गर्दछ । (सुरभ, २०३३ः ३३)
किरातीहरूले मनाउने मुन्धुम पर्वमा एउटै धनुकाँडले छिप्पिएको राँगो मार्नुपर्ने चलन थियो, जसमा धामी झाँक्री भाकेर र शक्ति जगाएर ज्यादै कुशलतापूर्वक राँगोको मुटुमा धनुष काँडको सुइरो पस्ने गरी तीर हानिन्थ्यो । अहिले पनि कतिपय किराँतीहरूले आफ्नो घरको मूल ढोकामाथि लामा सिङ भएका राँगाका टाउकाहरू (अखेटोपहार) सजाएर राखेका हुन्छन् जुन अरुलाई छुन दिँदैनन् ।
यिनै कुराहरूको आधारमा एकथरी विद्वानहरूले देवी भागवतमा उल्लेख गरिएको दुर्गा र महिषासुर बिचको युद्ध किरात र द्रविड दुई जाति बिचको युद्धको प्रतीकात्मक आख्यान हुनुपर्छ भनी अनुमान गरेका छन् ।
यस्तै दशैँ पर्वको उत्पत्ति सम्बन्धमा खस आर्य जातिमाझ अर्को कथन पनि सुनिएको छ, जसअनुसार कर्णाली क्षेत्रको सिञ्जामा प्राचीन कालमा महिलाहरूले नेतृत्व गरेको कविला गणको शासन थियो । गण प्रमुखमा शैलेश्वरी थिइन् र महिला लडाकुहरूमा महाकाली, दुर्गा, चण्डी, ब्रह्मचारिणी, चन्द्रघण्टा आदि वीराङ्गना थिए । महिला गणले शासन गरेको राज्यको सिमाना उत्तरमा शैव जातिको गणसँग र पश्चिममा जालन्धर (किराँत) गणसँग जोडिएको थियो । त्यस गणको फौजले जालन्धर गणलाई पराजित गरेको खुसीयालीमा दशैँ पर्व विजय उत्सवको रूपमा मनाउन थालिएको हो ।
यतिखेर देवी भागवतमा उल्लेखित नवदुर्गा अथवा नौवटा दुर्गाले नेतृत्व गरेको गण र असुर गण बिचको युद्ध वास्तविक अर्थमा के हो ? धार्मिक आख्यानअनुसारको यो देवगणको रक्षाका लागि देवी र दैत्यबीचको युद्ध त कदापि होइन । उसो भए यो कर्णाली क्षेत्रमा महिला गणले नेतृत्व गरेको आदिम खस जाति र किराँत जातिबीचको युद्ध हो वा महिला गणले नेतृत्व गरेको किरात र द्रविडबीचको युद्ध हो ?
सामाजिक एवम् सांस्कृतिक अन्तरघुलनका कारण आजको परिस्थितिमा यसको सही उत्तर पाउन गाह्रो छ । तर जुन युद्ध भए पनि आखिर के भन्न सकिन्छ भने यो मातृसत्तात्मक समाज भएका दुई आर्यइतर जातिका कविलाहरू बिचको युद्ध हो र त्यसमा महिला नेतृहरूले निभाएको वीरताका कारण दुर्गाका नाममा नौवटा देवीहरू पुजिएका हुन् ।
यसरी के बुझिन्छ भने दशैँ नेपालका अनार्य जातिहरूबाट सुरु गरिएको पर्व हो । तर दशैँ चाडमा हिन्दुत्वको बढी लेपन गरी प्रस्तुत गरिएकाले यसलाई अनार्य जातिका केही अगुवाहरूले बाहुन-क्षेत्रीको चाड ठानी बहिस्कार गर्ने अभियान सञ्चालन गरेका छन् ।
मातृशक्तिलाई विजय उत्सवको रूपमा पुज्ने यस दशैँ पर्वलाई पछि आएर कृषि युगमा कृषि महोत्सवको परम्पराको रूपमा अघि बढाइयो । यसको कारण के थियो भने मातृसत्तात्मक (आदिम) साम्यवादी समाजको प्रभावकै कारण दक्षिण एसियाली उपमहाद्वीपका प्राचीन दार्शनिकहरू महिलाको प्रतीकका रूपमा प्रकृतिलाई सृष्टिको मुहान ठान्दथे र जीवनको अन्त्य पनि प्रकृतिमा आएर विसर्जन हुने परिकल्पना गर्दथे ।
के सोचिन्थ्यो भने महिला र प्रकृतिमा जुन उत्पादन शक्ति हुन्छ, त्यसलाई एक अर्कामा हस्तान्तरण गर्न सकिन्छ । त्यतिखेर चेतनाको स्तर निम्न भएका मानिसहरूले अनाज पैदा गर्ने धर्ती र बच्चा पैदा गर्ने महिलालाई समान दृष्टिले हेर्दथे । महिलाको प्रजनन क्रियाले एकातिर प्रकृतिको उत्पादकत्त्व बढाउने कुरा सोचिन्न्थ्यो भने अर्कोतिर प्रकृतिको उत्पादन क्षमताले महिलाको प्रजनन क्रियामा सहयोग पुर्याउने विश्वास गरिन्थ्यो ।
हडप्पामा पुरातत्त्वविद्हरूले खोजी निकालेको विलक्षण आयताकारको मुद्रा फेला परेको छ, जसको एकातिरको पाटोमा नग्न महिलाको उल्टो चित्र अङ्कित छ । चित्रका दुई खुट्टा फाटेका छन् र महिलाको योनी वा गर्भबाट एउटा बिरुवा उम्रिएको देखाइएको छ । (चट्टोपाध्याय, २०१३ः २२९) प्राचीन समयमा महिला र उत्पादक धर्ती बिच सम्बन्ध जोडिन्थ्यो भन्ने कुरालाई त्यस मुद्राले पुष्टि गर्दछ ।
हाम्रै सामाजिक परिवेशमा पनि देवी दुर्गालाई शाकम्भरी (सागसब्जी अथवा वनस्पति उत्पादन गर्नेवाली) अथवा अन्नपूर्ण (अन्नले भरिपूर्ण) जस्ता नामले पुकार्ने गरिन्छ ।
माकण्डेय पुराणको देवी महात्म्य (सर्ग ८१–९३) मा देवीले देवताहरूलाई भन्दछिन्, “म जीवनपोषक सागसब्जी उत्पादन गरी विश्वको पालनपोषण गर्दछु । घनघोर वर्षा हुँदा मेरो शरीरबाट प्रशस्त सागसब्जी उम्रनेछन् ।” महिलाको प्रजननलाई प्राकृतिक रुख/वनस्पतिले सहयोग पुर्याउँछन् भन्ने विश्वास प्राचीन नेपाली समाजमा थियो ।
शाक्त सम्प्रदायमा धार्मिक क्रियाकलापको सुरुमा कूलवृक्षको पूजा गर्ने परम्पराले पनि महिला र प्रकृति बिच सम्बन्ध जोडिएको कुरालाई पुष्टि गर्दछ । गौतम बुद्धकी माता तथा राजा सुद्धोधनकी रानी मायादेवी प्रसव पीडाको समयमा सालको वृक्षको आड लैजानुको कारण पनि यही हुनुपर्दछ ।
राउटे समाजमा महिलालाई प्रसव पीडा हुन थाल्यो भने चार–पाँच जना मिलेर वस्ती भएको ठाउँबाट एकान्त जङ्गलमा बोकी लैजाने र सुत्केरी भएपछि मात्र वासस्थानमा ल्याउने गर्दछन् ।
नेपालका प्राचीन मन्दिर तथा भवनका टुँँडालमा अङ्कित कुनै पनि मूर्तीको सिरानीमा रुखको बुट्टा अङ्कन गरिएको हुन्छ । यस्ता चित्र फल दिने वृक्ष र महिलाका प्रतीक हुन् ।
कृषि युगको थालनीसँगै नारी र प्रकृति बिचको यही सम्बन्धलाई कृषि अनुष्ठानको रूप दिँदा दशैँ पर्व अस्तित्वमा आएको हो भनी समाजशास्त्रीहरू बताउँछन् । सुरुमा यो पर्व किसानहरूले बाली थन्क्याएपछि चैत्रको समयमा वसन्त महोत्सवको रूपमा मनाउने गरिन्थ्यो । पछि चैत्रमा हुने अल्पवृष्टि, धुलो र खडेरीका कारण आश्विन/कार्तिकमा सारियो । अझै पनि चैत्र महिनामा अवशेषको रूपमा चैते दशैँ मनाउने प्रचलन कायमै छ ।
दशैँमा गरिने क्रियाकलापहरू हेर्दा यो एक प्रकारको कृषि अनुष्ठान भएको कुरा प्रमाणित हुन्छ । पूजाको पहिलो रात अथवा घटस्थापनाका दिन जुन घटस्थापना गरिन्छ, त्यस कार्यमा महिलाको प्रजनन क्रियालाई प्रकृतिको उत्पादकत्त्वसँग जोडिएको पाइन्छ । पाँच किसिमका अनाजका बिउ (पञ्च शस्य) माथि माटोको कलश राखिन्छ र त्यसमा जल भरिन्छ । जलमाथि फल र फूल राखिन्छ । घडा महिलाको योनीको प्रतीक हो र यसमा राखिएको फल र फूल गर्भमा रहने शिशुको प्रतीक हो । घट अथवा घडा स्थापना गरी त्यसलाई पुज्नुको अर्थ बालीनाली राम्रो होस् भनी कामना गर्नु हो ।
सातौँ दिनको फूलपाति पनि प्राकृतिक वातावरण तथा वनस्पति जगतसँगै सम्बन्धित देखिन्छ । दशौँ दिनमा पाका पुरानाले टीका लगाइदिएर टाउकामा जुन गहुँ, जौ, मकै आदि अनाजको जमरा लगाइदिन्छन्, त्यसमा पनि उत्पादकत्त्वको अभिलाषा दृष्टिगत हुन्छ ।
शिकारी युगको अन्त्य र कृषि युगको थालनी हुँदाको समयमा किसानहरूका निम्ति फूलभन्दा कुनाकाप्चामा उम्रेका पहेँला अन्नका मुजुराहरू प्राथमिकताका विषय थिए । अनि दशैँको अवसरमा अनार्य जातिले जुन दही चामलको सेतो अक्षता प्रयोग गर्दछन्, त्यसले पनि दशैँको कृषि पर्वसँग साइनो सम्बन्ध जोडिएको देखाउँछ ।
देवीलाई बली चढाउने पशुका रगतसँग मुछिएको रातो टीकाको प्रचलन त आर्य समुदायका जातिहरूले पछि चलाएका हुन् र त्यस समुदायका मासु नखाने वैष्णवहरूले रगतको साटो अक्षतामा रातो अबिरको प्रयोग गर्न थालेका हुन् ।
तर आज आदिम समाजका नारी शक्तिलाई मान्ने क्रममा दशैँको परम्परा थालनी भएको हो र यसलाई पछिल्लो अवधिमा कृषि अनुष्ठानको रूप दिइएको हो भन्ने ऐतिहासिक तथ्य ओझेलमा पर्न गएको छ । प्रत्ययवादीहरूले दशैँलाई धार्मिक पर्वको रूपमा प्रस्तुत गरी वास्तविकतामा पर्दा हालेका छन् ।
आज यो पर्व सामन्तवादी एवम् पुँजीवादी उपभोक्तावादी संस्कृतिको अभिन्न अङ्ग बन्न पुगेको छ । यसमा अनेकौँ कपोलकल्पित मिथकहरू जोडिएका छन् । असत्यमाथि सत्यको जीत भन्दै यसमा देवता–असुर, राम–रावणका मिथकहरू, धार्मिक अन्धविश्वास, पूर्वजन्म–पुनर्जन्म, स्वर्ग–नरक जस्ता कपोलकल्पित विषयहरू जोडिएका छन् । यसमा देवी दुर्गा र शुम्भ–निशुम्भ एवम् महिषासुरबीचका युद्धका कथा जोडिएका छन् ।
अत्यधिक मात्रामा धार्मिक आस्थासँग जोडिएकाले आज सामाजिक रूपान्तरणको उद्देश्य लिएका मार्क्सवादीहरूका निम्ति दशैँजस्ता चाडपर्वहरू समस्याको विषय बनेका छन् ।
तिनको सवाललाई लिएर मार्क्सवादीहरू माझ दुई थरी विचार देखापरेका छन् । एउटा विचार सामन्ती चाड भनी पुरै बहिस्कार गर्नुपर्छ भन्ने छ भने अर्को विचार जनतासँग एकाकार हुन यसलाई मान्न छोड्नु हुँदैन भन्ने छ । कतिपय कम्युनिस्ट पार्टीहरू संसदीय अभ्यासमा सहभागी हुने गरेकाले जनताबाट मत पाउने लोभमा परी गलत काम कुराको खण्डन गर्न सकेका छैनन् । यो आपत्तिजनक कुरा नै हो किनकि मान्ने भनेर परम्परागत सामन्ती संस्कार र अन्धविश्वासको पछिलाग्ने कुराबाट सामाजिक रूपान्तरण हुन सक्दैन ।
अर्कोतिर परम्परा नस्वीकार्ने नाममा पूर्ण बहिस्कार गर्नु पनि राम्रो देखिँदैन । जनतालाई चेतनशील नबनाई गरिने कामहरू जतिनै क्रान्तिकारी भए पनि व्यवहारिक हुँदैनन् । शताब्दीयौँदेखि संस्कारका रूपमा व्यक्तिभित्र हस्तान्तरित हुँदै आएका परम्परा रीतिरिवाज, आस्था र विश्वासलाई भत्काउन र नयाँ संस्कृतिलाई संस्कारको रूपमा लागू गर्नु अति कष्टकर कार्य हो । भौतिक वस्तुलाईझैँ संस्कृतिलाई तत्काल भत्काउन सकिँदैन । यसका लागि निरन्तरको सचेतन प्रयास र निरन्तर क्रान्तिको आवश्यकता पर्दछ (चापागाई, निनु, २०६७ः ७५) ।
यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने राजनीतिक तथा आर्थिक आधारमा संस्कृतिको निर्माण हुने गर्दछ र तिनलाई नबदलिकन संस्कृतिलाई परिवर्तन गर्न सकिँदैन । हामी जुन जनताका संस्कारलाई रूपान्तरण गर्न चाहन्छौँ, तीसँग टाढा भएर होइन, घुलमिल भएर नै चल्नुपर्छ ।
कुनै पनि समाजलाई हानी-नोक्सानी गर्ने सामन्ती चालचलन भत्काउन जनता तयार छन् भने तिनलाई संरक्षण गर्न जरुरी छैन । यदि जनता भत्काउन तयार छैनन् भने तिनलाई सच्याउने र नवीन रूप दिने कार्यमा लाग्नुपर्छ । पुरानालाई नयाँले निषेध गर्ने हुँदा पुरानाको ठाउँमा नूतनलाई विकल्पको रूपमा प्रस्तुत गर्न चुक्नु हुँदैन ।
हामी कम्युनिस्ट अगुवाहरू पूर्ण भौतिकवादी हौँ, भौतिकवादीमा पनि यान्त्रिक र अधिभूतवादी नभएर द्वन्द्ववादी हौँ । अतएव हामीले धार्मिक र पौराणिक ग्रन्थका भनाइहरू सही-गलत, ठिक-बेठिक के कस्ता छन्, तिनको सही विश्लेषण गर्नुपर्छ र जनतालाई वैज्ञानिक चिन्तन ग्रहण गर्न सघाउनु पर्दछ । हामी गलत संस्कार अन्धविश्वासको दास बन्न हुँदैन ।
दशैँ मनाउने नाममा देवीको मन्दिरमा गई ढोग गर्ने, उपासना गर्ने, भाकल गर्ने, वर माग्ने र मोक्ष एवम् यस प्राप्तिका निम्ति कामना गर्ने कुराहरू सबै गलत छन् । दशैँको सम्बन्धमा पाका पुरानाबाट टीका ग्रहण गरी आशिर्वाद लिने, मान्यजनको आदर गर्ने, परिवारजन एकै ठाउँमा जम्मा भई खानपिन गर्ने जस्ता कुराहरूलाई परम्परा नमान्ने नाममा त्याग्नै पर्छ भन्ने छैन । आदर गर्ने नाममा खुट्टामा ढोग्ने ठाउँमा हातमा ढोग्ने चलन चलाउन सकिन्छ ।
सबै चाडपर्व, अनुष्ठानहरूबाट धार्मिक क्रियाकलापलाई अलग्याई तिनलाई केवल सांस्कृतिक रूपमा मात्र मनाउन सुरु गरिनु पर्दछ । दशैँबाट धार्मिक क्रियाकलाप अलग्याउने हो भने यो विशुद्ध पारिवारिक भेटघाट र खानपिनको सांस्कृतिक पर्वमा रूपान्तरण हुनेछ । आजको व्यस्त संसारमा केही समय कामबाट मुक्त भएर मनोरञ्जन गर्नु शारीरिक एवम् मानसिक रूपमा फाइदाजनक नै हुन्छ । तर मनोरञ्जनको नाममा फजूल खर्च गर्ने चलन राम्रो होइन । दशैँलाई आर्थिक बोझको रूपमा अघि बढाउनु उपयुक्त हुँदैन ।
यदि दशैँ प्राचीन मातृशक्तिलाई सम्मान गर्ने परम्पराबाट थालनी भएको हो भने नारी समुदायलाई समानताको व्यवहार प्रदर्शन गर्ने संस्कृतिको रूपमा यसलाई विकास गर्दा राम्रै हुन्छ । यदि दशैँलाई नारी र धर्तीलाई उत्पादनको दृष्टिबाट समान ठानी कृषि अनुष्ठानको रूपमा अघि बढाइएको पर्व मान्ने हो भने पनि प्राचीन मानवका अन्धविश्वासपूर्ण रीतिरिवाजलाई सुधारेर सन्तान उत्पादन गर्ने नारीलाई र अन्न उत्पादन गर्ने धर्तीलाई महत्त्व दिने वैज्ञानिक पद्धति अबलम्बन गर्दा समाजलाई के हानी हुन्छ र?
यो पनि पढ्नुहोस्ः
नेपाली कृषिः हिजो, आज र भोलि – क. रामराज रेग्मी
सन्दर्भ सामग्रीहरूः
किरण, २०६५, नेपाली समाज र संस्कृतिः एक संक्षिप्त अध्ययन, विवेक शीर्जनशील प्रकाशन प्रा.लि. ।
चट्टोपाध्याय, देवीप्रसाद, २०१३, लोकायत, राजकमल प्रकाशन ।
चापागाई, निनु, २०६७, चाडवाड सम्बन्धी सही नीति के हो ?, सांस्कृतिक रूपान्तरण, खोजी प्रकाशन गृह प्रा.लि. ।
पोखरेल, वालकृष्ण, २०६०, प्रशंसकका निन्दास्तुतिमा वाल्यार्थ छाम्ने श्रष्टा गिदीनामेट हुन्, गरिमा श्रावण अङ्क ।
प्रसाईं दीर्घराज, २०६३, दशैँभित्रका केही गलतफहमी, कान्तिपुर असोज १६ ।
लेभी, शिल्भा, २००७, नेपाल हिन्दू अधिराज्यको इतिहास, दोस्रो खण्ड, हिमाल किताव ।
सिवाकोटी, डा.गोपाल, २०६९, नेपालमा सामन्तवादः हत्या हिंसा र षड्यन्त्रको इतिहास, पैरवी प्रकाशन, काठमाडौँ ।
सुरभ, शान्ति, २०३३, हाम्रो संस्कृति एक सिंहावलोकन, साझा प्रकाशन, काठमाडौँ ।