“मेसिनले स्वयम् प्रकृतिका शक्तिहरुमाथि मानिसको विजयको प्रतिनिधित्व गर्दछ” –कार्ल मार्क्स ।
१. आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्ति
नवमार्क्सवादीहरुले आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्तिले, जस्तो कि स्वचालन, कम्प्युटर प्रविधिको विकास, बाह्य अन्तरिक्षमा हस्तक्षेप–प्रयास, पारमाणविक तथा अन्य वैज्ञानिक–उर्जा विकास आदिले उत्पादन प्रक्रियामा मानिसको भूमिकालाई विस्थापित गरेको कारणबाट उत्पादनको प्रत्यक्ष कर्ताबाट अब मानिसलाई सामान्यतः प्राविधिक प्रकृयाको एउटा नियन्त्रकमा रुपान्तरित गरेको कुरामा जोडदिँदै मानव श्रम र श्रमिकवर्गको भूमिकालाई नकारेका छन् ।
उनीहरुले वैज्ञानिक–प्राविधिक क्रान्तिलाई प्राथामिकतामा राखेका कारणले के दावी गरेका छन् भने कार्ल मार्क्सले प्रतिपादन गरेको औद्योगिक पुँजीवादले जन्माएको अतिरिक्त मूल्यको सिद्धान्त अब भूतकालिन अध्ययनको विषय मात्र हुन पुगेको छ । के वैज्ञानिक–प्राविधिक क्रान्तिले गरेको तुफानी प्रगति मानिसको प्रगति हो या होइन ? यो क्रान्तिले मानिसलाई उसको उपाङ्ग बनाउने खतरा छ या यो क्रान्तिको निरन्तरतासँग मानिसको व्यक्तित्त्वको परिष्कार तथा सर्वांगण विकासको पनि निरन्तरता रहनेछ ? यही विषयमा यहाँ छलफल केन्द्रित गरिनेछ ।
२. के हो वैज्ञानिक–प्राविधिक क्रान्ति ?
एक विख्यात समाजशास्त्री गेन्नादी मारिन्कोको अनुसार मानवजातिको अस्तित्त्वलाई विगत पचास हजार बर्ष मान्ने र त्यसलाई पुस्ताको संख्याले नाप्ने हो भने (जसको जीवन अवधि ६२ बर्ष हो) एक चाखलाग्दो र रोमञ्चकारी तस्विर हाम्रो सामुन्ने उभिन्छ । यस्तो पुस्ताको संख्या करिब ८०० मानिन्छ । तीमध्ये ६५० पुस्ता गुफामा बसेका थिए । केवल ७० पुस्ताले मात्र लिपिको प्रयोग गरे, ६ पुस्ताले मुद्रित शव्दहरुको र अन्तिम २ पुस्ताले विद्युत–मोटरको ज्ञान प्राप्त गरे । आज विद्यमान अधिकतर भौतिक तथा आत्मिक मूल्यको सिर्जना वर्तमान पुस्ताकै जीवनकालमा नै भएकोछ (वैज्ञानिक–प्राविधिक क्रान्ति, १९८९; मास्कोः प्रगति प्रकाशन (अंग्रेजी))।
त्यतिमात्र नभएर वैज्ञानिक–प्राविधिक क्रान्तिले मानव समाजको अगाडि प्रकृतिको कायाकल्पको लागि, विपुल भौतिक सम्पदाको सृष्टि र मानिसको योग्यता बृद्धिका लागि अपूर्व सम्भावनाहरु खुल्ला (Discharged) गरेकोछ । यो क्रान्ति जटिल र बहुपक्षीय परिघटना हो ।
विकासमा यसका नयाँ नयाँ रुप र सार प्रकट हुने गर्दछ । मानिस दिमाग चलाउने (सोच्न सक्ने) तर कमजोर तन भएको सामाजिक प्राणी हो । खाना, बस्न र सुरक्षाका लागि मानिसले प्रथम हातको प्रयोग गर्यो तर हातहरु पर्याप्त नभएपछि ढुङ्गा, घुँयात्रो, भाला, बल्छी, धनुकाँड, भरुवा बन्दुक हुँदै आज ब्यालिष्टिक मिसाइल समेतको प्रयोग गर्ने भएकोछ ।
दोस्रो, खुट्टाले मात्र हिँडेर पर्याप्त नभएपछि घोडा, राँगो, हात्तीको प्रयोग गर्दै आज मोटर, ट्रेन, हवाईजहाज, पानीजहाजको प्रयोग गर्ने ठाउँमा आइपुगेको छ । तेस्रो, पशु चराउने मानिसले आगोको खोज गरेपछि गुफाबाट कृषिमा आइपुगे । अनि हलो, कोदाले, कुटो हुँदै आज ट्रेक्टर, पानी पटाउने पम्प–मेसिन, कुलो–नहर प्रयोग गर्ने अवस्थामा आइपुगेका छन् ।
चौथो, औद्योगिक क्रान्तिले ठूला ठूला उद्योग धन्दाहरु खुले र त्यहाँ पुँजी र मजदुरहरुको संकेन्द्रण भयो । अहिले हामीले भनेको वैज्ञानिक–प्राविधिक क्रान्तिको प्रारम्भ पहिलो स्वचालित लेथलाईन, परमाणु र नाभकीय उपकरणहरु तथा कम्पुटरको निर्माण, प्रथम कृतिम भू–उपग्रहको प्रक्षेपण, रासायनिक संश्लेषण, सुक्ष्म इलेक्ट्रोनिक–खोज आदि जस्ता अपूर्व उपलब्धिहरुबाट भयो ।
विगत कालभन्दा अहिले के फरक छ भने अाज वैज्ञानिक उपलब्धिहरूलार्इ उत्पादनमा लगाइन्छ । तसर्थ यो क्रान्ति विज्ञान र प्रविधिमा एकसाथ व्याप्त भयो । यसैलार्इ वैज्ञानिक–प्राविधिक क्रान्ति भनिन्छ ।
२१ अाैँ शताव्दीसँग अाएका अाधुनिक कम्प्युटर, अाधुनिक राेबाेट, परमाणु उर्जा उद्योग, सूचना क्रान्ति, जैविक प्रविधिको विकास अादिले मानव जातिको भविक्षयलार्इ सुखी-सम्पन्न हुनसक्ने परिस्थिति निर्माण गर्ने क्षमता राख्दछ तर साम्राज्यवादीहरूलेः
क. यी प्रगतिलार्इ शस्त्रास्त्रकाे होडमा लगाएकाले त्यसबाट मानव जातिका लागि घातक विभिषिका उत्पन्न नहोला भन्न सकिन्न ।
ख. पुँजीवाद अन्तरगत वैज्ञानिक–प्राविधिक क्रान्तिबाट हुने उपलब्धि सम्पूर्ण समाजको नभएर पुँजीवादी एकाधिकारीहरूले नै फाइदा उठाउँछन् । उनीहरूले यसको उपयोग पुँजीको स्थितिलार्इ मजबुद बनाउन, श्रमिक जनतालार्इ शोषण गर्न र अधिकतम नाफा कमाउनका लागि गर्दछन् । यसबाट बेरोजगारी, मुद्रास्फिति र महंगी बढ्न जान्छ । पुँजीवादी समाजमा पुँजीवादीहरूको वर्गीय स्वार्थका कारणले गर्दा विज्ञान–प्रविधिको उपलब्धिलार्इ मानव जातिकै हित विरूद्ध लगाइन्छ ।
३. वैज्ञानिक–प्राविधिक क्रान्तिले औद्योगिक पुँजीवादलाई विस्थापन गर्यो ?
पुँजीवाद अन्तर्गत, जहाँ उत्पादन विस्तारको उदेश्य धेरैभन्दा धेरै नाफा बटुल्नु हुन्छ, वैज्ञानिक–प्राविधिक क्रान्तिको उपलब्धिहरुलाई उत्पादनमा गरिने प्रयोगले श्रमको उत्पादनशीलतालाई वृहत मात्रामा बृद्धि गर्दछ र साथसाथै बेरोजगारी जन्माउँछ । त्यही अध्ययनबाट कार्ल मार्क्सले के प्रमाणित गरेका थिए भने पुँजीवादले जीवन–साधनहरुबाट वञ्चित अपेक्षाकृत अतिरिक्त श्रमिक जनतालाई निरन्तर जन्म दिँदै रहेको हुन्छ ।
एङ्गेल्सले “समाजवादः काल्पनिक तथा वैज्ञानिक”मा भनेका छन्ः “एकातिर मेसिनहरुको निरन्तर प्रगति, जो प्रतिस्पर्धाको कारण प्रत्येक कारखाना मालिकका लागि अनिबार्य हुन्छ र जसको कारण मजदुर निरन्तर बढ्दो सँख्यामा विस्थापित हुन्छन् । औद्योगिक रिजर्भ सेना । अर्कोतिर, उत्पादनको सिमाहीन बिस्तार । प्रतिस्पर्धा अन्तर्गत यो पनि हरेक कारखाना मालिकका लागि अनिबार्य बन्दछ । दुबैतर्फ उत्पादक शक्तिहरुको अपूर्व विकास; माग भन्दा बढी आपूर्ति; अति उत्पादन, मालहरुले भरिभराउ बजार, प्रत्येक दशौँ बर्षमा संकट, दुस्चक्र–एकातिर, उत्पादनका साधनहरु र उपजको अधिकता; अनि अर्कोतर्फ, जिविकाको साधनहरुद्वारा बञ्चित बेरोजगार मजदुरहरुको अधिकता” (मार्क्स–एङ्गेल्स सं. र. खण्ड– २४; १९८९ः ३५५; प्रगति प्रकाशन (अंग्रेजी) ।
तर उत्पादन र सामाजिक समृद्धिका यी दुबै भारबाहकले (levers) एकसाथ काम गर्न पाउँदैनन् किनभने पुँजीवादी उत्पादन–प्रणाली अन्तर्गत उत्पादक शक्तिहरुले तबसम्म काम गर्न सक्दैनन्, जबसम्म तिनीहरुलाई पहिले पुँजीको रुप दिन सकिँदैन । तर यो तिनीहरुको अधिकताकै कारण सम्भब हुन सक्दैन ।
यसबाट यो प्रमाणित हुन्छ कि पुँजीपतिवर्ग स्वयम् आफ्ना सामाजिक उत्पादक शक्तिहरुको ब्यवस्थापन गर्न अयोग्य ठहरिएकोछ । एंगेल्सले भनेकाछन् “उत्पादनका र सञ्चारका ठूला–ठूला संस्थानहरु पहिले ज्वाइन्ट स्टक कम्पनिहरु, त्यसपछि ट्रष्टहरु र अन्त्यमा राज्यको अधिकारमा हुनुले यो प्रमाणित हुन्छ कि पुँजीपतिवर्ग एउटा फाल्तु वर्ग बन्न गएकोछ । त्यसका सबै सामाजिक संस्थाहरु अव वेतनभोगी कर्मचारीहरुद्वारा सम्पादित हुन्छन्” (उही)। एंगेल्सको भनाई पुष्टि भएकोछ कि, वैज्ञानिक–प्राविधिक क्रान्तिले, ठूला पुँजीपतिहरुलाई परजीवी बनाइदिएकोछ । उनीहरुको उद्यम ब्यवसायहरुको सञ्चालन वेतनभोगी कर्मचारीहरुद्वारा गरिने हुँदा उनीहरु उत्पादन–प्रकृयामा पूर्णतः अनावश्यक बन्दछन् । दक्ष वेतनभोगी कर्मचारीहरु (आज team of supermanagers भनिन्छ) परिश्रम गरिखाने जनताको प्रत्यक्ष शोषणका लागि जिम्मेवार हुन्छन् । प्रतियोगिता उग्रतर हुने र वैज्ञानिक–प्राविधिक क्रान्तिका कारणले पुँजी अधिक संकेन्द्रित हुन्छ । एकाधिकारी पुँजीपतिहरुले अहिले बहुराष्ट्रिय कम्पनिहरुमा एकाबद्ध भई पुँजीलाई थोरै मानिसको हातमा संकेन्द्रित गर्दैछन् । यसबाट विश्वका उत्पीडित राष्ट्र र श्रम गरिखाने जनतालाई बढीभन्दा बढी लुट्ने काम भएकोछ । पछिल्लो कालमा वैज्ञानिक–प्राविधिक क्रान्तिले सुक्ष्म इलेक्ट्रोनिक्सको विकास गरेबाट पुँजीको पक्षधर नवमार्क्सवादीहरु “मजदुरको श्रम अनावश्यक हुँदैछ, मजदुर वर्ग विघटित हुँदैछ र पुँजीवादको चिहान खन्नेहरुको विश्व ऐतिहासिक भूमिका गुम्दैछ” भनेर खुसी भएका छन् । तर एउटा अध्ययनले के देखाएकोछ भने पुँजीवादी विकासले कृषिक्षेत्रलाई औद्योगिकीकरण गर्ने भएकाले संख्या कटौति हुन्छ र ठूला उद्योगहरुमा पनि आधुनिक प्रविधिको विकासले रोजगारीमा केही कटौति हुने गर्दछ । तिनका तुलनामा सेवा क्षेत्रमा रोजगारी वृद्धि भएको देखिन्छ । तर पनि सत्य के हो भने कृषिश्रममा आधारित मुलुकको विकास सम्भब छैन । तसर्थ अमेरिका र युरोपको अनुभबले के देखाउँछ भने ती मुलुकहरुले उहिले औद्योगिक क्रान्ति सम्पन्न गरेपछि सेवा क्षेत्रमा प्रवेश गरेका हुन् । ता पनि आज सम्मको तथ्याङ्कले के प्रमाणित गरेको छ भने कृषि, उद्योग र व्यापार क्षेत्रले नै ती देशहरुको गार्हस्थ उत्पादनमा मुख्य योगदान पुर्याएको छ ।
पुँजीको २०० वर्षको इतिहासको अध्ययन गरेका प्रसिद्ध अर्थशास्त्री प्रा. पिकेटीको निष्कर्ष के छ भने अहिले पनि औद्योगिक क्षेत्र नै विकसित पुँजीवादी मुलुकहरुको आर्थिक मेरुदण्ड हो, राष्ट्रिय आयको मुख्य श्रोत हो । प्रो. पिकेटीको अनुसार निजले गरेको अध्ययन अवधिमा विकसित पुँजीवादी देशहरुको सेवा क्षेत्रमा ७० –८० प्रतिशत रोजगारी रहेको देखिन्छ । तर सेवाभित्र सरकारी प्रशासन, सुरक्षा तथा शिक्षा र स्वास्थ्य पूर्णतः जनताको करबाट चलेको देखिन्छ ।
अर्को तालिकामा (ता.नं.२) प्रो पिकेटीले फ्रान्स र बेलाइतको सन् १७७०–२०१०को राष्ट्रिय आयको पुँजीगत आय (लगान, नाफा, लाभाम्स, व्याज …) ३०–४० प्रतिशत र श्रम आय (ज्याला र गैर–ज्याला) ६०–७० प्रतिशत रहेको थियो (पिकेटी, पे. २००–२०१) ।
यसबाट के पुष्टि हुन्छ भने आजको साम्राज्यवाद भनेको पनि कर्पोरेट औद्योगिक पुजिँवाद नै हो र मजदुर वर्ग अझै पनि पुँजीवादको चिहान खन्ने ऐतिहासिक भूमिकाबाट पछि हटेको छैन ।
४. अबको साम्राज्यवाद युद्ध चाहँदैन !
मार्क्स–एङ्गेल्सको समयमा निरन्तर दोहोरिने औद्योगिक महामन्दीले ठूला–ठूला पुँजीवादी कारोबारहरु चौपट हुन जाँदा उत्पादनका साधनहरुको वृहत राशीहरुको सामाजीकरणको रुपमा विभिन्न प्रकारका ठूला–ठूला ज्वाइन्ट स्टक कम्पनिहरुको उदय भएको थियो र तिनीहरु नै पछि एकाधिकारमा बदलिएका थिए ।
तिनै एकाधिकारी पुँजीवादी विश्वका ठूला ठूला समुहको नेतृत्त्व गरेर साम्राज्यवादी मुलुकहरुले प्रथम र दोश्रो विश्वयुद्ध रचेका थिए । त्यसप्रकारको एकाधिकार पुँजीवादलाई नै लेनिनले साम्राज्यवाद भनेका हुन् ।
आजको साम्राज्यवाद पनि एकाधिकार पुँजीवाद नै हो तर त्यसको संरचना र चरित्रमा समयानुकूल परिवर्तन जरुर भएको छ । अहिले विश्व अर्थतन्त्रलाई कन्ट्रोल गर्ने ५०० वटा बहुराष्ट्रिय तथा पारराष्ट्रिय कम्पनीहरु छन्, जसको आधाजतिको नेतृत्त्व अमेरिका स्वयंकाे हातमा रहेको छ ।
साम्राज्यवादी शक्तिहरुले पूर्व–उपनिवेश तथा पूर्व–अर्धउपनिवेशी मुलुकहरुको सिमानाभित्र आफ्नो उत्पादन, वित्त र प्रविधिको बिना रोकटोक गरिने कर्पोरेट पुँजीवादी प्रबाहलाई “नवउदारीकरण” को नाम दिएका थिए । तर सन् १९८० देखि आएको कर्जा संकटलाई “थ्याचर रेगन थोरापी” मार्फत हल गर्न विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वित्तीय लगानीमा अल्प–विकसित देशहरुमा “संरचनागत समायोजन” लागु गरियो ।
सन् १९९० मा सोभियत संघ विघटन भएपछि त्यसलाई विश्व व्यापार संगठन (१९९५) मार्फत अघि बढाइयो र सन् २००० सम्ममा यसले विश्वमै संस्थागत प्रभुत्त्व कायम गर्न सक्यो । साम्राज्यवादीहरुले नवऔपनिवेशिक नीतिलाई भुमण्डलीकरण नामाकरण गरे । तर पश्चिमा शक्तिहरुको यो नीति धेरै दिन चल्न सकेन । विश्व वहुध्रुबमा बाँडिन पुग्यो ।
रुसको नेतृत्वमा चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका मिलेर “ब्रिक्स” को कार्यक्रम संचालन गरेको छ । यो कार्यक्रमले अमेरिकी साम्राज्यवादको सामु गम्भीर चुनौति खडा गरेको छ ।
चीनले छुट्टै “एक पेटी एक मार्ग” को कार्यक्रम मार्फत आफू केन्द्र र त्यो कार्यक्रमसँग जोडिने मुलुकहरुलाई पेरिफेरीमा राखेको छ । साथै चीनले “एसियन इन्फ्रास्ट्रक्चर ब्याङ्क” खडा गरेर विश्व ब्याङ्कलाई र “पिपल्स ब्याङ्क अफ चाइना” खडा गरेर अन्तर्राष्ट्रिय मुद्राकोषलाई चुनौती दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले “अमेरिका प्रथम”को नीति लिएपछि पेरिस जलवायु सम्झौताबाट र इरानको परमाणु सम्झौताबाट पछि हट्ने निणर्य लिएको र आयात करमा वृद्धि गरेको, आफ्ना सहयोगीहरुमाथि निरन्तर कटुता बढाइरहेको आदि कारणले अमेरिकाको विश्वव्यापी नेतृत्त्व क्षमतामा ह्रास आएको वर्तमान अवस्थामा चीनको प्रभाब बढ्न सक्ने देखिन्छ ।
अमेरिका विश्वव्यापी नेतृत्त्वको भूमिकाबाट पछि हट्दै जाने र चीनले त्यसको विकल्पमा विश्व नेतृत्त्व बढाउँदै लैजाने स्थिति बनेको छ । अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार तथा लगानीले सिर्जना गरेको भूमण्डलीकरणको भूमिकाबाट पछि हट्ने घोषणा गरेसँगै चीनले चिनियाँ चरित्रको भूमण्डलीकरणलाई जोड दिएको छ ।
उपरोक्त कारणहरुले गर्दा अमेरिका र नयाँ उदीयमान शक्तिहरुको बिचमा ढिलो वा चाँडो युद्ध हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । अर्को पाटोबाट पनि भन्ने हो भने मध्यपूर्व, कोरिया प्रायद्धीप, दक्षिण चीन सागर आदि क्षेत्रमा बढ्दै गएको द्वन्द्वहरु र पुँजीवादी लामो आर्थिक संकट, पुँजी सञ्चय तथा केन्द्रीकरणको तीव्र लालचको कारण निम्तिएको द्वन्द्व र समस्याको समाधान साम्राज्यवादीहरुले अन्ततः युद्धबाटै गर्न खोज्दछन् र त्यसका लागि आवश्यक तयारी र प्रयोग समेत गर्दैछन् । अहिले अमेरिकाले गरेको स्पेस फोर्सको कुरो पनि तयारीकै कुरो हो र यसबाट पनि विभिन्न क्षेत्रीय युद्धहरुको खतरा बढ्न थालेको देखिन्छ ।
५. समाजवाद र वैज्ञानिक–प्राविधिक विकास
पहिले पहिले उत्पादनको पुँजीवादी पद्धतिले मजदुरहरुलाई बेकार बनाउँदथ्यो भने अहिले त्यसले पुँजीपति वर्गलाई पनि काम बाहिरको तर बसिखाने वर्ग बनाएको छ । आधुनिक पुँजीवादी राज्यले पुँजीवादी उत्पादन–सम्बन्धको (अन्तरविरोध) हल गर्न सक्दैन, बरु चर्काउने काम गर्दछ । तसर्थ यसको समाधान तब नै हुन सक्तछ, जब समाजले सिधा र प्रत्यक्ष रुपले उत्पादक शक्तिहरुमाथि नियन्त्रण गर्दछ र उत्पादकले उत्पादनका साधनहरु एवम् उत्पादनको सामाजिक स्वरुपको उपयोग आफ्नो प्रकृतिको पूर्ण ज्ञानकासाथ गर्नेछन् । तब उनीहरु विश्रृङखलता एवम् समय समयमा विघटनको कारण नरहेर स्वयम् उत्पादनको सबभन्दा शक्तिशाली उत्तोलक बन्नेछन् (एंगेल्स, समाजवादः काल्पनिक र वैज्ञानिक)।
वैज्ञानिक–प्राविधिक क्रान्तिले, जो २० औं शताब्दीको उत्तरार्धको एक चमत्कार थियो, उत्पादक शक्तिहरुको, विज्ञान तथा प्रविधिको वैज्ञानिक विकासका लागि सीमाहीन संभावनाहरु खोलिदिएको छ । तर विकसित पुँजीवादी देशहरुमा यसले व्यापक बेरोजगारी, करोडौँलाई “बेकार” कंगाली र अभावतिर धकेलिदिने काम गरेकोछ । युद्ध थोपरेर शरणार्थीहरुको ओइरो लगाएकोछ । भोकमरी पुँजीवादी जगतको विकराल समस्या बनेकोछ । पुँजीवादी मुलुकहरुमा लाखौं मानिस घरबार विहिन छन् र फोहोर झुपडीहरुमा बस्छन् र कुपोषणको शिकार बनेका छन् । एकाधिकारवादीहरु भने नाफाका लागि पर्यावरण–खेत र वन, नदी र सागर वातारण र भूगर्भलाई समेत निर्ममतापूर्वक विनष्ट गर्दैछन् । त्यसको परिणाम पृथ्वी प्राणी जगतले भोग्नु परेकोछ ।
के करोडाैँ श्रमजीवीहरु र पृथ्वीका सबै मानिसको हितअनुरुप सामाजिक परिस्थितिहरुको निमार्ण असम्भव छ ? वैज्ञानिक समाजवादको सिद्धान्तले यसको सकरात्मक जवाफ मात्र नदिएर बरु समाधनको साधन पनि देखाँउदछ । बर्जुवा व्यवस्थाभन्दा भिन्न, समाजवाद अन्तरगत व्यक्तिको सर्वांगीण विकास केही चुनिएका मुठ्ठीभर मानिसका लागि नभएर, बरु सबै श्रमिक जनताका लागि हुन्छ र विशेष सुविधा हुन्छ ।
समाजवाद अन्तरगत उत्पादन जनताको हातमा हुन्छ र मानिसद्वारा मानिसको शोषण, सामाजिक उत्पीडन विशेषाधिकार प्राप्त गरेका अल्पसंख्याको सत्ता, गरिबी र लाखौं मानिसले भोगेको निरक्षरतालाई सँधैका लागि उन्मूलन गरिन्छ ।
वैज्ञानिक–प्राविधिक प्रगतिले बेरोजगारी बढाउनका सट्टा सबै जनताको खुसीलाई लगातार अभिवृद्धि गर्दछ । “प्रत्येकबाट उसको योग्यता अनुसार, प्रत्येकलाई उसको काम अनुसार” को काम र पारिश्रमिकमा समान अधिकार हुन्छ । यसरी समाजवाद अन्तर्गत वैज्ञानिक–प्राविधिक क्रान्तिको उपलब्धिलाई समाजवादी प्रणालीको संम्भावनाका साथ आंगिक रुपबाट जोड्ने काम गरिन्छ, जसबाट जीवनस्तर माथि उठाउन र व्यक्तिको सर्वतोमुखि शारीरिक एवम् मानसिक विकासको अवस्थाको निमार्ण गर्न सम्भव बन्दछ ।
६. नयाँ जनवादी क्रान्ति कि वैज्ञानिक समाजवाद ?
नेपाली कम्युनिस्ट आन्दोलनलाई दुई थरी अवसरवादी संशोधनवादीहरुबाट आक्रमण भइआएको छ । एकथरी अवसरवादीहरुले प्रतिकृयावादी राज्यसत्ता र व्यवस्थाको पहरेदार बनेर नयाँ जनवादी क्रान्ति पुरा भएकोले अबको कार्यभार भनेको आर्थिक क्रान्तिमार्फत वैज्ञानिक समाजवादमा पुग्ने भ्रम सृजना गरेका छन् ।
अर्काथरी अवसरवादीहरु छद्म क्रान्तिकारीका रुपमा देखापरेका छन् । उनीहरुले वैज्ञानिक–प्राविधिक क्रान्तिको भूमिकालाई सर्वोपरी ठानेर मानवीय श्रम तथा औद्योगिक पुँजीवादमा हुने अतिरिक्त मूल्यको सिद्धान्तलाई नकारेका छन् । उनीहरुको तर्क के छ भने मुख्य उत्पादक शक्तिको रुपमा विज्ञान-प्रविधि आएपछि आजको भूमण्डलीकृत पुँजीवादी साम्राज्यवादी व्यवस्थाभित्र वैज्ञानिक समाजवादी युगको आरम्भ भएको हो । तसर्थ वैज्ञानिक साम्यवादमा पुग्नलाई वैज्ञानिक समाजवाद अहिलेको न्यूनतम् राजनीतिक कार्यक्रम बनेको छ ।
युरोप र अमेरीकामा जस्तो पुँजीवादी क्रान्ति पुरा नभएको र २१ औ शताब्दीमा पनि दुई तिहाई श्रम शक्ति कृषिमा लागिरहेको अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थाको अत्यन्त पिछडिएको मुलुक नेपाल साम्राज्यवादी भूमण्डलीकृत पुँजीवादको गिरफ्तमा आएकोले त्यसले नेपालको राष्ट्रिय पुँजीवादको विकास गर्ने नभई दलाल पुँजीवादको विकास गर्ने हुन्छ । त्यस्तो मुलुकले पहिले जनवादी क्रान्ति पुरा गरी समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्ने हुन्छ न कि समाजवादी क्रान्ति । प्राविधिक क्रान्तिको हौवा खडा गरेर नयाँ जनवादी क्रान्तिलाई नकार्नु भनेको वास्तविकताबाट भाग्नु हो ।
यो पनि पढ्नुहोस्ः
वर्तमान नेपाली समाजको वर्ग विश्लेषण – क. सीताराम तामाङ
(लेखक नेकपा (क्रान्तिकारी माअाेवादी)का नेता हुनुहुन्छ र प्रस्तुत विचार उहाँका हुन् ।)